Tag: भ्यालेन्टाइन

  • गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ)

    गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ)

    काठमाडौं । प्रेमलाई प्राेत्साहन गर्दा मृत्युदण्डको सजाय पाएका तत्कालीन रोमन साम्राज्यका सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन्स डे मनाइन्छ ।

    २६९ एडीको उक्त घटनाको स्मरणमा नेपालसहित संसारका सबै मुलुकमा प्रेम दिवस मनाउने परम्परा झांगिएको छ । आपसमा माया साटेर प्रेम जोडीहरु उक्त दिनलाई उत्सवकै रुपमा मनाउँछन् । पछिल्ला केही वर्षमा नेपालमा समेत भ्यालेन्टाइन्सलाई सप्ताहकै रुपमा मनाउन थालिएको छ ।

    फेब्रुअरी ७ मा रोज डे, त्यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र फेव्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाइन्छ । मायालुहरु फेव्रुअरीलाई प्रेम दर्शाउने महिनाको रुपमा पनि लिन्छन् । प्रेमको प्रतीक रातो गुलाब उपहार दिँदा माया अटूट हुने विश्वास प्रेमजोडीमा छ ।

    प्रेम दिवसको सप्ताह सुरु भएको छ र अर्किज ग्यालरी, गिफ्ट पसल र सहरका व्यवसायिक मार्टमा तन्नेरीको चहलपहल पनि । प्रेमीहरुलाई आकर्षित गर्न इ–कमर्सदेखि ब्यवसायिक घरानाहरुले आफ्ना उत्पादन र सेवामा स्किमहरु पनि ल्याएका छन् ।

    काठमाडौं र पोखराजस्ता ठूला सहरका फूल पसलमा सोमबार बिहानैदेखि उपहार र फूल किन्न जाने ग्राहकको घुइँचो छ । राजधानीको कमलादी र दरबारमार्गका अर्किज पसलले भ्यालेन्टाइन सजावटसहित गिफ्ट र फ्लावर किन्न जाने ग्राहकलाई आकर्षित गर्न थालेका छन् । कतिपय इ–कमर्स प्लेटफर्मले अर्डरअनुसार घरमै फूल र गिफ्ट डेलिभरी गर्न थालेका छन् ।

    कोरोनाभाइरस महामारीले व्यवसायिक कारोबार डिजिटल प्लेटफर्ममा हुँदा मायाको आयाम भने झनै फैलने क्रममा छ । नेपालमा माया गर्ने जोडीहरुलाई अब फूल किन्न अर्किज सपमा जानुपर्ने बाध्यता रहेन । एक क्लिकमै मायालुलाई गिफ्ट होम डेलिभरी गर्न सकिने सुविधा छ । लङ–डिस्टेन्स रिलेसनसिपमा रहेका नेपाली तन्नेरीलाई समेत यी प्लेटफर्मले सुविधा दिएका छन् ।

    यी त भए माया गर्न मिल्ने सुविधाका कुरा । तर, बजारको लागि प्रेम दिवस एउटा ठूलो व्यवसायिक अवसर समेत हो । भ्यालेन्टाइन्स छेको फूलको बढी खपत हुने र गिफ्टको कारोबार मौलाउने अवसर हो । भ्यालेन्टाइन्स सुरु भएसँगै अर्किज सपलार्ई फूल बेच्ने र ग्राहकलाई आकर्षित गर्ने चटारो सुरु हुन्छ । पछिल्ला दुईवर्ष कोरोनाले खुम्चिएको फूल ब्यापार ओमिक्रोन ओरालो लागेसँगै उक्सिने आशा व्यवसायीले लिएका छन् ।

    २ लाख ३० हजार थुंगा गुलाब आयात

    प्रेम दिवसलाई लक्षित गर्दै आगामी फेव्रअरी १४ सम्म नेपालमा १ करोड रुपैयाँ बराबरको २ लाख ३० हजार थुंगा गुलाबको फूल आयात हुने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । अध्यक्ष मीनबहादुर तामाङले कोरोना महामारी घट्ने क्रममा रहेकाले फूलको मागमा वृद्धि भएको नेपाल प्रेसलाई बताए ।

    भ्यालेन्टाइन्समा नेपालमा खपत हुने ९० प्रतिशत गुलाब भारतबाट ल्याइने र १० प्रतिशत आन्तरिक उत्पादन रहेको अध्यक्ष तामाङले जनाए । नेपालमा यसपटक ११ रङका गुलाबका फूल ल्याइएको छ जसमा ८० प्रतिशत रातो रङकै थुंगा हुने गरेको छ । यसपटक चिसो याम लामो समय रहेकाले गुलाबको फूल उत्पादनमा कमी आएकाले भारतबाट हुने आयातमा वृद्धि भएको छ । तर, सामान्य अवस्थामा भने नेपालकै उत्पादनले घरेलु गुलाबको मागलाई धान्ने गरेको छ । अहिले नेपाली पसलमा एउटा गुलाबको थुंगालाई ७० देखि सय रुपैयाँ पर्छ ।

    महामारीले फूल ब्यवसायमा परेको असरबारे अध्यक्ष तामाङले भने, ‘सरकारले समयमै हामीलाई सुविधा दिएन । सबै फूलको विरुवा नष्ट भयो । पानी र मलकै अभाव हुँदा ढुक्कले लगानी बढाउन पाएका छैनौं । कोरोनाको असर कहिलेसम्म रहने हो टुंगो छैन । फूल ब्यवसाय नराम्रोसँग प्रभावित भएको छ जसले गर्दा हामी भ्यालेन्टाइन्सको लागि विदेशबाट फूल आयात गर्न बाध्य छौं ।’

    उनका अनुसार महामारीअघि फ्लोरिकल्चर व्यवसायमा साढे २ अर्बजति लगानी हुन्थ्यो तर पछिल्लो आर्थिक वर्षमा उक्त लगानी १ अर्ब ६० करोडमा झरेको छ । कुनैबेला १९ करोड मूल्य बराबरको फूल निर्यात भएको स्मरण अध्यक्ष तामाङले गरे । गुलाब फार्म (नर्सरी) बन्द भएपछि अहिले स्वदेशी उत्पादनमा गिरावट आएको छ ।

    ‘हामी करिब ९० प्रतिशत आत्मनिर्भर छौं । १० प्रतिशतमात्र आयात गरेका छौं । चाडपर्वमा मात्र बढी आयात हुन्छ । तिहारमा ३ दिन सयपत्री फूलको माग उच्च हुन्छ । सोही तीन दिनलाई लक्षित गरि फूल फुलायौं भने उत्पादन राम्रो हुन्छ ।’ नेपाली बजार ठूलो नभएकाले पनि फूल बढी आयात हुने उनको भनाइ छ । फूलको लागि चाहिने हाइब्रिड बीउ विश्वका धेरै मुलुकले आयात गर्ने अनुभव उनले सुनाए ।

    हाइब्रिड बीउ नेपालमा बनाउन सक्ने अवस्था नभएकाले पनि नेपाल आत्मनिर्भर बन्न नसकेको उनले बताए ।

    भ्यालेन्टाइनमा ब्यापार बढ्ने आशा

    रीता बलामीले कमलादीमा फूल बेच्न लागेको १२ वर्ष भयो । तर, कोरोना महामारीले भ्यालेन्टाइन्सको व्यापार सुख्खा भएको उनको भाेगाइ छ । ‘कोरोना र लकडाउनले गर्दा व्यापार घटेको छ,’ नेपाल प्रेससँग रीताले भनिन्, ‘कोरोना घट्न थालेकाले ब्यापार बढ्छ भन्ने कि आशामा छौं । पोहोरको भन्दा केही बढ्ने अनुमान छ ।’

    रीताको पसलअघि गुलाब रंगीविरंगी का फूलहरु सजाएर राखिएका छन् । चिरिच्याट्ट सजाएर राखिएका फूलतर्फ त्यस बाटाे भएर गुज्रिने सबैकाे नजर पुग्छ । कतिपयले फूलसँग सेल्फी लिइरहेको देख्न सकिन्छ । बिहेको सिजन नभएकाले पनि फूलको मूल्य पनि महंगो नभएको रीता बताउँछिन् ।

    उनको पसलमा अधिकांश ग्राहक किशोरकिशोरी हुन् । बिहेको सिजनमा मालाहरुको खपत बढी हुने र भ्यालेन्टाइन्स डे मा गुलाबसहितका फूलहरु बढी बिक्ने उनी बताउँछिन् । उनको पसलमा गुलाब किन्न आउनको राेजाइ रेड रोज हुने गर्छ । किशाेरकिशाेरीले जोडी आकारको ‘स्ट्याचू’हरु पनि रुचाउने गरेका छन् ।

    मीना तामाङ श्रेष्ठले पनि कमलादीमा २५ वर्षदेखि फूल व्यापार गर्दै आएकी छिन् । फूललाई मान्छेले हेर्ने दृष्टिकोणमा पहिलेभन्दा अहिले भिन्नता आएको मीनाको अनुभव  छ । ‘मैले पसल सुरु गर्दा फूल पसल नै थिएनन् । यो फूलको यो नाम हो भनेर मानिसलाई थाहा थिएन । मान्छेलाई फूल कस्तो हुन्छ भनेर चिनाउन धेरै गाह्रो भयो’ उनले सुनाइन्।

    मीनाकाे पसलमा घर र अफिस सजावट, माला बनाउन, विहेका गाडी सजाउन, बेड, स्टेज, मण्डप सजाउनेजस्ता काममा बढी फूल खपत हुने गरेको छ । ‘अरु दिनमा भन्दा भ्यालेन्टाइन्स डेमा फूलको माग धेरै हुन्छ । मान्छेहरु बाहिर निस्किन पनि डराइरहेका छन्, त्यो कारणले पनि व्यापार आधा कम भएको छ’ उनले भनिन् ।

    डिजिटल प्रेम दिवस

    कोरोना महामारीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको हाम्रो दैनिकी डिजिटलतर्फ आकर्षित हुनु पनि हो । मान्छेले संवेदना पनि ‘इमोजी’मार्फत व्यक्त गर्न थालेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सन् २०२१ मा संसारमा सर्वाधिक प्रयोग गरिएका दस इमोजीमध्ये पहिलो स्थानमा लभ रियाक्ट थियो । यसको अर्थ, संवेदना अब भौतिकभन्दा डिजिटल बन्न थालेको छ ।

    हुनसक्छ, यही कारण नेपालका चर्चित इ–कमर्स प्लेटफर्मले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै आकर्षक प्याकेज ल्याएका छन् । मायालु जोडीहरुलाई लक्षित गर्दै उनीहरुले गुलाब र गिफ्टको होम डेलिभरी गर्न थालेका छन् । नेपालका विभिन्न सहरमा मात्र नभएर विदेशमा रहेका मायालुलाई गिफ्ट पुर्‍याइदिने सेवा पनि यस्ता सेवा प्रदायक इ–कमर्स प्लेटफर्मले गरिरहेका छन् ।

    नेपालमा रहेको दराज, भाटभटेनी, गिफ्टमान्डुसहितका ई-कमर्स प्लेटफर्म केही यस्ता माध्यम हुन् जसले भ्यालेन्टाइन्स स्किम नै लन्च गरेका छन् । त्यसमध्येको गिफ्टमान्डुले लङ-डिस्टेन्स सम्बन्धमा रहेका मायालुलाई जोड्ने काम गरिरहेको दावी गरेकाे छ । ग्राहकको रोजाइमा यी प्लेटफर्मले उपभोक्तालाई फूल, चकलेट र अन्य गिफ्टको होम डेलिभरीसमेत गरिरहेका छन् । अहिले ती कम्पनीको पोर्टलमा भ्यालेन्टाइन्स विक अफर देख्न सकिन्छ ।

    ‘पछिल्लो साता अर्डर निकै आइरहेको छ । नेपालमात्र नभएर विदेशबाट समेत अर्डर छ । कम स्टाफले बढी समय काम गरेरै भए पनि अर्डरलाई व्यवस्थापन गरिरहेका छौं’ गिफ्टमान्डुकाे व्यवस्थापक सोनु गुरुङ भन्छिन्, ‘कतिपय अर्डरलाई होल्डमै राख्नुपर्ने अवस्था समेत छ ।’

    महामारीको समयमा पनि आफ्नो प्लेटफर्मले डिजिटल डेलिभरीमा काम गरेको अनुभव उनले सुनाइन् । ‘मान्छेलाई अहिले फूल पसलमा जानुभन्दा अनलाइनबाटै सामान अर्डर गर्न सजिलो भएको छ । यही कारण ब्यापार पनि राम्रो छ,’  गुरुङले बताइन् । काठमाडौंबाहेकका ठूला शहरमा समेत ब्रान्च विस्तार गरेको गिफ्टमान्डुले अन्तर्राष्ट्रिय डेलिभरीमा पनि काम गर्न थालेको छ ।

    यसरी सुरु भयो भ्यालेन्टाइन्स डे

    रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम विवाह गर्न रोक लगाएका थिए । तर, सम्राटको नियमप्रति सन्त भ्यालेन्टाइनले आलोचना गरे । उनले प्रेम विवाहको अनुमति दिनुपर्ने पक्षमा अभियान चलाए ।

    सम्राटको आदेशविपरीत उनले धेरै सैनिकको प्रेम बिहे गराएको किम्वदन्ती छ । आदेश उल्लंघन गरेको भन्दै सम्राट क्लाउडियसले भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । कतिपयले सिपाही भ्यालेन्टाइनलाई प्रेमका पहिलो सहिद पनि भनेका छन् ।

    जेलमा रहँदा जेलरकी दृष्टिबिहीन छोरीसँग सन्त भ्यालेन्टाइनको माया बस्यो । उनले आफ्ना दुबै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारे । सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ लेखिएको हस्ताक्षरसहितको प्रेमपत्र प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको बताइन्छ । जेलमै रहेका भ्यालेन्टाइनलाई उनलाई इशापूर्व २६९, फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

    यसै दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर १४ फेब्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने चलन छ । यसबाहेक विश्वमा भ्यालेन्टाइन्स डेलाई लिएर अन्य किम्वदन्ती पनि प्रचलित छन् । पछिल्ला केहीवर्षदेखि नेपालमा पनि प्रेम दिवस मनाउने ट्रेन्ड झांगिएको छ । फेब्रुअरी ७ देखि प्रेम दिवसको सप्ताह सुरु हुन्छ र जुन १४ सम्म मनाइन्छ ।

    तस्बिरहरु : उमेश कार्की र सरोज बैजु/नेपाल प्रेस

  • भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

    भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

    काठमाडौं । तपाइँ भ्यालेन्टाइन डे कसरी मनाउने विचारमा हुनुहुन्छ ? मायालुसँग डेटिङ गएर वा सिंगल हुनुहुन्छ भने समय बिताउने उपाय मिलिरहेको छैन ? भ्यालेन्टाइनमा रोमान्टिक फिल्म पनि एउटा मेसो हुनसक्छ ।

    प्रेमकथामा आधारित केही कालजयी नेपाली फिल्म छन् जसले तपाइँलाई प्रेमिल तुल्याउन सक्छ । तपाइँ मायालुसँग सँगै बसेर यी नेपाली फिल्म पनि हेर्न सक्नुहुन्छ । लभस्टोरी जनरा नेपाली फिल्ममा सबैभन्दा रुचाइएको विधामध्ये एक पनि हो ।

    पचासवर्ष इतिहास बोकेको नेपाली फिल्म क्षेत्रबाट यहाँ उत्कृष्ट १० प्रेमकथामा आधारित फिल्म छनौट गरिएको छ ।

    कन्यादान :
    भुवन केसी, गौरी मल्ल, रवि शाह, मुरलीधर अभिनित फिल्म कन्यादानको पटकथा, संवाद एवं निर्देशन प्रकाश थापाले गरेका हुन् । एक विधवा महिला र पुरुषबीचको प्रेम सम्बन्धमा फिल्म आधारित छ ।

    प्रेमपिण्ड :
    कथा, पटकथा र निर्देशन यादव खरेलको रहेको फिल्म प्रेमपिण्डमा सरोज खनाल र सनी रौनियारको मुख्य भूमिका छ । दरबारभित्रको प्रेमकथा समेटिएको फिल्ममा नीर शाहको समेत मुख्य भूमिका छ ।

    सम्झना :
    शम्भु प्रधान निर्देशित फिल्म सम्झनामा तृप्ती नाड्कर र भुवन केसीको मुख्य भूमिका छ । धनी र गरिबबीचको प्रेम दर्शाइएको फिल्मलाई उक्त समयको महत्वपूर्ण फिल्मको रुपमा लिइन्छ ।

    वसन्ती :
    डायमण्ड शमशेरको ऐतिहासिक कृतिमा आधारित यो फिल्ममा दरबारभित्रको प्रेमकथा चित्रण छ । जसमा राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह र अशोक शर्माको मुख्य भूमिका छ । फिल्मलाई नीर शाहले निर्देशन गरेका हुन् ।

    लाहुरे :
    तुलसी घिमिरे निर्देशित फिल्म लाहुरेमा श्रवण घिमिरे र तृप्ती नाड्करको मुख्य भूमिका छ । सिपाही र गाउँकी एक युवतीबीचको प्रेमकथालाई सजिव ढंगले चित्रण गरिएको छ ।

    दर्पण छायाँ :
    तुलसी घिमिरे निर्देशित फिल्म दर्पण छायाँमा दिलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा संगीत र प्रेमको संयोजन छ ।

    सानो संसार :
    आलोक नेम्बाङ निर्देशित फिल्म सानो संसारमा नम्रता श्रेष्ठ, कर्मा, जीवन लुइँटेल, विनय श्रेष्ठ, नीर शाहको मुख्य भूमिका छ । यसमा आधुनिक पुस्ताको प्रेमकथा चित्रण गरिएको छ ।

    फस्टलभ :
    सिमोस सुनुवार निर्देशित यो फिल्मले आधुनिक युवापुस्ताको रोमाञ्चक पे्रमकथा चित्रण गर्छ । आर्यन सिग्देल, कर्मा, विनय श्रेष्ठ, ऋचा शर्मा र निशा अधिकारीको मुख्य भूमिका छ ।

    मञ्जरी :
    वर्गीय र पुस्तान्तरण प्रेम चित्रण गर्ने फिल्ममा गौरव पहारी र सुजाता कोइरालाको मुख्य भूमिका छ जसलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । क्रिटिक्सले यसलाई राम्रो प्रतिक्रिया दिए र बक्सअफिसमा पनि यसले राम्रो व्यापार गर्न सक्यो ।

    लभ सासा :
    प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म लभसासामा केकी अधिकारी, कर्मा, आसिफ शाहको मुख्य भूमिका छ । त्रिकोणात्मक पे्रमकथा समेटिएको फिल्मले प्रविधि र प्रेमबीचको सम्बन्ध चित्रण गर्छ ।

  • भ्यालेन्टाइन, रातो गुलाब र प्रणय जोडीहरु !

    भ्यालेन्टाइन, रातो गुलाब र प्रणय जोडीहरु !

    काठमाडौं । दरबार मार्गको राइजिङ मल अगाडि मिना तामाङ श्रेष्ठको ‘रोयल ड्याफोडिल फ्लावर सप’ छ । बिहान करिब ९ बजेतिर हामी पुग्दा उनी गुलाबको हाँगालाई काँटछाँट र स्प्रे छरेर ताजा तुल्याउन व्यस्त थिइन् । पसलमा केही तन्नेरी फूल छान्दै थिए ।

    अबको एक साता मीनाको दैनिकी रातो गुलाबको फूलको बेचविखनमा बित्नेछ । आफ्नो पसल आगामी एकसाता गुलाबमा प्रेम साट्न चाहने तन्नेरीले भरिनेमा उनी ढुक्क छिन् । गुलाबको फूल खरिद गर्न किशोर-किशोरीहरु आइतबार बिहानैदेखि उनको पसलमा झुम्मिन थालिसकेका छन् ।

    कुनै बेला थियो मीनाले एउटै भ्यालेन्टाइन सिजनमा चार लाख रुपैयाँसम्मका गूलाब बेचिन् । कमलादीका अन्य थलोमा अर्किड पसल खुल्न थालेपछि, उनको पसलमा ब्यापारमा कमी आयो । ‘जतासुकै पसल खुलेपछि अहिले १ लाख फूल बेच्न पनि कठिन होलाजस्तो छ’ मीना भन्छिन् ।

    यसको अर्थ प्रेम गर्नेहरु घटेका भने होइनन् । बरु, फूल किन्नेहरुको गन्तव्य विभाजित भएको हो । फूलको माग त वर्षेनी बढिरहेको छ । यो भ्यालेन्टाइन सिजनका लागि भारतबाट १ करोड फूलको आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

    प्रणय दिवसको छेकोमा प्राय ‘रोमान्टिक’ मुडमा हुन्छ कमलादी । किशोर–किशोरीदेखि युवावयका प्रेमी गूलाबको फुलको खोजीमा हुन्छन् । कोही लजाउँदै, लुक्दै किन्छन् त कोही निर्धक्क । कमलादीका अर्किड पसलले भ्यालेन्टाइन डे लक्षित गूलाब फूल, गिफ्ट कार्ड र चकलेट विक्री थालेका छन् ।

    पछिल्लो समय सहरी युवापुस्तामाझ प्रेम दिवसले ब्यापकता पाइरहेको छ । एक सातासम्मै प्रेमदिवस मनाउने ट्रेन्ड सुरु भएको छ । ७ फेब्रुअरीमा रोज डे, त्यसपछि क्रमशः प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र १४ तारिखमा भ्यालेन्टाइन्स डे मनाउन पश्चिमा चलनको सिको नेपालमा पनि गर्न थालिएको छ । आज भ्यालेन्टाइन विकको पहिलो दिन अर्थात् रोज डे थियो ।

    यसरी मनाउन थालियो भ्यालेन्टाइन
    तेस्रो शताब्दीको रोमन साम्राज्यमा प्रेम गरेबापत फाँसीको सजाय दिइएका सन्त भ्यालेन्टाइनको स्मरणमा संसारभर ‘भ्यालेन्टाइन्स डे’ मनाउने गरिन्छ । पश्चिमेली समाजमा सन्त भ्यालेन्टाइनलाई प्रेमका शहीदको रुपमा लिइन्छ । जेलमा रहेका एक बन्दीकी छोरीलाई दृष्टि प्रदान गरेको भन्दै रोमन साम्राज्यमा उनलाई सजाय दिइएको थियो ।

    फाँसी पाउनुअघि सन्त भ्यालेन्टाइनले प्रेमिकालाई गुडबाइ भन्दै पत्र पनि लेखेका थिए । अर्को एक किम्बदन्तीअनुसार सन्त भ्यालेन्टाइनले विहे गर्न बर्जित क्रिस्चियन महिला सैनिकसँग विहे गरेका थिए । १८ औं शताब्दीमा इङ्ल्यान्डबाट सन्त भ्यालेन्टाइनको स्मरणमा प्रेमजोडीले प्रेम अभिव्यक्त गर्दै भ्यालेन्टाइन मनाउन थाले । उनीहरुले फूल, चलकेट र ग्रिटिङ्स कार्डका उपहार मनपर्ने मान्छेलाई पठाउँदै भ्यालेन्टाइन मनाउन गर्थे । त्यसपछि संसारभर फेब्रुअरी १४ मा प्रेम दिवस मनाउन थालियो ।

    यसरी राख्नूस प्रेम प्रस्ताव
    धेरैका लागि भ्यालेन्टाइन्स डे प्रेम व्यक्त गर्ने मौसम पनि हो । धेरैका लागि आफूले मनपराएको व्यक्तिलाई प्रेम प्रस्ताव गर्न अरुबेला हिम्मत नजुटाएकाहरुले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । मनोविदले प्रेमप्रस्ताव राख्ने केही शैलीको चर्चा पनि गरेका छन् । जस्तैः

    • एउटा फेक आइडीबाट प्रेमी वा प्रेमिकालाई आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज मिल्दैछ भनेर एउटा सन्देश पठाउनुस ।
    • कलेज वा अफिसको क्यान्टिनमा प्रेमी वा प्रेमिकालाई लिएर जानूस । पहिले नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनूस कि उनी मेरी प्रेमिका-प्रेमी हुन् । उनले अर्डर गरेको बिलमा एउटा प्रपोज सन्देश लेखेर पठाउन सक्नुहुन्छ ।
    • आफ्नो र उनको एउटा तस्विर कोलाज बनाएर एक रोमान्टिक म्यासेज लेख्नूस र पठाउनेको नाममा भगवान चाहन्छन् भनेर लेख्नूस । यसलाई आफूले प्रस्ताव गर्दा (प्रपोज गर्दा) पनि दिनूस ।
    • आफ्नो क्रसलाई प्रपोज गर्दै एक भिडियो बनाउनूस । तपाइँ त्यसलाई युट्युवमा पनि पोस्ट गर्न सक्नुहुन्छ । त्यो लिंकलाई क्रसको इमेलमा पठाउन सक्नुहुन्छ ।
    • एउटा सेतो टिसर्टमा आइ लभ यू वा अन्य कुनै आकर्षक सन्देश पनि लेख्न सक्नुहुन्छ । लेखेको भागलाई छोप्नूस । मायालुलाई एकान्तमा बोलाउनूस र मुस्कान छाड्दै सर्ट खोल्नूस र टीसर्ट देखाउनूस ।

    महामारीमा कसरी भ्यालेन्टाइन मनाउने ?
    मायालु जोडीले रोमान्टिक डिनर गर्नूस । भान्समा सँगै समय बिताउनूस र खाना सँगै बनाउनूस । महामारी-मैत्री बन्नको लागि ग्रोसरी चीज अर्डर गर्दा गूलाबको फूल पनि मगाउन नभुल्नूस । घरमै खाना पकाउने मुड छैन भने रेष्टुराँमा गएर मनपर्ने डिस पनि अर्डर गर्न सक्नुहुन्छ ।

    -घरमा सँगै बसेर रोमान्टिक फिल्म पनि हेर्न सक्नुहुन्छ । आफ्नो अनुकूलता अनुसार रोमान्टिक फिल्मको नाइट सो हेर्न हलमा पनि जान सक्नुहुन्छ । एकअर्कोलाई प्रेम पत्र पनि लेख्न सक्नुहुन्छ । मैनबत्तिको प्रकाशमा संगीत सुन्दै तपाइँले आफ्नो पार्टनरको लागि पत्र पनि लेख्न सक्नुहुन्छ ।

    -आउटडोर डेटिङमा पनि जान सक्नुहुन्छ । तपाइँ पिकनिक पार्क, हाइकिङ जाँदा देखिने रोमान्टिक थलो र आफूलाई रमाइलो लाग्ने कुनै ठाउँमा तपाइँ गएर डेट गर्न सक्नुहुन्छ । मायालुलाई एउटा सरप्राइज गिफ्ट दिनूस र जुम मिटिङमा आएर देखाउनुस । मायालुको लागि महंगो उपहार जरुरी छैन ।

    -सामाजिक संजाल र इन्टरनेट अफ गरेर तपाइँले एकअर्काको लागि समय बिताउन सक्नुहुन्छ । यसो गर्दा एकले अर्कोलाई बुझ्न र महसुस गर्न सजिलो हुन्छ । सामाजिक संजालमा आउने कुराले ध्यान विकेन्द्रित गर्न सक्ने भएकाले तपाइँले सकेसम्म मोबाइललाई साइलेन्समै राखे राम्रो ।

    -भ्यालेन्टाइन्स डे मनाउँदा कुनै तनाव र चिन्ता नलिनूस । विगतलाई बिर्सनूस र वर्तमानमा बाँच्नूस ।

    केही किस्सा
    भ्यालेन्टाइन डे आफैमा एउटा रोमान्टिक दिन हो । मायालुका लागि यो दिनलाई उत्तम साइतको रुपमा लिने गरिन्छ । पछिल्लो समय मायालु जोडीका लागि भ्यालेन्टाइन डे दशैंजस्तै प्रतीत हुन थालेको छ । संसारमा भ्यालेन्टाइनलाई लिएर केही रमाइला किस्सा पनि छन् ।

    • नाटककार सेक्सपियरको चर्चित लभस्टोरी रोमियो एन्ड जुलियटकी मुख्य महिला पात्र जुलियटको घरमा हरेक वर्षको भ्यालेन्टाइन डेमा हजारौं चिठी पठाइन्छन् । इटालीमा जुलियटको काल्पनिक गाउँ छ र भ्यालेन्टाइन डेमा जुलियटलाई सम्बोधन गदै उक्त गाउँमा प्रेमपत्र पठाइन्छ ।
    • यस दिन विश्वमा औषत अढाइ लाख मान्छेले पार्टनरलाई विहेको प्रस्ताव राख्छन् । १ अर्ब भन्दा बढी कार्ड आदानप्रदान हुन्छन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसपछि सर्वाधिक कार्ड आदानप्रदान हुने दिन पनि यही हो । अमेरिकामा मात्रै भ्यालेन्टाइनमा १ अर्ब डलर बराबरको चकलेट विक्री हुन्छ । मुटु आकारका साढे तीन करोड चकलेट बक्स बिक्री हुन्छन् । अमेरिकामै १९ करोड बराबरको गुलाबको फूल विक्री हुन्छ ।
    • गूलाबको फूललाई इटालीको रोममा प्रेमकी देवीको मनपर्ने फूल पनि मानिन्छ । भ्यालेन्टाइ डेमा गुलाब खरिद गर्नेमा ७५ प्रतिशत पुरुष हुन्छन् । भ्यालेन्टाइन गिफ्ट खरिद गर्नेमा ८५ जना महिला हुन्छन् ।