Tag: महाकाली

  • जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

    जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि महाकाली नदिमा बेपत्ता भएका जयसिं धामीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    करिब एक महिनाअघि भएको घटनामा सरकारले छानविन समिति बनाए पनि अहिलेसम्म समितिले प्रतिवेदन दिन सकेको छैन । भारतीय एसएसबीबाट क्षतिपूर्ति भराउनुपर्ने माग हुँदै आए पनि सरकारले आफैं १० लाख दिने निर्णय लिएको हो ।

  • तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

    तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

    दार्चुला। महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई  खाेज्न सुरक्षा निकायले ड्रोनकाे प्रयाेग गर्ने भएकाे छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयाेग गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको हाे ।

    सुरक्षाकर्मीले व्यास गाउँपालिका दुई मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले नेपाल प्रेसलाई जानकारी दिईन । सरकारले गठन गरेको छानबिन समितिले एकपटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छानविन समितिको सदस्य समेत रहेकी भट्टले बताइन् ।

    छानविन समितिको छानविन पनि जारी

    साउन १९ गते खलङ्गा पुगेको सरकारी उच्चस्तरीय छानबिन समितिले पनि छानविनलाई निरन्तरता दिइरहेको छ । समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत धामीको शव खोजी गर्ने तयारी भइरहेको नेपाल प्रेससँग बताए । सशस्त्र प्रहरीले आफुसँग भएका सबै प्रविधि र सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम जारी राखे पनि अहिलेसम्म शब नभेटिएको सशस्त्र प्रहरी बल नम्बर ४४ नम्बर गणले जनाएको छ ।

    छानविन समितिका संयोजक गौतमले ड्रोन क्यामरा लिएर सुरक्षाकर्मीको टोली दार्चुला पुगिसकेको बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीले सूचना संकलन गर्ने कामसँगै नदीमा बेपत्ता धामीको शव खोजी पनि जारी राखेका छौ ।’ उनका अनुसार समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ ।

    साउन १७ गते सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसिमा दिएको छ । गृह मन्त्रालयका सहसचिव गौतम संयोजक रहेको छानबिन समितिमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

    एक साताअघि दार्जुला पुगेको छानविन समितिले नेपाल र भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरिसकेको जनाएको छ । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको समितिका संयोजक गौतमले बताए ।

  • महाकाली नदीमा बाढी:  निर्माणाधीन पुलको बाँध बगायो, १५ घर डुबानमा

    महाकाली नदीमा बाढी: निर्माणाधीन पुलको बाँध बगायो, १५ घर डुबानमा

    महेन्द्रनगर । महाकाली नदीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

    महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए ।

    ‘गत जेठमा पनि बाढी आउँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो’, उनले भने, ‘त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।’

    उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पु¥याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । ‘अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो’ उनले भने, ‘यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।’

    महाकाली नदीले १५ घर डुबानमा
    महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

    सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सात जनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शङ्कर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको परिवार छन् । ‘घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ’, सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भने, ‘मानवीय र भौतिक क्षति भएको छैन ।’

    महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि छ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ ।

    महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ । सोही स्थानबाट नदी बगिरहेको छ ।

    पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान छ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्यूसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।

    पानीको बहाव यस वर्षकै उच्च
    महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

    ‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने,‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् ।

    ‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ’, प्रनानि गुरुङले भने, ‘स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

    महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

    कैलाली । महाकाली पुलमा काम गर्ने १० जना कामदार महाकालीको टापुमा फसेका छन् ।

    महाकाली नदीमा पानीको सतह बढ्दा उनीहरु नदिको बिचभागमा रहेको टापुमा फसेका हुन्।

    २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए ।
    जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरेको बताए ।

    महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का नगरीकन समेत प्रभावित भएका छन् ।

  • महाकालीमा जलयात्रा शुरु

    महाकालीमा जलयात्रा शुरु

    रासस । महाकाली नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।

    दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्‍याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । ‘महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिनेछ,’ उनले भनिन् ।

    जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । महाकाली नदी भारतसँग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए । ‘यो क्षेत्रमा सहजरूपमा जलयात्रा सञ्चालन गर्न सकिने देखिएको छ, यसले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छ’, उनले भने ।

    सेरादेखि झुलाघाटसम्मको जलयात्रामा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख चन्द, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द, रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशी, महिला सशक्तिकरण केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • नाका सञ्चालनमा नआउँदा समस्या

    नाका सञ्चालनमा नआउँदा समस्या

    काठमाडौं । जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्दहुँदा आवतजावत गर्न नै समस्या भएको छ ।

    महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए ।

    शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् ।

    घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ । यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महताले बताए ।

    घाट खुला रहँदा भारतबाट सामान आउने गरेको भए पनि हाल भारतबाट आउन छोडेको हो । उनले भने ,’भारतबाट ल्याइएको सामान सस्तो हुने गर्दथ्यो, अहिले महँगोमा किन्नुपरेको छ ।’

    तल्लोस्वराडवासी नाका वारपार गर्नका लागि महाकाली नदीमा डुङ्गा प्रयोग गर्छन् । यसका लागि नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानमा हाल डुङ्गा चल्न छोडेका हुन् ।

    उपभोग्य सामानका लागि भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ ।

    स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए ।

    उनले भने ‘घाट खोल्ने विषय अन्तर्राष्ट्रिय मामिला भएकाले स्थानीय सरकारले खोल्न सक्दैन, हामीले सङ्घीय सरकारलाई आग्रह गरेका छौँ ।’ यता घाट खोल्नका लागि सरकारले नै निर्णय गर्नुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

    उनले भने, ‘हामीले घाट खोल्नका लागि सरकारलाई लिखितरूपमा जानकारी गराइसकेका छौँ, यस विषयमा सरकारले कुनै पनि निर्णय गरेको छैन ।’ उनले ती घाट वैधानिक नभएको समेत बताए ।’स्थानीय तहले सजिलोका लागि घाट सञ्चालनमा लिएका हुन् तर यी घाट वैधानिक भने होइनन्’,उनले भने ।

    वैधानिक नभए पनि पुनः सञ्चालनका लागि सरकारले नै निर्णय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ ।

    विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । सरकारले गत माघ महिनादेखि अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।