दाङ । नेकपा माओवादी केन्द्र मुसीकोट नगर कमिटीले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेको छ ।
प्रचण्डले माओवादी विचार र दृष्टिकोण बिर्सजन गरी नाम मात्रको कम्युनिष्टको नाटक मञ्चन गरेकाले एकता प्रक्रियामा नजाने र जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने मुसीकोट नगर समितिको पदाधिकारी बैठकले निर्णय गरेको छ ।
अध्यक्ष दलबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी प्रचण्डले आफू बस्ने झुपडी आगो लगाएर बहुरङ्गी घरमा सरेको भन्दै त्यसले जनयुद्वको अपमान भएको उल्लेख गरेका छन् । उनले जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएर भ्रष्टाचारविरूद्व अभियान चलाउने विज्ञप्तिमा उल्लेख गरेका छन् । मुसीकोट जनार्दनको गृहपालिका हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अञ्जना विशंखले जनार्दन शर्माको साथ छोडेकी छन् ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा विशंखे एकता प्रक्रियाबाट बाहिरिएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको पत्रकार सम्मेलनमा देखिएकी थिइन् ।
तर, विशंखले आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा पुगेर नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गर्ने कागजातमा हस्ताक्षर गरेकी पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।
एकतामा असहमति जनाएका जनार्दन शर्मालाई साथ दिने तेस्रो बरियताको नेतामा विशंखे थिइन् । शर्माले पार्टीको पदाधिकारीबाट सचिव राम कार्कीले साथ दिएका छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम पूर्वपर्यटनमन्त्री सुदन किरातीमाथी पार्टीकै नेताहरुले घुस खाएको आरोप लगाएका छन् । माओवादीले नेकपा (एकीकृत समाजावादी) सँग एकताका लागि पहल गरिरहेका बेला जनार्दन शर्मा निकट रहेको नेता किरातीमाथि संस्थापन पक्षका नेताहरुले सामाजिक सञ्जालबाट हमला गरेका हुन् ।
किराती मन्त्री हुँदा नै पर्यटन राज्यमन्त्री रहेकी माओवादी नेतृ सुशिला सेर्पाली र पार्टी निकट अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले गम्भीर आरोप लगाएका छन् । माओवादी केन्द्रीय सदस्य सेर्पालीले फेसबुकमा रावलले लेखेको टिप्पणीलाई सेयर गर्दै किरातीले पशुपतिमा शवदाह मेसिन जडान गर्दा घुस खाएको दावी गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘पर्यटनमन्त्री हुँदा पशुपतिमा शवदाहा जडान मेसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नु पर्ने होइन ? १०० चुहा खाएर बिल्ली हजको चली भनेको यस्तै, यस्ताले गर्दा होला ।’
अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले फेसबुकमार्फत् भोजपुर क्षेत्रमा ब्रह्माण्डीय मतान्तर र चुनावी इतिहास तानेर किरातीमाथि प्रश्न उठाएका थिए ।
रावलले भोजपुरमा समानुपातिक मतको वितरण र किरातीका जित–हारका मतपरिणामको तथ्यांक पेश गर्दै लेखेका छन्, ‘कसले गरायो, ४–४ पटक सिण्डिकेट लाएर टिकट लिने तपाईं, पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै सत्ताको भत्तामा मैमत्ता गरेको हिसाब पार्टी कार्यकर्ताले खोज्नु पर्छ कि पर्दैन ?’
रावलले थप लेखेका छन्, ‘तपाईं माओवादी रुपान्तरण हुँदैन भन्दै थप अवसरको खोजीमा निस्कन नखोज्नुहोस्, तपाईंलाई ४–४ पटक सांसद बनाउन ज्यान फाल्ने सुन्दर समाजको सपना बोकेका भोजपुरे माओवादी कार्यकर्ताको हली बस्नुहोस्, माओवादी रुपान्तरण उनीहरुले गर्छन् । खबरदार भाग्ने, लुक्ने कोशिश नगर्नुहोला ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि प्रश्नै प्रश्न उठाएका छन् । दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता दाहालले प्रश्न उठाएका हुन् ।
आफूले उठाएको प्रश्नको जवाफ त दिन विप्लवलाई चुनौती दिँदै इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति गर्नुपर्ने उनको भनाइ छ।
यस्ता छन् विप्लवमाथि दाहालका प्रश्न-
– अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ?
– अध्यक्ष प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?
– अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?
– आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?
– अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?
– वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला।
– गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?
– विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी ओलीजीसँग पनि एकताको लागि संवाद किन सुरु गरेको ?
– यही बिचमा दर्जनौँ पटक राजावादीहरूसँग गोप्य वार्तामा बस्नुको कारण के हो ?
– आफ्नो उत्पादन भन्दै पारिबाट आलु ल्याइ थपेर किन बेचेको ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चल्नुपर्ने बताएका छन् । तिहार, नेपाल संम्वत र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौँ एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताए ।
पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किँदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रूपमा बुझ्न नहुने उनको भनाइ थियो । ‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लार्टफमसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो’, पुनले भने, उनीहरू कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरू हुन् । उनीहरू स्मार्ट छन् र क्षमतावान् छन् । उनीहरूसँगै संसारभरिका सूचना छन् ।’
पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरुबीच चिनाजान नहुने अवस्था भए पछि जेन–जीहरु भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरूसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिराखेको छ । त्यहाँ उसका सम्बन्धहरू छन् । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ ।’
पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे ।
पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिस्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनले विगतमा आफूहरूले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए ।
उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डे जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए । २३ भदौको शान्तिपूर्ण जेनहजी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई केही नगर्ने तर, आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए ।
‘सरकारलाई फेरि भन्न चाहन्छौँ, आजको परिवर्तनलाई आत्मसात् गर्ने दल भनेको हामी मात्र हौँ । हामी आफ्नो एजेण्डा लिएर निर्वाचनमा होमिन्छौँ । जेन–जीका त्याग, बलिदान, समर्पण र एजेण्डा बोकेर आफूलाई रूपान्तरण गर्न जनमतमा जान्छौँ भन्ने पार्टीलाई बेलाबेला तर्साउने र बेलाबेला लक्षित गर्ने खालको कोसिस भएको छ’, पुनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो ? प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन । गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन । तर, कुन चाहिँ स्वार्थ समूहले यो गरिराखको छ ? हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौँ । हामी निर्वाचनमा जान्छौँ, एजेण्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ । तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस् । २३ गते दर्जनौँको हत्या गर्नेलाई केही नगर्ने ? सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने ? अनि प्रचण्डतिर तेर्स्याउन खोज्ने ? यस प्रकारका बेठीक प्रवृत्ति हामी स्वीकार गर्दैनौँ ।’
उनले प्रधानमन्त्री भएका बेला प्रचण्ड स्वयंले आफ्नो दलका नेता कार्यकर्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको पाइए अनुसन्धान गर्न राज्यका निकायहरूलाई निर्देशन दिएको नबिर्सन भने । ‘भ्रष्टाचार, अनियमितता र राज्य दोहनमा हाम्रा सबै नेता कार्यकर्ता परीक्षणमा उत्रिन तयार छौँ भनेका छौँ । यो कुरा कुनै पार्टीले भनेको छैन । आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री प्रधानन्यायाधीश भइसकेको मान्छे हो । अर्थमन्त्री, ऊर्जामन्त्री र अरू साथीहरू सबै परीक्षित हुन् । हामी पनि परीक्षित हौँ’, पुनले भने ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै आफूहरूले चुनावका लागि प्रतिबद्ध रहेको तर, देशको स्वाधीनता तथा जनताको अधिकार यताउता हुन र हेपिन तयार नरहेको बताएको पुनले स्पष्ट गरे । ‘हामी सबै शक्तिलाई भन्न चाहन्छौँ, माओवादी शान्ति चाहन्छ । माओवादी प्रगति चाहन्छ । माओवादी आजको स्थितिभन्दा अगाडि बढ्न चाहन्छ । तर, सकैसँग हेपिन चाहँदैन । हामी दृढतापूर्वक उभिन्छौँ । उभिने हाम्रो प्रतिबद्धता हो । हिजो दुनियाँभरिका शक्तिहरूसँग पनि नडराएका हौँ’, उनले भने ।
पुनले २४ भदौको विध्वंस र आगजनीमा संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए । ‘अघिल्लो दिन सुशासनको एजेण्डासहित भएको आन्दोलन असाध्यै राम्रो हो । २४ गते घुसपैठ गरेर तोडफोड र आगजनी गरिएका छन् । अपराध भएको छ’, उनले भने, ‘त्यसको को छानबिन हुनुपर्छ । आगामी दिनमा त्यस प्रकारका अपराध रोक्न पनि त्यस प्रकारका अपराध गर्न घुसपैठ गर्नेहरूलाई दण्डित गर्नुपर्छ ।’
फरक प्रसङ्गमा पुनले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि मुलुकका सबै पक्षबिचको सहकार्यमा जोड दिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले देशमा अर्को अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको समस्या समाधानका लागि निर्वाचनको विकल्प नभएको बताए।
उनले भने, ‘अन्तरिम सरकारको कार्यभार नै चुनाव गराउनु हो। यो आजको आवश्यकता पनि हो। यसलाई टेक्न छाडेर अर्को कुनै नारा उठाउन थालियो भने फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउनेबाहेक अरू केही हुँदैन। त्यसैले कतै वितण्डातिर नजाउन्।
उनले हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नुजस्तो हास्यास्पद कुरा भएको बताए। उनले थपे, ‘म ती साथीहरूलाई त्यस्तो वितण्डातिर नलाग्न र आजको आवश्यकतालाई बुझेर निर्वाचन सफल पार्नतिर लाग्न आग्रह गर्न चाहन्छु । यहाँ मैले कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन। यथार्थ यही नै हो। एमालेका साथीहरू पनि निर्वाचनको पक्षमा आउनुस्। सबै मिलेर बृहत् सहकार्य गरौँ। यो नै देशको, संविधानको र लोकतन्त्रको रक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो। यसलाई भाँड्ने कुचेष्टा कसैले नगरौँ।’
उनले सुशीला कार्कीको नेतृत्वको सरकार तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको जिकिर गरे। उनले चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि संविधान ट्र्याकमा आउने पनि बताए।
काठमाडौं । पार्टी विभाजनको चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थागित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णयविपरीत अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तीव्र विवाद छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए ।
एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखतरुपमै उठाउने बताए ।
‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखितरुपमा एमसीसीको विषय उठाउँछु ।’
एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।
एमसीसीका विषयमा धेरै वरिष्ठ नेताहरुले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।
तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दावी गर्छन् ।
आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना संक्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक–पटक स्थगन भएको थियो ।
पहिलो बैठककै निरन्तरताका रुपमा सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले नेपाल प्रेसलाई जानकारी दिए । महाधिवेशनबाट माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट पनि भएको छैन ।
काठमाडौं । एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।
यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यसपटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए।
बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ का केही जिल्लामा संयोजक तोकेको छ । माओवादी केन्द्र प्रदेश १ समितिको मंगलबार विराटनगरमा बसेको दोस्रो बैठकले १४ जिल्लामध्ये आठ जिल्लामा जिल्ला संयोजकहरू तोकेको हो ।
जसअनुसार खोटाङमा दीपक पाण्डे, उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् ।
त्यस्तै बैठकले आफ्नै प्रदेश कार्यालयको भवन बनाउने निर्णय गर्दै कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । बैठकले निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको छ ।
माओवादीले आठौं महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार उत्पादन थाल्न तीनवटा कार्यदल समेत गठन गरेको छ । उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र अर्का उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्वेक्षण कार्यदल बनाएको हो।
त्यस्तै पार्टीले आगामि फागुन चैतसम्म संगठनात्मक अभियान चलाउने, वडा तहसम्म महाधिवेशनको मूल भाव सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने र एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने तथा एक टोल कमिटीमा ३ सेल कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पार्टी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पालिका अधिवेशन सक्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा सक्न पनि बैठकले निर्देशन दिएको छ ।
काठमाडौं । चार महिनादेखि तीन दिने राष्ट्रिय सम्मेलनका लागि तयारी गरेको माओवादीले रातारात यसलाई महाधिवेशनमा बदल्यो । आठ दिनसम्म चलेको महाधिवेशन हिजो सकिएसँगै विभिन्न कोणबाट समीक्षा भइरहेका छन् ।
पछिल्लो समय राजनीतिक पार्टीहरूमा महाधिवेशनको लहर चलिरहँदा सबैभन्दा लम्बेतान बनेको माओवादी केन्द्रकै हो । नेतृत्वको किचलो र चुनावी प्रक्रियाका कारण अरु पार्टीको महाधिवेशन जति रोचक र तनावपूर्ण भयो, माओवादीको त्यस्तो भएन । माओवादीले वैचारिक मन्थनमा नै ५ दिन खर्च गर्यो । एकदिन उद्घाटन समारोह र दुई दिन नेतृत्व चयनको गृहकार्यमा लाग्यो ।
राष्ट्रिय सम्मेलनका लागि भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै मिहिनेतसाथ लेखेको प्रतिवेदनले राजनीतिक वृत्तमा पर्याप्त ध्यानाकर्षण गरेको थियो । अन्य दलहरूको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रीय भएको र वैचारिक शून्यता छाएको समयमा माओवादीले विचारको बहसलाई यथेष्ट स्पेस दिएको हो ।
प्रचण्डले पेस गरेको ४५ पेज लामो प्रतिवेदनमाथि करिब डेढ दिन समूहगत छलफल भएको थियोउ । १ हजार ७ सय ४२ प्रतिनिधिले २५ समूहमा बाँडिएर छलफल गरे । प्रतिनिधिहरूले समूहगत छलफलमा दिएका सुझावलाई दुई दिन लगाएर पेस गरियो ।
तस्बिर : रासस ।
आत्मसमीक्षासहित आफ्ना कमजोरीहरू आफैंले पहिल्याउने प्रयास गर्नु प्रतिवेदनको सकारात्मक पाटो मानिएको छ । प्रतिवेदन मुलरूपमा भने समाजवादमा केन्द्रित छ । आफ्नो प्रतिवेदनको शीर्षक नै प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ राखेका छन् ।
अरु राजनीतिक दलहरूमा पेस हुने प्रतिवेदन बढी समसामयिक राजनीतिमा केन्द्रित र अन्य दल तथा शक्तिहरूमाथि कटु टिप्पणीले भरिएका हुने गर्थे । त्यो भन्दा फरक प्रचण्डको प्रतिवेदनमा भने सैद्धान्तिक व्याख्यानको प्रचुरता थियो । उनले ‘समाजवाद’ को व्याख्यामा धेरै शब्द खर्चिएका छन् । प्रतिवेदन कति पूर्ण र वस्तुपरक छ भन्ने चाहिँ अर्को पाटो हो ।
प्रचण्डको प्रतिवेदनमाथि पार्टी भित्र मात्रै होइन, बाहिर पनि व्यापक टिकाटिप्पणी भए । कतिले आलोचना गरे, कतिले सुझाव पनि दिए ।
समूहगत छलफलमा आएका सुझावलाई प्रचण्डले एक-एक गरी आफ्नो डायरीमा टिपोट गरे । दुई घण्टाको समय लिएर जवाफ दिए । उनले आफ्नो प्रतिवेदन ‘धर्मशास्त्र नभइ ग्रेट डिवेट’ भएको बताए । तीन तहका चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिने वचन प्रचण्डले दिएपछि हलले सुझावसहित उनको प्रतिवेदन पारित भयो ।
प्रचण्डले आएका सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताए । पुरक प्रस्ताव र सुझाव पत्रहरू प्रतिवेदनकै अंग हुने र फरक मतलाई फरक मतका रुपमा सम्मान गर्ने उनको भनाइ थियो । कमसेकम त्यहाँ कसैको विचार निषेध प्रचण्डले गरेनन् ।
चुनावलगत्तै विशेष महाधिवेशन गर्ने उद्घोष गरेर प्रचण्डले बहसको ढोका खोलिदिएका छन् । माओवादीभित्र बैचारिक मन्थनको ‘फ्लोर ओपन’ भएको छ ।
प्रचण्डपथ चाहिन्छ भन्नेहरूले पनि यो एक वर्षमा बहसको मौका पाएका छन् । समाजवादको कार्यदिशा स्पष्ट भएन भन्नेहरूका लागि पनि बहसको मौका मिलेको छ ।
सारमा भन्दा माओवादी विचारमा निकै घोत्लिएको छ । अपुरै भए पनि सही ‘समाजवादउन्मुख समृद्धि’ लाई मुल कार्यनीति बनाएको छ । समाजवादको दिशातिर माओवादी सोझिएको छ ।
तर, महाधिवेनशनको अर्को पाटो हो, नेतृत्वको नवनिर्माण । यतापट्टि भने पार्टी चुकेको छ । संगठनको सवालमा माओवादीले सकरात्मक सन्देश प्रवाह गर्न सकेन । पार्टीमा हावी रहेको ‘तदर्थवाद’ यसपटक पनि चिर्न सकेन ।
महाधिवेशनको अन्तिम दिन हिजो प्रचण्डले स्थायी समितिबाट तयार पारिएको केन्द्रीय दस्यहरूको सूची पढे । हललाई अनुमोदन गर्न आह्वान गरे । प्रतिनिधिहरूले ताली बजाए अनि अनुमोदन भएको घोषणा गरियो ।
२९९ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था गरेको माओवादीले २३६ जनाको मात्रै घोषणा गरेको छ । पूर्णसमानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जनाको नाम घोषणा गरेर महाधिवेशन सकियो । यी नामहरू पारित गर्दा प्रतिनिधिहरुले उत्साहपूर्वक ताली बजाइरहेका थिएनन् । कारण, उनीहरूको प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएको थियो ।
केन्द्रीय समितिका बाँकी ६३ जनाको चयन कहिले र कसरी हुन्छ भन्ने कुराको टुंगो छैन । प्रचण्डले केही प्रदेश र केही ‘कलस्टर’बाट नाम नआएकाले अहिले नटुंगिएको बताएका थिए ।
‘टीके प्रथा’ चलाएको भन्दै धेरैले यसको व्यापक आलोचना गरेका छन् । बाहिर लोकतन्त्रको कुरा गर्ने माओवादी आन्तरिक लोकतन्त्रमा कमजोर देखिएको टिप्पणीसमेत भएका छन् ।
यद्यपि माओवादी नेताहरू भने अध्यक्षको खल्तीबाट नभइ समूहगत छलफल भएर सिफारिस भएका नाम प्रचण्डले पढेको र जनवादी केन्द्रीयता अपनाएको भनेर बचाऊ गरिरहेका छन् ।
जे होस्, माओवादी सांगठनिक सावलमा धेरै गन्जागोलमा फसेको देखियो । महाधिवेशनमा अन्य पार्टीले अपनाएको जस्तो चुनावी शैलीलाई पुँजीवादी शैली भन्ने माओवादीले न अरुको शैली पछ्याउन सक्यो, न आफ्नै शैली विकास गर्न ।
केन्द्रीय समितिलाई इन्द्रेणीजस्तो समावेशी गराउने उद्घोष गरेको माओवादीले विभिन्न कलस्टर निर्धारण गर्यो । महिलाका लागि ३५ प्रतिशत, युवालाई २० प्रतिशत, दलितलाई १५ प्रतिशत सहभागी गराउने व्यवस्था अन्तरिम विधानमा गरियो । तर, त्यसअनुसार कार्यान्वयन गर्न भने माओवादीलाई हम्मे-हम्मे पर्यो ।
विधानको व्यवस्थालाई अचानक बदलेर ७ प्रतिशतमा झारेको भन्दै दलित समुदाय विरोधमा उत्रियो । प्रचण्डलाई ज्ञापन पत्र नै बुझाइयो । त्यसको सम्बोधन भए, नभएको प्रष्ट हुन सकेको छैन । अपुरो केन्द्रीय समिति र पदाधिकारीविहीन समितिका कारण कार्यकर्ताहरु महाधिवेशनको हलबाट उत्साह बोकेर निस्कन पाएनन् ।
सारमा भन्दा माओवादी विचारमा निकै घोत्लिएको छ । अपुरै भए पनि सही ‘समाजवादउन्मुख समृद्धि’ लाई मुल कार्यनीति बनाएको छ । समाजवादको दिशातिर माओवादी सोझिएको छ । तर, महाधिवेनशनको अर्को पाटो हो, नेतृत्वको नवनिर्माण । यतापट्टि भने पार्टी चुकेको छ । संगठनको सवालमा माओवादीले सकरात्मक सन्देश प्रवाह गर्न सकेन । पार्टीमा हावी रहेको ‘तदर्थवाद’ यसपटक पनि चिर्न सकेन ।
विधानको व्यवस्थाअनुसारै आज केन्द्रीय समितिको प्रथम बैठक बसेर पदाधिकारी पनि चयन गर्ने प्रचण्डले हिजो बन्द सत्रमै बताएका थिए । धेरै आकांक्षी पदाधिकारीमा भएकाले अवस्थामा प्रचण्डले त्यसलाई कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न छ । कुनै विधिमा टेक्छन् या यसमा पनि मनोमानी नै गर्छन् भन्ने कुराको कुनै टुंगो छैन ।
विधानमा रहेको पदाधिकारीको संख्यालाई घटाएर केन्द्रीय समितिलाई संख्या तोक्ने अधिकार दिइएको छ । यसबाट माओवादीमा सांगठनिक अस्थिरताको अवस्था देखिन्छ ।
हलले केन्द्रीय समिति र केन्द्रीय समितिले नेतृत्व छान्ने कुरामै धेरै प्रतिनिधिको असन्तुष्टि देखिन्थ्यो । आफूलाई भूमिकाविहीन बनाएकोमा प्रतिनिधि खुसी थिएनन् । महाधिवेशनबाट यसमा कुनै सुधार गरिएन । प्रतिनिधिको मतबाट छानिएर आएको नेतृत्वमा जुन गौरव हुन्छ, त्यो माओवादीमा नेताहरुले महसुस गर्न पाएनन् ।
समूहगत छलफलका क्रममा संगठनमा ५० प्रतिशत मूल्यांकन र ५० प्रतिशत निर्वाचनमा पाएको अंकबाट विजेता घोषणा गर्ने मोडलमा जानुपर्ने सुझाव आएको थियो । त्यस्तै उमेरको हदबन्दी तोक्नुपर्ने, कार्यकारी नेतृत्वमा दुई पटकभन्दा बढी बस्न नहुने, पूर्णसमानुपातिकतर्फ वर्गलाई पनि आरक्षण दिनुपर्नेजस्ता महत्वपूर्ण सुझाव समूहगत छलफलका क्रममा आए पनि नेतृत्व त्यसलाई समेट्न तयार देखिएन ।
महाधिवेशनको हलबाट ऊर्जा दिएर कार्यकर्तालाई पठाउन नसकेको माओवादीले न त्यस्तो कुनै अभियान नै घोषणा गर्यो जसबाट नेता, कार्यकर्ता उत्साहित बनुन् ।
सामुन्नेमा तीन तहका निर्वाचन आइरहेका बेला ‘भाइब्रेन्ट संगठन’नबनाउनु स्वयं माओवादीका लागि समेत अहितकारी हुन सक्छ ।
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । माओवादीले दिउँसो १ बजे बन्द सत्र बोलाएको छ र २ बजेबाट निर्वाचन प्रक्रिया पनि सुरू हुँदैछ ।
त्यसअघि नै केन्द्रीय समिति सदस्यमा सहमति खोज्न माओवादीको स्थायी समिति बैठक सुरू भएको हो । माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत सामानुपातिकबाट केन्द्रीय समिति निर्माण गर्ने बताएको छ। तर, तोकिएको क्लस्टर मिलाउन माओवादीलाई धौ-धौ परेको छ ।
बैठकमा त्यो विषय र पदाधिकारीमा सहमति जुटाउने प्रयास पनि हुने बताइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको सहमतिमै केन्द्रीय समिति र पदाधिकारी घोषणा गर्ने बताएका छन् ।
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका कारण पाँच दलीय गठबन्धनमा विभाजन नआउने विश्वास व्यक्त गरेका छन् । संसोधनबिना एमसीसी जस्ताको तस्तै पारित नहुने अडान उनले दोहोर्याए ।
न्यूज एजेन्सी नेपाल (नान) लाई दिएको अन्तरवार्तामा प्रचण्डले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘एमसीसीको कारणले गठबन्धन टुट्दैन । टुट्न पनि दिइँदैन । प्रधानमन्त्रीले पनि यो विषयलाई बुझ्नु भएको छ । अनावश्यक रूपले प्रेसर आउँछन् भन्ने मलाई लाग्दैन ।’
उनले मुलुकमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने अवस्था नरहेको स्पष्ट पारे ।
‘आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा हामी छैनौ,’ उनले भने ‘हामी स्वीकार गर्दै आइरहेका छौँ । लिँदै आइरहेका छौँ ।’
प्रचण्डले थपे, ‘जहाँ त्रुटी भएका छन्, जुन-जुन प्रावधानले हामीलाई अफ्ठेरो पर्ने जस्तो छ, त्यो सच्चाउनु पर्यो । आवश्यक पर्दा संशोधन गर्नुपर्यो । राष्ट्रिय रूपमा समझदारी गरेर यसलाई अगाडी बढाउन सकिन्छ ।’
एमसीसीमा केही विषय गम्भीररूपमा उठेको भन्दै दाहालले पहिलो सम्झौतामा सांसदबाट पारित नगर्ने सर्त रहेकोमा अहिले संसदमा लैजानु पर्ने विषयले शंका उब्जाएको बताए ।
‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’
‘पहिलो यो सांसदबाट पारित गराउने पर्ने सम्झौता भएको थिएन, कहाँ ल्याइयो त्यो कुरा त्यहीँबाट विवाद सुरु भयो’ उनले भने, ‘त्यसपछि अमेरिकाको विश्वव्यापी रणनीतिको अङ्ग हो भन्ने कुरा पनि आयो ।’
फरक प्रसंगमा दाहालले एमाले-माओवादी एकताको विषयमा आफूले सही निर्णय गरेको बताए ।
‘पार्टी एकता गर्ने प्रस्ताव मैले नै गरेको हो । मलाई त्यसमा कुनै पश्चाताप छैन । मैले गरेको सही नै भन्ने मलाई लाग्छ’ उनले भने, ‘देशमा राजनैतिक स्थायित्व हुन्छ । कम्युनिष्ट आन्दोलन पनि पूरा हुन्छ जनताको आर्थिक विकासको सपना पनि पूरा हुने उद्देश्यले पार्टी एकता गर्दा के गलत भयो र ?’
अहिले पनि आफू कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा र राजनैतिक स्थायित्वमा पक्षमा रहेको बताए । सरकार चलाउने बेलामा दुई अध्यक्षले पालोपालो प्रधानमन्त्री रहने भनी सहमति भएकोमा अर्का अध्यक्ष केपी ओलीबाटै धोका भएको उनको आरोप थियो ।
पहिलोपटक ओलीलाई समर्थन गर्दा पनि आफूले धोका पाएको दाहालले सम्झिए ।
उनले पहिलोपटक प्रधानमन्त्री हुँदा बजेट प्रस्तुत भएपछि आफूलाई जिम्मा दिने सहमति कार्यान्वयन नगरेको आरोप लगाए ।
‘पहिले नै थाहा थियो धोका दिने मान्छे रहेछन् भने । तर यसपटक लिखित थियो’ उनले भने, ‘सबै च्यातच्युत गरेर पार्टी भित्रको बहसलाई देखेर ओलीले संसद् भंग गर्न पुगे ।’
आफूले लडाइँ जितेको दाबी गर्दै उनले भने, ‘म लडेको मात्र होइन, जितेको पनि हुँ । तर हराए । मलाई अदृश्य शक्तिले हराए ।’
दाहालले आफूले एकलौटी रूपमा युद्धविराम गरेकोसमेत दाबी गरेका थिए ।
‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका अनुसार आज साँझ ७:५ बजेबाट मतदान सुरू हुनेछ ।
मतदाता नामावली प्रकाशन गरिसकिएको छ । नामावलीमा दाबीविरोधको छानबिन र निर्णयका लागि ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम मतदाता नामावली प्रकाशन ५:०५ बजे गरेर उम्मेदवारको मनोनयन पत्र दर्ता ५:१० बाट गर्ने कार्यतालिका छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन ७ बजे गर्ने र ७:५ बाट मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि मतदान गर्न लागिएको हो । २७१ सदस्यीय प्रदेश समितिले ९ पदाधिकारी निर्वाचित गर्नेछ ।
अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबी छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६ मत ल्याए ।
अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मदतदान गरेका थिए ।
उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । सचिवका उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।
रुपन्देही । नेकपा माओवादी केन्द्र लुम्बिनीको नेतृत्वमा सुदर्शन बराल आउँने भएका छन् । नेतृत्वका विषयमा केन्द्रीय नेताहरूको मत बाझिएपछि प्रदेश सम्मेलनले नेतृत्वको टुंगो लगाउन लगाउन सकेको थिएन ।
अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् भने अन्य पदाधिकारी पदका आकांक्षी धेरै भएपछि केन्द्रीय सम्मेलनपछि टुंगो लगाउने सहमति भएको छ । नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती तथा जनार्दन शर्माले आफ्नो रोजाइका नेतालाई नेतृत्वमा पठाउन चाहेका कारण सम्मेलनले नेतृत्व छान्न सकेको थिएन ।
आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीब्र लबिङ गरेपछि पदाधिकारी चयन रोकिएको थियो । अन्य पदाधिकारी टुंगो नलाग्दा अध्यक्षको नाम पनि सार्वजनिक नगर्ने सहमति नेताहरूले गरेका छन् । नेता बरालले अध्यक्षमा आफ्नो नाममा सहमति भए पनि औपचारिक घोषणा नभएको नेपाल प्रेसलाई बताए ।
दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको छ । तर, अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको विषयमा सर्वसम्मत सहमति भए पनि लिखित निर्णय नभएको एक नेताले बताए ।
लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीसमेत रहेका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्ष भएका हुन् । उनी पुननिकट नेता मानिन्छन् । माओवादीमा लुम्बिनी प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले दाबी गर्दै आएका थिए । उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिको सदस्यमै नपरेपछि बराल सर्वसम्मत भएको एक नेताले बताए ।
माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बञ्जाडेको दाबी छ ।
त्यस्तै सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्यूठानका प्रकाश अधिकारीले पनि दाबी गर्दै आएका छन् । सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई अघि सारेका छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ । आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
चितवन । प्रचण्ड चितवन आएकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् ।
एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य,नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष शिवराज कँडेल, राप्ती २ वाईसियल सहइन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समावादीका वडा सदस्य पुकार राई, पवन राई, प्रसुन राई, काँग्रेस प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे ।
काठमाडौं । ‘बाबु’ भनिने विश्व क्रान्ति सिंहको नेतृत्वमा करिब ४० जना युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनी मकवानपुरका हुन् ।
पेरिसडाँडामा जारी माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनको नेतृत्वमा युवाहरू माओवादीमा प्रवेश गरेको माओवादीनिकट संगीतकर्मी चेतन सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । अहिले थोरै प्रतिनिधिसहित मात्रै प्रवेश गरेको र थप ५ हजार जति युवालाई आफूले ल्याउने दावी विश्व क्रान्ति गरेका छन् ।
माओवादी प्रवेश गरेका विश्वक्रान्तिको पृष्ठभूमि भने विवादस्पद छ । गुण्डागर्दीबाट चर्चामा आएका उनी पटक पटक जेल परेका छन् । पछिल्लो पटक हात हतियार तथा खरखजना ऐन अन्तर्गत जेल सजाय पाएर केही समयअघिघमात्र छुटेका हुन्् ।
काठमाडौं। चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको नेकपा (माओवादी केन्द्र)ले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नयाँ नारा तय गरेको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीति पनि बनाएको छ ।
त्यस्तै एक सेल वरिपरि महिला र युवाको १५–१५ जना रहेको समिति बनाउनुपर्ने नीति पनि तय गरिएको शर्माले जानकारी दिए।
माओवादीले तीस साख संगठित सदस्य बनाउने लक्ष्यसमेत राखेको छ। ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’को नीतिअनुसार गए सजिलै तीस लाख संगठित सदस्य बनाउन सकिने दावी शर्माको छ।
गत साउन ३० र ३१ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो।
लामो समय लथालिंग सांगठानिक अवस्थामा चलेको माओवादी केन्द्रले असोज १० गते देशैभर एकैदिन सबै सेल समिति र टोल भेला गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै असोज २० गते वडा र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन गर्ने तय गरेको छ।
कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने माओवादीको कार्ययोजना छ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विभाजनको विपक्षमा उभिएका १० नेताहरूले आत्मसर्मपण गरेको टिप्पणी गरेका छन् ।
सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्ने गरेको बताए ।
‘जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे,’ उनले भने, ‘केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो । झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरूलाई । मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली ।’
प्रचण्डले थपे, ‘यति जाली मान्छे छ भनेर हामीलाई सिकाएको चाहिँ घनश्याम, योगेश, गोकर्ण लगायको १० जनाको टिम छ नि, उहाँहरूले हो हामीलाई सिकाएको छ । हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नेहरू पनि उहाँहरु नै हो । तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ हामीलाई ।’
झलनाथ खनाल, माधव नेपाल लगायतले नयाँ पार्टी गठन गरेकोलाई प्रचण्डले आफूहरूको मेहनतको फल लागेको रुपमा व्याख्या गरे । ‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ त्यहाँ,’ उनले भने, ‘हामीले छन् त मान्छे त भन्ठान्यौं । धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लागेको पनि छ । झलनाथ, माधवजस्ता पुरानो पिँढीका साथीहरू अगाडि बढ्न जमर्को पनि गरिराख्नु भएको छ । हामीले सहयोग गरेका छौं, त्यहाँ पनि ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।
सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।
उनले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताए । उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको दावी गरे । थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दावी छ । ।
अध्यक्ष दाहालले भने, ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भ्नेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को काँग्रेस को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मिहेनत गर्याे भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’
अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बताए ।
काठमाडौं । नेकपा (माओवादी) केन्द्रले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग बनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ। त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको महराले जानकारी दिए ।
‘विधानमा केही थपघट र परिमार्जन भएको छ,’ उनले भने, ‘अझै भाषमा थपघट गर्नुपर्ने भएकाले त्यसलाई छिटो सक्ने र केही परिमार्जन गरेर आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने गरि पारित गरियो ।’
बैठकले विभिन्न ४५ पार्टीबाट विद्रोह गरी आएकाहरूलाई समायोजन गर्नेबारे गठित कार्यदलले बुझाएको प्रतिवेदन पनि पारित गरेको छ। नियुक्त गर्न बाँकी प्रदेश समितिका पदाधिकारीबारे छलफल भए पनि आज कुनै निर्णय नभएको महराले जानकारी दिए ।
मन्त्रिपरिषद् विस्तारबारे भने कुनै छलफल नभएको उनले बताए ।
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बोलाइएको छ । दिउँसो तीन बजे बस्ने बैठकमा सांगठानिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले चार महिने संगठन विस्तार अभियान चलाइरहेको छ । त्यसको समीक्षा र आगामी रणनीतिबारे बैठकका एजेन्डा छन् ।
त्यस्तै गठबन्धन सरकारको काम कारवाही, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे छलफल हुने बताइएको छ ।
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास गर्न ओली नेतृत्वको सरकारले निषेध गरेको आरोप लगाएका छन् ।
भरतपुर महानगरले लायन्सचोकमा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा निर्माण गर्न लागेको भरतपुर मेट्रो प्लाजको शिलन्यास गर्दै उनले ओली नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।
‘राजनीतिक स्थायीत्व र विकासको निम्ति गठबन्धन र एकताको पहल लिएँ, तर आफैंले बनाएको प्रधानमन्त्री चितवन र मप्रति यतिधेरै नकरात्मक र पूवाग्रही बन्नुभयो’, उनले भने, ‘निर्वाचनपछिको अवधि मीठो रहेन ।’
उनले क्रान्तिकारी ढंगले विकास आयोजनाहरु अगाडि बढाउन ओली सरकारले साथ नदिएको आरोप लगाए । ‘केन्द्रबाट धेरै मिहेनत गरेर यति भयो’, उनले आक्रोश पोख्दै भने, ‘सिटीहलको शिलन्यास गर्ने बेला भएको लुछाचुडीको अनुभूति गर्नुभएकै छ, इन्टरनेशनल क्रिकेट रंगशाला निर्माणका गतिविधि देख्नुभएकै छ ।’ भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा बजेट विनियोजन नगरेकोमा समेत असन्तुष्टी जनाए ।
‘सबैभन्दा उपयुक्त छ भनेर सबैले मानेकै हो, तर एक अर्ब रुपैयाँ राखेर स्मार्ट सिटीको अवधारणा लान दिइएन’, उनले भने, ‘औद्योगिक क्षेत्र निर्माणको कामलाई समेत कंक्रिट रुपमा अगाडि बढाउन दिइएन ।’
उनले चितवनको विकासमा विगतको सरकारले धेरै कञ्जुस्याई गरेको जीकिर गरे । ‘नारायणीको डिपिआर बनेको छ, मलाई विश्वास छ, अहिलेको नयाँ सरकाले कञ्जुस्याई गर्ने छैन’, उनले भने, ‘डिपिआर अनुसारको पैसा राखेर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’
उनले ठूला विकास आयोजनाहरु सुरु गर्न खोज्दा आफूमाथि प्रहार र निषेध गरेको आरोप लगाए । अबको सरकारले चितवनमा सहज रुपमा विकासमा सघाउने अपेक्षा गरे । उनले चितवन–हेटौडा–नवलपुर दाउन्नेलाई समेटेर एउटै विकास प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । बृहत्तर परियोजनामार्फत विकास गर्न पहल गर्ने बताए ।
३० वर्षसम्म नीजि क्षेत्रलाई मेट्रो प्लाजा
प्रचण्डले शिलन्यास गरेको भरतपुर मेट्रो प्लाजा ३० वर्षसम्म नीजी क्षेत्रले सञ्चालन गर्न पाउनेछ । पीपीपी मोडेलमा ३ वर्षभित्र निर्माण गरेपछि सो प्लाजा निजी क्षेत्रले नै उपभोग गरेर महानगरलाई राजश्व बुझाउने छ ।
महानगरको साढे ११ कट्टठा जग्गामा निजी क्षेत्रले करिब २ अर्ब लगानी गरेर प्लाजा बनाउनेछन् । आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिलाई निर्माण तथा सञ्चालनको जिम्मा दिइएको हो ।
महानगर र आर्यबीच यही साउन २४ गते सम्झौता भएको हो ।
आर्य बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए । उनका अनुसार चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्नेछन् ।
उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजश्व पाउने महानगरका बरिष्ठ इञ्जिनियर भरतकुमार आचार्यले बताए । उनका अनुसार पहिलो वर्ष ३० लाख, दोसैो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ ।
उनले राजश्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए । २०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए । मेयर रेनु दाहालले मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने बताइन् ।
काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले सो आह्वान गरेका हुन् । अवको चार महिना आफ्नो पार्टीसहितको वाम-लोकतान्त्रिक सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने उनले बताए ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम-लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’
बैठकले भोली (शनिबार)बाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ ।
बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको छ। शनिबार बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समितिको बैठक बसेको हो ।
बैठकमा सरकारमा पठाउने मन्त्रीहरुबारे पनि छलफल हुने एजेन्डा रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाका विषयमा निर्णय लिने छ।
काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुख योगेश साउद माओवादी केन्द्रमै फर्किएका छन्।
नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेमा गएर युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका साउद बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनलाई प्रचण्डले माओवादी केन्द्रमा स्वागत गरे।
एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताएका छन्।
साउदसहित युवा संघका सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएको प्रचण्डको निजी सचिवालयले दावी गरेको छ।
साउद २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए। उनी माओवादीको तत्कालीन जनमुक्ति सेनाका सदस्य समेत हुन्।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याउन भनी दिउँसो तीन बजे बैठक तय गरिएको थियो ।
नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्नेबारे टुंगो नभएको ढकालले जानकारी दिए ।
आकांक्षीहरू बढेपछि माओवादीमा मन्त्री छान्न सकस भइरहेको छ । माओवादी केन्द्रबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि टुंगिएको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवैले नेतृत्वको दावी गरेका छन् ।
माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । केही दिनअघि एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका सबै सांसदले मन्त्रीमा दावी गरेपछि आफू तनावमा रहेको बताएका थिए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बस्न लागेको बैठकका समसामयिक राजनीति र पार्टीको सांगठनिक संरचनबारे छलफल गर्ने एजेन्डा रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
माओवादीले पार्टीको सांगठानिक संरचनाबारे निर्णय लिन २० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । साहले आज र भोलि स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिने जानकारी दिए ।
बैठकमा सरकारमा पठाउने मन्त्रीहरूबारे पनि छलफल हुनेछ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै संविधान बोकेर दुई-दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन्।
‘पुरानै २०४७ सालको संविधान लिएर उहाँ हिँड्नु भयो र दुई-दुई पटक संसद विघटन गर्नुभयो,’ प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने प्रतिनिधिसभाको कार्यक्रममा गजुरेलले भने, ‘पार्टी-पार्टी मिलेर बनाउँदा पनि सरकार नबन्दा संसद बचाउन पनि धारा ७६(५) को प्रावधान राखिएको छ ।’
संविधान बनाएकाले नै संविधानको रक्षा नगरेको उनको भनाइ थियो । एमाले नेता एमव् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति लक्षित गर्दै उनले भने, ‘ यहाँ बोल्नुभयो पूर्व सभामुख , उहाँको संविधान बनाउन पनि महत्वूपर्ण भूमिका थियो । जसले बनाएको हो उसको रक्षा गर्ने दायित्व हुन्छ ।’
दलीय अनुशासन तोडेकाले नै अहिले दलीय प्रणालीको कुरा गरेको उनको भनाइ छ । ‘पहिलो पटक विघटन हुँदा नेकपामा छलफल भयो ?,’ गजुरेलले भने, ‘के दलीय प्रणाली, अनुशासन त्यही हो ? हामीले परिकल्पना गरेको अनुशासन त्यही हो ? आफू अनुशासन पालना नगर्ने, दललाई व्यवास्ता गर्ने अनि ठूला कुरा गरेर हुन्छ ? नेपाली जनता बेकुफ छन् ?’
देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाएको भन्ने भनाइप्रति आक्रोस पोख्दै गजुरेलले त्यो अवस्थाको सिर्जना कसले गरेको हो भनेर प्रतिप्रश्न गरे।
‘शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘निर्वाचित सांसदले प्रस्ताव गरेपपछि उहाँ प्रधानमन्त्री बन्नु भएको हो । अदालतले त व्याख्या गरेको मात्रै हो । के अदालतले संविधानको व्याख्या गर्न नपाउने ? किन राखेको संवैधानिक अदालत ? किन राखेको ?’
उनले थपे, ‘ अदालतमा जानुपर्ने अवस्था कसले सिर्जना गरेको हो ? आफैले बनाएको संविधान आफैले व्याख्या गर्नुपर्ने हो नि ? किन अदालतमा जानुपर्ने अवस्था सिर्जना गरेको ?’
देउवामाथि केही आशंका भएको भन्दै उनले अब त्यसलाई सुधार गर्ने मौका भएको बताए। ‘शेरबहादुर जी प्रधानमन्त्री हुनुहुन्छ, उहाँमाथि केही आशंका पनि छन्,’ गजुरेलले भने, ‘उहाँलाई यो अवसर पनि हो । अब उहाँले गिरिजाप्रसादले जस्तो अन्तिम क्षणमा जस्तो पहिचान बनाएर जानु भयो त्यस्तै गर्नुपर्छ । पहिचान सुधार गनुपर्छ ।’
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हो ।
बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने,‘हामीमा हिजो जुन प्रवृत्तिका विरुद्ध संघर्ष गर्यौँ, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ । त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडी बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ । र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ ।’
माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक श्रावण २० गते र स्थायी कमिटीको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ ।
त्यसैगरी श्रावण ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडाँ र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मंगलबार बिहानैदेखि राजनीतिक भेटघाटमा सक्रिय भए । विशेषगरी उनले सत्ता गठबन्धनमा आवद्ध नेताहरूसँग छलफल गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार निवास कोटेश्वरमा पुगेका थिए । त्यहाँ उनीहरूबीच करिब पौने घण्टा छलफल भएको थियो ।
प्रचण्ड र माधव नेपालबीचको छलफल चलिरहदा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए । त्यहाँ उनीहरूबीच सरकार सञ्चालन र केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भएको थियो ।
माधव नेपाल र उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा र प्रचण्डबीच पनि मन्त्रिपरिषद् विस्तार, ओली सरकारले गरेका नियुक्ति खारेजी र न्यूनतम साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच यी तीन कुरामै सहमति भएको छ । मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने र न्यूनतम साझा कार्यक्रम बनाउने सहमतिमा उनीहरू पुगेको बताइएको छ।
ओली सरकारले गरेको नियुक्ति खारेजीको प्रक्रिया भने देउवाले शुरू गरिसकेका छन् । यो बीचमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भइसकेको छ । ११ राजदूत नियुक्ति प्रक्रिया खारेज गरिएको छ । त्यस्तै सुकुम्बासी आयोग पनि खारेज गरिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा भने छलफल भए पनि कुनै सहमति नभएको बताइएको छ । माओवादी केन्द्रले राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरेको छ। देउवाले यो विषयलाई अहिले छलफलमै राख्नु पर्ने बताएका छन् ।
देउवा र कांग्रेस यो विषयमा खासै सकरात्मक नभएको बुझिएको छ । प्रचण्डले तत्कालीन ओली सरकारमा पनि राजनीतिक संयन्त्रको कुरा उठाएका थिए ।
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा आजदेखि शुरू हुने संसद बैठक र पार्टीको रणनीतिबारे छलफल भइरहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सदनमा लिन लागेको विश्वासको मत पनि माओवादीको एजेण्डा छ ।
संघीय संसदका दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको फैसला स्वागत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको टिप्पणी गरेका छन्।
‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ,’ श्रेष्ठले भनेका छन्, ‘यसको हामी स्वागत गर्दछौं।प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’
संसद विटघनविरुद्ध माओवादी केन्द्र नेपाली कांग्रेसँग मिलेर सर्वोच्च अदालत गएका थियो।