भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक-पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो ।
अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । उनी एमालेमा रहँदा स्थानीय तहका केही जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।
१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो ।
अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।
को हुन् अध्यक्ष राई ?
शरणकुमार राईले अनेरास्ववियुबाट राजनीति सुरू गरेका हुन् । अन्नपूर्ण मावि प्राकबाट अखिल यात्रा सुरू गरेका उनी २०५४-५७ सम्म अनेरास्ववियुको भोजपुर अध्यक्ष भए ।
त्यसपछि २०६१ सालसम्म अखिलकै केन्द्रीय कमिटी सदस्य बनेका राई २०६८ देखि ७० सम्म जिल्ला कमिटी उपसचिव बने ।
काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन देशका ६१ जिल्लामा आजदेखि एकैसाथ सुरू भएको छ । भोजपुरमा पनि अधिवेशन सुरू हुनुअघि नै नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको छ ।
नेताहरूले सहमतिमा जिल्ला कमिटी बनाउँने रटान लाए पनि आकांक्षी र प्रतिनिधिको मनोविज्ञान अधिवेशनलाई मतदानतिरै धकेल्ने देखिएको हो ।
अध्यक्षका प्रमुख दाबेदारमा शरणकुमार राई र मक्कर खड्का देखिएका छन् ।
राई अहिले उपाध्यक्ष छन् । २०७५ जेठ २ को संरचनामा उनी जिल्ला कमिटी सचिव थिए । गत असोज ५ गतेको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै जिम्मेवारी हेरफेरको क्रममा राईलाई उपाध्यक्ष बनाइएको हो ।
माधव नेपालले पार्टी फुटाउँदा विभाजनप्रति असन्तुष्टि जनाउँदै राईलगायतका केही नेता एमालेमै बसेपछि स्थानीय तहका प्रमुखसम्मका जनप्रतिनिधि र कार्यकर्ताको ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । संगठन निर्माण, युवा परिचालन र पार्टीको रणनीतिक गतिविधिमा जिल्लामा उनी अब्बल मानिन्छन् ।
‘पार्टीमा कहिलेदेखि को कसरी खटिरहेको छ भन्ने मूल्यांकन हुनुपर्छ । बढ्दो चुनौतीबीच भोजपुरमा एमालेको दरिलो उपस्थितिको लागि मेरो दाबी हो । स्थानीयदेखि संघसम्मको चुनाव आउँदैछ । सबै भूगोलबाट समानुपातिकरूपमा क्षमतावान व्यक्तिहरूको प्रतिनिधित्व भयो भने मात्र एमालेलाई नम्बर एक पार्टी बनाउँन सक्छौं’, राईले भने ।
अध्यक्षका अर्का आकांक्षी मक्कर खड्का अहिले सचिव छन् । जेठ २ कार्यान्वयनको क्रममा शरणलाई उपाध्यक्ष बनाइएपछि सचिवको जिम्मेवारी मक्करलाई दिइएको छ । अखिलका नेता खड्काले विद्यार्थी राजनीतिमा लामो अनुभवसँगै जिल्ला कमिटीमा रहेर काम गरिरहेका छन् । खड्का नेतृत्वमा नयाँ पुस्ताको एजेण्डासहित प्रतिनिधिमाझ भोट मागिरहेका छन् ।
‘अरु साथीहरूको पनि दाबी सुन्दैछु । पार्टीमा जस्तोसुकै संकट आउँदा पनि सतिसालजत्तिकै काँध थापेर बसेको हुनाले अध्यक्षको लागि मेरो आकांक्षा स्वाभाविक हो । म पछाडि फर्किने सम्भावना छैन ‘, खड्काले नेपाल प्रेससँग भने । उनले अधिवेशनमा निर्वाचनको सम्भावना देखाए ।
तर, हिजो माधव पक्षमा लागेर एमालेको विरोध गरेको भन्दै शरण राईलाई छेक्ने रणनीतिका साथ एउटा समूह लागेको प्रतिनिधिमाझ चर्चा छ । मक्करलाई अघि सारेर राईसँग भिडाउने र अन्तिममा सहमतिको नाममा प्रेम राईलाई नै दोहोर्याउने दाउ भएको विश्लेषणका साथ सहमतिको संभावना क्षण हुँदै गएको हो ।
वर्तमान अध्यक्ष प्रेमकुमार राई अहिलेसम्म मौन छन् । तर, दोहोर्याउने वा जिल्ला नेतृत्वबाट विश्राम लिने भन्ने अहिले भन्न नसक्ने उनले नेपाल प्रेससँग बताए । राईले नेताबीच छलफल गर्ने भन्दै आफ्नो दाबीको सम्भावनालाई नकार्न नसक्ने घुमाउरो जवाफ दिए । उनी हतुवागढी गाउँपालिकाका प्रमुख पनि हुन् ।
राईले ९० सदस्यीय जिल्ला कमिटी चयन सहमतिबाटै हुने दाबी गरेका छन् । तर, सहमतिको नाममा कसैमाथि अन्याय नगर्ने उनले बताए । ‘नेतृत्वमा आउँन साथीहरूले जुन इच्छा देखाउनुभएको छ । यो स्वाभाविक हो । सबैजना एकसेएक हुनुन्छ’, अध्यक्ष राईले भने, ‘तर, म अध्यक्ष भए सबै कुरा भइहाल्छ भन्ने तरिकाले जानुहुँदैन । भोलि स्थानीय निर्वाचनहरू आउँदैछ त्यो बेलाका चुनौती र अवसरलाई पनि केलाउनुपर्छ । हामी सल्लाह गर्छौं । जसरी भए पनि छान्नु त पर्यो ।’
भोजपुरको अधिवेशनमा आएका प्रतिनिधि ।
भोजपुरमा करिब १३ सय प्रतिनिधि छन् । अधिकांश प्रतिनिधि युवाको काँधमा नेतृत्व आउँनुपर्ने पक्षमा छन् । साल्पासिलिछो गाउँपालिकाका लिला घले आउँदो चुनावमा एमालेलाई अब्बल देखाउन जिल्लाको सबै भूगोल, कार्यकर्ताको भावना र संगठन निर्माण र परिचालनमा सशक्त भइ रातविरात खट्नसक्ने मान्छेको आवश्यकता औंल्याउँछन् ।
पदाधिकारीका अन्य दाबेदारमध्ये उपाध्यक्षमा सिर्जना राई, धुर्व राई, ज्ञानेन्द्र कार्की, धर्म किराती, विष्णु राउत, टीका विष्ट लगायत छन् । त्यस्तै ईन्द्र थापा, मेरिका राई, रमा राई, जगत चौहान, किरण राई सचिवको आकांक्षीमा देखिएका छन् । मेरिका षडानन्द नगरपालिकाकी उपमेयर हुन् भने किरण पौवादुङ्मा गाउँपालिका प्रमुख हुन् ।
उपसचिवमा एक्सन राई, जीवन राई, बहादुर राई, शिव सापकोटा, दीपक तामाङलगायतले दाबी गरेका छन् ।
यी आकांक्षीमा अरु पनि थपिने र अहिले कतिपय पर्ख र हेरको अवस्थामा मौन रहेको बताइएको छ ।
कार्यकर्ताको नजर शेरधनमाथि
भोजपुर पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला हो । एमालेको उपल्लो कमिटीमा रहेका नेतामध्ये शेरधन स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा कसलाई अघि सार्छन् भन्ने उत्सुकताका साथ कार्यकर्ताको नजर शेरधनमा छ ।
आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्ने वातावरणका लागि जिल्लामा सबै नेतालाई मिलाउन राईले अभिभावकत्व निर्वाह गर्छन्/गर्दैनन् यो महत्वपूर्ण रहेको एक नेता बताउँछन् ।
अधिवेशन उद्घाटन गर्दै स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई ।
‘उहाँ हाम्रो नेता हो । शेरधन राईका लागि यो अधिवेशन अवसर र चुनौती दुवै हो । अभिभावकत्व देखाउँनुहुन्छ वा हुन्न यो हेर्न बाँकी नै छ । कसैलाई काखा र पाखा गर्ने हिसाबले पक्कै नजानुहोला’, ती नेताले भने, ‘स्थानीयदेखि केन्द्रसम्मका निर्वाचन आउँदैछ । कार्यकर्तामाझ कहिँकतै तिक्तता नहुने गरी आफ्नो राजनीतिक भविष्यसमेत हेरेर कम्फर्टेबल बनाउनमा भूमिका खेल्नु नै उत्तम हुनेछ ।’
पूर्वमुख्यमन्त्री राई सहमतिमा नेतृत्व चयन हुने भोजपुर एमालेको इतिहास रहेकाले यो पटक पनि कुनै समस्या नरहेको बताउँछन् ।
‘यसअघिका सबै अधिवेशन सौहार्दपूर्ण भएका छन् । भोजपुरमा यो वा त्यो भन्ने केही छैन । सबै बसेर सल्लाह गरेरै सहमतिमा नेतृत्व छानिन्छ ‘, राईले नेपाल प्रेससँग भने ।
भोजपुर । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्काइएको नेकपा एमाले भोजपुर कमिटीका पदाधिकारी हेरफेर गरिएको छ ।
पार्टी विभाजनपछि पहिलोपटक हिजो एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला भएको थियो । पार्टीलाई तल्लो तहसम्म सशक्त उपस्थिति गराउने उद्घोषसहित जिल्ला नेतृत्वमा जुझारु टिम अघि बढाइएको हो । पदाधिकारी हेरफेरमा हिजो एमाले विभाजनको क्रममा समानान्तर कमिटीमा रहेकाहरूलाई पनि जिम्मेवारी दिइएको छ । भने केहीले त्याग गरेका छन् ।
२०७५ जेठ २ को संरचनामा अध्यक्ष रहेका प्रेमकुमार राई अध्यक्ष नै छन् । उनी हतुवागढी गाउँपालिका प्रमुख पनि हुन् । उपाध्यक्ष देवीराम चौलागाईंको ठाउँमा शरणकुमार राईलाई जिम्मेवारी दिइएको छ । माधव पक्षको समानान्तर कमिटीका अध्यक्ष बनेका राईले पार्टी फुटप्रति असन्तुष्टी जनाउँदै एमालेमै रहने निर्णय गरेका थिए । साविक कमिटीमा सचिव रहेका राईको ठाउँमा मक्कर खड्कालाई ल्याइएको छ ।
जिल्लामा समानान्तर कमिटी बनेपछि एमालेको संस्थापन पक्षले अखिलका नेता खड्कालाई उपाध्यक्ष र पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईलाई सचिव बनाइएको थियो । पदाधिकारी परिवर्तनसँगै किरणले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सहसचिवमा धर्म किरातीलाई ल्याइएको छ । उनी माओवादीबाट एमाले प्रवेश गरेका हुन् । साविकमा सन्देश पौडेल सहसचिव थिए ।
जिल्ला कमिटीमा समानान्तर कमिटीमा रहेका सदस्यहरूलाई समेत मर्ज गरिएको छ । अब एमाले भोजपुर एकताको सन्देश बोकेर ठोस रणनीतिका साथ जनस्तरसम्म अभियान लिएर जाने सचिव खड्काले नेपाल प्रेसलाई बताए ।
कात्तिक ६ गते वडा र कात्तिक ९ गते सबै स्थानीय तहका कमिटीको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ । हिजोको कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्वसांसद धनहर्क राईलगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।
नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ । वीरजंग साविक कमिटीमा सचिवालय सदस्य थिए ।
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा नेकपा एमाले विभाजनको असर न्यून परेको छ । तत्कालीन नेकपामा विवाद हुँदादेखि प्रचण्ड-माधव र त्यसपछि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले अन्तत: एमाले नै रोजेका छन् ।
भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । तीमध्ये करिब ३ प्रतिशत अर्थात ६ जनाले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । एमाले छाडेका भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले नेकपा एसमा सनाखत गरे ।
एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।
त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विक नेकपा एसमा लागेका छन् । नेकपा एसका प्रभावशाली युवा नेता राजेन्द्र राईको गृहजिल्ला हो भोजपुर । भोजपुर ‘क’ बाट प्रदेशसभामा निर्वाचित राईको गृहस्थल षडानन्द नगरपालिकाका जनप्रतिनिधिमा समेत एमाले विभाजनको असर नगण्य देखियो ।
तर, नेकपा एसनिकटका युवा नेता सन्दीप राई भन्छन्, ‘ सूर्य र ठूलो पार्टी भनेर टिकटको लोभमा केही जनप्रतिनिधि बसेका छन् । चुनावमा केपी ओली प्रवृत्तिलाई जनताले बडार्छन् ।’
संगठन विस्तार र युवा परिचालनमा अब्बल मानिएका शरणकुमार राई, केन्द्रीय सदस्य हरिबहादुर राईलगायतका नेताले एमालेमै बस्ने निर्णय गरेपछि पार्टी विभाजनलाई साथ दिनेहरूको संख्या घटेको हो । शरण एमाले विवादमा माधवपक्षीय समानान्तर कमिटीका अध्यक्ष हुन् ।
त्यस्तै संचारमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर केन्द्रीय राजनीतिमा उचाइ बनाइसकेका शेरधन राईको प्रभावका कारण पनि जिल्लामा एमाले विभाजनले खासै असर पारेको देखिएन । उनीनिकटका एक नेता पार्टीलाई तेजिलो गति दिन शेरधनले मुख्यमन्त्री पद त्यागेको भन्दै राईको ‘कन्भिसिङ पावर’ का कारण पनि एमालेलाई ‘धक्का’ नलागेको जिकिर गर्छन् ।
भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो । षडानन्द नगरपालिका उपमेयर मेरिका राई र साल्पासिलिछो गाउँपालिका उपमेयर धनमाया राई एमालेमै छन् ।
एमालेकै प्रमुख र उपप्रमुख रहेको टेम्केमैयुङ गाउँपालिकामा उपप्रमुखले नेकपा एस रोजिन् । टेम्केमैयुङका प्रमुख ध्रुव राई यसअघि माधव नेपालतिर रहेपनि पार्टी विभाजनमा उनले साथ दिएनन् ।
हतुवागढी गाउँपालिकाका दुवै पदमा एमाले विजयी भएको थियो । यहाँका प्रमुख प्रेमकुमार राई एमाले जिल्ला अध्यक्षसमेत हुन् । उपप्रमुख चन्द्रमा राईको यसबीचमा निधन भएको छ । रामप्रसादराई र पौवादुङ्मा गाउँपालिकामा प्रमुख विजय राई र किरण राई एमालेमै छन् ।
आमचोक गाउँपालिकाका ४, हतुवागढी गाउँपालिकाका ५, रामप्रसादराई गाउँपालिकाका ५, टेम्केमैयुङ गाउँपालिकाका ७, साल्पासिलिछो गाउँपालिकाका २, पौवादुङ्मा गाउँपालिकाका १, भोजपुर नगरपालिकाका ५ र षडानन्द नगरपालिकाका ९ गरी जिल्लाभर एमालेले जितेका सबै ३८ वडाध्यक्ष पार्टी फुटमा सहभागी भएनन् । अरुण गाउँपालिका भने प्रमुख-उपप्रमुख र वडाध्यक्षमा एमाले पराजित भएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का पनि एमालेमै रहेका छन् । यसअघि उनी माधवतिर थिए ।
भोजपुर । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले भोजपुरमा समानान्तर कमिटी गठन गरेको छ ।
काठमाडौंको कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेकै दिन भोजपुरमा माधव पक्षको जिल्ला कमिटी गठन गरिएको हो ।
पार्टीको विस्तारित बैठक राखेर शरणकुमार राईको अध्यक्षतामा १७५ सदस्यीय अलग्गै कमिटी बनाइएको हो । समानान्तर कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन गरिएको छ ।
राई पुन:स्थापित एमालेका सचिव हुन् । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षले गठन गरेको जिल्ला कमिटीमा उनलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
विस्तारित बैठकमा बेदुराम भुसाल, पर्शुनेगी गुरुङ, जयन्ती राई, राजेन्द्र राई र हरिबहादुर राईलगायतका नेताहरू उपस्थित थिए । करिब तीन सय कार्यकर्ताको सहभागतिमा भएको बैठकले रिक्त ठाउँहरूमा बहुमत निर्णयबाट पदाधिकारी थप गरिएको उक्त पक्षको दाबी छ ।
भ्रातृ संगठनसँगै, वडा तहसम्म भेला र बैठक गर्ने तथा कमिटी विस्तार गर्नेगरीको योजना पनि बनेको बताइएको छ ।
भोजपुर । अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव पक्षले काउण्टर दिने बताइरहेको बेला त्यसको ‘र्याक्सन’ तल्लो तहमा पनि देखिन थालेको छ ।
एमालेको नेपाल पक्षले भोजपुरको षडानन्द नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ ।
नगरपालिकाको केन्द्र दिङ्ला बजारमा जिल्ला कमिटी सचिव शरणकुमार राईको नेतृत्वमा साइनबोर्ड राखेर छुट्टै कार्यालय खडा गरिएको हो ।
सर्वोच्चको आदेशले एमाले पुन:स्थापना भएसँगै पदाधिकारीलाई समेत थाहै नदिई ओली पक्षले बोर्ड फेर्ने र कार्यालय राख्न थालेकोले यसको प्रतिवाद गर्न थालिएको सचिव राईले बताए ।
कार्यालय स्थापना गर्न राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्दीप राई, स्ववियू सभापति प्रकाशसिं राई, अनेरास्ववियूका अध्यक्ष ध्रुवराज राईलगायत पुगेका थिए ।