Tag: मतदान

  • मतदानका लागि तीन दिन हिँड्नुपर्ने

    मतदानका लागि तीन दिन हिँड्नुपर्ने

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताए ।

    ‘मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छाँै, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ’, उनले भने, ‘घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।’

    धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

    ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ ।

    नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

    २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

    चुनावको तयारी अन्तिम चरणमा

    शुक्रबार हुन लागेको स्थानीय तह चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले बुधबार सर्वदलीय बैठक गर्नाका साथै मतदानस्थल निर्माण गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिए।

    ‘जिल्लाभरको मतदानस्थलमा चुनावको तयारी पूरा भएको छ’, उनले भने,‘आजसम्म मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र (बुथ) बनाउने योजना छ ।’ मतदानस्थलमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ मतदाता थपिएका छन् । थपिएका र मतदानस्थल परिवर्तन गरेका मतदाताका लागि नयाँ परिचयपत्र वितरण गर्न थालिएको छ ।

    विसं २०७४ को स्थानीय तहको चुनावमा ७१ हजार ४६३ मतदाता रहेकामा अहिले जिल्लामा कूल मतदाताको सङ्ख्या ८५ हजार ३७५ पुगेको छ । तीमध्ये एकचालीस हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् ।

    सचतालिस मतदानस्थलका ११४ मतदान केन्द्रमा मङ्गलबार नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका मुख्य निर्वाचन अधिकृत पौडेलले बताए। मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै ६१ किसिमका सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । एकसय चौध मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा ६१८ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

    सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । मतदान र मतदानअघि तथा मतगणनासम्मका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।रासस

  • माओवादीको प्रदेश १ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू, मतदान ७ बजेदेखि

    माओवादीको प्रदेश १ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरू, मतदान ७ बजेदेखि

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

    निर्वाचन समितिका अनुसार आज साँझ ७:५ बजेबाट मतदान सुरू हुनेछ ।

    मतदाता नामावली प्रकाशन गरिसकिएको छ । नामावलीमा दाबीविरोधको छानबिन र निर्णयका लागि ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम मतदाता नामावली प्रकाशन ५:०५ बजे गरेर उम्मेदवारको मनोनयन पत्र दर्ता ५:१० बाट गर्ने कार्यतालिका छ ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन ७ बजे गर्ने र ७:५ बाट मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ ।

    पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि मतदान गर्न लागिएको हो । २७१ सदस्यीय प्रदेश समितिले ९ पदाधिकारी निर्वाचित गर्नेछ ।

    अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबी छ ।

  • कांग्रेस महाधिवेशन : १९९३ मत खस्यो

    कांग्रेस महाधिवेशन : १९९३ मत खस्यो

    काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत करिब २ हजार मत खसेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साढे ४ बजेसम्म १९९३ मत खसेको हो ।

    विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि ४ घण्टाढिलो गरी मतदानको प्रक्रिया सुरु भएको हो थियो ।

    निर्वाचन समितिले राति ९ बजेसम्म मतदान जारी रहने जनाएको छ ।

  • कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

    कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

    काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थालिसकेका छन् । अब सबैलाई चासो र प्रतिक्षा छ मत परिणामको ।

    कागजी मतदान भएकाले मत परिणाम आउन लामै समय धुकधुकी थामेर पर्खिनुपर्ने हुन सक्छ ।

    कांग्रेसले मेसिनमा भन्दा ट्याङ्कीमा भरोसा गरेपछि मतगणना कार्य लामो र झण्झटिलो हुने भएको हो । यद्यपि, दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने अवस्थामा मतगणना उत्तिकै रोचक र खुल्दुलीपूर्ण हुन सक्छ ।

    यसपाली पार्टीका मुल नेतृत्व अर्थात सभापतिको प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ । सभापतिमा ५ उम्मेदवार भए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच द्विपक्षिय प्रतिस्पर्धा हुने सबैले आँकलन गरिरहेका छन् । उनीहरुमध्ये को अगाडि छ भन्न सकिने स्थिति छैन । यद्यपि, एकथरि विश्लेषणअनुसार यदि देउवाले पहिलो चरणमा चुनाव जितेनन् भने दोस्रो चरणमा शेखरले खेल उल्टाउन सक्छन् ।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत सन्तुलन हेर्दा दुवै उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत ल्याउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । यदि त्यसो भएन भने नयाँ सभापतिका लागि फेरि अर्को निर्वाचन गर्नुपर्ने हुन्छ ।

    पहिलो चरणको चुनावमा पहिलो र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारले मात्रै दोस्रो चरणको चुनाव लड्न पाउने छन् । त्यसैले दोस्रो चरणमा दुईमध्ये एकजनाले बहुमत ल्याउने निश्चितप्राय: हुन्छ ।

    कांग्रेसको अघिल्लो १३ औं महाधिवेशनमा देउवाले दोस्रो चरणमा जित हासिल गरेका थिए । पहिलो चरणमा पहिलो र दोस्रो सर्वाधिक मत ल्याएका देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा भिडन्त भएको थियो । त्यसमा देउवाले १८ सय २२ मत लयाएर विजयी भए भने पौडेल १२ सय ९६ मत ल्याएर पराजित बने । ५ सय २६ मतको भारी अन्तरले देउवाले चुनाव जितेका थिए ।

    यो पटक देउवाले पहिलो चरणमै जित हासिल गर्न चाहेका छन् । कृष्ण सिटौलाको टिमको समर्थन प्राप्त गरेकाले पनि देउवा पहिला चरणमा आशावादी छन् ।

    संस्थापनइतर समूहबाट दुई बलिया उम्मेदवार भएकाले उनीहरुको भोट बाँडिने र आफूहरुलाई अनुकुलता मिल्ने बुझाइ देउवा पक्षमा छ ।

    संस्थापन पक्षबाट पनि विमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनले देउवाको भोट खासै नकाट्ने संस्थापन पक्षका नेताहरुको दावी छ ।

    यता संस्थापनइतर समूह चाहिँ सभापतिको चुनाव दोस्रो चरणमा धकेल्ने रणनीतिमा देखिएको छ । पहिलो चरणमा देउवाभन्दा पछि परे पनि दोस्रो चरणमा उनलाई उछिन्न सकिने विश्वास संस्थापन इतरका नेताहरुले व्यक्त गरिरहेका छन् ।

    दोस्रो चरणमा देउवाबाहेकका सबै उम्मेदवारले आफूलाई समर्थन भन्ने विश्वासमा छन् शेखर । विगतमा देउवा निकट रहेका सभापतिका उम्मेदवार विमलेन्द्रले दोस्रो चरणमा देउवाविरुद्ध सबैको मोर्चाबन्दी हुने हिजो बताए । यसबाट संस्थापनइतर समूह हौसिएको छ ।

    यदि साँच्चै दोस्रो चरणमा देउवाविरुद्ध सबै एकजुट भए भने शेखरको सम्भावना बलियो बन्न सक्छ । देउवाका परम्परागत प्रतिस्पर्धी र पार्टीमा बलियो गुट भएका रामचन्द्र पौडेलको समर्थन शेखरको शक्तिको सबैभन्दा ठूलो स्रोत हो ।

    यस्तै, सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री सशांक कोइरालाले पनि उनलाई समर्थन गरेका छन् ।

    पहिलो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्र छाँटिए भने उनीहरुको समर्थन दोस्रो चरणमा महत्वपूर्ण बन्न सक्छ । विमलेन्द्रले शेखरलाई सघाउने बाचा गरेका छन्, तर प्रकाशमानको रणनीति स्पष्ट छैन । आफू हारेपछि दोस्रो चरणमा उनी मौन बस्न सक्ने सम्भावना पनि छ ।

  • नाडाको नयाँ नेतृत्वको लागि मतदान सुरु (भिडिओ)

    नाडाको नयाँ नेतृत्वको लागि मतदान सुरु (भिडिओ)

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।

    बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।

    नाडाको ४५ औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि ३ हजार भन्दा बढी नाडाका सदस्यले मतदान गर्ने छन् ।

     

  • बिहान ४ बजेदेखि एमालेको मतदान, ओलीले भने- भोटिङ मेसिन सजिलो रहेछ (भिडिओ)

    बिहान ४ बजेदेखि एमालेको मतदान, ओलीले भने- भोटिङ मेसिन सजिलो रहेछ (भिडिओ)

    चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

    राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो ।

    अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति भोट हालिसके । विद्युतीय मेसिनमार्फत भोट हालेपछि ओलीले भने,’ मलाई त सजिलो लाग्यो मतदान ।’ ओलीले ८ मिनेटमा भोट हालिसकेका थिए । सँगै सुरू गरेपनि पहिला ज्ञवालीले मतदान गरिसके ।

    प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ । युवा वैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने बताइएको छ ।

     

  • इरानमा राष्ट्रपतिय चुनाव आज हुँदै, खामेनीप्रति बफादार उम्मेदवार निर्वाचित हुने सम्भावना

    इरानमा राष्ट्रपतिय चुनाव आज हुँदै, खामेनीप्रति बफादार उम्मेदवार निर्वाचित हुने सम्भावना

    दुबई । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

    इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नु भएकाले उनी नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

    केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ ।

    राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

    मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

    सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

    राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् । उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे ।

    राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् ।

    करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ ।

    यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ ।

  • नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

    नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् ।

    संसदीय दलको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

    उनका अनुसार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अनुरोध गरे ।

    बैठकमा मुख्यमन्त्री पौडेलले समसामयिक राजनीतिक अवस्थाका बारेमा भनाइ राखेका थिए । पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट पारेको मुख्य सचेतक निरौलाले जानकारी दिए ।

  • यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि

    यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि

    काठमाडौं । वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतगणना शुरू भएको छ । हेटौंडामा शुरू भएको मतगणनाको परिणाम आजै साँझसम्म आइसक्नेछ ।

    निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका छन् ।

    अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् ।

    मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् ।

    नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए ।

    त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।

    प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुन्छ । यस हिसाबले प्रदेश सभातर्फ जम्मा ५ हजार ४० मत खसेको छ भने स्थानीय तहतर्फ ४१७६ मत खसेको छ । जित्नेले ४५ सय ६० मत कटाउनुपर्छ ।

  • राष्ट्रियसभा उपचुनावमा सहयोग माग्दै बादल माधव निवासमा

    राष्ट्रियसभा उपचुनावमा सहयोग माग्दै बादल माधव निवासमा

    काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका छन् ।

    वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन् । उनी नेपाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

    पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन ।

    एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरेका छन् ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।

    संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

  • पत्रकार महासंघको नेतृत्वका लागि मतदान जारी, १३ हजारभन्दा बढी पत्रकार सहभागी हुँदै

    पत्रकार महासंघको नेतृत्वका लागि मतदान जारी, १३ हजारभन्दा बढी पत्रकार सहभागी हुँदै

    काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान जारी रहेको छ ।

    केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

    देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको चुनावमा भाग लिनेछन् ।

    पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् ।