Tag: माधव-प्रचण्ड

  • माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

    माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

    कैलाली । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढेपछि धनगढीस्थित कृषि विकास बैङ्कको खातामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३० लाख रकम केन्द्रकै सर्कुलरपछि झिकिएको खुलेको छ ।

    कृषि विकास बैंकको ८२२५०१२६५४७७०१४ नम्बरको खातामा रहेको ३० लाख रकम १३ पुसमा गोप्य रुपमा झिकिएको थियो ।

    साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा, सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो ।

    पार्टीमा विवाद बढेपछि केन्द्रको निर्देशमा पार्टी सचिव चौधरी र कार्यालय सचिव सुबेदीले उक्त रकम झिकेका हुन् । १३ गते रकम झिकेर ७ दिन सम्म सम्म सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा राखेका थिए ।

    नेकपामा विवाद बढेपछि तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले लिखित रूपमा सम्पत्तिको संरक्षण गर्न सर्कुलर गरेका थिए । उक्त सर्कुलर अनुसार रकम झिकिएको एमाले स्रोत बताउँछ ।

    ७ दिन सम्म उक्त रकम सुबेदीकै खातामा रह्यो । २० पौषमा सुबेदी र चौधरीको नाममा नेपाल बैङ्क लिमिटेडको बचत खाता नम्बर १३७०१००६९४६४०६०००००१ रकम जम्मा गरिएको थियो ।

    अहिले सुबेदी र चौधरी सहित एमालेमा माधव समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी गरी ३ जनाको संयुक्त रूपमा खाता छ ।
    १३ पौषमा कृषि विकास बैङ्कबाट रकम रकमान्तर गरेको र २० पौषमा नयाँ खातामा रकम जम्मा गरेको विषयलाई प्रदेश पदाधिकारीको बैठकले समेत अनुमोदन गरिसकेको छ ।

    ८ माघमा प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले उक्त विषय अनुमोदन गरेको हो । बैठकमा तत्कालीन इन्चार्ज भीम रावल, सह इञ्चार्ज लक्ष्मण दत्त जोशी र सचिव नेप बहादुर चौधरी थिए ।

    उक्त बैठकमा तत्कालीन सह इन्चार्ज भानुभक्त जोशी र अध्यक्ष कर्ण थापा भने थिएनन् ।‘८ गतेको बैठकले पार्टीको रकम व्यक्तिको खातामा हुँदै नयाँ खातामा राखेको विषय अनुमोदन गरेको हो’ एमाले स्रोतले भन्यो ‘सबै कुरा केन्द्रकै निर्देशनमा भएको थियो ।’

    उक्त रकम एमाले र माओवादीका सांसद तथा मन्त्रीहरुबाट उठाइएको लेबी रहेको बताइएको छ ।‘सांसदबाट मासिक ८ हजार ५ सय र मन्त्रीहरूबाट मासिक १० हजार रकम उठाइँदै आएको थियो’ स्रोतले भन्यो ‘कसैले दिए कसैले दिएनन् ।’

    रकमान्तर र नयाँ खाता निर्माणमा भीम रावलको कुनै भूमिका नरहेको पार्टी सचिव दिनेश चन्द्र सुबेदी बताउँछन् ।
    ‘उहाँको त हस्ताक्षर नै चल्दैन । कसरी उहाँको भूमिका हुन्छ’ उनले भने ‘पार्टीको निर्णय अनुसार पार्टीको सम्पत्ति सुरक्षित गर्न यसो गरिएको हो ।’

  • माधव-प्रचण्ड समूहको धनगढी सभा : ओलीलाई दलालदेखि भगुवासम्मका आरोप

    माधव-प्रचण्ड समूहको धनगढी सभा : ओलीलाई दलालदेखि भगुवासम्मका आरोप

    कैलाली । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव खेमाले धनगढीमा आज शक्ति प्रदर्शन गर्यो । सधैंजस्तो आजको विरोधसभामा पनि नेताहरु इतर समूह खासगरी, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहारमा केन्द्रित भएका थिए ।

    सुदूरपश्चिमस्तरीय सभामा दर्शकको उपस्थितिले नेताहरु हौसिएका थिए । प्रचण्ड–माधवलाई समर्थन गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि पार्टीका अध्यक्ष प्रचण्डलाई सुन्न जनता राम्रै संख्यामा आएका पनि थिए । विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेताहरुले ओलीलाई दलालदेखि भगुवासम्मका आरोप लगाए ।

    ओलीलाई भगुवाको आरोप लगाएका थिए, उनका कटु आलोचक सुदूरपश्चिमेली नेता भीम रावलले । ‘उहाँ पार्टी बैठकबाट सधैं भाग्नुभयो, बैठक बसाउनै मान्नुभएन’ रावलले भने, ‘केपी ओली एक नम्बरको भगुवा हो ।’

    रावलले ओलीलाई ‘बालुवाटारको केटो’ भन्दै लल्कारेका थिए । २४ पुसमा ओलीले धनगढीमै रावललाई ‘अछामको केटो’ भनेको जवाफ उनले फर्काएका हुन् ।

    ‘अछामको एउटा केटो म जेलमा बस्दाबस्दै बाटोमा हिंड्दै गर्दा ल्याएको थियो । मैले राजनीति गर्न सिकाएँ’ रावललाई सङ्केत गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अहिले त कुराकानी सानातिना छैनन् ।’

    तीन सातापछि शनिवार प्रधानमन्त्री ओलीलाई रावलले त्यही मञ्चबाट जवाफ फर्काए । रावलले भने, ‘यो खुलामञ्चको आँगनमा र घरघरमा प्रत्यक्ष प्रसारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको कर्तुत विरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस् ।’

    शनिवार धनगढीमा रावलले जस्तै अधिकांश नेताहरूले प्रधानमन्त्री ओलीको विरोध गरे । उनीहरूले ओलीले सरकार सञ्चालन गर्न नसकेको, असंवैधानिक कदम चालेको, संविधान उल्लंघन गरेको लगायतका आरोप दोहोर्‍याए ।

    दाहालले ओलीलाई ‘सामन्त र पूँजीपतिका दलाल’ भन्दै गाली गरे । अनि, सुदूरपश्चिमका पूर्व माओवादी नेता लेखराज भट्टलाई ‘दलालको पनि दलाल’ संज्ञा दिए ।

    भट्टसित चित्त दुखाउँदै उनले भने, ‘मैले नै हुर्काएको पटक–पटक मन्त्री बनाएको मान्छे अहिले त कता हो कता । मलाई केही रात त निद्रा पनि लागेको थिएन । तर, सुदूरपश्चिमका ९५ प्रतिशत जनता हल्लिएनन् । अहिले मेरो छाती गर्वले फुलेको छ ।’

    प्रचण्डले आफ्नो सन्तानमोहका विषयमा ओलीले बारम्बार गर्ने गरेको टिप्पणीमा जवाफ दिन पनि लामै समय खर्चेका थिए ।

    अर्का अध्यक्ष माधव नेपालले केपी ओलीको समूहमा थप गरिएका केन्द्रीय सदस्यहरुको मजाक उडाए । ‘विचरा उहाँहरु टायँ टायँ फिस हुनुभयो, बडो विजोक भयो’ उनले भने, ‘उहाँहरुलाई कति लाज भयो होला, बरु बुर्का लगाइदिए हुन्छ ।’

    नेपालले केपी ओलीको सरकार आएपछि निर्मला हत्याकाण्ड भएको भन्दै सरकारको लक्षण नै राम्रो नभएको टिप्पणी समेत गरेका थिए ।

    विरोध सभामा बोल्दै नेपालले भने, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पस्यो । उनको सरकार बने लगत्तै निर्मला हत्याकाण्ड भयो । अब यसको लक्षण राम्रो छैन भन्ने लागेको थियो । लक्षणबाटै थाहा भयो यसले राम्रो ढङ्गले काम गर्दैन ।’