Tag: भ्वाइस अफ नेपाल

  • कोरोना जोखिमले गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित

    कोरोना जोखिमले गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ ।

    सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।

    विज्ञप्तीमा उल्लेख छ- कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं ।

    यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।

  • भ्वाइस अफ नेपालको तेस्रो सिजन आजबाट, निर्णायकमा तृष्णा गुरुङको इन्ट्री

    भ्वाइस अफ नेपालको तेस्रो सिजन आजबाट, निर्णायकमा तृष्णा गुरुङको इन्ट्री

    काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा शुक्रबार राति ८ बजे पहिलो एपिसोड प्रशारण हुने बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

    यसअघिका दुई सिजनको लोकप्रियताले यो रियालिटी शो संगीतप्रेमीमाझ प्रतिक्षित बनेको थियो । प्रतिस्पर्धी रियालिटी शो ‘नेपाल आइडल’ को पछिल्लो सिजन खासै चर्चामा आउन नसकेको हुँदा ‘भ्वाइस अफ नेपाल’ सँग ‘नेपालको नम्बर १ रियालिटी शो’ बन्नसक्ने अवसर छ ।

    दि भ्वाइस अफ नेपालमा ‘ब्लाइन्ड अडिसन’ लाई सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रुपमा लिइन्छ । त्यसपछिका राउन्ड भने तुलनात्मकरुपमा फितलो भएको दर्शकको गुनासो छ । साथै, भ्वाइस नेपालका विजेताले पनि अपेक्षित ‘हाइप’ पाउन सकेका छैनन् ।

    भ्वाइस अफ नेपालका चार जना निर्णायकहरुमध्ये तीन पुरुष र एक महिला छन् । तेस्रो सिजनमा एकजना निर्णयक परिवर्तन गरिएको छ ।

    गायिका आस्था राउतको ठाउँमा तृष्णा गुरुङ आएकी छन् । अन्य निर्णायकमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् । तृष्णा युवा पुस्तामा लोकप्रियता कमाइरहेकी उदयीमान गायिका हुन् ।

    भ्वाइस अफ नेपाल प्रख्यात अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’ को नेपाली संस्करण हो । यसको पहिलो सिजनमा सिडी विजय अधिकारीले जितेका थिए भने दोस्रो सिजनमा राम लिम्बु विजेता बनेका थिए । उनीहरु दुवै संगीत क्षेत्रमा संघर्षरत छन् ।

  • भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

    भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

    काठमाडौँ– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

    पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ श्रृंखला प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी ४० हजार आवेदकबाट छानिएका १२० प्रतिभाले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् ।

    ब्लाइन्ड अडिसनमा निर्णायकको कुर्सी घुमाउन सफल प्रतिभाको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । निर्णायकको टीममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

    यसपटक भ्वाइसको टीमले निर्णायकमा केही परिवर्तन गरेको छ । गायिका तृष्णा गुरुङ जजको रुपमा भित्रिएकी छिन् । दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

    डान्सिङ वीथ द स्टार नेपालको सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।

  • ‘भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसन सुरु

    ‘भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसन सुरु

    काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनमा प्रसारण हुने उक्त सोको तेस्रो श्रृंखलाको लागि शनिवारदेखि अडिसन थालनी भएको हो ।

    १६ देखि ४५ बर्षसम्मका प्रतिभाले सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आबेदन गर्न सकिने जनाइएको छ । अडिसनमा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । अडिसन दिन काठमाण्डौमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्ने जनाइएको छ ।

    आवेदनका लागि भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्ने हुन्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । सामाजिक सञ्जालमा रहेको पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ ।

    सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् । कोच राजु लामाले पनि सिजन ३ मा नयाँ प्रतिभासँग काम गर्न उत्साहित रहेको बताए ।

    द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि सय जना प्रतिभालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ ।