Tag: माधव पक्ष

  • माधव पक्ष विभाजित- नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा

    माधव पक्ष विभाजित- नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा

    काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ ।

    नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएका छन् ।

    तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद भने ‘नो भोट’ को पक्षम उभिने भएका छन् । संसद सचिवालयले विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन नचाहने सांसदको लागि ‘मत दिन्न’ भन्ने अलग्गै व्यवस्था समेत गरेको छ ।

    संसद जोगाउन चाहिने वहुमत देउवाको पक्षमा पुगेकाले माधव पक्षका केही सांसद नो भोटमा जान लागेका हुन् ।

    यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायत ‘नो भोट’का पक्षमा उभिने भएका छन् । कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरु संसद भवनबाट बाहिरिएका छन् ।

     

  • युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

    आज अखिलको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

    केपी ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै माधव पक्षको अखिल फोर्स गठन गरिएको हो ।

    नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको पराजुलीले बताए । ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, पराजुलीले भने, ‘अब माधव नेपालहरू प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ , यदाकदा साइबर स्यालहरू हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारवाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

    पराजुलीले माधव नेपाललाई कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारवाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

     

  • शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

    शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ ।

    बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

    जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।

    संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।

    माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।

  • माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्

    माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका जनसंगठनका नेताहरुले एमालेकै नाममा समानान्तर गतिबिधि गर्नुभन्दा कि आत्मसमर्पण कि बिद्रोहको नीति लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

    युवा संघका अध्यक्ष नरेशबहादुर शाही र उपाध्यक्ष नितेश पौडेलको संयोजनमा भएको जुम बैठकमा सहभागी नेताहरुले शक्ति र संगठनलाई जोगाउनका लागि अलग पार्टी गठन गर्नुपर्ने बताएका हुन् । उनीहरुले एमालेमै बसेर अन्तरसंघर्ष गर्ने चरण सकिएको धारणा राखेका थिए ।

    पूर्व खेलकुदमन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरषोत्तम पौडेलले अब आफूहरुसँग आत्मसमपर्ण वा विद्रोहमध्ये एउटा बाटो रोज्ने बेला आइसकेको बताएका थिए । सबैजसो जनसंगठनका नेताले एमालेकै नाममा समानान्तर गतिविधि गर्नुभन्दा केपी ओलीका सम्पूर्ण दोष बिर्सेर आत्मसमर्पण गरौं भन्दै होइन भने विद्रोहको विकल्प नभएको बताएका थिए ।

    प्रेस चौतारीका नेता विश्वमणी सुवेदी,राजेश राई लगायतले अलग पार्टी बनेमा आफूहरु त्यसमा तयार रहे पनि माओवादीसहितको एकताको पक्षमा भने नरहेको बताएका थिए ।

    जुम बैठकमा माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अनेमसंघ अध्यक्ष जयन्ती राई, महासचिव शान्ति अधिकारी सहभागी थिए

    त्यस्तै जनसास्कृतिक महासंघका कृपाराम धमला, कृष्णगोपाल तामाङ, पेशागत महासंघका विश्वनाथ प्याकुरेल, रामप्रसाद रिमाल, जिफन्टका भीमज्वाला राई, प्रेस चौतारीका विश्वमणि सुवेदी, नरेन्द्र साउद, राजेश राई, जातीय मुक्ति समाजका अनुभुती बम नेपालीसहितका सहभागी थिए ।

    बैठकका निष्कर्ष सुनाउने र शीर्ष नेतृत्वसँग समन्वय गर्ने जिम्मा नेताहरु पुरुषोत्तम पौडेल र विश्वनाथ प्याकुरेललाई दिएको छ । माधव पक्षीय जनसंगठनको तर्फबाट बुधवारै संयुक्त वक्तव्य जारी गर्ने र त्यसको संयोजन प्रेस चौतारीका महासचिव राजेश राई र अनेरास्ववियुकी महासचिव आरती लामालाई दिइएको छ ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।

    संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

  • माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ ।

    अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई हठात् रुपमा स्पष्टीकरण सोधिनु अराजनीतिक कदम भएको बताइन् ।

    ‘पार्टीको विभाजनको पक्षमा स्वयं पार्टी अध्यक्ष नै हुनुहुन्छ । निरन्तर उहाँ कम्युनिष्ट आन्दोलन र पार्टी एकता धराशयी बनाउन लाग्नुभएको छ । सांसदहरूलाई सोधिएको स्पष्टीकरण त्यसैको निरन्तरता हो’, झाँक्रीले पत्रकारहरूसँग भनिन् ।

    नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेकोले प्रतिवाद जारी रहने जनाएको छ ।

    ‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं’, झाँक्रीले भनिन् ।

    अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको पत्र स्पष्टीकरण दिन लायक नभएपनि स्पष्टीकरण नदिँदा प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले जनाइन् ।

    सांसदलाई स्ष्टीकरण एमाले विभाजनको अर्को कदम

    सांसद र वरिष्ठ नेताहरुबीच भएको सामूहिक छलफलमा २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालेको सांसदहरुले बताएका छन्।

    ‘फागुन २८ गतेको निर्णयबाट नै ओलीले एमाले विभाजनको निर्णय गरिसक्नु भएको थियो,’ छलफलमा सहभागि सांसद वेदुराम भुसालले भने, ‘सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय विभाजनको कार्यान्वयन हो।’

    सांसद झपट रावलले स्पष्टीकरणका बारेमा छलफल भएको र तोकिएको समयभित्रै यथोचित जवाफ दिने निर्णय भएको बताए । ‘जुन स्पष्टीरकरणका नाममा हामीलाई सोधिएको छ,त्यसमा हामीले सामूहिक ढंगले छलफल गर्‍यौं,’ राववले भने, ‘त्यो पूर्व तयारीका साथ र रेडिमेट रहेछ । यसबारे कसरी जाने भन्ने ढंगले छलफल गर्‍यौं । र, तोकिएको समयभित्रै यसको यथोचित जवाफ दिने गरि हामी उठ्यौं ।’

    स्पष्टीकरणमा नेपाल पक्षले अलग पार्टी खोलेको आरोप लगाइएको छ। त्यसको पनि नेपाल पक्षले खण्डन गरेको छ। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओली हो,’ रावलको भनाइ छ, ‘म केन्द्रीय कमिटीको सदस्य हो र त्यही पार्टीबाट निर्वाचित सांसद म पनि । हामीले नेकपा एमालेको घोषित लक्ष्य उदेश्य भन्दा बाहिर र नबौं महाधिवेशनले पारित गरेको विधि र विधान भन्दा कही पनि बाहिर गएका छैनौं ।’

  • ओलीविरुद्ध कर्णालीबाट महागठबन्धनको अभ्यास, माधव पक्षले अन्यत्र पनि एमालेलाई मत नदिने

    ओलीविरुद्ध कर्णालीबाट महागठबन्धनको अभ्यास, माधव पक्षले अन्यत्र पनि एमालेलाई मत नदिने

    काठमाडौं । आफ्नै नेतृत्वमा संघीय सरकार बनाउन जुटेको नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएको नेकपा माओवादी केन्द्रबीच कर्णालीबाट गठबन्धनको सुरुवात भएको छ । जुन गठबन्धनमा नेकपा एमालेकै माधव नेपाल समूह समेत सहभागि छ ।

    कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुले नेपाली राजनीतिमा नयाँ गठबन्धन उदयको संकेत गरेको छ । शाहीलाई नेपाली कांग्रेसका ६ र एमालेबाट फ्लोर क्रस गरी ४ जना सांसदले विश्वासको मत दिए ।

    प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने- निमुखालाई न्याय दिन’ कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका थिए । ‘हामी तटस्थ बस्ने मनस्थितिमा थियौं तर अन्तिममा हामीलाई लाग्यो कुनै निर्णय दिनैपर्छ । एमालेलाई साथ दिनुभन्दा कमजोर रहेको माओवादीलाई साथ दिनु उपयुक्त हो भनेर दिएका हौं । हाम्रो मतले पनि सरकार जोगिन्छ भन्ने लागेको छैन ।

    विश्वासको मत दिनुअघि शाहीले दिएको अभिव्यक्ति चलाखीपूर्ण थियो । त्यसअघिनै शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच केन्द्रमा सहमति भइसकेको थियो । एमालेका सांसदले फ्लोर क्रस गर्ने र कांग्रेसको समर्थन भए माओवादी सरकार जोगिने निश्चित भएपछि नै कर्णालीमा कांग्रेसले विश्वासको मत दिएको हो ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच ब्यापारी प्रमोद राणाको घरमा भेटवार्ता भएको थियो । सोही भेटमा प्रदेशदेखि केन्द्रसम्म राजनीतिक सहकार्य गर्ने सहमति जुटेको बताइन्छ । त्यसमा माधव नेपाल पक्षलाई पनि साथमै लिएर जाने प्रचण्डको चाहनामा देउवा पनि सहमत भएका थिए ।

    देउवा-दाहाल सहमतिकै फलस्वरुप बिहीबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाले संयुक्त अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ‘गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने, लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउने र कर्णालीमा अहिलेकै सरकार निरन्तर राख्ने सहमति बनेकै हो । त्यसबाहेक कांग्रेस नेतृत्वमा संघीय सरकार बनाउन पनि माओवादी तयार छ’, सभापति देउवानिकट एक नेताले नेपाल प्रेससंग भने । ती नेताका अनुसार देउवा-दाहाल सहमतिको राजनीतिक परिणाम क्रमशः देखिदै जानेछ ।

    कर्णालीमा एमालेबाट आर्थिक मामिला मन्त्री बनेका प्रकाश ज्वालाकै नेतृत्वमा फ्लोर क्रस भएको छ । यसलाई राजनीतिक रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । ‘कर्णालीमा जे भयो त्यो नयाँ गठबन्धनकै संकेत हो । अब केन्द्रमा पनि हिम्मत गर्ने हो भने जसपाबिनै ओली सरकार हट्छ’, विश्लेषक पुरञ्जन आचार्यको दावी छ ।

    उनका अनुसार कांग्रेस र माओवादी मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा एमाले र जसपाबाट फ्लोर क्रस हुने सम्भावना बढी छ । उनले प्रदेशहरुमा देखिएको राजनीतिक सहमतिको परिणाम संघीय संसदमा पनि देखिनुपर्ने बताए ।

    ‘शेरबहादुरजी, प्रचण्डजी र माधवजीको बीचमा साझा सहमति बनेकै हुनुपर्छ । त्यही सहमति कायम राख्ने हो भने संघीय सरकारपनि हट्छ’, आचार्यले नेपाल प्रेससंग भने ।

    कर्णालीमा माओवादी र कांग्रेसबीच सहकार्य हुनु र एमालेभित्र फ्लोर क्रस हुनुले ओलीविरुद्ध सबैतिर गठबन्धन हुने सम्भावना बढाएको छ । माओवादीले समर्थन फिर्ता लिएमा जसपाको समर्थन लिएर संसदमा बहुमत सिद्ध गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यद्यपि कर्णालीमा भएको फ्लोर क्रसबाट प्रतिनिधिसभामा पनि फ्लोर क्रस हुने सम्भावना बढेको छ ।

    के होला एमालेको फ्लोर क्रस अभियान ?

    कर्णालीमा एमालेका सांसदले फ्लोर क्रस गर्ने जानकारी मतदानको केहीबेरअघिमात्र ठाउँ ठाउँमा पुगेको थियो । यद्यपी प्रचण्ड र माधव नेपालबीचका छलफलपछि प्रकाश ज्वालामार्फत सो निर्णय कार्यन्वयन गरिएको थियो । यो प्रक्रिया अब सबै प्रदेश हुँदै संघीय संसदमा जाने माधव नेपाल पक्षले जनाएको छ ।

    फ्लोर क्रस गरेका कर्णालीको एमाले नेताहरुले आफूहरुको व्यक्तिगत नभई माथिबाटै निर्देशन अनुसार माओवादीलाई साथ दिएको प्रष्ट पारेका छन् । सांसद अम्बरवहादुर थापाले पद जान्छ भन्ने जान्दा जान्दै फ्लोर क्रस गरिएको र माधव नेपालकै निर्देशनमा आफूहरु अघि बढेको बताएका छन् ।

    कर्णालीमा माधव नेपाल पक्षले माओवादी सरकार जोगाइदिएकै बेला सुदूरपश्चिम प्रदेशमा पनि माधव नेपाल पक्षले संसदीय दलको बैठक राखेको थियो । दलको बैठकमा केपी ओली पक्षका सांसद सहभागी थिएनन् ।

    नेपाल पक्षको संसदीय दलमा बहुमत रहेको सुदूरपश्चिम प्रदेश हो । गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ एमालेका २९ सांसदमध्ये माधव नेपाल पक्षका एकजना इन्द्रलाल सापकोटामात्र छन् । उनकै कारण पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने अवस्था आएमा उनलाई पनि फ्लोर क्रस गराउने तयारी नेपाल पक्षको छ ।

    लुम्बिनीमा पनि शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी छ । त्यहाँ एमालेका कुल सांसदमध्ये दुईजनामात्र माधव नेपाल पक्षका छन् । उनीहरु पनि आवश्यकता परेमा फ्लवोर क्रस गर्न तयार छन् ।

    यो सबै रणनीति बुझेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई थप मौका नदिने रणनीति पनि बनाउँदैछन् । माधव नेपालसहित केही सांसदको पद निलम्बनको प्रक्रियाबाट ओली अघि बढ्ने सम्भावना पनि छ ।

    एमालेका संशोधित विधानले तत्कालै कुनै निर्णय नलिदा पार्टी र संसदीय दललाई गम्भीर क्षति हुने महशुस भएमा ठाउँको ठाउँ संसदीय दलको नेताले सांसदलाई निलम्बनको कारवाही गर्न सक्ने व्यवस्था गरेको छ । संघीय संसदमा कर्णालीको अभ्यास दोहोरिन नदिन ओलीले विधानको सोही अस्त्र प्रयोग गर्ने सम्भावना रहेको नेताहरु बताउछन् ।

    माधव नेपाल पक्ष एमालेमा बस्न भन्दा पनि एमालेमा फर्केर ओलीलाई कमजोर बनाउने र नसके माओवादीमै फर्किने गरि आएकाले नेपाल पक्षसँग सम्झौताको कुनै सम्भावना नरहेको सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा बताउछन् ।

    के छ विधानको व्यवस्था

    सदस्यहरूलाई कारबाही गर्ने मामिलमा पछिल्लो पटक संशोधित दलको विधानमा कारबाहीका नियमित प्रक्रिया पूरा नगरी दलका नेताले तल्काल ६ महिनाका लागि दलको सदस्यताबाट निलम्बन गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।

    पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस दलका नेताले गरेमा मात्रै पनि त्यस्तो कारबाही गर्न सक्ने छन्। संसदीय दलको विधानको दफा २५को उपदफा ६ मा भनिएको छ, ‘पर्खिएर कारबाहीको नियमित प्रक्रियातर्फ जाँदा तत्काल पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस भएमा दलको नेताले कुनै पनि सदस्यलाई ६ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्नेछ ।’

    दलको नेताले गरेको त्यस्तो कारबाहीको निर्णय संसदीय बोर्ड वा संसदीय दलको बैठकबाट भने अनुमोदन गर्नुपर्ने छ। विधानमा भनिएको छ । ‘तर दलको नेताको यस्तो निर्णय त्यसपछि बस्ने बोर्ड वा संसदीय दलको बैठक जुन पहिला बस्छ, त्यसमा अनुमोदनका लागि पेश गर्नु पर्नेछ।’

    विधानको यही व्यवस्था माधव नेपाल पक्षमाथि लगाएर संघीय संसदमा आफूविरुद्ध कुनै मौका नदिने रणनीति ओलीले बनाउन सक्ने आँकलन छ ।

  • माधव नेपाल पक्षले खोज्यो बेग्लै कार्यालय, एमालेको नयाँ भवनमा नजाने

    माधव नेपाल पक्षले खोज्यो बेग्लै कार्यालय, एमालेको नयाँ भवनमा नजाने

    काठमाडौं । नेकपा एमालेभित्रै बसेर अन्तर संघर्ष गर्ने भनिरहेका माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय सञ्चालन गर्ने भएको छ । धुम्वाराहीबाट पार्टीको कार्यालय थापाथली हाइटमा सर्न लागेका बेला नेपाल पक्ष भने त्यहाँ नजाने भएको छ ।

    आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताए ।

    नेता नेपालले भने, ‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि ।’

    नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न निर्देशन दिए । उनले सबै जनसंगठनहरुमा नयाँ नेतृत्वसहित कार्यालय सन्चालन गर्नुपर्ने बताए ।

    माधव नेपालनिकट नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालयको लागि ठाउँ खोज्ने क्रम चलिरहेको बताए ।

  • माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, योगेश भन्छन्- संसदीय दलको बैठकमा जानुपर्छ

    माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, योगेश भन्छन्- संसदीय दलको बैठकमा जानुपर्छ

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नजाने भने पनि दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने केही नेताले बताएका छन् ।

    पूर्वमन्त्री योगेश भट्टराईले दलको बैठकमा जाने नेपाल प्रेसलाई बताए । माधव नेपाल, झलनाथ खनाल लगायताका नेताहरूको सहभागिताबारे भने अहिले केहीबेरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकपछि तय हुनेछ ।

    माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले थप रणनीति तय गर्ने र दलको बैठकमा जाने वा नजाने टुंगो लगाउने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

    बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

    संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाललाई पनि ओलीले राखेका छन् । तर नेपालले सो पद अश्वीकार गरेका छन् । एमाले संसदीय दलमा माधव नेपाल पक्षका ३५ जना सांसद छन् ।

  • माधव पक्षले बोलायो युवा भेला, नयाँ नेतृत्व चयन गर्ने

    माधव पक्षले बोलायो युवा भेला, नयाँ नेतृत्व चयन गर्ने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले भोलि युवाहरूको राष्ट्रिय भेला बोलाएको छ ।

    शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शनिबार राष्ट्रिय सभागृहमा भेला बोलाइएको आयोजक कमिटीका संयोजक नरेश शाहीले जानकारी दिए । भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने उनले बताए ।

    शाहीले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

    भेलालाई वरिष्ठ नेता तथा नेपालले उद्घाटन गर्ने तय गरिएको छ ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माउ पार्टी ब्युँतिएसँगै भ्रातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्‍याएको सो पक्षको जिकिर छ ।

    भोलिको भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुखलगायतको पदाधिकारीहरू सहभागी हुनेछन् ।

    आन्तरिक असन्तुष्टि बढेसँगै नेकपा एमालेको माधव पक्षले कार्यकर्ता, महिला, किसानको छुट्टै भेला गरिसकेको छ ।

  • माधव पक्षले बोलायो किसान भेला, बामदेव पनि सहभागी हुने दाबी

    माधव पक्षले बोलायो किसान भेला, बामदेव पनि सहभागी हुने दाबी

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले किसान महासंघको भेला बोलाएको छ ।

    शुक्रबार अखिल नेपाल किसान महासंघको भेला तय गरिएको भन्दै केन्द्रीय सदस्य बलराम बास्कोटाले भेलामा महासंघका अध्यक्ष बामदेव गौतम पनि सहभागी हुने जानकारी दिए ।

    सर्वोच्चको आदेशसँगै ब्युँतिएको नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षको एकपछि अर्को भेला गरिरहेको छ ।

  • माधवपक्षीय भेलाले ३ महिने कार्यभार बनाउने

    माधवपक्षीय भेलाले ३ महिने कार्यभार बनाउने

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको ललितपुरको हेरिटेज गार्डेनमा जारी छ ।

    आज र भोलि २ दिन चल्ने भेलाले आगामी ३ महिनाको कार्यभार तय गरिने बताइएको छ । आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ ।

    १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

    पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रूपमा कार्यभारमा समावेश गरिने उनको भनाइ छ ।

    ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयको ८ पृष्ठको प्रतिवेदन पेस गरिएको छ ।

  • माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता

    माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता

    काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । वरिष्ठ नेता झलनाथ खनालले भेलाको अध्यक्षता गरेका छन् ।

    ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो । भेलामा देशभरका २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने नेताहरूले दाबी गरेका थिए ।

    पार्टीमा आन्तरिक विवादका बीच अब कसरी अघि बढ्ने भन्ने भेलाले रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने बताइएको छ ।

    माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

    संस्थापन पक्षले फागुन २८ गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ । यसबीचमा दुवै पक्षबीच वार्ता भएपनि आ-आफ्ना अडानका कारण निष्कर्ष केही निस्किएको छैन ।

    भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारबाही गरिने भन्दै संस्थापन पक्षले चेतावनीसमेत दिएको थियो ।

  • माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल

    माधवपक्षीय भेलाको पूर्वसन्ध्यामा यस्तो देखियो चहलपहल

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ ।

    दुई दिने राष्ट्रिय भेलाका लागि भेन्यूका रूपमा ललितपुरको सानेपा हाइटस्थित हेरिटेज ब्यान्क्वेटलाई चयन गरिएको छ ।

    पार्टीभित्रको विवादबारे निर्णायक कदम चाल्नुअघि नेपाल पक्षले कार्यकर्ताको पनि ‘मुड’ बुझ्न चाहिरहेको छ । त्यसै अनुसार आयोजान गर्न लागिएको कार्यकता भेलाबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरियो ।

    भेलामा करिब तीन हजार कार्यकर्ता भेला हुने माधव पक्षको दाबी छ । भेलाको पूर्वसन्ध्याम हेरिटेज ब्यान्क्वेटको चहलपहल भने बढेको देखिन्छ ।

             
  • नेपाल पक्षीय भेलाको जोड-पार्टीलाई एकताबद्ध बनाउन केपी ओलीले नै भूमिका खेलुन्

    नेपाल पक्षीय भेलाको जोड-पार्टीलाई एकताबद्ध बनाउन केपी ओलीले नै भूमिका खेलुन्

    काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले विकसित घटनाक्रमपछि पनि पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष केपी ओलीकै हुने भन्दै त्यसको पहल उनले नै गर्नुपर्नेमा जोड दिएको छ ।

    बुधबार काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा त्यस्तो सुझाव आएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

    ‘अदालतले पुनर्स्थापना गरेपछि मुख्य अध्यक्ष केपी ओली हुनुभयो’ पन्तले भेलाबारे जानकारी दिंदै भने, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने बारेमा छलफल भएको छ । यसमा हामीले के अपेक्षा गरेका छौं भने, उहाँले छिट्टै अब विभिन्न कमिटीको (केन्द्रीय, स्थायी र सचिवालय) बैठक बोलाउनुहोला । त्यहाँ छलफल भएर यो विषय अगाडि बढ्नुपर्यो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा निर्णायक भूमिका उहाँको हुन्छ ।’

    भेलामा अधिकांशले वामपन्थीहरुबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए। ‘सरकारबारे पनि धरै साथीहरूको सुझाव वामपन्थीकै हुनुपर्छ’ यसबारे पन्तले भने, ‘तत्काल पार्टी एकता होला-नहोला तर नेपालभरिका वामपन्थीहरुबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्छ भन्ने छ। कसरी वामपन्थीहरुको मोर्चाको सरकार भए पनि बन्नु र टिक्नु उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ ।’

    भेलामा सबै कार्यकर्तालाई संयमित हुन, पार्टी एकतालाई बलियो बनाउनुपर्छ भन्ने हिसाबले सोच्न र जुझारु पनि हुन कार्यकर्तालाई आह्वान गर्ने मत बनेको समेत उनले जानकारी दिए।

    भेलामा संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नेम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आपत्ति जनाइएको छ ।

    भेलामा सहभागी केन्द्रीय सदस्य झपट रावलले भने– देशव्यापी रुपमा पार्टी कार्यालयहरु कब्जा गर्ने, गुण्डागर्दी गर्ने र उडन्ते तथा म्यादी पदाधिकारीहरुको बोर्ड राख्ने कुराको कसरी प्रतिवाद गर्ने भनेर छलफल भएको छ । छिटोभन्दा छिटो केन्द्रीय बैठक बोलाउनुपर्छ भन्ने कुरा हाम्रो हो ।

    बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताहरुले अबको रणनीतिबारे धारणा राखेका छन् ।