Tag: मध्य भोटेकोशी

  • मध्य भोटेकोशीको ७५ प्रतिशत काम सकियो, एक वर्षमा सक्ने लक्ष्य

    मध्य भोटेकोशीको ७५ प्रतिशत काम सकियो, एक वर्षमा सक्ने लक्ष्य

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखेर आयोजना निर्माणको काम अहिले पनि धमाधम भइरहेको छ ।

    आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षात् सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४ सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखेर काम भइरहेको छ ।

    २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवम् आसपासको क्षेत्रमा आएको बाढी-पहिरोको र कोभिड-१९को महामारी लगायतका समस्याबाट गुज्रिएको यो आयोजना अहिले आएर सम्पन्नता नजिक पुगेको हो ।

    प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारीसमेत लिएको छ ।

    टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको बताए ।

    ‘आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महंगो व्याजदरमा ऋण काडेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत बिक्रीबाट प्राप्त हुने अम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्’, घिसिङले भने ।

    ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी संधै तयार छौं, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौं, अब संसोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’

    आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रूपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

    आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमश: रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रूपैयाँ आम्दानी हुनेछ ।

  • मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ?

    मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ?

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बाँडफाँट गरेको छ ।

    कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आईपिओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा  एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो ।

    आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको सेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो ।

    त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपिओमा कूल एक लाख आठ हजार ५२७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए ।

    तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले बमोजिमका शेयर पाएका छन् भने १९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

    त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदनलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले माग बमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

    कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो । कोभिड– १९को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए ।

    यसअघि कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ४४ लाख कित्ता शेयर निष्काशन र बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सर्वसाधारणले निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक र सह–निष्कासन कम्पनीका वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।

     

  • मध्य भोटेकोशीको आईपीओको म्याद थप

    मध्य भोटेकोशीको आईपीओको म्याद थप

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि खुला गरेको आईपीओको म्याद थप गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको शेयरको विक्री खुला अवधी बढाएको हो ।

    कम्पनीले एक सूचना जारी गर्दै साउन ३२ गतेसम्मका लागि समयावधि थप गरेको जानकारी दिएको छ । कम्पनीले आवेदन माग गरेबमोजिम दरखास्त प्राप्त नभएको र प्रभावित क्षेत्रका वासिन्दाले केही समय थप गरिदिन गरेको आग्रहलाई मध्यनजर गरेर समय थप गरेको जानकारी दिएको छ ।

    कम्पनीले प्रभावित क्षेत्र तथा सम्पूर्ण सिन्धुपाल्चोक बासीका लागि ४२ लाख कित्ता शेयर निष्कासन गरेको छ ।

  • मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित (विज्ञप्तिसहित)

    मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित (विज्ञप्तिसहित)

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका स्थानीयबासी तथा आयोजना प्रभावितका लागि जारी गरेको आईपीओ बिक्री स्थगित गरिएको छ ।

    मध्य भोटेकोशी जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सेयर बिक्री स्थगित जानकारी दिएका छन् । कोरोना संक्रमण र स्थानीय तहको पत्रलाई मध्यनजर गर्दै वैशाख २३ देखि लागू हुने गरी परिस्थिति सहज नहुँदासम्मका लागि सेयर निष्कासन स्थगित गरिएको बताइएको छ । परिस्थिति सहज भएपश्चात अर्को सूचना जारी गरी आईपीओलाई निरन्तरा दिइने विज्ञप्तिमा जनाइएको छ ।

    कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै बीच आयोजनाले उक्त निर्देशनको अवज्ञा गर्दै आईपीओ खुलाएको थियो । आयोजना प्रभावित बाह्रबिसे नगरपालिकाले तत्काल आईपीओ जारी नगर्न वैशाख २० गते नै गरेको आग्रह आयोजनाले अटेर गरेको थियो ।

    मध्य मध्यभोटेकोशी आयोजना प्रभावितका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि १०० रूपैयाँ प्रतिकित्ताका दरले ५० देखि ४०० कित्तासम्म आवेदन गर्न सक्ने गरी निष्कासन गरिएको थियो ।

    आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका-१ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका-५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गाविस) रहेका छन् ।

  • नेपाल प्रेस समाचार प्रभाव: मध्य भोटेकोशीको आईपीओ स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन

    नेपाल प्रेस समाचार प्रभाव: मध्य भोटेकोशीको आईपीओ स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन

    काठमाडौं । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

    कोरोना जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्ड अटेर गर्दै आईपीओ भर्ने कामलाई निरन्तरता दिइएको समाचार नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

    यो पनि पढ्नुस् : लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

    बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटललाई आयोजनाले बिक्री बन्द गर्नका लागि पत्र पठाइसकेको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले पत्र आइसकेको र बिक्री बन्द गर्ने तयारी भइरहेको बताए । ‘आयोजनाको पत्र प्राप्त भएकाले आईपीओ बिक्री स्थगित गर्ने प्रक्रियामा छौं , प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डलाई जानकारी गराउँछौ ’, उनले भने ।

    मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत गोपाल सिवाकोटीले आईपीओको काम हालका लागि स्थगित गरिएको बताए ।

    ‘ हामीले स्थगित गर्ने निर्णय गरेका छौं , प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरिरहेका छौं’, उनले भने । सिवाकोटीले बोर्डले दिएको निर्देशन बारे खुलाउन चाहेनन् । ‘ बोर्डलाई हामीले जानकारी गराउने हो र सो सम्वन्धी व्यहोराको पत्र बिक्री प्रवन्धककहाँ गइसकेको छ’, उनले भने ।

    धितोपत्र सम्वन्धी कानूनले स्थानीयबासीका लागि सोही स्थानमा नै गएर सेयर बिक्री गर्नुपर्ने भएपनि आयोजना र बिक्री प्रवन्धकले उक्त कानूनको उल्लंघन गरेको थियो । आईपीओ भर्न तथा भुक्तानीका लागि ईसेवालाई पनि जिम्मेवारी दिइएकोमा राष्ट्र बैंकले भने ईसेवाले सेयर जारी गर्ने काम गर्न नपाउने बताइसकेको छ ।

    कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै बीच आयोजनाले उक्त निर्देशनको अवज्ञा गर्दै आईपीओ खुलाएको थियो । आयोजना प्रभावित बाह्रबिसे नगरपालिकाले तत्काल आईपीओ जारी नगर्न वैशाख २० गते नै गरेको आग्रह आयोजनाले अटेर गरेको थियो ।

    मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयबासीका लागि आईपीओ जारी गरेको थियो ।

    यो पनि पढ्नुस् :

    २. भोटेकोशीको सेयर भर्न गाडी रिजर्भ गरेर सर्वसाधारण बजारमा

  • लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

    लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निषेधाज्ञाको बेवास्ता गर्दै स्थानीय र आयोजना प्रभावितका लागि साधारण सेयर निष्कासन गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दैनिक ७ हजारको हाराहारीमा संक्रमित र ३५ जनाभन्दा बढीको मृत्युको तथ्यांक सार्वजनिक भइरहेको छ ।

    कोरोना संक्रमण नियन्त्रण गर्न हालसम्म हाल ४८ भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेका छन् । कतिपय जिल्लामा निषेधाज्ञा लागूको तयारी छ ।

    तर, मध्य भोटेकोशी जलविद्युत आयोजना र ग्लोबल आईएमई क्यपिटल लिमिटेडले यो जोखिमलाई पूर्णरूपमा बेवास्ता गरेका छन् ।

    अटेरी आयोजना

    मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र आयोजना प्रभावित बासिन्दाका लागि भन्दै ६० लाख कित्ता साधारण सेयर जारी गरेको छ । आयोजनाले कूल जारी पुँजीको १० प्रतिशत स्थानीय जिल्लाबासीका लागि सेयर निष्कासन गर्नुपर्ने ‘धितोपत्र सम्वन्धी ऐन २०६३’ मा व्यवस्था बमोजिम सिन्धुपाल्चोकबासीका लागि आईपीओ जारी गरेको हो ।

    जसमध्ये मध्यभोटेकोशी आयोजना प्रभावितका सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक बासिन्दाका लागि निष्कासन गरिएको छ । १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स), बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गा.वि.स ) रहेका छन् ।

    वैशाख ५ गते आईपीओ निष्कासनका लागि नियामक धितोपत्र बोर्डबाट अनुमति पाएको आयोजनाले वैशाख २१ गते सेयर निष्कासनको मिति तोकेको थियो । तर , कोभिड १९ को नयाँ भेरियन्ट तिव्ररूपमा फैलिँदै गएको भन्दै सरकारले वैशाख १६ गतेदेखी नै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्‍यो ।

    आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गर्नका लागि तोकिएको मिति निषेधाज्ञाभित्र परेको छ । सेयर निष्कासन तथा कारोवारलाई सरकारले अतिआवश्यक बस्तु तथा सेवाको सूचीभित्र समेत राखेको छैन । तर, आयोजनाले भने बलमिच्याइ गर्दै सेयर जारी गरेको छ ।

    सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले गरेको निर्णयनुसार सेयर कारोबारलाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा नराखेकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर निष्कासन मिति स्वतः स्थगित हुने देखिन्छ ।

    आयोजनाले निषेधाज्ञापछि मात्रै सेयर जारी गर्नका लागि अर्को मिति तय गर्नुपर्नेमा जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको छ । आयोजनाले संक्रमणको जोखिमलाई प्रवाह नगरी सर्वसाधारणलाई लाइन लगाएर सेयर भराइरहेको छ ।

    मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी सिन्धुपाल्चोक धमाधम सेयर बिक्री भइरहेकाले फारम अपुग भएको प्रतिकृया दिन्छन् ।

    ‘जिल्लाबासीहरु लाइन लागेर सेयरको फारम लिइरहेका छन् । फारम अपुग भएकाले हामीले काठमाडौंबाट मगाएका छौ । कोभिडको चिन्ता नगरे हुन्छ सबैले सावधानीका उपाय अपनाएका छन्’, उनको दावी छ ।

    सेयर भर्ने भीडका कारण सिन्धुपाल्चोकमा कोभिडको संक्रमित बढ्न सक्ने जोखिम देखिएको छ । बिक्री प्रवन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले भने सिन्धुपाल्चोकका ३७ स्थानमा र काठमाडौं उपत्यकाभित्र ७ अन्य बिक्री प्रवन्धकलाई यसको बिक्री अधिकार दिएको छ ।

    आयोजनासँग असार ५ गतेसम्म आईपीओ जारी गर्न पाउने समय बाँकी छ । धितोपत्र सम्वन्धी ऐनले बोर्डले अनुमति दिएको २ महिनाभित्र निष्कासन गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

    नियामकको कमजोर भूमिका

    महामारीका कारण देशैभरका अस्पतालमा संक्रमितहरू तीव्ररूपमा बढिरहेको र अस्पतालसमेत नपाउने अवस्था रहेको भन्दै सरकारले आफैं सचेतना अपनाउन नागरिकलाई अपिल गरिसकेको छ । यो जोखिममा भने मध्यभोटे कोशीजलविद्युत आयोजना भने लाइन लगाएर सर्वसाधारणलाई सेयर भर्न लगाउदा समेत नियामक धितोपत्र बोर्ड मुकदर्शक भएर बसेको छ ।

    हामीले यस विषयमा सम्पर्क गर्दा बोर्डका अध्यक्ष र प्रवक्ताबीचमै कुरा बाझिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना अनलाइनमार्फत सेयर भर्ने व्यवस्था गरिएको भन्दै आईपी‌ओ जारी हुँदा खासै ठूलो असर नगर्ने बताउँछन् । यसको म्याद जेठ २० गतेसम्म रहेकाले हतार गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘अनलाइनमार्फत आईपीओ भर्न पाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था छैन फेरि जेठ २० गतेसम्म भर्न पाउने व्यवस्था छ नी’, उनले भने ।

    तर, बोर्डका अध्यक्ष ढुङ्गानाको भनाइ र वास्तविकताबीच भने आकाश-जमिनको फरक पाइन्छ । मेरो सेयर मार्फत स्थानीयबासीका लागि सेयर जारी गर्न सक्ने आफूसँग प्रणाली नै नभएको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् ।

    ‘स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा सोही स्थानमा बसेको प्रमाण आवश्यक पर्छ त्यससम्वन्धी जानकारी दिने हामीसँग प्रणाली नै छैन्’, उनले भने ‘फेरि स्थानीयलाई सेयर बाँडफाँड गर्दा सम्वन्धित स्थानमा नै जानुपर्ने कानूनी व्यवस्था समेत छ ।’

    कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

    त्यस्तै स्थानीय बासिन्दालाई आयोजनाले अनलाइनमार्फत नभइ लाइन लगाएर सेयरको आवेदन बिक्री गरिरहेको आयोजनाका सीईओले बताइसकेका छन् ।

    यो विषयलाई लिएर धितोपत्र बोर्डका अध्यक्ष र प्रवक्ता नीरज गिरी बिचमा समेत नै फरक मत पाइन्छ ।

    धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी कम्पनीले सेयर जारी गर्न हतार गरेको बताउँछन् । ‘अहिले कोभिड संक्रमणबाट सुरक्षित रहनु मूख्य प्राथमिकता हो । नियामकले हरेक ठाउँमा हस्तक्षेप गर्नेभन्दा पनि उहाँहरू नै सचेत भएर सेयर जारी गरेको भए हुने थियो’, उनले भने ।

    आयोजना र बिक्री प्रवन्धकले लापरवाही गरिरहेको भन्दै प्रवक्ता गिरीले भने ‘ अहिलेको परिस्थिति निकै संवेदनशील रहेकाले संक्रमणको अवस्थालाई हेरर असार ५ गते पछी पनि सेयर निष्कासनका लागि म्याद थप गर्न सकिने अवस्था थियो।‘

    आवश्यक परे बन्द गर्ने

    मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर बिक्रीको मुख्य जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले पाएको छ । उसले एनआईबीएल, प्रभु क्यापिटल , लक्ष्मी क्यापिटल , सिभिल क्यापिटल , सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल गरी अन्य ६ वटा सहायक बिक्री प्रवन्धकलाई बिक्रीको जिम्मेवारी तोकेको छ । सँगै सिन्धुपाल्चोकका ३७ स्थानमा बिक्रीका लागि केन्द्रहरू तोकिएको छ ।

    आफ्नो वेवसाइटमा अनलाइन प्रणालीको व्यवस्था गरिसकेको ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बताउँछन् । ४ वर्षअघि नै गरिएको सम्झौता भएकाले भरसक काम सम्पन्न गर्न पाएको भए हुने जस्तो लागेर आयोजनाको अनुमतिमा नै काम अगाडि बढाएको उनी बताउँछन् ।

    तर, धितोपत्र बोर्डले रोक्न आदेश दिएमा काम अगाडी नबढाउने उनको भनाइ छ । ‘धितोपत्र बोर्ड र आयोजनाले केही भनेको छैन त्यस सम्वन्धी आवश्यक निर्देशन आएमा हामी काम रोक्छौं । तपाईंहरूले पनि चासो राख्नु भएकाले म कम्पनीमा पनि छलफल गर्छु’, उनले भने ।

    यता मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा एनआईबीएल क्यापिटल प्रमुख कार्यकारी अधिकृत समेत रहेका मेघबहादुर थापा अहिलेको अवस्थमा सेयर निष्कासन नगर्दा नै उचित रहेको बताउँछन् । ‘हामीले ग्लोबल आईएमई क्यापिटलसँग कुरा त गरेको हो तर , आयोजनाले नमानेको भन्ने जानकारी पाएका छौं । कोभिडको जोखिम उच्च भएकाले केहि समय पछाडि धकेल्दा नै उचित हुन्छ’, उनले भने ।

    ईसेवा आईपीओमा कसरी जोडियो ?

    मध्य भोटेकोशीको आईपीओमा सिन्धुपाल्चोकबासीले ईसेवाबाट समेत आवेदन दिइरहेका छन् । जबकी ईसेवा एक भुक्तानी सेवा प्रदायक मात्रै हो । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल ईसेवाले आईपीओको आवेदन लिन नमिल्ने बताउँछन् ।

    ‘ईसेवाले भुक्तानी सम्बन्धी काम गर्नका लागि मात्रै इजाजत लिएको हो त्यसैले उसले सेयर सम्बन्धी काम गर्न पाउँदैन,’ कँडेलले बताए । दोस्रो कारोबारको भुक्तानी , मेरो सेयरको नवीकरण र लांभाश भुक्तानी गर्न पाउने भए पनि फारम भराएरै आईवफओको रकम लिन नपाउने कँडेलको भनाइ छ ।

    ईसेवाले भने सिन्धुपाल्चोकका स्थानीय र आयोजना प्रभावित आफ्ना ग्राहकहरुलाई नि:शुल्क सेवा मात्रै दिएको बताउँछ । ईसेवाका चिफ अपरेटिङ अफिसर रोशन लामिछानेले ग्लोबल आईएमई क्यापिटलको अनुरोधमा आफूहरूले सेवा मात्रै दिएको बताए ।

    ‘हामीले यो काम गरे बापत कुनै शुल्क वा लाभ लिएका छैनौं । ग्लोबल आइएमई क्यापिटलले अनुरोध गरेकाले हामीले उसलाई सहयोग र हाम्रा ग्राहकलाई सुविधामात्रै दिएको हो’, उनले भने । ‘वीओ आईडी’र हितग्राही खाता भएका ईसेवाका ग्राहकलाई मात्रै मध्यभोटेकोशी आयोजनाको सेयर भर्न सक्ने व्यवस्था गरेको इसेवाले जनाएको छ । उसले ग्लोबल आईएमई क्यापिटललाई समेत एक्सेस दिएकाले सिन्धुपाच्लोकका स्थानीय बासिन्दा भए/ नभएको भेरिफाइ गर्न मिल्ने गरी आवश्यक कागजपत्र राख्न माग गरेको छ ।

    सर्वसाधारणले ईसेवामार्फत वा अन्य कुनै पनि बैंकमार्फत आफूले आवेदन दिएको सेयरका लागि रकम जम्मा गर्न सक्नेछन् । शंकास्पद र प्रमाणीकरण हुन नसकेका आवेदनहरुलाई रद्ध गरी सोही माध्यम मार्फत रकम फिर्ता गर्ने व्यवस्था गरिएको समेत ईसेवा र बिक्री प्रवन्धक आईएमई क्यापिटलले जनाएको छ ।

    बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

    ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म आयोजना प्रभावितको तर्फबाट ६४ वटा आवेदनमार्फत २० हजार ३०० कित्ताका लागि २० लाख ३० हजार बराबरको आवेदन परेको छ । त्यस्तै सिन्धुपाल्चोक जिल्लाका तर्फबाट ५ सय ३७ वटा आवेदन मार्फत १ लाख ९ हजार ९ सय ८० कित्ताका लागि १ करोड ९ लाख बराबरको आवेदन परेको छ ।

    गैरसिन्धुपाल्चोकबासीले पाउने चिन्ता

    १०२ मेवावाट क्षमता भएको यस परियोजना करिब ६ अर्ब पुँजी भएको कम्पनी हो । ६० लाख कित्ता सर्वसाधारणका लागि जारी गरेपनि निकट भविष्यमा यस कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि आईपीओ जारी बताएको छ । अहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर पुँजीमा निकै नै चलखेल भइरहेको छ । ठूलो आयोजना भएकाले यसको सेयर मूल्य उच्च हुने कारोबारीहरू बताउँछन् । त्यसैका लागि अहिले देखि नै धमिलो पानीमा माछा मार्ने काम भइरहेको उनीहरूको आशंका छ ।

    धितोपत्र कारोबार सम्बन्धी ऐनले आयोजना प्रभावित तथा स्थानीय बासिन्दाका लागि सेयर बिक्री गर्दा सम्बन्धित स्थानमा नै बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । वास्तविक स्थानीय बासिन्दा र आयोजना प्रभावितहरूले सेयर पाउन् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । तर, कोभिडको समयमा यसरी जथाभावी अनलाइनमार्फत सेयर खरिद विक्री गर्दा वास्तविक सर्वसाधारणले नपाइ अरु व्यक्तिको पहुँचमा सेयर पुग्ने जोखिम समेत बढेको छ ।

    कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

    प्रशासन र नगरपालिकाको आग्रह बेवास्ता

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, प्रहरी प्रमुख राजन अधिकारीले पनि आयोजना प्रमुखलाई महामारीको जोखिमका बेला भीडभाड नगराउन आग्रह गरेको थियो ।

    त्यस्तै बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

    बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन भन्छिन्, ‘हामीले आग्रह गरेपनि मध्य भोटेकोशी आयोजनाले टेरेको छैन । जनतालाई ढोका थुनेर राख्ने अिन सेयर बैंकमा गएर सेयर भर्नु भन्ने यो ठीक भएन ।’

    उममेयर सुशीला पाख्रिन

    भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र पर्ने आयोजनालाई यस्तो बेलामा आईपीओ नभराउन सम्बन्धित निकायले आग्रह गरिएको थियो ।

    भोटेकोशी गाउँपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सबैभन्दा जोखिममा बैंकका कर्मचारी छन् ।