Tag: मिथिला

  • मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

    मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

    जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा चुनावी समीकरण बदलिएको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेपछि चुनावी समीकरण बदलिएको हो ।

    गत निर्वाचनमा नेकपा एमालेका हरिनारायण महतोले मिथिला नगरपालिको मेयरमा जितेका थिए । एमालेले योपटक राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएको छ । टिकट नपाएपछि रुष्ट बनेर बागी उम्मेदवार बनेका निवर्तमान मेयर हरिनारायणले शुक्रवार उम्मेदवारी फिर्ता लिए ।

    हरिनारायणले उम्मेदवारी फिर्ता लिने सुइको पाएलगत्तै नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरुले तालमेलको प्रयास गरे । तर कांग्रेससंग कुरा नमिलेपछि माओवादी र जसपाबीच तालमेल गरेको बुझिएको छ ।

    माओवादीले मेयर र जसपाले उपमेयर लिएर तालमेल गरेका छन् । मिथिला नगरपालिकामा ११ वडा छन् । जसमध्ये माओवादीले ६ वटा र जसपाले ५ वटा वडा पाएका छन् ।

    सहमतिअनुसार शुक्रबार जसपाबाट मेयरका उम्मेदवार चन्देश्वर महतो र माओवादीकी उपमेयरका उम्मेदवार विमला अधिकारीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    अब माओवादीका मेयर उम्मेदवार रामकुमार महतो र जसपाकी उपमेयर उम्मेदवार मनुमाया मोक्तानले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।

    एमालेबाट राजाराम महतो र कांग्रेसबाट महिन्द्र महतोले मेयरका प्रतिस्पर्धा गर्नेछन् । गत निर्वाचनमा राजाराम कांग्रेसका बागी उम्मेदवार थिए । निर्वाचनपछि उनी एमालेमा प्रवेश गरे र अहिले एमालेबाट टिकट पाउन सफल भए ।

    यो नगरपालिकामा एमाले र कांग्रेस अब्बल छन् । त्यसैले माओवादी र जसपा तालमेल गरेर प्रतिस्पर्धामा उत्रेका छन् । अब गठबन्धन, कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

  • अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

    अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

    काठमाडौं । चार वर्षदेखि किचलो पन्छाउँदै प्रदेश २ ले हिजो आफ्नो नामाकरण गर्न सफल भएको छ । प्रदेश सभाको दुई तिहाइ मतले ‘मधेश’ नाम पारित गरेसँगै विभिन्न खाले मतहरू प्रकट भइरहेका छन् ।

    सामाजिक सञ्जालमा एकथरिले नामाकरणको स्वागत गरेका छन् त अर्कोथरीले आलोचना । आलोचकहरूले ‘मधेश’ शब्द नै गलत भएकाले नामाकरण त्रुटीपूर्ण भएको बताएका छन् । समर्थकहरूले यो शब्दले ‘पहिचान’ झल्किएको र संघीयता सार्थक बनेको दाबी गरेका छन् । प्रदेश सरकारले खुसीयाली मनाउन भन्दै सार्वजनिक बिदा नै दियो ।

    हामीले नेपालको इतिहास, संस्कृति तथा संविधानका ज्ञाता दुई हस्तीलाई प्रदेश २ को नामाकरणबारे प्रश्न गर्‍यौं । संस्कृतिविद् जगमान गुरुङ र संविधानविद् डा. युवराज संग्रौलाले ‘मधेश’ शब्द प्रदेश २ को पहिचानसँग तादाम्य नराख्ने बताए । यो प्रदेशको नाम ‘मिथिला’ राखिएको भए सर्वस्वीकार्य र तार्किक हुने उनीहरूको भनाइ छ ।

    डा. युवराज संग्रौला भन्छन्-

    मधेश भन्ने शब्दको नेपालमा कुनै एतिहासिक मूल्य छैन । न यो भाषासँग जोडिएको छ, न संस्कृतिसँग, न भूगोलसँग । त्यसैले मधेश नामले प्रदेश २ को पहिचान बोक्यो भन्नु बेतुकको कुरा हो ।

    नेपाल कहिले ठूलो, कहिले सानो थियो । पहिले भारतको उत्तर प्रदेशको धेरै ठूलो भाग नेपालमा पर्थ्यो । म त्यता जान चाहन्नँ । तर, मधेश भन्ने शब्दले ती ८ जिल्लाका जनतालाई के गौरव दिन्छ ? मलाई लाग्छ केही पनि दिँदैन । प्रदेश नामाकरण राजनीतिक हिसाबबाट भएको छ । कसैलाई खुसी पार्न खोजिएको छ ।

    नेपालमा मधेशी भाषा भन्ने छैन । मधेशी सभ्यता भन्ने छैन । मधेशी संस्कृति पनि छैन । पहिलेदेखि मैले भन्दै आएको हो, प्रदेश २ को नाम मिथिला राख्दा राम्रो हुन्छ । नेपालमा विकास भएका केही महत्वपूर्ण सभ्यतामध्ये एउटा मैथिल सभ्यता हो । त्यो नेपालको आफ्नो सभ्यता हो । भारतबाट आयातित होइन । उहाँहरूले मिथिला नामाकरण गरेको भए नेपालको सभ्यताको प्रतिनिधित्व हुन्थ्यो । त्यहाँका बासिन्दाले गौरव गर्न सक्थे ।

    मिथिला प्रदेश नाम राखेको भए मैथिली भाषा, मिथिला सभ्यता, त्यसको एउटा अत्यन्त लामो इतिहास, कौशिकी ब्राम्हणहरूको राज्य, हिजो जनकको त्यो क्षेत्र सबै समेटिन्थ्यो । आजको मोरङ, झापा, सिन्धुलीदेखि रामेछापसम्म पर्थ्यो हिजो त्यो सभ्यता । संसारको एउटा सभ्यताको प्रतिनिधित्वि हुन्थ्यो । भारत जेमा चुकेको थियो, त्यो उहाँहरूले पाउनुहुन्थ्यो । तर, उहाँहरू पनि चुक्नुभयो । भोलि मान्छेहरूले जतिबेला थाहा पाउँछन् यो सबै कुरा, त्यतिबेला उहाँहरूको इतिहास नकारात्मक हुन्छ ।

    मधेश भन्ने त बाहिरका शक्तिहरूले नेपाललाई कमजोर बनाउनका लागि कथेको एउटा कहानी मात्रै न हो । कुनै बेला भारतमा ‘मध्यदेश’ भन्ने थियो, जुन अहिलेको लखनउतिर पर्छ । दक्षिण र उत्तरको बीचको टेरिटोरीलाई मध्यदेश भनिएको हो । मध्यदेशबाट भारतको मध्यप्रदेश नामाकरण भएको हो । त्यसको कुनै ऐतिहासिक मूल्य भने छैन । त्यो हलुका शब्द हो ।

    मध्येदेशबाट आएकाहरूले आफूलाई मधेशी भन्छन् । तर, त्यसको कहीँ पनि रिसर्च छैन । रिसर्च नभएको कुराको कुनै अर्थ पनि छैन । मध्यदेशको एउटा टुक्रा त्यतिबेला नेपालको तराई पनि पर्थ्यो होला । विहारको कुनै भागमा पनि पर्थ्यो होला । उत्तर प्रदेशको तल पनि पर्थ्यो होला । त्यसो हो भने त इन्डियाको धेरै ठूलो भागलाई मधेश भन्नुपर्ने हुन्छ ।

    अर्को कुरा, नेपालमा मेचीदेखि महाकालीसम्म समथल भूभाग छन् जसलाई उहाँहरू मधेश भन्ने गर्नुहुन्छ । अहिले आएर ८ जिल्लालाई मधेश नामाकरण गरियो । बाँकीलाई अब के भन्नुहुन्छ भन्ने प्रश्न पनि उब्जिन्छ । अब ८ जिल्ला बाहेककालाई मधेश भन्न मिल्दैन ।

    कुनै तर्क नभएको कुरालाई खण्डन गर्न पनि सकिँदैन र पुष्टि गर्न पनि सकिन्न । मधेश शब्दले उहाँहरूको कुनै पनि भावनालाई, सभ्यतालाई, भाषा र संस्कृतिलाई, जमिनलाई प्रतिनिधित्व गर्दैन । मन परेर राख्नु खुसीको कुरा हो । तर, जनताले सोध्दा उहाँहरूले जवाफ दिन सक्नुहुन्न ।

    संस्कृतिविद् जगमान गुरुङ यसो भन्छन्-

    नेपालमा मधेश भनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथल भूभागलाई जनाउँछ । अहिले ८ जिल्लाको प्रदेशलाई मधेश भनेर नामाकरण गर्नु धेरै हिसाबले त्रुटीपूर्ण हुन्छ ।

    वास्तवमा मिथिला नाम राखिएको भए त्यसमा गौरव हुन्थ्यो । मैथिल भाषाभाषी र संस्कृतिका अनुयायी नेपालमा भन्दा भारतमा धेरै छन् । तर, जनकको राजधानी नेपालको जनकपुरमा छ । जनकपुरलाई राजधानी भन्नु राम्रो भयो । प्रदेशको नाम पनि मिथिला राखिनुपर्थ्यो । तर, बहुमतको बलमा गलत निर्णय भएको छ ।

    तराईमा मधेशीहरू मात्रै पनि छैनन् । त्यहाँ पहाडी समुदाय पनि छन् । क्षेत्री, बाहुन, राई लिम्बु, दमाईं कामी सबै छन् । थारु र मुसलमान पनि मधेशी होइनन् । त्यसैले मधेश शब्द राखेर जातीय भावनालाई प्रश्रय दिइएको छ ।

  • मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

    मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

    रासस । मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ ।

    वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

    मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ ।

    जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

    यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिल एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ ।

    वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।

    त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ । त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ ।

    मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ ।

    जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ ।

    त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ ।