Tag: भेरी अस्पताल

  • भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा

    भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा

    रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।

    बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश दिएपछि उनीहरु आइतबार नै छुटेका हुन् । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५÷२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

    अस्पतालका डाक्टर÷नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई कारबाही गर्न चौतर्फि दबाब परेको थियो ।

    जेठ १३ गते बेलुकी तुलसीपुर उपमहानगरपालिका वडानम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए ।

    घटना भएकै दिन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएकोमा उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उनीहरुलाई सोही दिन राति प्रहरीले पक्राउ गरी थुनामा राख्दै आएको थियो ।

  • भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए

    भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए

    रुपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन समितिले उल्टै अस्पताल प्रशासनको कमजोरी भएकोतर्फ इंगित गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

    छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा अस्पतालको सेवामा केही कमी भएको संकेत गरिएको छ ।

    समिति गठन भएको ५ दिनपछि १७ गते साँझ बुझाएको प्रतिबेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्युपश्चात तत्कालै आएको आवेगको कारण हुन गएको निष्कर्ष निकालिएको जानकारी दिए ।

    घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।

    अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु¥याउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन पनि प्रतिवेदनमा भनिएको बताए । प्रतिवेदन आउनुअघि नै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

    प्रतिवेदनमा स्वास्थ्कर्मी र अस्पताल परिसरमा हुने र हुन सक्नेमाथि घटनामा संलग्नलाई कारवाहीको कानून फितलो भएकोतर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिए पनि १३ गते भएको घटनामा संलग्नहरुलाई कस्तो प्रकृतिको कारवाही गर्नुपर्ने हो वा कुन कसुरमा कारवाही हुने हो भन्ने विषय समावेश गरिएको छैन ।

    गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावतसहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए ।

    अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाइलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

    घटनामा संलग्न रहेका मृतकका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

  • भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

    भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

    रूपन्देही । पाँच दिनअघि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    घटनाकै दिन राती बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समितिका संयोजक शंकरबहादुर विष्टले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई वुझाइएको जानकारी दिए ।

    प्रजिअ गेलालले प्रतिवेदन बुझेको र अध्ययन गरेर थप गरेर अगाडि बढ्ने बताए ।

    बिहीबार राती दाङको तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए।

    घटनाको चौतर्फी विरोध भएपछि तत्काल विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासँग सोधपुछको समय नपुगेपछि समितिले एक दिन थप समय लिएको छानविन समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार पारिएको संयोजक विष्टले बताएका छन् ।

    घटनामा संलग्न रहेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले घटनाकै दिन राति नै पक्राउ गरेर अनुसन्धान शुरू गरेको थियो ।

    पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा तीनै जना विरुद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

  • भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सीडीओको नेतृत्वमा छानविन समिति गठन

    भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सीडीओको नेतृत्वमा छानविन समिति गठन

    रूपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राती चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

    कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयू कक्षमा तोडफोड गरेका थिए ।

    आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए ।

    अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दाङका एमाले नेता डिल्लीबहादुर रावतका भाई मानबहादुर रावतसहितले आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन भागेका हुन्।

    चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको हो ।

    यसअघि एक विज्ञप्ति जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निःस्वार्थ भावले अनवरत लागिरहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक अपराधजन्यको गतिविधिको भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिइन् ।

    अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषी ब्यक्ति वा समूहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपूर्ण वातावरणमा निर्भिकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग गरेको छ ।

    कोरोना संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिफर गरेर नेपालगन्ज पठाइएका संक्रमित डिल्ली रावत गत जेठ ४ गते भेरी अस्पताल भर्ना भएका थिए ।

    उनको उपचारका क्रममा विहीबार राती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरुले आईसीयूमा प्रवेशगरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

    प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका तीन जनामध्ये दुईजना डिल्लीका छोरा र मानबहादुर भाइ रहेको खुलेको छ । घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

    आक्रमणमा अगुवाई गर्ने मानबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

    घटनाको छानविन गर्न स्थानीय प्रशासनले बिहीबार राती नै सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

    चिकित्सक संघ लुम्बिनीका महासचिव डाक्टर सागर न्यौपानेले महामारीको अग्रभागमा रहेका डक्टर,नर्समाथिको आक्रमणप्रति निन्दा गर्दै अपराधीलाई कडा कारबाहीको माग गरेका छन् । उनले अपराधी जुनसुकै दलविशेषमा रहे पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन नसके उनीहरूको मनोबल बढ्न दिन नहुने बताए ।

    यसैगरी नेकपा एमाले बाँकेले घटनाको भर्त्सना गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ । एमाले अध्यक्ष सूर्य ढकालले दोषी जोसुकै भए पनि तत्काल कारबाही अगाडि बढाउन माग गरेका छन् ।

  • भेरी अस्पतालमा जोडियो अक्सिजनसहितको ट्यांक

    भेरी अस्पतालमा जोडियो अक्सिजनसहितको ट्यांक

    रुपन्देही । कोरोना प्रभावित बाँकेमा सबैभन्दा धेरै संक्रमित बिरामीको उपचार गरिरहेको भेरी अस्पतालमा अब अक्सिजन समस्या समाधान हुने भएको छ । बिरामीलाई अक्सिजन आपूर्तिमा सहजताका लागि भेरी अस्पताल नेपालगन्जमा मंगलबार लिक्विड अक्सिजनसहितको ट्यांक जडान गरिएको छ ।

    भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डारण गरिएकाले अब अस्पतालमा अक्सिजनको अभावका कारण उपचार प्रभावित नहुने बताए ।

    डा. थापाका अनुसार २० हजार लिटर क्षमताको ट्यांक जडान गरिएको भोलिपल्टै लिक्विड अक्सिजन भरिएको छ । सबै सिस्टम सेट भइसकेपछि ट्यांकबाट लिक्विड अक्सिजन सोझै पाइप हुँदै अस्पतालका शय्यामा पुग्छ । यसले भइरहेको सिलिण्डरको तुलनामा कम मूल्यमा अक्सिजन उपलब्ध हुनुका साथै सहज रुपमा बिरामीको बेडसम्म आपूर्ति हुने अस्पतालले जनाएको छ ।

    संक्रमितको उपचारका लागि विभिन्न समयमा अक्सिजन अभाव भएका कारण सबै क्षेत्रमा त्रास उत्पन्न भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले अस्पतालमा यो सिस्टम लागू भइसकेपछि उपचारमा सहज हुने बताए ।

  • बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो

    बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो

    रुपन्देही । प्रदेश र केन्द्र सरकारले बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन गरेको छ । सोमबार प्रदेश सरकारले अक्सिजनसहितको बेड व्यवस्थापनका लागि ५० लाख रुपैयाँ व्यवस्थापन गरेलगत्तै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न दरबन्दी स्वीकृत गरेको हो ।

    कोरोना संक्रमणको माहामारी थेग्नै नसक्ने गरी फैलिएपछि स्वास्थ्यकर्मीले तत्काल जनशक्ति तथा अक्सिजन बेड व्यवस्थापन नभए थप सेवा दिन नसक्ने बताएका थिए ।

    मन्त्रालयले १० मेडिकल अफिसरसहित ४० नर्स तथा प्राविधिक र स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न भेरी अस्पतालले स्विकृति प्रदान गरेको हो ।

    जनशक्तिको अभावका कारण संक्रमितहरुलाई सेवा दिनै नसक्ने अवस्था सृजना भएपछि बाँकेको कोभिड १९ संकट व्यवस्थापन समितिले थप जनशक्ति र साधन श्रोतको व्यवस्थापन गर्न प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग माग गरेको थियो ।

    मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्सिङ स्टाफ, ल्याव टेक्निसियनसहितको दरबन्दी स्वीकृति प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले सरकारले बजेट तथा दरबन्दी स्वीकृत गरेपछि केही सहज हुने बताए ।

    सोमबार नै भर्ना खुल्यो
    भेरी अस्पताललाई १० जना मेडिकल अफिसरसहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले विभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ ।

    अस्पतालले आज नै सूचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४० जना स्टाफ नर्शका लागि दरखास्त आह्वान गरेको हो ।

    अस्पतालले प्रकाशन गरेको सूचनामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने रकमबाट भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि करार सेवामा काम गर्न चाहनेहरुका लागि दरखास्त आह्वान गरिएको उल्लेख गरिएको छ ।

    प्रदेशले दियो अक्सिजन बेड व्यवस्थापनका लागि बजेट

    कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल १ करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ ।

    रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ र बाँकेमा रहेका कोरोना विशेष अस्पतालका लागि आवश्यक अक्सिजन बेड व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

    केसीका अनुसार कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँ र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउन लागिएको हो ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको कोरोना रोकथाम, उपचार तथा निर्देशन समितिको बैठकले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको बेड व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । बैठकले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।