Tag: माैसम

  • काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा, भोलिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने

    काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा, भोलिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने

    काठमाडाैं । आज विहानैदेखि देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा गराएको हो । त्यसाे त काठमाडाैं उपत्यकामा हिजाे विहानैदेखि बदली थियाे भने केहि स्थानमा छिटफूट वर्षासमेत भएकाे थियाे ।

    ‘स्थानीय वायुसहित अरेवियन सागरबाट आएको वाष्पसहितको वायूले यो क्षेत्रमा वर्षा गराएको हो,’ मौसमविद् बरुण पौडेलले भने, ‘विहानदेखि अहिलेसम्म पानी पर्ने क्रम धेरै कम भइसकेको छ । दिउँसो पानी पर्दैन तर धुम्म बादल भने देशभरि नै रहनेछ ।’

    आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने अनुमान पौडेलले गरेका छन् । अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ ।

    भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्ने उनले बताएका छन् ।

  • राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने

    राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने

    काठमाडौं । पश्चिमी वायुका कारणले राजधानी काठमाडौं उपत्यकालगायत देशैभरको मौसम बिग्रिएको छ । राजधानी उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको छ । यसले जाडो अझै बढाउने मौसमविदहरु बताउँछन् ।

    नेपालमा शुक्रबारदेखि नै पश्चिमी वायु प्रवेश गरेको हाे । त्यसको न्यूनचापीय प्रणालीको प्रभवका कारण आजदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो बदलिरहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, वागमती र प्रदेश १ का केही क्षेत्रहरुमा हल्का वर्षा हुन सक्नेछ । रातिको समयमा पनि वर्षाको सम्भावना छ ।

    ‘यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ’ वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल प्रेससँग भने, ‘त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

    माैसमविद पाैडेलका अनुसार याे अवस्था म‌ंगलबारसम्म कायम रहनेछ । बुधबारदेखि क्रमश: पश्चिमदेखि पूर्वी क्षेत्र हुँदै वर्षा गराउने वायु बाहिरिनेछ ।

  • ‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’

    ‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’

    काठमाडौं । अहिले हामी जाडो सिजनमा छौं । डिसेम्बर, जनवरी, फेब्रुअरी तीन महिना जाडो माैसम नै रहन्छ ।

    अहिले हामी जनवरीको सुरुआतमै छौं। त्यसो हुँदा अझै एक महिना जाडो हुन्छ र, आगामी एक महिनामा अझै तापक्रम घटबढ हुनसक्ने सम्भावना देखिन्छ ।

    तर, पश्चिमी भूभागमा देखिएको वायु प्रभावका कारण केही हदसम्म वर्षा पनि हुनसक्ने सम्भावना बढेको छ । त्यस्तै उच्च हिमाली भू-भागहरूमा हिमपात पनि हुनसक्छ ।  यसै वायुको प्रभावका कारण तराईका क्षेत्रमा बिहानपख बाक्लो हुस्सु-कुहिरो पनि लाग्न सक्ने देखिन्छ ।

    आजको कुरा गर्दा नेपालमा विशेष गरी शुक्रबारबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायुको प्रभाव रहेको छ । आकाशमा अलिकति बादल देखिरहेको अवस्था छ । राम्रोसँग घाम पनि लाग्न सकिरहेको छैन। अब यो क्रम अझै दुई/चार दिन रहने देखिएको छ । त्यो भएर आजभन्दा भोलि अझै बादल बाक्लिन सक्ने देखिन्छ ।

    विशेष गरी पश्चिमका प्रदेशहरू- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली भू-भागहरूमा चाहिं हल्का हिमपातको सम्भावना छ । त्यस्तै पहाडी भूभागमा एक/दुई स्थानमा हल्का वर्षा पनि हुनसक्छ ।

    यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

    त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

    चिसो बढे पनि तत्कालै शीतलहरको सम्भावना देखिंदैन । बाहिरबाट बादल आउँदा शीतलहर हटेर जाने गर्दछ । र, हुस्सु-कुहिरो नलागे पनि जाडो चाहिं हुने गर्छ ।

    पानी परेपछि अझै तापक्रम घट्न सक्ने सम्भावना रहन्छ । बिहानको चिसिने-कठ्याङ्ग्रिने जाडो पनि यदि हिमपात भयो, पानी पर्‍यो भने अझै बढी हुनसक्ने सम्भावना छ ।

    किनभने, अझै एक/डेढ महिना जाडो याम नै बाँकी छ । त्यसैले अहिले पानी पर्ने भनेको जाडो गराउनका लागि नै हो । अझ बढी तापक्रम घट्न सक्ने अवस्था देखिन्छ । उच्च पहाडी भूभागमा भने हिमापातको सम्भावना कम छ । तर, कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा रहेका जिल्लाहरू हुम्ला, डोल्पा, कालिकोट, मुगु र यतापट्टि माथिल्लाे मुस्ताङतिर हिमपातको सम्भावना छ।

    सुदूरपश्चिम/कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुनसक्छ । दिनभरि नै ठूलो वर्षा हुँदैन । यद्यपि, बादल चाहिं लागिराख्ने  देखिन्छ । त्यसैले गर्दा दिउँसोको अधिकतम तापक्रम घट्ने गर्छ। यस्तो बेलामा हामीलाई हिजो अस्तिको तुलनामा अझै बढी जाडो महशुस हुने गर्छ ।

    पश्चिमी बायुको प्रभाव बुधबारसम्म जाने देखिन्छ । बुधबारदेखि मौसममा फेरि सुधार भएर जानेछ । विशेषगरी सुदूरपश्चिममा खुल्नका लागि बुधबारसम्म कुर्नुपर्ने हुन्छ भने काठमाडौ उपत्यका र पूर्वको हकमा मंगलबार बेलुकादेखि नै मौसममा सुधार भएर जानेछ ।

    जसले गर्दा आगामी दुई/तीन दिन बदली हुने सम्भावना रहन्छ । त्यसो फलस्वरूप देशभर नै आंशिकदेखि सामान्य बदली र केही स्थानहरूमा पूर्ण बदली हुनसक्छ ।

    विशेषगरी पश्चिमी क्षेत्रहरूमा घाम नै नलाग्न सक्ने सम्भावना पनि देखिएको छ । जाडो याममा बर्खाको जस्तो धेरै वर्षा हुँदैन । देशभरिको वर्षाको जुन आकलन छ त्यसलाई हेर्दा ३.५ प्रतिशत मात्रै यो समयमा वर्षा हुनेगर्छ ।

    त्यसो भएको हुनाले बर्खाको झरी जस्तो लगातार वर्षा हुँदैन । यस्तो बेलामा पानी पर्ने भनेको उच्च हिमाली भूभागहरूमा मात्रै हो जहाँ हिमपात पनि हुनसक्छ । किनभने यस्तो बेलामा जलबास बादलमा हुँदैन । सुख्खा खालको बादल हुन्छ ।

    बादल बढी चिसो र सुख्खा हुने भएकाले ठूलो वर्षा हुँदैन । यद्यपि, सुदूरपश्चिमका क्षेत्रमा भने अहिले वर्षाको सम्भावना देखिएको छ ।

    काठमाडौं उपत्यकाको हकमा भने जाडो अझै एक महिनासम्म जुनसुकै बेला घटबढ हुनसक्छ । यो वर्षको कुरा गर्दा ३१ डिसेम्बरको रातिको समयमा ०.८ डिग्री सेन्टिग्रेट न्यूनतम तापक्रम मापन भएको छ ।

    अहिले काठमाडौंमा १/२ डिग्रीको हाराहारीमा बिहानको तापक्रम रहन्छ । दिउँसोको तापक्रम अधिकतम १६/१७ डिग्री सम्म रहने देखिन्छ । त्यसो हुनाले दिउँसो घाम नलागिसकेपछि तुलनात्मक रुपमा हिजो अस्तिको भन्दा जाडोको महसूस हुनेगर्छ ।

    २/४ दिन जाडोबाट बच्ने उपायहरू अपनाएर सावधानीपूर्वक बस्नुपर्ने हुन्छ । वर्षा नभए पनि चिसोबाट बच्ने उपायहरू अपनाउनुपर्छ ।

    गत वर्षको र यो वर्षको जाडो यामलाई तुलना गर्दा खासै फरक देखिंदैन । गत वर्षको मौसम पनि यो समयमा यही ‘रेन्ज’मा थियो । अझै केही हदसम्म वर्षा पनि भएको थियो । अहिले वर्षा भएको छैन ।

    हिउँदे वर्षा गराउनका लागि टाढाबाट वायु आउनुपर्ने हुन्छ । यो वर्ष अहिलेसम्मको कुरा गर्दा अहिले देखिइरहेको बादल चौथो प्रणालीको छ । जुन अहिले विगतको तुलनामा केही फरक देखिएको छ, यसअघि सुदूरपश्चिमतिर आउने अलिअलि बादल लाग्ने अनि हटेर जाने गरेको थियो ।

    तर, यो वर्ष देशैभर फैलिएको अवस्था छ । तुलनात्मक रूपमा यस्तो बादलले हल्का वर्षा पनि गराउन सक्ने देखिन्छ, विशेषगरी उच्च हिमाली भूभागमा ।

    काठमाडौंको न्यूनतम तापक्रम जाडोयाम भर ० देखि २ डिग्रीको हाराहारीमा रहने देखिन्छ ।

    काठमाडौं उपत्यका वरिपरिका क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ । अहिले पानी पर्ने भनेको धेरै टाढाबाट वायु आउँछ । भूमध्यसागर, इजिप्ट वा ‘मिडलइस्ट’का क्षेत्रहरूबाट जलवाष्प आउनुपर्ने हुन्छ । त्यो यहाँसम्म आइपुग्दा उतै पानी परेर सकिन्छ ।

    हामीकहाँ आइपुग्ने बेला सुख्खा बादल मात्रै आउँछ । त्यसले गर्दा बर्खाको झरी जस्तो पानी पर्ने हुँदैन । यद्यपि, तीन/चार दिनसम्म यस्तै धुम्म भइराख्यो, बादल थुप्रिंदै गयो भने, नगरकोट, फुलचोकी, दामन जस्ता ठाउँमा हल्का हिमपातको सम्भावना हुन्छ ।

    तर, यो सिस्टमले हिमपात गराउला जस्तो देखिंदैन ।