Tag: भोजपुर

  • गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

    गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

    काठमाडौं । हिमालय राई (३८), एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलोमा भौतारिइरहेकी छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले करिब चार महिनाअघि आफूसँग विवाह गरेर अहिले घर न घाटको बनाइदिएको उनको गुनासो छ ।

    गत मंसिर १३ गते महेशले हिमालयलाई विधिपूर्वक विवाह गरी श्रीमती बनाएका थिए । तर, त्यसको तीन महिनामै अर्की श्रीमती भित्र्याएर पतिले उनलाई घरबाट निकाले । किराँत रितिरिवाज पछ्याउँदै सुम्निमा-पारुहाङ साक्षी राखी गरेको विवाह लत्याउँदै जनप्रतिनिधि श्रीमान्‌ले उनलाई अथाह चोट दिएका छन् । महेश कानूनीरूपमा सजायका भागीदार भए पनि अहिलेसम्म हिमालयको बेदना प्रहरीले दर्तासम्म गरेको छैन ।

    महेशले भित्र्याएकी कान्छी श्रीमती माया राई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । पछि भित्र्याएको भए पनि मायालाई ‘जेठी’ देखाउने गरी उनले सरकारी कागजपत्र मिलाएका छन् । हिमालयसँग बिहे भएको मितिभन्दा ११ दिनअघि (मंसिर २) को मिति राखेर महेशले मायासँग विवाह दर्ता गराउन सफल भए ।

    अहिले तुम्लिङटारको जग्गा र पैसा दिने भनेर आफूलाई राईले पन्छाउन खोजिरहेको बताउँछिन् हिमालय ।

    यस्तो छ बहुविवाहको कथा

    महेश राई (४८), २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य पनि छन् ।

    महेशकी पहिलाकी श्रीमती सरवती गिरी (सरु) को २०७८ जेठ अन्तिम साता हृदयघातका कारण निधन भएको थियो । त्यसको ६ महिनामै महेशले भोजपुर षडानन्द नगरपालिका सिक्तेलटार घर भइ हाल सुनाकोटी ललितपुर बस्दै आएकी हिमालयलाई मंसिर १३ मा विवाह गरे । सुनाकोटीमा रहेको घरबाटै विधिपूर्वक उनीहरूको बिहे भएको थियो । महेशसँगको बिहेको फोटो/भिडिओ हिमालयसँग सुरक्षित छ ।

    हिमालय साल्पासिलिछोको सीमा जोडिएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईको आफन्त (पत्नी मालती राईको ठूलीआमाकी छोरी) पर्छिन् । वीरबलकी पत्नी मालती राईले नेपाल प्रेससँग भनिन्, ‘मलाई घर चलाउन एउटा साथ नभइ भएन, तपाईंकी बहिनीलाई जे-जसो गरेर भए पनि सुखैले पाल्छु भनेपछि मेयर सा’व समेत लागेर हामीले बहिनीको परिवारसँग कुरा चलायौं । त्यसरी विवाह भएको हो ।’

    मंसिर १३ मा विवाह भएपश्चात केही समय ठीकै चलेको थयो । पुसको अन्तिमतिर राई अर्जेन्ट काम परेको बहाना गरेर गाउँ गएको र माघ १ बाट आफूसँग सम्पर्कविहीन बनेको हिमालयले बताइन् । महेशले अर्की श्रीमती (माया राई) लाई घरमा ल्याएर आफूलाई फागुन १६ गतेदेखि घर पस्न नदिएको हिमालले बताइन् ।

    ‘फागुन १६ मा काठमाडौंको कपनमा भएको घरमा आउनुभएछ । बेलुका घरमा फर्किँदा मलाई ढोका खोलिएन… एकजना छोरी मान्छेले माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन्,’ उनले सुनाइन् ।

    हिमालयका अनुसार कपनमा रहेको घरमा छिर्न नदिएपछि फागुन १६ कै बेलुका उनले प्रहरीमा हारगुहार गरेकी थिइन्, तर सुनवाइ भएन ।

    त्यसको केही दिनमै महेशले अगाडिको मिति राखेर बिहे दर्ता गरेको हिमालयको माइती पक्षले थाहा पाए । बिहे दर्ताको कागजमा स्पष्ट जालसाज देखिन्छ । साल्पासिलिछो गाउँपालिका-२ चौकिडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताको लागि सूचना फाराम भरिएको छ । जबकि विवाह दर्ता फाराममा महेश राई र माया राईबीच साल्पासिलिछो गाउँपालिका-२ मा २०७८ मंसिर २ गते नै विवाह भएको उल्लेख छ ।

    (महेश राई र माया राईको विवाह सूचना दर्ता फाराम ।)

    वडामा पेस गरिएको नागरिकताअनुसार मायाको जन्ममिति २०३८/५/१३ हो । उनको ठेगाना भोजपुरकै साविक खैराङ गाविस वडा नं १ रहेको छ । खैराङ हाल हतुवागढी गाउँपालिकामा पर्छ । माया कांग्रेसको १४ औं महाधिवेशनबाट महिला जनजातितर्फबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

    (वडा कार्यालयमा पेस गरिएको महेश र मायाको नागरिकता ।)

    ‘कानूनमा तल पार्न मलाई कान्छी देखिने गरी कागज बनाएछन् । त्यसै जहाँ जाँदा पनि साथ पाएको छैन,’ हिमालयले भनिन् ।

    प्रभावदेखि प्रलोभनसम्म

    मायालाई भित्र्याएको थाहा पाउँदादेखि आफूहरू प्रहरी चौकी, महिला सेल, महिला आयोग धाए पनि कहीँबाट साथ नपाएको हिमालय र उनको माइतीले बताएका छन् । उल्टै कानूनीरूपमा तल पर्ने भन्दै सबैले त्यही बिहे दर्ता देखाउने गरेको उनीहरूले सुनाए ।

    ‘ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । धेरैतिर न्यायका लागि धाए पनि कसैले साथ दिएनन्,’ हिमालयले भनिन् ।

    हिमालयका जेठा दाइ प्रेम राई कसैले सुनुवाइ नगरेकाले राजनीतिक पावर देखिएको बताउँछन् ।

    ‘सबै गतिविधि हेर्दा राजनीतिक पावर प्रयोग भएको शंका हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्न सक्दैन । प्रमाणले अर्कोलाई जेठी नै बनाएछ ल ठीक छ । तर, एउटा पुरुषले ११ दिनको अन्तरमा दुईवटा विवाह गर्न सक्छ ? त्यसमा प्रहरीले चासो नदिएको किन हो ?’ दाजु प्रेमले भने ।

    आफूहरूलाई अहिले पैसा र जग्गा दिने भन्दै अनेक लोभ देखाएर थुमथुम्याउन खोजेको पनि प्रेमले खुलाए ।

    ‘हिजो मात्र फोनमार्फत कुरा आएको थियो । हामीले मान्छेलाई मात्र होइन भगवान्लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर गरेका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान-सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपा’को हो ? त्यही हो नेताको नैतिकता ? अर्को श्रीमती भएको जान्दाजान्दै भित्रिने नेतृको नैतिकता त्यही हो ?’ दाजुले आक्रोश पोखे ।

    हिमालयकी सानिमाकी छोरी (दिदी) मालतीले घटना सामसुम पार्न कांग्रेस नै लागेको आशंका व्यक्त गरिन् । माया राईले जिम्मेवार पार्टीको महिला नेता भएर महिलामाथि नै अन्याय गरेको उनको भनाइ छ ।

    ‘जालसाजी गरेर कागज बनाए । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन्,’ उनले भनिन् ।

    बचाउ गर्दै कांग्रेस भन्छः कोही दूधले धोएको हुँदैन

    नेपाली कांग्रेस साल्पासिलिछो गाउँपालिका कमिटीले एक विज्ञप्ति निकालेर पालिका अध्यक्ष महेश राई अहिले एउटा जटिल समस्याभित्र फसेको प्रतिक्रिया दिएको छ । यो परिस्थितिलाई व्यक्तिगत बाध्यता भनेर बुझिदिन कांग्रेसको अनुरोध गरेको छ ।

    गाउँपालिका कमिटीका सचिव सेभेन गिरी (श्याम) ले बुधबार विज्ञप्ति निकाल्दै ‘सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्ने’ बताएका छन् ।

    ‘पाँच वर्षभित्रको विकास र परिवर्तन हेरेर महेश राई कुनै गलत नियतको भारी बोकेर हिँड्ने मान्छे होइन, बरु भ्रष्टाचारविरोधी काम गर्नु पर्छ भन्ने सिधा आदिवासी जनजातिको छोरा हो । विकास र अहिले भएको कुरा फरक पाटो हो, तर मान्छे सबै दूधले धोएको कोही हुँदैन । गल्ती हुन्छ तर यहाँ यो समस्या कसरी आयो भन्ने कुरा जसले उहाँलाई नजिकबाट नियाल्नु भएको छ उहाँहरूलाई मात्रै थाहा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गलत नियतले आफ्नै सहपाठीहरूबाट कसरी जालोमा परिन्छ भन्ने कुरा परे पछि मात्रै थाहा हुने रहेछ । साल्पासिलिछोमा मात्रै नभएर समग्र भोजपुरबाट भोलि केन्द्रमा हैसियत राख्न सक्ने एउटा होनहार जनजातिको छोराप्रति पूर्वाग्रहका साथ हानिएको बाणहरु बिस्तारै देखिँदै जानेछ । कानूनभन्दा माथि कोही नरहेको र कानूनमाथि टेकेर सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्दै जानेछ ।’

    गाउँपालिका अध्यक्ष महेश राईलाई हामीले सम्पर्क गर्न थुप्रैपटक प्रयास गर्दा सफल भएनौं । उनको एनटीसी/एनसेल दुवै फोन स्वीचअफ छ । गाउँपालिका स्रोतका अनुसार उनी सीमित मान्छेबाहेक कोहीसँग पनि सम्पर्कमा छैनन् । महेशकी ‘कान्छी’ बनेर भित्रिएकी मायाको फोन लागे पनि उनले रिसिभ गरिनन् ।

    नेपाल प्रेसको कार्यालयमा आएर हामीमाझ पीडितले सुनाएको घटना विवरण उनीहरूकै शब्दमाः

    हिमालय राई

    यही २०७८ साल मंसिर १३ गते भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुख महेश राई र मेरो विवाह भयो । सबै कुराहरु ठीकठाक नै चलिरहेको थियो । काम छ भनेर उहाँ पुसको लास्टतिर गाउँ जानुभयो । माघको १ गतेतिरबाट चाहिँ सम्पर्कविहीन हुनुभयो ।

    फागुन १६ मा म नभएको बेला काठमाडौं घर (कपन) मा आउनुभएछ । म बिहान ११ बजेतिर खाना खाएर काममा निस्केको थिएँ । बेलुका फर्किँदा ढोका खोलिएन । घरमा सहयोगी बहिनी २ जना थिए । उनीहरूलाई फोन गर्दा ढोका नखोल्दिनू, भित्र नपसाउनू, फोनहरू नउठाउनू भन्नुभएको छ भने ती बहिनीहरूले ।

    मैले मेरो दाइदिदीलाई फोन गरेर जानकारी गराएँ । कपन चौकीबाट २ जना प्रहरी लिएर आउनुभयो । मलाई ढोका खोलिएन । महेश राईको मुख पनि देखिएन । एकजना छोरी मान्छे माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन् । छिर्न नदिएपछि हामी बौद्ध, कपन, महिला सेल, टेकु परिसर, महिला आयोग गयौं । कहिँबाट सहयोग पाइएन । प्रहरीले के छ त बहुविवाह गरेको भन्दै प्रमाण खोज्यो । अहिले त लिभिङ टूगेदरमा पनि बस्ने चलन छ भन्यो ।

    हामीले माया राईसँग बिहे दर्ता गराएको प्रमाण फेला पार्‍यौं । त्यो लिएर जाँदा प्रहरीले उनीहरूको नै बिहे दर्ता बलियो प्रमाण भएको बतायो । ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । मंसिर १३ मा हाम्रो बिहे भएको हो तर उनीहरूले मंसिर २ गतेकै मिति राखेर विवाह दर्ताको फाराम भरेको रैछ । उल्टै मलाई कान्छी बनाएर ल्याको भनेर कानूनमा तल पारे । जहाँ गए पनि साथ पाइराको छैन । अहिले फोन अफ गरेर बस्नुभाको छ ।

    प्रेम राई (जेठा दाजु)

    जुन दिन त्यो घटना भयो, (फागुन १६) म पनि गएको थिएँ । दुईजना प्रहरी पनि थिए । हामी न्याय माग्दै जानुपर्ने जति सबै ठाउँ गइसक्यौं । प्रहरीले पनि केही गर्न सकेन ।

    त्यो बेलुका निरीह भएर दुईवटा जति चौकी घुमेर १२ बजेतिर फर्कियौं । भोलिपल्ट (फागुन १७) बिहानै महिला सेल गयौं । बौद्ध चौकी पनि गयौं । महिला सेल, टेकु प्रहरीले पनि झुल्याउने काम भएको छ । जाहेरी लिएर जाँदा पनि त्यो बिहे दर्ता देखाउँदै उल्टै बहिनीलाई नै थुन्न सकिन्छ भनेर हामीलाई तर्साउने काम भइराको छ । हाम्रो कुरा सुन्दैन । अनुसन्धानका लागि थुन्छ भने थुनोस् भन्दा पनि प्रहरीले मानिरा’को छैन ।

    यी गतिविधिले राजनीतिक पावर प्रयोग गरेको झस्का हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्दैन । प्रहरीकै एक हाकिमले २ गते उसँग बिहे गरेको भए १३ गते चाहिँ के गर्दै थियो त भनेर सोधेको भन्नुभो । प्रहरी परिसरले किन कारबाही गर्न सक्दैन त ?

    अहिलेको प्रमाणले उसलाई जेठी नै बनाएछ ल ठीक छ । तर, केटाले दुईवटा बिहे गर्न सक्छ ११ दिनमा ? त्यसमा प्रहरीले चासो नदिनूको कारण के हो ? यसले गर्दा हामीलाई झन् पीडा थपिरहेको छ । अहिले अनेक लोभ देखाएर थुमथुम्याउन खोज्दैछन् ।

    हिजो मात्र फोनमार्फत कुरा आएको थियो । मैले कानूनी तरिकाभन्दा अर्को कुनै विकल्प देख्दिनँ, जेठी देखाएको श्रीमतीलाई पन्छाउने र मिलाउने तिम्रो के योजना छ, डिटेल कुरा बताऊ भनेँ । तर उल्टै मेरो बहिनीलाई श्रीमती स्वीकार्न नसक्ने, पैसा दिने, जग्गा दिने भनेर हामीलाई भनेका छन् ।

    हामीले मान्छेलाई मात्र होइन भगवान्‌लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर दिएका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपाको हो ? त्यही हो नेताको नैतिकता, नेतृको नैतिकता त्यही हो ?

    मालती राई, दिदी (सानीआमाकी छोरी)

    प्रमुख महेश राईले मागिदिनू भनेर हामीमार्फत नै मगनी भयो, बिहे भयो, हामी जन्त गयौं । बहिनी राम्रै तरिकाले भित्र्याएको हो उहाँले । ३ महिनाको बीचमै अर्को श्रीमती लिएर जानुभो ।

    नेपाली कांग्रेसको केन्द्रीय सदस्यजस्तो मान्छे भएर महिलामाथि नै अन्याय गर्नुभएको छ । पीडकहरू माया राई र महेश राईमाथि हदैसम्मको सजाय हुनुपर्छ ।

    न्याय माग्न जाँदा पनि के कारणले हो न्याय पाएका छैनौं । प्रहरीमा जाँदा जसले पनि त्यही बिहे दर्ताको कागजको कुरा ल्याउँछन् । जालसाजी गरेर बनाएको रहेछ । पार्टीदेखि नै भाको छ कि किन हो यहाँ झुलाइराको छ । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । गाउँगाउँमा गएर प्रचारप्रसारमा लागिराख्नुभाको छ ।

    नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । कांग्रेस पार्टी होस् या जुनसुकै पार्टी होस् नराम्रोलाई नराम्रो भन्नुपर्छ । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन् ।

    के छ कानूनी व्यवस्था ?

    एक पुरुषले एकैपटक एकभन्दा बढी श्रीमती राख्नु गैरकानूनी हो । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । दफा १७५ को उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।

    सो कानूनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

    गाउँपालिका अध्यक्ष महेश राईको घटनामा यदि उनको विवाह दर्तालाई नै मान्यता दिएर पहिलो विवाह माने पनि बहुविवाह स्पष्ट देखिन्छ । मंसिर १३ मा हिमालयसँग बिहे गरिसकेपछि फागुन १ गते विवाह दर्ताका लागि वार्ड कार्यालयमा स्थानीय पञ्जिकाधिकारी नविनकुमार यादवसमक्ष सूचना फाराम भर्नुले मिलेमतो र छलकपट त प्रष्टै देखिन्छ ।

    नेपाली कांग्रेस गाउँपालिका कमिटीले निकालेको विज्ञप्ति 

     

  • भोजपुर एमाले अध्यक्षका लागि शरण र मक्करको भीडन्त पक्का

    भोजपुर एमाले अध्यक्षका लागि शरण र मक्करको भीडन्त पक्का

    भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वका लागि सहमतिको संभावना लगभग टुंगिएको छ । शुक्रबारदेखि जारी आठौं जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व टुंगो लगाउन सकस परेपछि चुनावबाट नेतृत्व चयन हुने भएको हो ।

    जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यक्रमको सूचनासमेत प्रकाशित गरिरसकेको छ । निर्वाचन तालिकाअनुसार आज अपराह्न ४ बजेदेखि साढे ६ बजेसम्म विभिन्न चरणमा मतदाता नामावली, दाबी-विरोध, छानविन र अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि (आइतबार) बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयनदेखि विभिन्न चरण पार गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ ।

    यो पनि पढ्नुहोस् : भोजपुर एमाले नेतृत्वका लागि भोटिङ हुने सम्भावना, को-को छन् दाबेदार ?

    मतदान भोलि (आइतबार) अपराह्न ४ देखि ८ बजेसम्मलाई निर्धारण गरिएको प्रमुख निर्वाचन अधिकृत भुलानाथ राईले जानकारी दिए ।

    जिल्ला कमिटी अध्यक्षमा शरणकुमार राई र मक्कर खड्का प्रमुख दाबेदार छन् । भोट माग्दै उनीहरूको प्रचारप्रसार सुरू भइसकेको छ । वर्तमान अध्यक्ष प्रेमकुमार राई अहिलेसम्म मौन छन् ।

    अहिलेसम्म चर्चामा आएका आकांक्षीमा उपाध्यक्षमा सिर्जना राई, धुर्व राई, ज्ञानेन्द्र कार्की, धर्म किराती, विष्णु राउत, टीका विष्ट लगायत छन् । त्यस्तै ईन्द्र थापा, मेरिका राई, रमा राई, जगत चौहान, किरण राई सचिवको आकांक्षीमा देखिएका छन् । मेरिका षडानन्द नगरपालिकाकी उपमेयर हुन् भने किरण पौवादुङ्मा गाउँपालिका प्रमुख हुन् ।

    उपसचिवमा एक्सन राई, जीवन राई, बहादुर राई, शिव सापकोटा, दीपक तामाङलगायतको दाबी छ ।

    भोजपुरमा करिब १३ सय प्रतिनिधिबीचबाट ९० सदस्यीय जिल्ला कमिटी बन्नेछ ।

    हेर्नुस् निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमको सूचना :

     

  • भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण

    भोजपुरमा विपन्न विद्यार्थीलाई पोशाक र न्यानो कपडा वितरण

    भोजपुर । सदरमुकामस्थित सरस्वती आधारभूत विद्यालय, पोखरेका विपन्न विद्यार्थीहरूलाई पोशाक र न्यानो कपडा वितरण गरिएको छ ।

    विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुर र मानव अधिकार मञ्च नेपाल, इलामको सहकार्य तथा किन्नरमिसनरेक जर्मनीको सहयोगमा १० जना विद्यार्थीलाई विद्यालय पोशाक, ज्याकेट, जुत्ता-मोजालगायतका सामग्री बाँडिएको सोडाका अध्यक्ष नविन प्रधानले बताए ।

    भोजपुर नगरपालिका-८ का अध्यक्ष गोपाल कार्कीमार्फत विद्यार्थीलाई सामान वितरण गरिएको हो ।

    सोडाले विगत १८ वर्षदेखि बालबालिका, महिला, अपाङ्गता, सामाजिक परिचालन र सामुदायिक विकासलगायतको क्षेत्रमा कामहरू गर्दै आएको छ ।

  • एमाले भोजपुरको अधिवेशन पुस २३-२४ मा, १४ सय प्रतिनिधि सहभागी हुने

    एमाले भोजपुरको अधिवेशन पुस २३-२४ मा, १४ सय प्रतिनिधि सहभागी हुने

    भोजपुर । नेकपा एमाले भोजपुरको जिल्ला अधिवेशन पुस २३-२४ मा हुने भएको छ । जिल्ला कमिटीको बुधबारको बैठकले अधिवेशन २ दिन गर्ने निर्णय गरेको हो ।

    बैठकले जिल्ला अधिवेशनकेन्द्रित रहेर विभिन्न उपसमितिसमेत गठन गरेको छ । अध्यक्ष प्रेमकुमार राईको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन र राजनीतिक/सांगठानिक प्रतिवेदन समिति, उपाध्यक्ष शरणकुमार राईको संयोजकत्वमा स्वयंसेवक परिचालन र सचिव मक्कर खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।

    सहसचिव धर्म किरातीको संयोजकत्वमा खाना आवास र संगठन विभाग प्रमुख किरण राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति बनाइएको छ ।

    अधिवेशनमा आयोजक, वडा र जनवर्गीय संगठन गरेर करिब १४ सय प्रतिनिधि सहभागी हुने सचिव मक्कर खड्काले बताए ।

    अधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राई, भोजपुर इन्चार्ज हरिबहादुर राईलगायतका केन्द्रीय नेता सहभागी हुने छन् ।

  • केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका युवा नेता हरिबहादुर राईले १०औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिकाका राईले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिने बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी भएको बताए । केन्द्रीय सदस्यमा दाबी पेस गर्नुको आधारबारे राईले भने, ‘मेरो जिन्दगी नै पार्टी निर्माण र समाज परिवर्तनमा समर्पित गरेको छु । विद्यार्थी, युवा हुँदै अहिले पार्टी केन्द्रीय कमिटीमा पनि छु । यीनै अनुभवलाई संगाल्दै राजनीतिक परिवर्तन संस्थागत गर्न सशक्त एमालेका लागि मेरो उम्मेदवारी हो ।’

    २०३९ सालबाट विद्यार्थी राजनीति सुरू गरेका राईले २०४० सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियु प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।

    २०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५-२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे ।

    २०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए ।

    राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए । हाल उनी एमाले केन्द्रीय सदस्य छन् ।

  • कांग्रेस भोजपुर ‘क’ को सभापतिमा सरोज, अन्य को-को भए विजयी (सूचीसहित)

    कांग्रेस भोजपुर ‘क’ को सभापतिमा सरोज, अन्य को-को भए विजयी (सूचीसहित)

    भोजपुर । नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेतले विजयी भएका छन । दुई प्रतिद्वन्द्वीलाई पछाडि पार्दै बस्नेत विजयी भएका हुन् ।

    बस्नेतले २ सय ९९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र राईले १ सय ७५ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी नगेन्द्र खत्री ७५ मत ल्याउँदै तेस्रो भए ।

    प्रदेश (क) का पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधि यसप्रकार छन् :

  • भोजपुरका ९ मध्ये ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, २ वटामा बाँकी (सूचीसहित)

    भोजपुरका ९ मध्ये ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, २ वटामा बाँकी (सूचीसहित)

    भोजपुर । भोजपुरको ९ स्थानीय तहमध्ये ७ वटामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई वटाको अधिवेशन भने निर्धारित मितिमा हुन सकेन ।

    दुई नगरपालिकासहित ९ स्थानीय तह रहेको भोजपुरमा षडानन्द नगरपालिकामा कात्तिक २७ गते अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ भने आमचोक गाउँपालिकाको नयाँ मिति टुंगो लाग्न बाँकी रहेको नेकपा एमाले भोजपुरका सचिव मकर खड्काले जानकारी दिए ।

    अधिवेशन सम्पन्न भएका भोजपुरका ७ स्थानीय तहका पदाधिकारी यसप्रकार छन् :

    – साल्पासिलिछो गाँउपालिका

    १. अध्यक्ष- मानबहादुर खत्री

    २. उपाध्यक्ष- ध्यानबहादुर खत्री

    ३. सचिव- श्रीकृष्ण अधिकारी

    ४. उपसचिव- गुणराज राई

    ५. उपसचिव- रिता घले

    – अरूण गाउँपालिका

    १. अध्यक्ष- नारायण घिमिरे

    २. उपाध्यक्ष- ईश्वर भण्डारी

    ३. सचिव- सुवास मगर

    ४. उपसचिव- राजन श्रेष्ठ

    ५. उपसचिव- मनिषा तामाङ्ग

    – पौवादुङ्‍मा गाँउपालिका

    १. अध्यक्ष- ज्ञानेन्द्र राई

    २. उपाध्यक्ष- पवित्रा भुजेल

    ३. सचिव- देउमान राई

    ४. उपसचिव- मञ्जु श्रेष्ठ

    ५. उपसचिव- अविराम बस्नेत

    – भोजपुर नगरपालिका

    १. अध्यक्ष- दुर्गा योञ्जन

    २. उपाध्यक्ष- मायादेवी राई

    ३. सचिव- विमल रणपहेंली

    ४. उपसचिव- सुमन प्रधान

    ५. उपसचिव- आशादेवी राई

    – टेम्केमैयुङ गाउँपालिका

    १. अध्यक्ष- सुनिल राई

    २. उपाध्यक्ष- आशादेवी राई

    ३. सचिव- गणेश राई

    ४. उपसचिव- लालप्रसाद लुईटेल

    ५. उपसचिव- सावित्रादेवी फुयाल

    – रामप्रसादराई गाँउपालिका

    १. अध्यक्ष- चित्रलाल विश्वकर्मा

    २. उपाध्यक्ष- गणेश राई

    ३. सचिव- रामचन्द्र राई

    ४. उपसचिव- चन्द्र तामाङ

    ५. उपसचिव वाजकुमार राई

    – हतुवागढी गाँउपालिका

    १. अध्यक्ष- विचारी थापा

    २. उपाध्यक्ष- अर्थबहादुर राई

    ३. सचिव- लालबहादुर प्रधान

    ४. उपसचिव- तिर्थकुमारी राई

    ५. उपसचिव- सञ्जल राई

  • भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको कमिटी गठन गरिएको छ ।

    सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी बनाइएको विद्यार्थी नेता प्रताप तामाङले बताए । युवासंघ नेपालका स्थायी कमिटी सदस्य सन्दिप राईको प्रमुख आतिथ्यमा भएको नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रमबाट समिति बनाइएको हो ।

    अनेरास्ववियू क्याम्पस कमिटीको पदाधिकारीको नामावली यस प्रकार छ :

    अध्यक्ष – सुमी राई

    उपाध्यक्ष – शशीकला गुरुङ

    उपाध्यक्ष – ममता राई

    सचीव – दुर्जमान तामाङ

    सहसचिव- निङमा शेर्पा

    सहसचिव- रविना पाण्डे

    कोषाध्यक्ष- कृष्ण गिरी

  • भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्काइएको नेकपा एमाले भोजपुर कमिटीका पदाधिकारी हेरफेर गरिएको छ ।

    पार्टी विभाजनपछि पहिलोपटक हिजो एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला भएको थियो । पार्टीलाई तल्लो तहसम्म सशक्त उपस्थिति गराउने उद्घोषसहित जिल्ला नेतृत्वमा जुझारु टिम अघि बढाइएको हो । पदाधिकारी हेरफेरमा हिजो एमाले विभाजनको क्रममा समानान्तर कमिटीमा रहेकाहरूलाई पनि जिम्मेवारी दिइएको छ । भने केहीले त्याग गरेका छन् ।

    २०७५ जेठ २ को संरचनामा अध्यक्ष रहेका प्रेमकुमार राई अध्यक्ष नै छन् । उनी हतुवागढी गाउँपालिका प्रमुख पनि हुन् । उपाध्यक्ष देवीराम चौलागाईंको ठाउँमा शरणकुमार राईलाई जिम्मेवारी दिइएको छ । माधव पक्षको समानान्तर कमिटीका अध्यक्ष बनेका राईले पार्टी फुटप्रति असन्तुष्टी जनाउँदै एमालेमै रहने निर्णय गरेका थिए । साविक कमिटीमा सचिव रहेका राईको ठाउँमा मक्कर खड्कालाई ल्याइएको छ ।

    जिल्लामा समानान्तर कमिटी बनेपछि एमालेको संस्थापन पक्षले अखिलका नेता खड्कालाई उपाध्यक्ष र पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईलाई सचिव बनाइएको थियो । पदाधिकारी परिवर्तनसँगै किरणले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सहसचिवमा धर्म किरातीलाई ल्याइएको छ । उनी माओवादीबाट एमाले प्रवेश गरेका हुन् । साविकमा सन्देश पौडेल सहसचिव थिए ।

    जिल्ला कमिटीमा समानान्तर कमिटीमा रहेका सदस्यहरूलाई समेत मर्ज गरिएको छ । अब एमाले भोजपुर एकताको सन्देश बोकेर ठोस रणनीतिका साथ जनस्तरसम्म अभियान लिएर जाने सचिव खड्काले नेपाल प्रेसलाई बताए ।

    कात्तिक ६ गते वडा र कात्तिक ९ गते सबै स्थानीय तहका कमिटीको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ । हिजोको कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्वसांसद धनहर्क राईलगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ । वीरजंग साविक कमिटीमा सचिवालय सदस्य थिए ।

  • जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    भोजपुर । नेकपा एमाले भोजपुर जिल्ला कमिटी जेठ २ मा फर्किएको छ । १० बुँदे सहमति कार्यान्वयनको क्रममा पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइएको हो ।

    पार्टी विभाजनपछि पहिलोपटक एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला आयोजना गरिएको छ । बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्व सांसद धनहर्क राईलगायतका नेता तथा कार्यकर्ता उपस्थित छन् ।

    एमाले विवादमा समानान्तर कमिटीको अभ्यास गरेर पार्टी फुटलाई साथ नदिएका नेता/कार्यकर्ताहरू पनि बैठकमा सहभागी छन् । माधव नेपालको समानान्तर जिल्ला कमिटीमा अध्यक्ष बनेका शरणकुमार राई एमाले जिल्ला कमिटीको पुरानो संरचनाको सचिवकै हैसियतमा बैठकमा सहभागी छन् ।

    बीचमा एमाले भोजपुरले उपाध्यक्षमा मक्कर खड्का र सचिवमा किरण राईलाई जिम्मेवारी दिएको थियो । उपाध्यक्ष रहेका देवीरामलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

    यो बैठक तथा भेलाले पार्टीलाई तल्लो कमिटीसम्म पुरानै संरचनामा फर्काउने साथै नयाँ रणनीतिका साथ कार्ययोजना अघि सार्ने बताइएको छ ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ ।

  • भोजपुरमा नेकपा एसको जिल्ला कमिटी घोषणा, शरण एमालेमै बसेपछि वीरजंगलाई ल्याइयो

    भोजपुरमा नेकपा एसको जिल्ला कमिटी घोषणा, शरण एमालेमै बसेपछि वीरजंगलाई ल्याइयो

    भोजपुर । नेकपा एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा गरिएको छ ।

    वीरजंग राईको अध्यक्षमा १५५ सदस्यीय जिल्ला कमिटी बनाइएको हो । यसअघि समानान्तर कमिटीका अध्यक्ष शरणकुमार राईले पार्टी फुटलाई साथ नदिइ एमालेमै बस्ने निर्णय गरेपछि वीरजंगलाई अध्यक्ष बनाइएको हो । उनी जेठ २ अघिको एमालेमा जिल्ला सचिवालय सदस्य थिए । माओवादीसँग एकतापछि बनेको नेकपामा वीरजंगलाई कार्यालय सदस्यको जिम्मेवारी दिइएको थियो ।

    नेकपा एसको नवगठित जिल्ला कमिटीको उपाध्यक्षहरूमा विष्णुबहादुर राउत, चक्र तामाङ र गीता राईले जिम्मेवारी पाएका छन् । सचिवमा ममिता राई छिन् । उनी भोजपुर नगरपालिकाकी उपमेयर हुन् । उपसचिवमा ईश्वर कार्की चयन भएका छन् ।

    अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको उपस्थितिमा कमिटी घोषणा गरिएको हो ।

    पदाधिकारी र सदस्यको सपथ र जिल्ला भेला केही दिनमा तय गरिने युवा नेता सन्दीप राईले जानकारी दिए ।

     

  • भोजपुरका एक उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे नेकपा एस

    भोजपुरका एक उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे नेकपा एस

    काठमाडौं । भोजपुरमा एक उपमेयरसहित एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत (समाजवादी) रोजेका छन् ।

    भोजपुर नेकपा एसका प्रभावशाली नेता राजेन्द्र राईको गृहजिल्ला हो ।

    विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमा सकिने आज अन्तिम दिन भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसमा सनाखत गरेका हुन् ।

    एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।

    त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विकले पनि एमाले छाडेका छन् ।

  • भोजपुरमा नेकपा एकीकृतसम्बद्ध युवा र विद्यार्थीको कार्यक्रम, केही जनप्रतिनिधि र नेता उपस्थित

    भोजपुरमा नेकपा एकीकृतसम्बद्ध युवा र विद्यार्थीको कार्यक्रम, केही जनप्रतिनिधि र नेता उपस्थित

    भोजपुर । एमालेबाट विद्रोह गरेर माधव नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया थालेसँगै तल्लो तहसम्म त्यसको प्रभाव पर्न थालेको छ । नेता/कार्यकर्ताहरू को कता लाग्छन् भन्ने चर्चाका बीच भोजपुरमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा र विद्यार्थीले कार्यक्रम गरेका छन् ।

    सदरमुकाममा आयोजना गरिएको चियापान तथा भेटघाट कार्यक्रममा केही जनप्रतिनिधि र एमालेका जिल्लास्तरीय नेता सहभागी छन् । कार्यक्रममा भोजपुर नगरपालिका उपमेयर ममिता राई, जिल्ला समन्वय समिति सदस्य रमा राई, भोजपुर नगरपालिका-७ की महिला सदस्य राधिका तामाङ्ग उपस्थित छन् । एमाले सचिवालय सदस्य वीरजंग राई, प्रदेश कमिटी सदस्य रमेश शाक्य पनि भेलामा सहभागी भएका छन् ।

    युवा संघका अध्यक्ष सन्दीप राई, अनेरास्ववियूका अध्यक्ष धुर्वराज राई, युवाका नेता प्रताप तामाङ पनि कार्यक्रममा छन् ।

  • दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाउने माओवादीका एक्ला किराती

    दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाउने माओवादीका एक्ला किराती

    भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा माओवादी नेताहरुकै सामुन्ने भने- म अहिले मन्त्री बन्नेहरूको भीड छिचोलेर आएको छु । मलाई साँच्चिकै आतंक भएको छ । ४९ जनालाई नै मन्त्री बन्नु परेको छ । तर, हामीले पाउने भनेको बढीमा ७ वटा हो ।

    माओवादीबाट प्रतिनिधिसभामा प्रचण्डसहित ४९ सांसद छन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ८४ जना मन्त्री बने । बढीमा ५ पटकदेखि कम्तीमा एकपटक धेरैले मौका पाए । हाल प्रतिनिधिसभाका रहेका ४९ सांसदमध्ये दुई पटक प्रत्यक्ष निर्वाचन जितेर पनि मन्त्री बन्न पाउने सांसद भने एकजना सुदन किरातीमात्र बाँकी छन् ।

    मन्त्रीको नाम टुंग्याउन पटकपटक बोलाइएको माओवादी स्थायी कमिटी बैठक पनि मुख्य एजेण्डामा अनिर्निणित बनेको छ । मन्त्री बनाउने मापदण्ड नहुँदा कतिपयले पटक-पटक मौका पाउने र दुई तीन पटक चुनाव जितेकाहरूले अवसर नपाउने अवस्था रहेको माओवादी नेताहरू बताउँछन् ।

    माओवादीबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवैले दावी गरेका छन् । शान्ति प्रक्रियासँगै संसदीय राजनीतिमा आएसँगै मन्त्रीलगायतका लाभदायी पद ‘कसैलाई खातैखात कसैलाई पुर्पुरोमा हात’ भनेर आन्तरिकरूपमै असन्तुष्टी समेत शुरू भएको छ ।

    नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्न उनकै गृहजिल्लाका नेताहरूसमेत प्रचण्ड निवास धाएको बाहिरिएको छ । जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा कसैलाई थाहा नदिएको भन्दै प्रचण्डप्रति श्रेष्ठ नै असन्तुष्ट छन् ।

    मन्त्री बनाउन न्यूनतम मापदण्ड तयार गर्न नसक्दा र बनाइएका मापदण्ड पनि कार्यान्वयन नहुँदा यी समस्या देखिएका छन् ।

    सुदन किराती पनि यिनै मध्येका एक हुन् । भोजपुरबाट २ पटक प्रत्यक्ष निर्वाचित भइसकेका सांसद किराती जुझारु र हक्की स्वभावका युवामा पर्छन् । प्रदेश १ कै जनजाती समुदायबाट क्षमतावात नेता किराती नेतृत्वको गलत शैलीका कटु आलोचक पनि मानिन्छन् । सरकारमा पार्टीबाट समावेशी प्रतिनिधित्व गराउन पनि सुदनलाई मन्त्री बनाउन पार्टी नेतृत्वमाथि दबाब छ ।

    ७४ को चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा विजयी किराती (बीचमा) । साथै, प्रदेशतर्फ भोजपुर ‘ख’ बाट शेरधन राई (दायाँ) र ‘क’ बाट राजेन्द्र राई (बायाँ)

    २०६४ को संविधानसभा चुनावमा शेरधन राईलाई हराएर सदनमा पाइला टेकेका किराती दोस्रो संविधानसभामा तिनै राईसँग पराजित भए । २०७४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको तर्फबाट ३४ हजार ३९४ मत ल्याएर किरातीको ‘कमब्याक’ भएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत ल्याएका थिए ।

    नेकपा छँदै ओली नेतृत्वको सरकारमै किरातीको चर्चा चलेपनि त्यसको ठोस नतिजा देखिएन । दुईपटक चुनाव जितेर मन्त्री बन्न नपाउने उनीमात्र बाँकी छन् ।

    मतदाताकै आँगनमा व्यस्त सांसद

    भोट माग्न जनताको घरदैलो पुग्ने नेता चुनाव जितेपछि ५ वर्षसम्म नफर्किने नेतामाथिको सदाबहार आरोपलाई भने किरातीले चिरेका छन् । देउवाले प्रधानमन्त्रीको सपथ लिएदेखि नै नेता र पार्टी कार्यालय धाउने सांसदहरूको लर्को लागिरहँदा उनी जिल्लामै व्यस्त थिए । चुनावपछिको अधिकांश समय किराती सदनभन्दा गाउँमै व्यस्त छन् ।

    पछिल्लो समय कोरोना महामारीको असहज परिस्थितिमा राहत तथा उद्धार कार्यमा उनी साँच्चिकै डटेर टोलटोलका क्वारेन्टाइन र आइसोलेसनसम्म पुगे । एक/दुई दिनको देखासिकीमात्र नभएर किरातीले अहिलेसम्म यसलाई निरन्तरता दिएका छन् । समाज र परिवेशअनुसार जनतासँगको यो साक्षात्कारले अर्को चुनावमा किराँतीसँगको प्रतिष्पर्धा रणनीतिबारे विपक्षीलाई सोच्न बाध्य बनाएको छ । केटाकेटीदेखि बुढापाकासम्मका दु:खसुखका सारथी बन्नसक्ने खुबीका किरातीसँग जोकोहीले पनि आफ्नो समस्या धौ फुकाएर सुनाउँछन् ।

    सांसद किराती चुनाव जितेलगत्तैबाट ‘जनताको प्रश्न सांसदको उत्तर’ अभियान लिएर गाउँगाउँ पुगे । त्यहाँ उनले सडक, बिजुली, खानेपानीलगायतका स्थानीयका समस्यामात्र बुझ्दैन थिए त्यसको समाधानका लागि सम्बन्धित निकायलाई घचघच्याइहाल्थे ।

    जनता नै आफ्नो पाठशाला बताउने राईले बाँदरका कारण किसानले पाएर दु:ख बोकेर दीर्घकालीन समाधानको पहल खोज्न तत्कालीन वनमन्त्री शक्ति बस्नेतलाई भेटेर सिंहदरबारको ध्यानाकर्षण गराए ।

    उम्मेदवार हुँ दाबेदार होइन : किराती

    सांसद किरातीले पार्टीमा कर्म र योगदानको आधारमा भन्दा पनि लुटेर खाने प्रवृत्ति हावी भएको बताएका छन् । उनले क्षमता र अनुभवले आफू मन्त्री बन्न योग्य भए पनि दाबेदार भने नभएको नेपाल प्रेसलाई बताए । ‘एकपटक-दुईपटक-तीनपटक-चारपटक भ्याउने । निर्वाचनमा हार्ने र जस्केलााबट छिर्ने प्रवृत्ति ठीक छैन, किरातीले भने, ‘संसदीय प्रतिष्पर्धाको राजनीतिमा म दुईपटक जितेको मान्छे । कसले पहिला भोटो फटायो भन्दा पनि जनताले कसलाई रुचाए भन्ने विषय चाहिँ महत्वपूर्ण हुन्छ । तर यहाँ जसको शक्ति उसको भक्ति चल्छ ।’

    पार्टीलाई संकट परेको बेला चासो नदिने तर अवसर आएको बेला छाड्दै नछाड्ने प्रवृत्ति बढेकोमा किरातीले चिन्ता जनाए । ‘शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा माओवादीले ८४ जनालाई मन्त्री बनाएछ । तर, पार्टीलाई चाहिने बेला त देखियो नि टोपबहादुरहरूलाई । लाभकै लागि जता पनि टाँसिहाल्नुपर्ने थियो भने त्यो आन्दोलन त्यो संघर्ष कुन वैचारिक धरातलमा थिइयो त ?’, उनको प्रश्न छ ।

  • भोजपुरको दिङ्ला कोभिड अस्पताललाई सहयोग

    भोजपुरको दिङ्ला कोभिड अस्पताललाई सहयोग

    भोजपुर । षडानन्द नगरपालिकास्थित कोभिड अस्पताल दिङ्लालाई २ थान अक्सिजन कन्सन्ट्रेटर र एक हजार थान मास्क उपलब्ध गराइएको छ ।

    अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले उपलब्ध गराएको ती सामग्री नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंमार्फत हस्तान्तरण गरिएको छ । ती सामाग्री सहयोग गराएकोमा फाउन्डेसका अध्यक्ष डा. भुपेन्द्र बस्नेतलाई चापागाईंले धन्यवाद दिएका छन् ।

  • भोजपुरका विपक्षी गठबन्धनको टिप्पणी – संसद विघटन लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार

    भोजपुरका विपक्षी गठबन्धनको टिप्पणी – संसद विघटन लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार

    भोजपुर । विपक्षी गठबन्धनमा रहेका यहाँका दलहरूले संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक र गैरजिम्मेवार काम गरेको टिप्पणी गरेका छन् ।

    जिल्ला नेतृत्वको संयुक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदहरूको दावीलाई संविधानको संरक्षणको दायित्व बोकेको राष्ट्रपतिबाट प्रहार भएको आरोप लगाइएको छ ।

    नेपाली कांग्रेसका सभापति नन्दमणि राई, नेकपा माओवादी केन्द्रका संयोजक नगेन्द्र भुजेल, एमालेको माधव पक्षका अध्यक्ष शरणकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष आशकुमार राईले संयुक्त प्रेस वक्तव्यमार्फत सो कदमको प्रतिवादका लागि आव्हान गरिएको छ ।

    ‘राष्ट्रपतिले संविधान विपरित प्रधानमन्त्री केपी ओलीको मिलोमतोमा प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षाको लागि सम्पूर्ण भोजपुरे राजनितिक दल, नागरिक समाज, मानव अधिकारवादी, पत्रकार तथा वुद्धिजिवी जनसमुदायहरूमा एकतावद्ध भएर प्रतिवाद गर्न हार्दिक आव्हान गर्दछौं ।’

  • भोजपुरमा १५ दिन निषेधाज्ञा

    भोजपुरमा १५ दिन निषेधाज्ञा

    भोजपुर । कोभिड-१९ को जोखिम नियन्त्रणका लागि पूर्वी पहाडी जिल्ला भोजपुरमा निषेधाज्ञा जारी गरिएको छ ।

    मंगलवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र सल्लाकार समितिको संयुक्त बैठकले भोलि राति १२ बजेबाट १५ दिनको लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    बैठकले अत्यावश्यक सेवा दिने कार्यालयमा २५ प्रतिशत कर्मचारीबाट आलोपालो गरेर सेवा दिने निर्णय गरेको छ । बैंकहरू ११ देखि दिउँसो २ बजेसम्म संचालन गर्ने, खाद्यान्न लगायतका पसल बिहान ६ बजे देखि ९ बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरेको छ ।

    भोजपुरको रामप्रसादराई गाउँपालिकामा उपाध्यक्षसहित १८ जनामा संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

  • वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’

    वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’

    उत्तर फर्किएर हेर्दा लहरै बसेका हिमालका ताँती, दक्षिण फर्किए तराईको नीलो नदी देखिने धरान-धनकुटाबीचको भेडेटारको सौन्दर्यबारे नपुगे पनि जानकार नहुने कमै छन् ।

    त्यही भेडेटारको झल्को दिन्छ भोजपुरको ‘सुन्तले’ ले । हिमाललगायत वरपरका डाँडाको दृश्यले त्यहाँ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् नै ।

    यहाँबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकनको आनन्द त उत्तिकै । हरियाली जंगल, फराकिलो नागी, सिजनमा फुल्ने गुराँससँगै खोटाङको सीमावर्ती टेम्के चुचुरोदेखि अरुण उपत्यकाको तुम्लिङ फाँटसम्मका प्राकृतिक दृश्यको वर्णन गरी साध्य छैन । हिउँ खेल्न र रमिता हेर्न पनि यहाँ मानिसको भीड लाग्छ ।

    मोटर बाटो पुगेसँगै पहाडमा सम्भावनाका ढोकाहरू खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमै अवस्थित सुन्तलेमा आन्तरिक र वाह्य पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ ।

    समुद्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यलाई बिर्साउने थलो बनेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुव श्रेष्ठ बताउँछन् । पर्यटकीय गन्तव्यको सूचीमा रहेको तेन्जिङ-हिलारी हिँडेको ‘मुन्दुम ट्रेल पदमार्ग’ यही ठाउँ भएर जान सकिन्छ ।

    यहाँ पुग्न भोजपुर बजारबाट पैदल दुई घण्टा लाग्छ। सवारी साधनबाट आधा घण्टामै पुगिन्छ । सदरमुकामबाट नजिकै भएकाले पनि छुट्टी मनाउने र साथीभाइबीच रमाइलो गर्न जानेको संख्या दिनदिनै बढ्दो छ ।

    वर्षैभरि चिसो हुने यहाँ लोकल कुखुराको तिते (किराती समुदायको विशेष परिकार) तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताको रूपमा छन् ।

    भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले सुन्तले क्षेत्रको विकासका लागि बृहत् योजना ल्याउन लागिएको बताउँछन् । नगर क्षेत्रको पर्यटकीयस्थल पहिचान गरी तिनको प्रवर्द्धन र विकासलाई आफूले प्राथमिकतामा राखेको आलेको भनाइ छ ।

     
     
     
     
     
    
    
     
    
    
     
     
     
     
  • भोजपुर गोल्डकप : रुपन्देहीले जित्यो उपाधि

    भोजपुर गोल्डकप : रुपन्देहीले जित्यो उपाधि

    भोजपुर । हराउँदै गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही भोजपुर गोल्डकपको विजेता बनेको छ । सदरमुकामस्थित टुँडिखेलमा शनिबार सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुनलाई १-० ले हराउँदै रुपन्देहीले उपाधिमाथि कब्जा जमाएको हो ।

    निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाइजले एक गोल गरी जित सुनिश्चित गर्‍यो । अतिरिक्त समयको छैटौं मिनेटमा रुपन्देहीका पेपेले १ गोल गरी टिमलाई अग्रहता दिलाए । उनी फाइनल खेलको म्यान अफ दी म्याच समेत बने ।

    प्रतिस्पर्धात्मक फाइनल खेलमा आक्रमक शैली अपनाए पनि दुवै टिमले गोलका सुन्दर अवसरहरू भने गुमाउन पुगे ।

    जितसँगै गोर्खा ब्वाईजले ५ लाख नगद र ट्रफि हात पार्‍यो । उपविजेता अफ्रिकन रुट्सले ३ लाख नगद जितेको छ । भोजपुर नगरपालिकाको प्रायोजनमा भोजपुर जिल्ला फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशीसहित ८ टिमको सहभागी भएको संघका अध्यक्ष प्रवीण सुवालले बताए ।

  • भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना, चारजना घाइते

    भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना, चारजना घाइते

    भोजपुर । जन्ती बोकेको गाडी दुर्घटना हुँदा भोजपुरमा चारजना घाइते भएका छन् ।

    भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ कुलुङबाट टेम्केमैयुङ गाउँपालिकाको दिल्पा हिँडेको ग. ३ च ३६३२ नम्बरको फोर्स गाडी षडानन्द नगरपालिका-५ चिउरीबोटेमा बिहान साढे पाँच बजे दुर्घटना भएको हो ।

    घाइते हुनेमा साल्पासिलिछो- २ का ४७ वर्षीय घनश्याम गिरी, ४८ वर्षीय बालकृष्ण गिरी, ६० वर्षीय वासुदेव गिरी, ३५ वर्षीय निलबहादुर घाइते भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

    घाइतेको अवस्था सामान्य छ । गाडीमा बेहुलासहित १४ जना सवार थिए । घाइतेलाई उपचारको लागि संखुवासभाको तुम्लिङटारस्थित मनकामना अस्पताल पठाइएको दिङ्लाका इन्सपेक्टर भाष्कर खतिवडाले बताए ।

    चिप्लो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • भोजपुरमा राखियो नेकपा एमालेको बोर्ड

    भोजपुरमा राखियो नेकपा एमालेको बोर्ड

    भोजपुर । भोजपुर एमालेले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ ।

    सदरमुकामस्थित पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरू भेला भएर नेकपा एमालेको बोर्ड राखेका हुन् । बोर्डसँगै एमाले कार्यालय स्थापना गर्न भरत तामाङ्ग, मकर खड्का, सृजना राई, सविना राईलगायतका नेताहरू उपस्थित भएका थिए ।

    यसैबीच कैलाली, कञ्चनपुरको महेन्द्रनगरमा पनि पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।
    सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेको बोर्ड राखिरहेका छन् ।

  • भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

    भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

    काठमाडौं । नेकपा विभाजनसँगै भोजपुरका नेता तथा जनप्रतिनिधिले आ-आफ्नो धार स्पष्ट पारेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा केन्द्रमा नेतृत्वबीच ध्रुवीकरणको शुरूदेखिनै फुटको बाछिटा पुगेको थियो । स्थानीय तह, विघटित प्रतिनिधिसभाका जनप्रतिनिधि र जिल्लाका केन्द्रीय अधिकांश नेता प्रचण्ड-माधव पक्षको नेकपामा उभिएका छन् ।

    नेकपा विभाजनपछि दुई कित्तामा बाँडिएका नेता कार्यकर्ताहरू आफ्नो पक्षमा कार्यकर्ता तान्‍न दिनहुँ दौडधुपमा व्यस्त देखिन्छन् । गाउँ-गाउँसम्म प्रचण्ड-माधव पक्षले भेला बैठकलाई भने तीब्र पारेको छ । ओली पक्षका नेताहरू पनि आफूलाई बलियो पार्न फोनकल र व्यक्तिगत भेटघाटमा लागेका छन् । केही कार्यकर्ता र मतदाता भने पार्टीको आधिकारिकता र चुनाव चिन्हको निर्वाचन आयोगले दिने निर्णयलाई कुरेर बसेका छन् । तल्लो तहसम्मका पूर्व माओवादी एक ढिक्का देखिएका छन् ।

    जनप्रतिनिधि को कता ?

    एक निर्वाचन क्षेत्रमा रहेको भोजपुरमा विघटित प्रतिनिधि सभा सदस्य सुदन किराँती प्रचण्ड-माधव पक्षमा छन् । उनी पूर्वमाओवादीका हुन् । भोजपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका राजेन्द्रकुमार राई प्रचण्ड-माधव पक्षमा उभिएका छन् । प्रदेश ख बाट विजयी शेरधन राई ओली पक्षमा छन् । शेरधन प्रदेश १ का मुख्यमन्त्री छन् ।

    स्थानीय तहका प्रतिनिधि को कता ?

    भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । तीमध्ये अरुण गाउँपालिका प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको थियो । भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा पनि कांग्रेसनै विजयी भएको थियो भने उपप्रमुख पूर्वएमालेले जितेको थियो ।

    टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिकाका दुवै पदमा पूर्वएमाले विजयी भएको थियो । रामप्रसादराई र पौवादुङ्‍मा गाउँपालिकामा प्रमुख पूर्वएमाले र उपप्रमुख पूर्वमाओवादीले जितेको थियो । आमचोक गाउँपालिका प्रमुख र उपप्रमुख दुवै पूर्वमाओवादी विजयी भएका थिए ।

    हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले ओली पक्षमा कित्ता क्लियर गरेका छन् । प्रचण्ड-माधव पक्षमा उभिएका स्थानीय तह प्रमुखहरूमा आमचोक गाउँपालिकाका अशोक राई र टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई छन् ।

    नेकपाले जितेका स्थानीयतहका उपप्रमुखहरू सबै प्रचण्ड-नेपाल पक्षमा छन् । भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, षडानन्द नगरपालिकाकी मेरिका राई, आमचोक गाउँपालिका उपप्रमुख सीता राई, रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई, टेम्केमैयुङकी ईन्द्रावती राई र साल्पासिलिछो गाउँपालिका उपप्रमुख धनमाया राई प्रचण्ड-नेपाल पक्षमा लागेका छन् ।

    केन्द्रीय नेता यसरी भए विभाजित

    विभाजनअघि नेकपामा भोजपुरका धेरै नेता केन्द्रीय सदस्य थिए । अजम्बर राई काङमाङ, जयन्तीदेवी राई, पदमबहादुर राई, राजेन्द्रकुमार राई, सुदन किराँती, शेरधन राई, हरिबहादुर राई केन्द्रीय सदस्य थिए । शेरधनबाहेक सबैले ओलीलाई छाडेका छन् ।

    पूर्वएमालेका नेता रहेका अजम्बर संघीय समाजवादी हुँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर एकतापछि नेकपा केन्द्रीय सदस्य बनेका थिए । पूर्वराज्यमन्त्रीसमेत भएका पदमबहादुर विप्लव पक्षबाट पछिल्लो समय नेकपामा प्रवेश गरी केन्द्रीय सदस्य भएका हुन् ।

    भोजपुर घर भई राजनीतिमा सक्रिय घनेन्द्र बस्नेत, सावित्री काफ्लेलगायत पनि दाहाल-नेपाल पक्षमा आएका छन् ।

    ओली पक्षले भने भोजपुरका कृपासुर शेर्पा, प्रेमकुमार राई, भरत तामाङ, सिर्जना राई, सुरेन्द्र उदास, धनहर्क राई, देविराम चौलागाईं, विष्णुकुकार राई र सविना राईलाई अधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    जिल्ला कमिटीको अवस्था

    नेकपा भोजपुरको तत्कालीन जिल्ला कमिटीमा प्रचण्ड-माधव पक्षको वर्चश्‍व छ । १४१ सदस्य जिल्ला कमिटीमा आफ्नो पक्षमा १११ सदस्य रहेको उनीहरूको दाबी छ । ओली पक्षका एक नेता जिल्ला कमिटीमा आफ्नो कमजोर उपस्थिति स्वीकारे पनि उनीहरूले दाबी गरेजस्तो नभई ५० जनाभन्दा बढी आफूहरूको कित्तामा रहेको बताउँछन् ।

    कार्यालमा रहेका पूर्वपदाधिकारीहरूमध्ये शरणकुमार राई, शैलेन्द्र भुजेल, वीरजंग राई, विमल खड्का प्रचण्ड-माधव पक्षमा छन् । जिल्ला अध्यक्ष प्रेमकुमार राई केन्द्रीय सदस्य मनोनीत भएपछि जिल्ला नेतृत्वमा मकर खड्काको चर्चा छ । त्यस्तै प्रचण्ड-माधव पक्षको अध्यक्षमा शरणकुमार राईको सम्भावना बलियो बनेको छ

    जनवर्गीय संगठन

    जनवर्गीय संगठनमा पनि ओली पक्ष कमजोर देखिएको छ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दीप राई र सह-संयोजक करण मुक्मेन राई प्रचण्ड–नेपाल पक्षमा छन् । अनेरास्ववियू संयोजकमा धुव्रराज राई र सह-संयोजक नविन राई पनि सोही पक्षमा छन् । तत्कालीन जनवर्गीय संगठनमा माधव नेपालनिकटको वर्चश्‍व थियो ।

    शेरधन राईको प्रभाव कमजोर !

    एमाले-माले फुटदेखि नै नचलमलाएका शेरधन राईले सत्तामा प्रभुत्व जमाएपनि जिल्लाका नेता/कार्यकर्ताहरूलाई एक ढिक्का राख्न नसकेको टिप्पणी बढ्न थालेको छ । उनी २०५६ को संसदीय चुनावमा देशभरबाट निर्वाचितमध्ये सबैभन्दा कम उमेरका सांसद हुन् । सञ्‍चारमन्त्री भएका राई अहिले मुख्यमन्त्री छन् ।

    उनको जन्मथलो आमचोक गाउँपालिका पनि स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुख दुवै पूर्वमाओवादीले जिते । अहिले दुवैजनाले दाहाल-नेपाल पक्षलाई साथ दिएका छन् ।

    एक समय उनलाई साथ दिएका जिल्लाका नेताहरू शेरधन साँघुरो घेरामा काम गर्न रुचाउने भएकोले यो अवस्था आएको अनुभव सुनाउँछन् । ‘उहाँले आफूलाई आवश्यक पर्दासम्म प्रयोग गर्नुहु्न्छ । अवसर आउँने बेलामा छाड्नुहुन्छ । अनि ठाउँमा पुगेपछि कार्यकर्तासँगै कन्भर्सेसन नै हुन पाउँदैन’, एक नेताको गुनासो छ ।

    तर, माथिल्ला नेताहरू अर्कोपट्टी लागे भन्दैमा यो अनुमान गर्न हतार हुने ओलीपक्षीय जिल्ला नेता मकर खड्का बताउँछन् । ‘सतही हेर्दा भ्रम देखिन्छ । तर कार्यकर्ता र जनतामाझ शेरधन नै लोकप्रिय हुनुहुन्छ । कुनै विचलन छैन’, खड्काले नेपालप्रेससँग भने ।