Tag: महेश बस्नेत

  • अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउँदैनन्ः महेश बस्नेत

    अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउँदैनन्ः महेश बस्नेत

    सुनसरी । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने ठोकुवा गरेका छन् ।

    इटहरीको बरन्डा होटलमा आज बिहान इटहरीका सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गरे ।

    उनले भने ‘पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोज्नु भयो, संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोज्नु भयो’, बस्नेतले भने, ‘यो अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउने स्थिति छैन ।’

  • सचिवका आकांक्षी महेश बस्नेतले भने- देशभरका कार्यकर्ताले माया गर्छन्, पपुलर भोट ल्याएर जित्छु (भिडिओ)

    सचिवका आकांक्षी महेश बस्नेतले भने- देशभरका कार्यकर्ताले माया गर्छन्, पपुलर भोट ल्याएर जित्छु (भिडिओ)

    काठमाडौं । एमालेको सचिव पदका लागि युवा नेता महेश बस्नेतले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले पपुलर भोट ल्याएर जित्ने दावी गरे ।

    एमाले पार्टी युवामैत्री छ भन्ने सन्देश दिनका लागि समेत आफूले सचिवमा उम्मेदवारी दिएको बताए । अध्यक्षदेखि उपमहासचिवसम्मका पदहरू सम्मानित नेताहरूलाई छोडेर आफूले लो प्रोफाइलको तर धेरै काम गर्न सकिने जिम्मेवारी रोजेको उनको भनाइ छ ।

    बस्नेतले भने, ‘म आन्दोलनबाट खारिएरआएको नेता हुँ, देशभरिका एमाले कार्यकर्ताले मलाई माया गर्नुहुन्छ । पपुलर भोट ल्याएर जित्ने विश्वास छ ।’

    तपाईंलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद छ ? भन्ने पत्रकारको प्रश्नमा बस्नेतले घुमाउरो जवाफ दिए ।

    उनले भने, ‘यसपाली प्यानलगत प्रतिस्पर्धा नभएकाले अध्यक्ष ओलीले कसैलाई पनि संकेत गर्ने वा आशीर्वाद दिने अवस्था छैन । सबैलाई वस्तुस्थितिको विश्लेषण गरेर अगाडि बढ्न सुझाव दिनुभएको जस्तो लाग्छ । मेरो हकमा उहाँको सधैँ सदासहायता छँदैछ । भोलि त्यस्तो अवस्था आयो भने मैले पक्कै पनि उहाँले शुभेच्छा दिनुहुनेछ ।’

  • एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा

    एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा

    भक्तपुर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए ।

    आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

    उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् । सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन् ।

  • महेश बस्नेतको जिकिर: केपी ओली ‘फादर अफ द नेशन’

    महेश बस्नेतको जिकिर: केपी ओली ‘फादर अफ द नेशन’

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वममन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष केपी ओली ‘फादर अफ द नेशन’ भएको बताएका छन् । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वभिमान उचो भएको बताए।

    मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेकाे भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकैंसम्म रहने दावी गरे ।

    उनले भने ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।’

    त्यस्तै ओली नेतृत्वको सरकारले भारतीय एकाधिकारको अन्त्य गर्दै चाइनासँग समेत पारबहन सन्धी गरी भुपरिवेष्ठित नेपाललाई भूजडित बनाएको उल्लेख गर्दै नेता बस्नेतले ओलीले संसदको रोष्टममा बसेर ‘सत्य मेव जयते कि सिंह मेव जयते’ रु भनि भारतलाई चुनौति दिनुभएको समेत स्मरण गराए ।

    अध्यक्ष ओलीले भुगोलमा नेपाल सानो भएता पनि स्वभिमानमा नेपाल र भारतलगायतका अन्य सम्पूर्ण मुलुकहरुको हैसियत समान रहेको विश्वसामु स्थापीत गराएको उल्लेख गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारको पालामा परराष्ट्र नीति तथा सम्बन्ध समेत ऐतिहासिक सफलतामा पुगेको उदाहरणसहित प्रस्तुत गरे।

    ओली नेतृत्वको सरकारले युवा, महिला, विद्यार्थी, दलितलगायतकालाई विना धितो सहुलियत दरमा ऋण दिने व्यवस्था, प्रधानमन्त्री रोजगारको व्यवस्था गरी देशमा नै रोजगारीको असंख्य योजनाहरु, नेपाललाई रेलमार्गको शुभारम्भ, सुरुङ युग, मेलम्चीको खानेपानी काठमाडौँ ल्याएकोलगायतका जनताले देख्ने र भोग्ने गरी काम गरिरहेको समयमा गठबन्धनको नाममा परमादेशबाट बनेको सरकारबाट जनतालाई नुन नभएको तरकारी जस्तो खल्लो महशुस भइरहेको उनको भनाइ छ ।

    केपी ओलीको राजनीतिक हाइट र लाईटले अन्य दलका नेताहरुको टाउको दुखाई भएको उल्लेख गर्दै नेता बस्नेतले नेपाललाई अविकसितबाट विकासन्मुख राष्ट्रको रुपमा मुलुकलाई पुर्याउन सफल भएको बताए। नेपाली जनताको सुख र समृद्धिको लागि एमालेले कुशासन र तस्करहरुलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दैै नेता बस्नेतले कांग्रेससहितको गठबन्धनले कुशासनलाई प्रश्रय दिने तथा तस्कर र माफियालाई संरक्षण गरेको आरोप लगाए ।

    ओली नेतृत्वको सरकारको पालामा मुलुकलाई अल्पकालीन तथा दिर्घकालिन योजना निर्माण गरी समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य तथा आधार तयार गरेको तथ्यगत रुपमा प्रस्तुत गर्दै नेता बस्नेतले माधव नेपालले पार्टी छोडेर भागेपछि एमाले गुटरहित भएको बताए । उनले भने, ‘एमालेभित्रको गुटको फाहोरी खेल खेल्ने माधव नेपालले गरेको तर अहिले विदा गरेकाले अबका दिनमा एमालेमा कुनै पनि गुट रहेको छैन । गुटको पुच्छर समाएर बैतर्नी तर्न खोज्ने कोही रहे कार्यकर्ताले त्यसलाई आगामी दिनमा सफा गर्दै लैजानेछन् ।’

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाउ थाप्ने च्याँखे खेलाडी भएको उल्लेख गर्दै नेता बस्नेतले स्थानीय तहमा आफ्नो छोरी जिताउन कांग्रेससँग दाउ थापेर सफल भएको समेत आरोप लगाए ।

    त्यस्तै स्थानीय तहको निर्वाचनको परिणामबाट आत्तिएर संघ सरकारमा एमालेसँग च्याखे थापेर एक सिट जित्न पनि कठिन भएको पार्टीले ५३ सिट ल्याउन सफल भएको उल्लेख गर्दै नेता बस्नेतले केपी ओलीलाई निलेर एमालेलाई निल्ने प्रचण्डको योजना असफल भई सडकमा पच्छारिएको दावी गरे ।

  • महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

    महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् ।

    ‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने । उनले एमाले राजनीतिक पार्टी नभएर ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भइसकेको आरोप लगाए ।

    गुण्डु एमालेका युवा नेता महेश बस्नेतको गाउँ हो । उनी साबिक गुण्डु गाविसबाट २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए भने अहिले सो क्षेत्रका सांसद छन् । यसअघि कांग्रेसले महेश बस्नेतकै गाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगेर भाषण गराएको थियो ।

    देउवाले त्यसबेला महेश बस्नेतलाई आफूसँग होइन भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका थिए ।

    ‘एमालेमा फरक मत राख्ने भीम रावल र धनश्याम भूसाल छन् । उनीहरूको पनि त्यहाँ केही चल्दैन । एमाले पार्टी होइन ओली प्राइभेट लिमिटेड भइसकेको छ’, थापाले भने । जनताले विश्वास गरेर दिएको मतको सम्मान गर्न नसकेर संविधानमाथि प्रहार गरेकाले एमाले हराउनुको विकल्प नभएको थापाको भनाइ छ ।

    फरक प्रसंगमा थापाले कांग्रेसले मंसिरमा महाधिवेशन सकेर पुस २ भित्र निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताए ।

  • एमालेले मधेशको मुद्दा सम्बोधन गरिसक्यो, अब कार्यान्वयन हुनुपर्छ : महेश बस्नेत

    एमालेले मधेशको मुद्दा सम्बोधन गरिसक्यो, अब कार्यान्वयन हुनुपर्छ : महेश बस्नेत

    जनकपुरधाम । नेकपा एमालेका नेता महेश बस्नेतले मधेसको मुद्दा सम्बोधन भइसकेको दावी गरेका छन् ।

    जनकपुरमा राष्ट्रिय यूवा संघको जिल्ला कार्यालय उद्घाटन गर्दै नेता बस्नेतले एमाले नेतृत्वको सरकारले मधेसको सबै मुद्दा सम्बोधन गरिसकेको र अब वर्तमान सरकारले कार्यान्वयण मात्र गर्नुपर्ने बताए । उनले उपेन्द्र यादव पटक पटक सत्तामा गएर विदेश भ्रमण मात्र गरेको तर मधेसको मुद्दा सम्बोधन गराउन केही नगरेको आरोप समेत लगाए ।

    उनले मधेसमा नागरिकताको समस्या रहेको स्वीकारे । उनले भने, ‘नागरिकताको समस्या समाधान गर्न महन्थ ठाकुर र अध्यक्ष केपी ओलीले अध्यादेश नै ल्याउनुभएको थियो । तर मधेसको नाममा झुठको राजनीति गर्नेहरुले नै समस्या समाधान गर्न दिएन ।’

    वर्तमान संविधान जारी गर्नुमा सबभन्दा बढी भुमिका अध्यक्ष केपी ओलीले खेलेको दावी गरे । उनले भने, ‘भारतले समेत संविधान जारी हुन दिने पक्षमा थिएन । संविधान जारी नगर्न काँग्रेस र माओवादीका नेतालाई पनि कन्भिन्स गरिसकेको थियो । तर केपी ओली भारतको दबाब मान्नुभएन । र संविधान जारी भयो ।’

    नेता बस्नेतले प्रदेश २ सरकार भ्रष्टाचारी भएको आरोप पनि लगाए । उनले सातै प्रदेशमध्ये सबभन्दा बढी भ्रष्ट प्रदेश २ सरकार भएको बताए । उनले प्रदेशमा भ्रष्टाचार बढेको भन्दै अब संघीयताको पनि समिक्षा गर्नुपर्ने समय आइसकेको उल्लेख गरे ।

    उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नवगठित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि आक्रोश पोखे । प्रचण्ड र माधव अगामी चुनावमा सिद्धिने तथा नेकपा एमाले पुनः दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दावी गरे ।

     

  • प्रचण्डलाई महेश बस्नेतको सुझाव– कान समातेर गल्ती स्वीकार्नुस् र एमालेमा फर्किनुस्

    प्रचण्डलाई महेश बस्नेतको सुझाव– कान समातेर गल्ती स्वीकार्नुस् र एमालेमा फर्किनुस्

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले कम्युनिस्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै अब माओवादीका कार्यकर्तालाई एमालेमा समावेश गर्ने चरण शुरु भएको दावी गरेका छन् ।

    नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको बताए ।

    बस्नेतले भने– हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन । यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा बादल कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ । निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ । अब तलैसम्म कार्यकर्ता मिलाउने हो ।

    बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नु भन्दा पहिले नै गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गरे ।

    उनले भने– माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाई‌को सान्दर्भिकता सकिनेछ ।

  • सत्ता गठबन्धनलाई महेश बस्नेतको चुनौती– यो सरकारको काम छैन, हिम्मत भए अर्ली इलेक्सनमा जाऔं

    सत्ता गठबन्धनलाई महेश बस्नेतको चुनौती– यो सरकारको काम छैन, हिम्मत भए अर्ली इलेक्सनमा जाऔं

    चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले अर्ली इलेक्सनमा जान ढिलाइ गर्न नहुने तर्क गरेका छन् । नेपाल प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सरकार विकृति र कुशासनको बाहक बन्न लागेको भन्दै अर्ली इलेक्सनमा जानुपर्ने तर्क गरेका हुन् ।

    ‘अहिलेको सरकार र संसदले विकृति, विसंगति मात्रै जन्माउँछ । कुनै कानून, कुनै विजनेस दिन सक्दैन’, उनले भने, ‘आजको सबैभन्दा उचित विकल्प अर्ली इलेक्सन हो ।’

    ‘चुनावमा धाँदली र सत्ता दुरुपयोगको आशंका कांग्रेसभित्रै भएकाले चुनावमा जाने हिम्मत गर्न आग्रह गरे । ‘कांग्रेसको बुद्धि पलाएको छ भने चुनावमा जाउँ’, उनले भने, ‘एमालेसँग चुनावमा भिड्ने आँट नभएरै सत्तारुढ दलहरु महागठन्धनमा लागेका छन् ।’

    उनले राज्यको स्रोत साधान दुरुपयोग गरेर प्रतिपक्षलाई पेलेर नजान चेतावनीसमेत दिए । ‘अहिले हामीले संसदमा देखाएको कास्टिङ मात्रै हो, क्लाइमेक्स खतरनाक हुनसक्छ ।’

    उनले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक दलको निर्देशनमा हिँडेको आरोप पनि लगाए ।

  • केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले सभामुख अग्नि सापकोटा माओवादी अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता भएको भन्दै संसदमा भदौ २३ गते देखाइदिने चेतावनी दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख सुवास नेम्वाङसमेत उपस्थित रहेको बेला सभामुखले अब प्रमुख प्रतिपक्ष देख्ने बताए ।

    एमालेले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरी पार्टी विभाजनमा प्रचण्डको सहयोगी बनेको भन्दै बस्नेतले राजनीतिक पूर्वाग्रह नत्यागेमा सभामुखको विरोध संसदमै हुने बताए ।

    उनले भने, ‘सभामुखले राजनीतिक दलको सदस्यता त्याग्नुपर्छ । प्रचण्डको कार्यकर्ता बनेर सदनमा आउनुभयो भने २३ गते तपाईंसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ’, उनको चेतावनी थियो, ‘२३ गते प्रमुख प्रतिपक्षी देख्नुहुनेछ ।’

    बस्नेतले अर्को प्रसंगमा केपी ओलीलाई युवाहरूले बा भन्नुको कारण युवालाई उत्पादन र रोजगारीमा लगाउने भूमिका रहेको बताए ।

    उनले भने, ‘देउवाका श्रीमती र छोरा नै दलालीमा छन् । बाबुरामका र प्रचण्डका पनि परिवार नै दलालीमा छन् । तर, केपी ओलीले श्रीमतीलाई कहिल्यै यस्ता कार्यमा संलग्न गराउनु भएन । उहाँले हामी युवालाई उत्पादनमूलक काममा लाग्न सहुलीयत ऋण, प्रमाणपत्र धितो र श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिजस्ता निर्णय गर्नुभयो त्यसैले उहाँ सबैको बा हो । बा हुनका लागि राम्रो काम गर्नुपर्छ ।’

  • सूर्यविनायक पुगेर देउवाले भने- महेश बस्नेतजी मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् (भिडियो)

    सूर्यविनायक पुगेर देउवाले भने- महेश बस्नेतजी मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले भक्तपुरको सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

    कांग्रेसको आजदेखि शुरू भएको वडा अधिवेशनको उद्घाटन गर्न सूर्यविनायक-५ कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।

    देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

    भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए । केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।

  • सभामुखप्रति महेश बस्नेतको आक्रोश– गुरिल्ला शैली त्याग्नुस्, १४ सांसदलाई छिटो कारवाही गर्नुस्

    सभामुखप्रति महेश बस्नेतको आक्रोश– गुरिल्ला शैली त्याग्नुस्, १४ सांसदलाई छिटो कारवाही गर्नुस्

    भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नि सापकोटाले विगतको गुरिल्ला शैली नत्यागेको टिप्पणी गरेका छन् । एमालेले सिफारिस गरेका १४ सांसदलाई कारवाही नगरेकोप्रति आक्रोश व्यक्त गर्दै नेता बस्नेतले यस्तो आरोप लगाएका हुन् ।

    भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उनले देशी विदेशी केही शक्तिको आडमा नेपाली राजनीतिलाई अस्थिरतातिर धकेलेको आरोपसमेत लगाए ।

    उनले वर्तमान सरकारलाई सुरुवातमै ‘कुपोषण लागेको’ आरोप लगाए । वर्तमान सरकार संविधानअनुसार नचलेको भन्दै उनले दल विभाजन गराउने अध्यादेश ल्याएकोप्रति पनि आक्रोश व्यक्त गरे ।

    कार्यक्रममा उनले भने– नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाए । अहिले गठबन्धनको नाममा फेरि दाउ थापेका छन् ।

  • महेश बस्नेतको आरोप : माधव र झलनाथको कार्यकाल एमालेका लागि बिर्सनलायक समय

    महेश बस्नेतको आरोप : माधव र झलनाथको कार्यकाल एमालेका लागि बिर्सनलायक समय

    काठमाडौं । नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माधवनेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको बताएका छन् ।

    ललितपुरमा लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको बताए ।

    बस्नेतले भने– माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय हो । उनीहरुको कारण एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् ।

    ‘नेकपा एमाले, न पोथी न भाले’ को अवस्थामा माधव नेपालले एमालेलाई तल झारेको भन्दै बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए ।

    बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको आरोप लगाए ।

    बस्नेतले माधव नेपालले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र शेरवहादुर देउवाको पाउमा जिम्मा लगाउन खोजेको भन्दै कसैले पनि एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

  • यो मापसे सरकार हो : महेश बस्नेत (भिडियो)

    यो मापसे सरकार हो : महेश बस्नेत (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ‘मापसे सरकार’ भनेका छन् ।

    परमादेशी सरकार भन्दा सत्तापक्षका माननीयहरूलाई चित्त दुखेको भन्दै बस्नेतले देउवा सरकारलाई ‘मापसे सरकार’ को उपमा दिएका हुन् । ‘माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले यो मापसे सरकार हो’, बस्नेतले भने ।

    प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतले सरकारको आलोचना गरे । पुनःस्थापनाको डेढ महिनासम्म संसदलाई बिजनेश दिन नसक्ने सरकारले संसदीय इतिहासमै गलत काम गर्न खोजेको उनको टिप्पणी थियो ।

    बस्नेतले केपी ओलीको मात्रै नभएर कांग्रेसका नेताहरूको उपचार खर्चबारे पनि छानविन गर्न माग गरे । उनले वीर अस्पतालको उपकरण खरिद र भीसी नियुक्तिबारे पनि छानविन हुनुपर्ने बताए ।

    उनले न्यायालयभित्रका विकृतिहरू सतहमा आएको भन्दै संसदमा बहस हुनुपर्ने माग गरे । सर्वोच्च अदालतको संसद पुनःस्थापनासम्बन्धी फैसला त्रुटीपूर्ण रहेको भन्दै बस्नेतले गलत काम गर्ने न्यायाधीशलाई महाभियोग लगाउन पछि हट्न नहुने बताए ।

     

  • स्वास्थ्य राज्यमन्त्रीलाई महेश बस्नेतको प्रश्न– कांग्रेसको लेटरप्याडमा खोपको तोक लगाएर पठाउनु नैतिक काम हो ?

    स्वास्थ्य राज्यमन्त्रीलाई महेश बस्नेतको प्रश्न– कांग्रेसको लेटरप्याडमा खोपको तोक लगाएर पठाउनु नैतिक काम हो ?

    काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका हुन् ।

    बस्नेतले खोप लगाउन जनतालाई सास्ती भएको र कांग्रेस नेताको घर–घरमा खोप देखिएको समेत दावी गरे । ‘खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती ?,’ उनको प्रश्न छ, ‘यसलाई सहजीकरण गर्ने योजना के छ ?’

    कांग्रेसबाट जितेका मेयरसँगै कांग्रेस उपसभापतिको घर र होटेलमा खोप भेटिएको उनको भनाइ छ । ‘धनकुटा नेपाली कांग्रेसको लेटर प्याडमा तपाईं मन्त्री स्वयंले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तापाईंलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’ बस्नेतले प्रश्न गरे ।

    पार्षिक ११ हजार विद्यार्थी एमबीबीस पढ्न चाहेको भन्दै उनले स्वदेशमा पढ्न नपाएपछि ९० अर्ब विदेश गइरहेको बताए । साथै उनले स्वाथ्य राज्यमन्त्री श्रेष्ठप्रति प्रश्न पनि उठाए– यो बारेमा विगतमा दिएका सम्बनधन रद्ध गर्ने भन्दै हुनुहुन्छ, तपाईं स्वास्थ्य माफियासँग मिल्नु भाको त होइन ? यसमा तपाईंको योजना के छ ?’

    उनले भक्तपुरको क्यानसर अस्पतालाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाउन पनि माग गरे।

  • महेश बस्नेतको व्यंग्य कविता : मन्त्री बनाउन पनि परमादेश जारी गराऊ (भिडियो)

    महेश बस्नेतको व्यंग्य कविता : मन्त्री बनाउन पनि परमादेश जारी गराऊ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधामन्त्री शरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको विषयलाई लिएर व्यंग्य कसेका छन् । उनले सरकार बनाउन जस्तै मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश माग गर्न सुझाव दिए ।

    आजको संसद बैठकमा शून्य समय लिएर बोल्दै सांसद बस्नेतले कवितात्मक शैलीमा आफ्नो भनाइ राखेका थिए । उनको ‘व्यंग्य कविता’ यस्तो थियो :

    एसएसबीले तुइन काटे
    जयसिंह धामी महाकालीमा डुबे
    सरकार भन्छ मौन बस, समाचार नबनाउ
    प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप…
    कांग्रेसका मेयरको घरमा खोप
    उपसभापतिको घरमा खोप
    होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपैखोप
    जनता दिनभरि लाइनमा खोप न सोप
    विचरा सरकार व्यापारी मन्त्री बनाउँछ
    दक्ष सचिव फेर्छ
    देशभर बाढीपिडित जनता राहत नपाएर कराउँछन्
    कांग्रेसका विपक्षी मन्त्री नपाए सत्तामा जान्न भन्दैछन्
    कांग्रेसका वडाध्यक्ष नगरपालिकाको कार्यालय फोड्दैछन्
    माओवादी जसपा भन्दैछन्- मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए
    दिमागमा आतंक ल्याए, भुकम्प ल्याए
    परमादेशबाट बनेको सरकार
    तीन हप्ता भइसक्यो मन्त्रीपरिषद् बनेन
    न्यूनतम सझा कार्यक्रम आएन
    प्रधानमन्त्रीज्यू, अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस्
    फलानो पार्टीका फलानो सांसदलाई मन्त्री बनाइपाउँ भनेर परमादेश जारी गराउनुस्
    नत्र जनादेशबिनाको सरकार चल्लाजस्तो देखिएन
    अब जनता भन्दैछन्
    केपी बा आइलभ यू…

    उनको व्यंग्यं कविता पुरा नभइकन सभामुखले माइक काटिदिएका थिए ।

  • खगेन्द्र संग्रौलालाई महेशको जवाफ- अग्रजको सम्मान गर्ने पार्टीको अनुयायी हुँ, धम्काउने मेरो शैली होइन

    खगेन्द्र संग्रौलालाई महेशको जवाफ- अग्रजको सम्मान गर्ने पार्टीको अनुयायी हुँ, धम्काउने मेरो शैली होइन

    काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफू अग्रजहरूको सम्मान गर्ने पार्टीको अनुयायी भएको भन्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको स्पष्ट पारेका छन् ।

    लेखक खगेन्द्र संग्रौलाले बस्नेतको नामै लिएर आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको ट्वीट गरेपछि उनी सर्मथकले बस्नेतका आलोचना गरिरहेका छन्।

    ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ,’ संग्रौलालाई जवाफ दिँदै बस्नेतले लेखेका छन्, ‘राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’

    युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने ९ साउनको कार्यक्रममा बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई साइबर सेनाको सहयोग लिएर तह लगाउने चेतावनी दिएका थिए । त्यहाँ उनले कसैको पनि नाम किटेका थिएनन् ।

    तर, संग्रौलाले आफूलाई प्रत्यक्ष धम्की आएको दावीसहित लेखेका छन्,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर।’

    उक्त कार्यक्रममा आफूले त्यस्तै केही नबोलेको बस्नेतको प्रष्टीकरण छ । उनले भनेका छन्, ‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’

  • साइबर सेनासँग सहकार्य गरेर एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउने महेश बस्नेतको चेतावनी

    साइबर सेनासँग सहकार्य गरेर एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउने महेश बस्नेतको चेतावनी

    काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नुहन आग्रह गरेका छन् । शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘युथफोर्स फेरि जन्मिएको छ । पार्टी भित्र र बाहिबाट आशंका पालिएको छ । धेरै त्रसित नुहुनका लागि आग्रह गर्दछु ।’

    युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी हुने चेतावनी दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’

    युथफोर्सले सरकारसँग सहकार्य गरेर रचनात्मक काम गर्न तयार रहेका बताए । बस्नेतले भने, ‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ।’

    उनले आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिए । ‘बुद्धिजीवीविरुद्धको संगठन होइन,’ बस्नेतले भने, ‘ बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ।’

    उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन होइन नभएको समेत बताए। बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको समेत बताए।

  • महेश बस्नेतले भने,‘आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ’

    महेश बस्नेतले भने,‘आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ’

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘आईटी आर्मी’ प्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।

    बेथिति र विसंगतिका विरुद्ध लड्न तथा समाजवादी क्रान्तिका लागि वामपन्थी युवाहरुले गठन गरेको आईटी आर्मीको विषयमा जोडेर केही सञ्चार माध्यमले भ्रम फैलाएको उनको टिप्पणी छ ।

    सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री बस्नेतले आईटी आर्मीप्रति कुनै पनि असहमति नरहेको र स्रोत एवम् तथ्य बिनाको प्रायोजित अनलाइनहरुले भ्रम फैलाएको
    उल्लेख गरेका छन् ।

    ‘कमरेड प्रभु साह संगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइटी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइटी आर्मी,अनि साइबर सेना संगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।’ पूर्वमन्त्री बस्नेतले लेखेका छन् ।

    मंगलबार एमाले नेता प्रभु शाहको नेतृत्वमा आईटी आर्मी’ गठन गरिएको थियो ।

  • माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

    राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले एमाले छाडे सम्मानजनक बिदाई गर्ने बताए । ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु- साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ बस्नेतले भने, ‘तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाए । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको दावी बस्नेतले गरे । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे,’ उनले भने, ‘डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो ।’

    बस्नेतले थपे, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’

  • महेश बस्नेत भन्छन्- एक महिनापछि ओली फेरि पुन:स्थापना हुने सम्भावना छ

    महेश बस्नेत भन्छन्- एक महिनापछि ओली फेरि पुन:स्थापना हुने सम्भावना छ

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक महिनापछि फेरि केपी ओली सत्तामा पुन:स्थापना हुन सक्ने दावी गरेका छन् । एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा ओलीले प्रधानमन्त्रीमा दावी गर्न सक्ने उनको तर्क छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् ।

    उनले भने, ‘एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५) को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ? देउवाको दावीलाई मान्यता दिने अदालते एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ?’ विश्वासको मत नपाएपछि देउवाले पनि निर्वाचन घोषणा गर्ने बस्नेतले बताए ।

    ‘केपी ओलीले गरेको विघटन सुँगुरको मुखजस्तो अनि देउवाले गर्न सक्ने विघटन चाहिँ मयुरको प्वाँखजस्तो हुन्छ ? अदालत के भन्छ ?’ उनने प्रश्न गरे ।

    बस्नेतले भने, ‘एक महिनापछि केपी ओली फेरि पुन:स्थापना हुने सम्भावना छ । तर, यदि जालसाँजी गरियो भने पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन । एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।’

  • ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोटमा स्वागत गर्ने महेशको घोषणा

    ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोटमा स्वागत गर्ने महेशको घोषणा

    काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा स्वागतको लागि भव्य तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    सर्वोच्चको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार छाडेर भोलि बालकोट जाँदै छन् ।

    आज युथ फोर्स गठनसँगै बस्नेतले बालकोटस्थित निवास प्रस्थान गर्दा ओलीलाई २ हजार गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दावी समेत गरेका छन् ।

    ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स किसानको घरको सिरानमुनी राखिएको खुकुरीजस्तै हो । र, संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौँ ’, युथ फोर्सलाई ब्युँताएपछि बस्नेतले भने, ‘युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले आवाजविहीनको आवाज उठाउन भूमिका खेल्ने छ ।’

    नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन बस्नेतले निर्देशन दिएका छन् ।

  • युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

    युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

    पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।

    
    
    
    
    
  • महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ

    महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्चको फैसला सेटिङमा आएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामा जहानीया शैली देखिएको टिप्पणी गरेका छन् ।

    फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार माइतीघरमा गरेको विरोधसभामा बोल्दै उनले न्यायालयभित्र बसेर राणाले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौती दिए ।

    बस्नेतले भने ‘आज सर्वोच्च अदालतले फैसला गर्‍यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदहरूलाई कारवाही गर्न पाउँदैन । सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र शमशेरलाई चुनौती दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाईं एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।’

    देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफैं प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न प्रधानन्यायाधीश तयार भएको उनको टिप्पणी थियो ।

    बस्नेतले भने, ‘चोलेन्द्र शम्शेरजी, जहानीया राणा शासन सकियो । तपाईंको थर राणा हो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । अब तपाईं फेरि अर्को चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मदै तुहिने छ ।’

    निरंकुशहरू, लोकतन्त्रविरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप बस्नेतकव थियो । संवैधानिक इजलास गठन हुने बेलादेखि नै आफूहरूलाई शंका लागेको भन्दै उनले अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरू रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गरे ।

    बस्नेतले भने ‘रमण श्रेष्ठ र शम्भु थापाहरूको संवैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाइ छ, कांक्रो चोरेर चोरले आफू खान्छ अनि वियाँ साथीको मुखतिर दल्दिएर भन्छ- कांक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर जुन फैसला गरेका छन् । उनीहरूले नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ ।’

  • आदेशप्रति महेश बस्नेतको टिप्पणीः निर्दलीय व्यवस्थाको बिजारोपण, परमादेश कार्यान्वयन असम्भव

    आदेशप्रति महेश बस्नेतको टिप्पणीः निर्दलीय व्यवस्थाको बिजारोपण, परमादेश कार्यान्वयन असम्भव

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा निर्दलीय व्यवस्थाको बिजारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्वन्द्वमा फसेको बताएका छन् ।

    ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध बिरोध जनाउ’ अदालतको आदेशविरुद्ध प्रदर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।

    उनले थप लेखेका छन्– व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।

  • एमाले बैठकमा महेश बस्नेतको ८ बुँँदे प्रस्ताव– संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौं

    एमाले बैठकमा महेश बस्नेतको ८ बुँँदे प्रस्ताव– संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौं

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज बस्नेतले संघीयताकाे समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

    बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् ।

    बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

    उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

    उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

  • महेश बस्नेत भन्छन्ः म जहाँ छु त्यहीँ रहनेछु, पद नपाउँदैमा विचलित हुन्न

    महेश बस्नेत भन्छन्ः म जहाँ छु त्यहीँ रहनेछु, पद नपाउँदैमा विचलित हुन्न

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुअघि महेश बस्नेतको नाम निकै चर्चामा थियो । उनलाई ओलीले गृहमन्त्री दिनलागेको भनेर केही मिडियाले समाचारसमेत लेखे ।

    तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । बस्नेतले मन्त्रिपरिषद्मा स्थान पाएनन् । त्यसपछि फेरि अर्को चर्चा सुरु भएको छ, मन्त्री नपाएपछि बस्नेत असन्तुष्ट भन्नेदेखि गुट फेर्ने तयारी भन्ने सम्मका ।

    बस्नेत स्वयम्ले भने यी चर्चाहरुलाई खारेज गरिदिएका छन् । मन्त्रिपरिषद्  विस्तारलगत्तै फेसबुकमा स्टाटस लेख्दै उनले पद नपाउँदैमा विचलित हुने आफ्नो स्वभाव नरहेको उनले बताएका छन् ।

    ‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौ । म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु । पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अबसरबादी चरित्र छैन र हुने पनि छैन ।’ उनले लेखेका छनु ।
    आफू अझै जोस, जाँगर र उर्जाका साथ लाग्ने बस्नेतको भनाइ छ ।

    उनी लेख्छन्, ‘मेरो राजनीतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ । पटक–पटक अग्निपरिक्षामा होमिन तयार छु ।

    आफ्नो राजनीतिक जीवनमा कहिल्यै पद प्राप्तिलाई ठुलो बिषय नबनाएको महेशको दावी छ । पार्टी नीति नेतृत्व र निर्देशन पालना गरेर अगाडि बढेको उनी बताउँछन् ।

    ‘पटक–पटकको मन्त्रीमण्डल पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो बिरोधि साथीहरुलाई म झन् धेरै धन्यवाद दिन चाहन्छु, जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु ।’

  • जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    काठमाडौं । ठिक एक वर्षअघि पनि यो बेला मुलुकमा लकडाउन थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा चरम विवाद भइरहेको थियो ।

    नेकपा विभाजनका लागि ओलीले अध्यादेश ल्याएको आरोप प्रचण्ड-माधव पक्षले लगाइरहेका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई ।

    मेरियट होटलबाट डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले यादवलाई उठाएर घरमा लगे । यादवले दिनमा दुईपटक बोली फेरे । आफू राजीखुसी आएको र कसैले अपहरण नगरेको उनको बयानपछि पनि अपहरणकाण्ड सेलाएन । महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध जिल्ला अदालतमा अपहरणको मुद्दा पनि दायर भयो । जलेश्वरमा मुद्दा लिन नमानेपछि काठमाडौंमा लगाइएको थियो ।

    समाजवादी पार्टीबाट फुट्न चाहने सांसदहरूको लागि ओलीले ल्याएको अध्यादेश त फिर्ता भयो तर त्यही प्रकरणबाट शुरू भएको मधेशवादी दलका नेताहरूसँगको चिनजान महेश बस्नेतहरूले भने दोस्तीमा परिणत गरे ।

    सरकारले अध्यादेश ल्याएपछि रातारात मिलेका समाजवादी र राजपाका नेताहरू अहिले पुनः विभाजनको डिलमा पुग्दा फेरि महेश बस्नेत चर्चामा छन् । प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनको बहुमत पुग्न नदिन जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई सुरक्षित गर्ने सेल्टर महेश बस्नेतले नै मिलाएपछि एक वर्षअघिको कनेक्सन सफल भएको छ ।

    उपेन्द्र-बाबुराम पक्षले सांसदहरूलाई घर घरबाट उठाउँदै लुकाउन थालेपछि जसपाका नेताहरूले आफ्ना सांसदलाई सुरक्षित रूपमा एकै ठाउँमा राख्न खोजे । यसक्रममा प्रधानमन्त्रीको तर्फबाट पनि महेश बस्नेतहरूसँग समन्वय गर्नु भनेर पहिलेदेखिनै भनेकाले जसपा नेताहरूलाई बस्नेतले डोलेश्वर रिसोर्टको व्यवस्थापन गरेको बताइन्छ ।

    जसपाका सांसदहरूसँग अघिल्लो वर्षदेखि नै दोस्ती बढाएका महेश बस्नेत, निरु पाल र किसान श्रेष्ठले उपेन्द्र यादवतिरका कतिपय सांसदलाई ठाकुरका पक्षमा उभ्याउन समेत पहल गरेको बताइन्छ । जसपाका नेताहरूसँग राजनीतिक रूपमा प्रधानमन्त्रीको तर्फबाट गोकुल बास्कोटासमेत संवादमा थिए ।

    यी नेताहरूले महन्थ राजेन्द्र महतोसँग कन्भिन्स हुन नसकेका कतिपय सांसदलाई व्यक्तिगत रूपमा बालुवाटार पुर्‍याएर प्रधानमन्त्रीसँग भेट गराएका थिए । प्रधानमन्त्रीले कुनै पनि अनुचित हर्कत गरेर सांसद आफ्नो पक्षमा पार्दिन भनेकाले उनीहरूले भनेका ठाउँमा बजेट पार्ने, योजनाहरू पार्नेजस्ता काम भने भएका छन् ।

    संसदमा विश्वासको मतका बेलासम्म जसपाका सांसद ठाकुर पक्षमा १५ र उपेन्द्रको पक्षमा १५ जना उभिएका थिए । लक्ष्मणलाल कर्ण कोभिडका कारण अनुपस्थित थिए भने रुही नाज पनि उपस्थित भइनन् । उनलाई बाबुराम भट्टराईका पारिवारिक नातेदारको घरमा राखिएको र त्यहाँबाट मुक्त गरेर महेश बस्नेतले मिलाएको डोलेश्वर रिसोर्टमा लगिएको दावी ठाकुर पक्षको छ ।

    त्यस्तै चन्द्रकान्त चौधरीलाई पनि रामबाबु यादवले गाडीमा हालेर लगेपछि छोराले अपहरण मुद्दा लगाउँछु भन्ने चेतावनी दिए । अपहरण मुद्दामा महेश बस्नेतहरूले छोरालाई साथ दिएपछि बाटोबाटै चन्द्रकान्त पनि डोलेश्वर पुर्‍याइएका थिए । यसरी जसपामा ठाकुर पक्षका १८ जना सांसद पुगे । कल्लु विकलाई भने उपेन्द्र पक्षले लुकाएर राखेको आरोप ठाकुर पक्षको छ ।

    सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पुर्‍याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतहरू सक्रिय भएका छन् । यो सम्बन्ध आगामी निर्वाचनसम्म जाने र मधेशमा एमाले तथा जसपाको महन्थ पक्षबीच गठबन्धन गर्ने तथा कतिपय जसपा सांसद सूर्य चिन्हबाटै चुनाव लड्नेसम्मको कुरा अघि बढेको बताइन्छ ।

    यसबीचमा डा. बाबुराम भट्टराईले दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटका कुरा बाहिर नआए पनि उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्थे । त्यो सम्भव नभएपछि राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव उनले राखेका हुन् ।

    ओलीले बाबुरामसँग अघिल्ला वर्ष आफूमाथि सांसद अपहरणको आरोप लगाएकामा असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार बाबुरामले त्यो बेला अपहरण नभएर राजनीतिक मुद्दामात्र बनाइएको भन्दै त्यो गलत नै भएको स्वीकार गरेका थिए ।

    तर, त्यही प्रकरणबाट महेश बस्नेतलाई भने जसपाका नेताहरूसँग नजिकिन सजिलो भयो । यसबीचमा सांसदहरूलाई प्रधानमन्त्रीसँग भेटाउनेदेखि महन्थ, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूसँग बाक्लो भेटघाट हुन थाल्यो ।

    यी सबै घटनाक्रममा जेलभित्रबाटै जसपा सांसद रेशमलाल चौधरीको पनि सक्रिय भूमिका रहेको थियो । उनी शुरूदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोलाई केपी ओलीसँगै मिल्न दबाब दिइरहेका थिए । एमाले सम्बद्ध अनेरास्ववियूबाट राजनीति गरेका चौधरीका बुबा एमालेबाटै प्रदेशसभाको उम्मेदवार पनि बनेका थिए ।

    नयाँ सरकार गठनको खेल शुरू भएपछि मुद्दा फिर्ता लगायतका प्रक्रियामा ओली र महन्थ पक्षले कार्यदल बनाउनुअघि रेशमलाई महेश बस्नेतले जेलमै गएर भेटेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गएका बस्नेतले चौधरीसँग भेटेपछि उनी सीधै धनगढी गएका थिए । त्यसको केही दिनमा सकारसँग ठाकुर पक्षको अनौपचारिक सहमति भयो र मुद्दाहरू फिर्ता भए ।

    डोलेश्वर नै किन ?

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा अवस्थित डोलेश्वर रिसोर्टमा जसपाका केही सांसद तीन दिनदेखि नै बसेका थिए । विशेष गरी उपेन्द्र यादवको दबाब थेग्न नसक्ने सांसदलाई सुरक्षित राख्ने ठाउँ चाहियो भनेपछि बस्नेतले सो रिसोर्ट व्यवस्था गरेका थिए ।

    त्यसपछि बिहीबार महन्थ पक्षमा लागेका सबै सांसदलाई प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुन्जेल राखिएको थियो । सो रिसोर्ट व्यवस्थापनमा सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा र सोही वडाका वडाध्यक्ष किरण थापालगायतका सक्रिय थिए ।

    डोलेश्वर रिसोर्ट नै रोज्नुको कारण भने सो वडा एमालेको दुई तिहाई शक्ति भएको र सुरक्षका हिसाबले पनि पार्टी कार्यकर्ता नै खटिने भएकाले रोजिएको थापाले बताए । रिसोर्ट पनि मलेसियाबाट फर्केका एमालेनिकट युवाहरूले संचालन गरेका हुन् ।

  • महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन

    महेश बस्नेतको टिप्पणी- दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दल विभाजन सम्बन्धी पहिले ल्याएको अध्यादेशको अहिले औचित्य पुष्टि भएको दावी गरेका छन् ।

    ‘राजनीति विचार, आस्था र विश्वासको कुरा हो,’ बस्नेतले फेसवुकमा लेखेका छन्, ‘ कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो । तसर्थ यसलाइ प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने क. माधव नेपाल आफ्ना सांसदहरुलाई राजीनामा दिने तहमा पुग्नु भयो । प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरूको यो हालत हुने थिएन कि ।’

    बस्नेतले बुँदागतरुपमा विभिन्न नेताहरूमाथि कटाक्ष र आलोचनासमेत गरेका छन् ।

  • महेश बस्नेतको टिप्पणी- सत्तामा रहँदा कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिँदैछ

    महेश बस्नेतको टिप्पणी- सत्तामा रहँदा कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिँदैछ

    काठमाडौं । नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले ७१ वर्षपछि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता अरुलाई दिलाउन प्रचण्ड लागि परेको आरोप लगाएका छन् ।

    त्यस्तै उनले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिन थालेको’समेत टिप्पणी गरेका छन्।

    ७ बुँदामा आफ्ना भनाइ राख्दै बस्नेतले माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको आलोचना गरेका छन् ।

    फेसबुकमा उनले लेखेका छन्-

    १) ७१ बर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो।

    २) जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।

    ३) विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ।

    ४) पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

    ५) आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

    ६) राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।

    ७) स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।

  • महेश बस्नेत कोरोना संक्रमणमुक्त, पाँच दिनमै रिपोर्ट नेगेटिभ

    महेश बस्नेत कोरोना संक्रमणमुक्त, पाँच दिनमै रिपोर्ट नेगेटिभ

    काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत कोरोना संक्रमणबाट पाँच दिन मै मुक्त भएका छन् ।

    वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको हो ।

    हालसम्म २६ जना प्रतिनिधिसभा सदस्यमा पोजेटिभ देखिएकोमा अब बस्नेत भने संक्रमणमुक्त भएका छन् । घरमै आइसोलेसनमा बसेका बस्नेतले आफ्नो पहिलो रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले चिकित्सकको सल्लाहमा तत्कालै अर्को परीक्षण गर्दा नेगेटिभ आएको नेपाल प्रेसलाई बताए ।

    कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतमा संक्रमण भएको थियो । आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको बस्नेतले बताए ।

    कोरोना रिपोर्ट पोजेटिभ आएका सांसदलाई संसद भवनभित्रै अलग अलग टेण्टमा राखेर मतदानको बेला लबीमा लैजाने निर्णय आइतवारै कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको थियो ।

  • महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी पाएका छन् । शुक्रबार तोकिएको जिम्मेवारी अनुसार बस्नेत युवा संघ नेपाल र नेपाल खेलकुद महासंघआवद्ध संगठनहरूको इन्चार्ज बनेका छन् ।

    युवा संघको पूर्व अध्यक्षसमेत रहेका बस्नेत पार्टी एकताकै बेला पनि युवा इन्चार्ज रहेका थिए । युथ फोर्सको संस्थापक संयोजकसमेत रहेका बस्नेत पूर्वउद्योगमन्त्री समेत हुन् । बस्नेतनिकट युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल हालै नेपाल खेलकुद महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले केन्द्रीय सदस्य बस्नेत भक्तपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

  • प्रधानमन्त्रीसँग बहस गर्छु : गगन, बोकाले दाइँ हुन्न : महेश (भिडियो)

    प्रधानमन्त्रीसँग बहस गर्छु : गगन, बोकाले दाइँ हुन्न : महेश (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका युवा सांसद बहसमा उत्रिए ।

    नेपाली कांग्रेसका सांसद गगन थापाले बिना योजना बिकास अयोजनको शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप प्रधानमन्त्रीलाई लगाए । र, तथ्यांक टेकेर बहसमा आउन चुनौती दिए।

    एमाले सांसद महेश बस्नेतले बिकासका काम हुँदा किन टाउको दुखाएको भन्दै त्यसको प्रतिवाद गरे । हेर्नुहोस्, संसदमा महेशगगनको सवाल-जवाफ :

    गगन- २०६१/२०६२ मा सक्किनुपर्ने आयोजना आज २०७८ सालमा सकिदै गर्दा हामीले गल्ती गर्यौं, काठमडौंबासीलाई पानी खुवाउन ढिलो गर्यौं, त्योबाट धेरै कुरा सिकेका छौं, अब यस्तो गर्दैनौं भनेर प्रधानमन्त्रीले पनि हामीले पनि भन्नुपर्ने । यो बेलामा कहिले धारो खोलेर, कलिहे बाल्टिन थापेर, कलिहे उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ। चम्कार भयो भनेको छ।

    महेश- मेलम्चीलेको पानीले काठमाडौं उपत्यकामा खुसीको लहर ल्याइरहेको छ । काठमाडौं उपत्यकाका कतिपय मान्य जीहरुको प्रेसर बढेको छ । प्रेसर धेरै नबढाउनुहोस् । हुन त गंगालाल अस्पताल नकिजै छ । त्यसको स्तरउन्नती गरेर बनाइदिएकै छ । प्रेसर बढे छ भने पनि त्यसको उपचार गरौंला, त्यसको समस्या छैन् ।

    गगन- प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकर बसह गर्नका निम्ति म तपाईंलाई संसदमा निम्तो दिन चाहान्छु । चुनौती दिन चाहान्छु । हैन भने तपाईं बाहिरको सभा सम्मेलनमा उभिएर, प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने । तलकोले ताली बजाउने। अनि मान्य सांसदहरुले संसदमा आएर बाल कविता सुनाउने होइन । म, हामी तपाईंसँग बसह गर्न तयार छौं । तपाईंले प्रस्तुत गरेको तथ्यमा टेकर ल आउनुहोस्, एउटा–एउटा मन्त्रालयमा बहस गरौं । तीन वर्षमा कति चमत्कार भएको छ ? पानीमा बहस गरौं, सडकमा बहस गरौं, पुलमा बहस गरौं । राष्ट्रिय गौरबका आयोजनाको एउटा–एउटा कुरामा बसह गरौं ।

    महेश- यहाँ संसदमा प्रधानमन्त्रीको अनुपस्थिति भयो भन्ने ढंगले कुरा उठेको छ । प्रधानमन्त्रीको राजीनामा जबरजस्ती पनि मागिदै छ । प्रधानमन्त्रीलाई गलहत्याउने कुरा पनि गरिदै छ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसँग ठाडठाडो बहस गर्ने चुनौती पनि दिइरहनु भएको छ। प्रधानमन्त्रीलाई च्यालेजन्ज गरे बालहठ देखाउने कतिपय साथीहरुलाई म भन्न चाहान्छु–यो बोकाको शैलीले दाइँ गरिदैन । दाइँ गर्नको लागि गोरुकै शैली चाहिन्छ ।

    गगन- गर्नुपर्ने काम गरेको छैन् । मिथ्यांक ल्याएको छ । अनि गफ चुटेको छ । यो भयो भनेको छ, त्यो भयो भनेको छ । हुँदा–हुँदा निर्माण समेत सकिएर दुई वर्ष अगाडि शुरू भएको पुलको उद्घाटन गरेको छ । चालु भएको दुई वर्ष भइसक्यो सिन्धुलीको पुल, राप्तीको पुल । हुँदा-हुँदा ठेक्का लागेको छैन्, सुनकोशी-मरिण डाईभर्सनको शिलान्यास गरेको छ। सबस्टेसन चार्ज भएको कहिले, अस्ती गएर थिचेको छ बटन । यो के को तमासा हो ? अस्ति भर्खर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ ।

    महेश- सडकहरू रणनीतिक सडकका रुपमा उद्घाटन गर्दा किन टाउको दुख्दै छ । सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । ठीक छ, मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् ।

    याे पनि पढ्नुस् :

    गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?

    गगन थापाको प्रश्न: कुनै हिसाब-किताब विनै शिलान्यास, यो के को तामासा हो ?

     

     

  • गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?

    गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?

    काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै कांग्रेस सांसद गगन थापालाई प्रतिप्रश्न गरेका छन्।

    ‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘एक दिनमा ३ सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’

    आजकै बैठकमा कांग्रेस सांसद थापाले सरकारले कुनै हिसाब-किताब विनै शिलान्यास गरेर तामासा देखाएको अरोप लगाएका थिए।

    बिना कुनै डिपीआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै थापाले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए । थापाले भनेका थिए, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला ।’

    त्यसको जवाफ दिँदै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न चुनौती समेत दिए ।

    ‘१ सय ५६ वटा निर्वाचनसँग सम्बन्धित सडकहरू रणनीतिक सडकहरू शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,’ थापाको नाम नलिकनै बस्नेतले भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’

    संसदमा प्रधानन्त्रीको अनुपस्थिति रहेको भन्ने प्रश्नको पनि बस्नेतले जवाफ दिए ।

    उनले प्रधानमन्त्री तीनपटक संसद बैठकमा आइसकेको जानकारी समेत गराए । उनले भने, ‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो । २३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो । तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो ।’

    प्रधानमन्त्री आउँदा बैठक बस्न आलटाल गरेको अरोप समेत उनले लगाए । उनले भने, ‘जुन दिन प्रधानमन्त्री बैठकमा आउनुभयो, त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने, आलटाल गर्ने ।’

  • प्रचण्डमाथि संसदमा महेश बस्नेतको यस्तो व्यंग्य (भिडियो)

    प्रचण्डमाथि संसदमा महेश बस्नेतको यस्तो व्यंग्य (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गरेका छन् ।

    प्रतिनिधिसभा बैठकको शून्य समयमा कवितात्मक शैलीमा प्रस्तुत हुँदै सांसद बस्नेतले बिम्बात्मक रुपमा गत निर्वाचनदेखि हालसम्म माओवादी अध्यक्ष दाहाल लाचार रुपमा प्रस्तुत भएको आरोप लगाएका हुन् ।

    ‘चुनाव अगाडि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागेँ, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनी छाडेँ, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागेँ, संसद विघटन गरेर निर्वाचनको घोषणा गरेँ, लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल नागरिक समाज उचालेँ, अदालत गुहारेँ, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाए, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनेँ, अध्यक्ष घोषणा गरेँ, ११ गतेको फैसलाले मख्ख परेँ, लड्डु खाएँ, अबिर दलेँ, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वास मत फिर्ता लिन्छु भन्छु सक्दिनँ, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठनबन्धन बनाउन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ, लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खाली छ, केपी ओलीको अगाडि मेरो केही लागेन , जसपा मानेन , कांग्रेस जागेन’, बस्नेतले व्य‌ग्यात्मक रुपमा संसदमा भने ।

  • प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत

    प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत

    पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् ।

    संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए ।

    प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए ।

    ‘कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ’, बस्नेतले दावी गर्दै भने ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’

    उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

    ‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न’, बस्नेतले भने, ‘कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’ पत्रकार भेटघाटमा राष्ट्रिय युवा सङ्घका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताए ।