Tag: मादी हत्याकाण्ड

  • मादी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुखसहित पाँच जना पुरस्कृत

    मादी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुखसहित पाँच जना पुरस्कृत

    काठमाडौं । संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने प्रदेश १ का प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ । उक्त घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा प्रशंसनीय कार्य गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अरूणकुमार विसीसहित ५ जना प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा डीआईजीपी विसीसँगै प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक (एसपी) भिमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक (इन्सेक्टर) बबिन्द्र नेम्बाङ रहेका छन् ।

    अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी पुरस्कृत गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उनिहरुले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप अभिलेखमा राखिनेगरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेकाे हाे ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरेका छन् ।

  • संखुवासभा प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

    संखुवासभा प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाले केही बेरअघि प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकालेको छ ।

    ‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराईन्छ।’

    प्रहरी निरीक्षक अधिकारीले अनुसन्धानको क्रममा केही व्यक्तिलाई सामान्य सोधपुछ गर्ने कुरा सामान्य भए पनि पक्राउ गरेको र मोबाइल बरामद भएको कुरा गलत भएको बताए । ‘मुद्दासम्बन्धी प्रमाणहरू संकलन गर्ने क्रममा सोधपुछ सामान्य प्रक्रिया हो । अनुसन्धानमा संलग्नहरूले गाम्भिर्यताको आधारमा पछि पक्राउ पनि गर्न सक्छन् । या साक्षीमात्र पनि हुनसक्छ नि’, अधिकारीले नेपाल प्रेससँग भने ।

    ९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको भदौ २१ गते हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भतिजा नातेदारका लोकबहादुर कार्कीलाई पक्राउ गरी कारवाही अघि बढाइसकेको छ । लोकबहादुरले आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।