Tag: मनसुन प्रवेश

  • मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

    मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।

    मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू-भागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ ।

    त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ ।

    विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

  • नेपालको पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

    नेपालको पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

    काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ-ठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए ।

    ‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले भने, ‘वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँ-ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

    मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

    सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

    प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ ।