Tag: मन्त्री

  • माओवादीमा पौडेललाई शिक्षा, श्रेष्ठलाई भूमि व्यवस्था र गहतराजलाई खेलकुद मन्त्रालय

    माओवादीमा पौडेललाई शिक्षा, श्रेष्ठलाई भूमि व्यवस्था र गहतराजलाई खेलकुद मन्त्रालय

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा मन्त्रीका पठाउने नाम र पाउने मन्त्रालय टुंगिएको छ। यसअघि नै मन्त्रीको नाम टुंग्याइसेको माओवादीले शिक्षा, भूमि व्यवस्था र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

    देवेन्द्र पौडेलले विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालय, शशी श्रेष्ठले भूमि व्यवस्था तथा महेश गहतराजले युवा तथा खेलकुद मन्त्रालय पाउने भएका छन्।

    राज्यमन्त्री सिफारिस भएकी बोधमाया यादवको भने मन्त्रालय अझै टुंगिएको छैन्। आजै मन्त्रीहरुको सपथ ग्रहण गराउने भनिए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र जसपाले अझैं मन्त्रीको नाम टुंग्याउन सकेको छैन ।

    नेकपा एसले भने मन्त्रीको नाम टुंग्याएको छ ।

  • नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट (सूचीसहित)

    नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट (सूचीसहित)

    काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

    स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

    नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

    आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।

  • दुर्गा पौडेललाई देउवा-प्रचण्डले गरे मन्त्रीको प्रस्ताव, तर जनमोर्चा तत्काल सरकारमा नजाने

    दुर्गा पौडेललाई देउवा-प्रचण्डले गरे मन्त्रीको प्रस्ताव, तर जनमोर्चा तत्काल सरकारमा नजाने

    काठमाडौं । भावी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पहिलो चरणमै मन्त्री बन्न अफर गरेका छन् । तर, पार्टीले निर्णय नगरेको भन्दै तत्काल सरकारमा सहभागी नहुने पौडेलले बताइन् ।

    उनले नेपाल प्रेससँग भनिन्, ‘शेरबहादुर देउवाले मलाई मन्त्री बन्न प्रस्ताव गर्नुभएको हो । प्रचण्ड र उपेन्द्र यादवले पनि तपाईंहरू सरकारमा आउनुपर्छ भन्नुभएको छ । तर, हामीले सरकारमा जाने विषयमा अहिलेसम्म कुनै छलफल गरेका छैनौं ।’

    आज हुने पहिलो मन्त्रिपरिषद् विस्तारमा जनमोर्चाको सहभागिता नरहने पौडेलले प्रष्ट्याइन् । भविष्यमा सहभागी हुने/नहुनेबारे पार्टीको बैठक बसेर निर्णय लिइहने उनको भनाइ छ ।

    पौडेलले भनिन्, ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन । जानैपर्छ भन्ने पनि छैन ।’

    तपाईं व्यक्तिगतरूपमा अहिले मन्त्री बन्न अनिच्छुक हो ? भन्ने प्रश्नमा पौडेलले भनिन्, ‘मेरो व्यक्तिगत इच्छा, अनिच्छा भन्दा पनि पार्टीले के निर्णय गर्छ त्यही हुन्छ ।’

    पार्टीको बैठक कहिले बस्छ भन्ने निधो नभइसकेको उनले बताइन् ।

    जनमोर्चा पछिल्लो समय विपक्षी गठवन्धनमा सामेल थियो । पार्टीका तर्फबाट उपाध्यक्ष पौडेलले नै गठवन्धनका बैठकहरुमा सहभागिता जनाउँदै आएकी थिइन् ।

  • एमालेबाट कारबाहीमा परेका कर्णालीका तीन मन्त्रीको पदीय हैसियतमा संवैधानिक प्रश्न

    एमालेबाट कारबाहीमा परेका कर्णालीका तीन मन्त्रीको पदीय हैसियतमा संवैधानिक प्रश्न

    सुर्खेत । प्रदेशसभा सदस्य, गैरसदस्य हुँदै फेरि प्रदेशसभा सदस्यमा पुर्नवहाली भएका कर्णालीका तीन मन्त्री संविधान विपरीत सपथ नलिएरै मन्त्री पदमा कायम छन् ।

    आफनै पार्टी नेपाल कम्युनिष्ट (एमाले)को ह्वीप उल्लंघन गरेर फलोर क्रस गरी मन्त्री बनेका कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदीय हैसियतबारे संवैधानिक प्रश्न उठेको छ ।

    गत बैशाख ३ गते माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको निर्णय विरुद्व विश्वासको मत दिएर मन्त्री बनेका नन्दसिहं बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीको यतिबेला मन्त्री पदको संबैधानिक हैसियतमाथी प्रश्न उठेको हो ।

    पार्टीको निर्णय विपरित मुख्यमन्त्री शाहीलाई मतदान गरेको एक दिनपछि बैशाख ४ गते संविधानको धारा १६८ को (९) बमोजिम बुढा, थापा र शाही मन्त्री बनेका थिए । संविधानको सो धारामा प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीले मन्त्री पदमा सिफारिस गर्ने व्यवस्था छ । सोही बमोजिम तीनै जनाले मन्त्रीको पदको सपथ लिएका थिए ।

    एमालेबाट प्रदेशसभा निर्वाचित भएका तीनै जनालाई सपथ लिएको ९ दिनमा कारवाही गरेपछि प्रदेशसभा पद रिक्त भएको थियो । प्रदेशसभा सदस्य पद रिक्त भएपछि बैशाख १५ गते मुख्यमन्त्री शाहीको सिफारिसमा संविधानको धारा १७० को उपधारा १ बमोजिम तीनै जनालाई प्रदेश प्रमुख गोविन्द कलौनीले पुनः सपथ गराएका थिए ।

    ६ महिनाभित्र प्रदेशसभा सदस्यता प्राप्त गर्ने गरि कुनै पनि व्यक्तिलाई मन्त्री सिफारिस गर्न सक्ने संविधानको उक्त प्रावधानमा छ ।

    प्रदेशसभा सदस्य र गैर सदस्य दुबै प्रावधान अनुसार मन्त्री बनेका ती तीनैको पछिल्लो पटक संबैधानिक हैसियत भने फेरिएको छ । सर्वोच्च अदालतले कर्णालीमा फलोर क्रस गर्ने प्रकाश ज्वालासहित ४ जनालाई प्रदेशसभा पदमा कामकाज गर्न नरोक्नु भन्ने जेठ २८ गते अन्तरिम आदेश दिएपछि उनीहरुको संवैधानिक हैसियत फेरिएको हो ।

    गैर सांसदको रुपमा मन्त्री पदको सपथ खाएका उनीहरूले सर्वोच्चको आदेश अनुसार मन्त्री पदमा कायम रहने हो भने सांसदको रुपमा पुनः सपथ लिनुपर्ने हुन्छ । सर्वोच्चको आदेशपछि जेठ ३१ गते कर्णाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले उनीहरुको प्रदेशसभा सदस्य पुर्नस्थापित भएको सूचना पढेर सुनाएका थिए ।

    अधिवक्ता गणेश वलीले संविधानको एउटा धारा अनुसार मन्त्री पदको सपथ लिएपछि अवस्था परिवर्तन भए त्यो सपथ निरन्तर नहरने बताए । उनले भने, ‘धारा १७० को उपधारा १ भनेको गैरसांसदलाई मन्त्री बनाउन सक्ने प्रावधान हो,सांसद भंसकेपछि उक्त धारा अनुसार मन्त्री पद क्रियाशिल हुदैन ।’ प्रदेशसभा सदस्यमा पुर्नस्थापना भएपछि तीनै जना मन्त्रीको पद संविधान अनुसार रिक्त भएको पनि अधिवक्ता वलीले बताए ।

    उनले भने, ‘संविधान अनुसार उहाँको पद रिक्त भैसक्यो यदि मन्त्री पदमा कायमै रहने हो भने संविधानको धारा १६८ को ९ बमोजिम सपथ लिनुपर्छ ।’

    यसबीचमा तीन सांसद प्रदेशसभा सदस्यबाट पुनः एक महिनाका लागि निलिम्बत भएका छन् । संवैधानिक प्रश्न उठे पनि तीनै जनाले मन्त्रीको हैसियतका कामकाज गरिरहेका छन् ।

    सर्वोच्च अदालतले यसअघि संघीय सरकारका ७ जना पूर्व माओवादी मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्ति गर्दा सर्वोच्चले अन्तरिम आदेशमार्फत पदमुक्त गरेको थियो । एउटै व्यक्ति गैरसांसद भएपछि पुनः नियुक्त हुन नमिल्ने व्याख्या अदालतको छ ।

    सो नजिर अनुसार तीन मन्त्रीको पुनः नियुक्ति भए पनि संवैधानिक प्रश्न उठ्ने कानूनविदहरू बताउँछन् ।

  • नयाँ ८ मन्त्रीले लिए सपथ (तस्बिरहरू)

    नयाँ ८ मन्त्रीले लिए सपथ (तस्बिरहरू)

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

    आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

  • स्पष्टीकरणको चेतावनीकै बीच माओवादी सरकारमा मन्त्री थप्ने माधव पक्षको तयारी

    स्पष्टीकरणको चेतावनीकै बीच माओवादी सरकारमा मन्त्री थप्ने माधव पक्षको तयारी

    कैलाली । नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नगर्ने अडानका बीच एमाले प्रदेश संसदीय दलको माधव पक्षले उल्टै मन्त्री थप्ने योजना बनाएको छ । संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

    अहिले मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीमात्रै माओवादी केन्द्रका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट एमालेका मन्त्री छन् ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई खाली रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मा लगाइएको छ । मन्त्रीविहीन रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

    खाली रहेको ती दुई मन्त्रालयमध्ये एक मन्त्रालय र अन्य केही राज्यमन्त्री समेत थप्ने गरी एमालेको माधव समूहले तयारी थालेको माधव समूहकै एक सांसदले बताए । एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले भने माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टीका नेताहरूमाथि कारवाहीको तयारी थालिएको बताइसकेका छन् ।

    उनले पार्टीविरुद्ध दुश्मनीपूर्ण अपराधिक कार्य गरेकाले तीन मन्त्रीलाई स्पष्टीकरण सोध्न लागिएको नेपाल प्रेसलाई बताए । ‘मन्त्री फिर्ता हुने कुरा छैन । बरु जिम्मेवारी हेरफेर हुन सक्छ ’ एक मन्त्रीले भने, ‘आज-भोलिमा नै केहि मन्त्री थप हुन सक्छ । केहीको जिम्मेवारी हेरफेर हुन सक्छ ।’

    ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सभामुखबाहेक नेपाल पक्षका १८ र ओली पक्षका ८ सांसद छन् । अल्पमतमा परेकै कारण बुधबार पनि नेपाल समूहले पेलेर संसदीय दलका बैठकमा केन्द्रको निर्देशनविपरीत निर्णय गरेको पूर्वमन्त्री पठानसिंह बोहराले आरोप लगाएका थिए ।

    सरकारका विषयमा थप निर्णय गर्ने अधिकार पनि दलका नेता प्रकाश शाहलाई दिइएको छ । शाहले नै स्थायी कमिटीको निर्णयविरुद्ध मन्त्री बनाउन लागेको आरोप छ । शाह भीम रावलका विश्वास पत्र मानिन्छन् ।

    अहिले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ मन्त्री मात्रै छन् । प्रदेशमा २० प्रतिशत मन्त्री बनाउने व्यवस्था छ । त्यहि व्यवस्था अनुसार १० जनासम्म मन्त्री बन्ने सम्भावना छ । अब ३ जना एमालेबाट र २ जना माओवादीबाट मन्त्री थप हुन सक्ने बताइएको छ ।

    थपिने मन्त्रीमा पूर्वमन्त्री दीर्घ सोडारीको चर्चा छ । उनी माधव समूह कैलालीका अध्यक्ष हुन् । ‘पहिलो प्रस्ताव दीर्घ कमरेडलाई मन्त्री बन्ने छ। सायद उहाँ नै मन्त्री बन्नुहुन्छ होला’ उनीनिकट एक सांसदले भने, ‘उहाँले जुन मन्त्रालय रोज्यो त्यही पाउनु हुन्छ ।’

    सोडारीले भने आफूलाई मन्त्री बन्न प्रस्ताव आएपनि तत्काल मन्त्री नबन्ने बताएका छन् । उनी भन्छन्, ‘पार्टीभित्रको विवाद नमिल्दासम्म म सरकारमा जान्न ।’

    यसअघि मुख्यमन्त्री भट्टले एमालेका प्रमुख सचेतक तारा लामा तामाङलाई मन्त्री बन्न आग्रह गरेका थिए । एमालेको भागमा रहेको भौतिक पूर्वाधार मन्त्रालय उनलाई दिन खोजिएको थियो । तर, उनले अस्वीकार गरे ।

    आर्थिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी पाएका शाहले आफूले कानुन मन्त्रालय छोडेर अर्थ मन्त्रालयमात्रै लिने योजना बनाएको उनीनिकट स्रोतले बतायो ।

    मन्त्री थपेर सरकार बलियो बनाउन माधव पक्षले मन्त्रालय समेत फुटाउने योजना बनाएका छन् । सामाजिक विकास मन्त्रालय र उद्योग वन तथा वातावरण मन्त्रालय फुटाउने गृहकार्य भइरहेको छ ।

    एमाले माधव पक्षले मन्त्री मात्र नभई पदाधिकारी र समिति पनि थप गर्ने तयारी गरेको छ । संसदीय दलमा अहिले उपनेता र सचेतक छैनन् । बुधबार दलको बैठकमा दलका नेताले उपनेता र सचेतक नियुक्त गर्ने प्रस्ताव ल्याएका थिए । उक्त अधिकार पनि बैठकले दलका नेतालाई दिइएको छ ।

    अहिले भित्रभित्रै मन्त्री, सचेतक, उपनेता र विषयगत समितिमा रहनेहरूको नाम छनोट भइरहेको उनीनिकटका सांसदले बताए । अहिले ४ वटा विषयगत समिति छन् । यसलाई थप गर्ने माधव समूहको योजना छ ।

  • चोलेन्द्रको इजलासबाट अर्को ठूलो आदेश, गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर

    चोलेन्द्रको इजलासबाट अर्को ठूलो आदेश, गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर

    काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।

    राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

    उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो ।

    तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।

    के भन्यो अदालतले ?

    सर्वोच्च अदालतले संविधानको धारा ७८ को व्याख्या गर्दै संघीय संसदको सदस्य नरहेको व्यक्तिले मन्त्री पदको सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने प्रष्ट पारेको छ ।

    सोही धाराको उपधारा १ बमोजिम नियुक्त भएका मन्त्रीले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री पदमा निुक्तिका लागि योग्य नुहने भनिएकाले प्रथम दृष्टिमै ७ जना मन्त्रीको नियुक्ति संविधानको भावना विपरित रहेको ठहर अदालतले गरेको छ ।

    मुद्दाको अन्तिम किनारा नलागेसम्म अब सात जना मन्त्रीको पद स्वतः रिक्त भएको छ ।

     

  • कोभिडका कारण सपथमा गएनन् यी मन्त्री

    कोभिडका कारण सपथमा गएनन् यी मन्त्री

    कैलाली । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको नवगठित मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको छ ।

    श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सपथग्रहण समारोहमा उपस्थित भएनन् । दुवै मन्त्रीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकोले दुवै मन्त्री आइसोलेसनमा छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण सपथग्रहणमा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

  • लुम्बिनीमा थपिएका तीन मन्त्रीले लिए सपथ

    लुम्बिनीमा थपिएका तीन मन्त्रीले लिए सपथ

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा हिजो थपिएका तीन मन्त्रीले सपथ लिएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

    नवनियुक्त मन्त्रीहरू अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रूपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकासमन्त्रीको रूपमा सपथ गराइएको छ । योसँगै लुम्बिनी मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

    यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    वैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन् ।

  • वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय

    वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् ।

    त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी बन्ने तय भएको छ । आजै ४ बजे सपथग्रहण हुने बताइएको छ ।