Tag: भूमि सम्बन्धी समस्या समाधान आयोग

  • नयाँ पदाधिकारी भर्ती गरेर भूमि आयोग व्यूँताउने सरकारको तयारी

    नयाँ पदाधिकारी भर्ती गरेर भूमि आयोग व्यूँताउने सरकारको तयारी

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोग विघटन गर्ने मन्त्रीपरिषदको निर्णयको चौतर्फी विरोधपछि यसलाई फेरि ब्यूँताउने तयारी सरकारले गरेको छ । अघिल्लो ओली सरकारले बनाएको आयोगलाई गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले विघटन गरेको थियो ।

    राजनीतिक पूर्वाग्रह राखेर देउवा सरकारले आयोग विघटन गर्दा भूमिहीन सुकम्बासीहरु अन्यायमा परेको भन्दै आलोचना भएपछि सरकारले पुनर्गठनको तयारी गरेको हो । विघठित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमी–कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग पुनर्गठन गर्ने गृहकार्य सुरु भएको सरकारको भनाइ छ । शनिबार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय समाचार समिति (रासस) मार्फत सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

    उनले भने, ‘अघिल्लो सरकारले आयोग गठन गर्दा केही प्रक्रियागत, कानूनी र प्राविधिक कमी-कमजोरी भएको थियो, यसलाई परिमार्जन र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाएर भूमिहीनलाई जग्गाको स्वामित्व दिन्छौं ।’

    संविधानको मौलिक अधिकारमै भूमिहीन र दलितको हक सुुनिश्चिता गरेकाले यसलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँणले बताएका छन् ।

    उनले भने, ‘भूमिहीनका समस्या समाधानसँग सम्बन्धित सबै सरोकारवालालाई हामी आग्रह गर्छौं। यो विषयमा आत्तिनुपर्ने र राजनीतिकरण गर्नुपर्ने आवश्यकता छैन ।’

    संविधानले भूमिहीन र दलितलाई एकपटकका लागि जग्गा दिने र बसोबासको व्यवस्था गर्ने तथा अन्यलाई पनि उचित बसोबासको व्यवस्था र जग्गा प्रदान गर्ने कार्यमा आधारशीला तयार गरेको खाँणले बताए ।

    उनले भने, ‘भूमिहीनलाई उचित समयमा लालपूर्जा दिन्छौ । त्यसका लागि सरकार कटिबद्ध छ । छुटेका विषयलाई पनि संशोधन गरेर आयोग चाँडै बन्छ ।’

    ‘विघटन हो, खारेज होइन’

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतले आयोग विघटन मात्र भएको र खारेज नभएको जनाएको छ । आयोगमा नयाँ पदाधिकारी भर्ति गरेर फेरि ब्यूँताइने उनको भनाइ छ ।

    आयोगका एक उच्च अधिकारीले नेपाल प्रेससँग भने, ‘सरकारले आयोगका पदाधिकारीलाई मार्गप्रशस्त गरिदिनुस भनेकै हो । उहाँहरुले मान्नुभएन । आयोग गठन आदेशमा केही त्रुटी देखिएका छन् । त्यसलाई पनि समेट्नुपर्ने भएकाले विघटन गरिएको हो । फेरि नयाँ सरकार बनेपछि र आफ्नो अनुकुल मान्छे राख्दा सहज हुन्छ भन्ने लाग्नु स्वभाविक पनि हो ।’

    ती पदाधिकारीका अनुसार आयोग विघटन भएसँगै गठन आदेश पनि खारेज भएको छ । उनले भने, ‘अब नयाँ सकारको चाहना अनुसार गठन आदेश हुन्छ । त्यसका आधारमा आयोग पुनर्गठन गरिन्छ । आयोगमा स्थायी कर्मचारी संरचना केही पनि हँुदैन । पदाधिकारी र अस्थायी कर्मचारी संरचना मात्र विघटन भएको हो ।’

    संविधानको मौलिक हक अन्तरगत धारा ४० मा दलितको हकसम्वन्धी व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानूनबमोजिम एकपटक जमीन उपलब्ध गराउनुपर्ने उल्लेख छ । यस्तै, उपधारा ६ मा राज्यले आवासविहीन दलितलाई कानून बमोजिम बसोबासको व्यवस्था गर्ने भनिएको छ । तर त्यो व्यवस्था गठन आदेशमा नसमेटिएको मन्त्रालयका ती अधिकारी बताउँछन् ।

    उनले भने, ‘गठन आदेश केलाउँदै जाँदा त्यस्तो भेटियो । अब हुने गठन आदेशमा उक्त व्यवस्थासमेत सम्बोधन गर्नेगरी सरकारले आयोग पुनर्गठनको तयारी गरिसकेको छ । मलाई लाग्छ जतिसक्दो चाडै आयोग व्यूँतिएर अहिलेसम्म भएका कामलाई पनि निरन्तरता दिनेगरी अघि बढ्छ ।’

    तर मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अहिलेसम्म आधिकारीक जानकारी वा परिपत्र आइनसकेको बताए ।

    उनले भने, ‘थप केही पनि आएको छैन । तत्काल गठन गर्नुपर्छ भन्ने मत सुनिएको छ । नयाँ किसिमले जानु हुँदैन, काम अलपत्र पार्नु हुदैँन र यसलाई निरन्तरता दिनुपर्छ भन्ने नै आवाज उठिरहेको छ । त्यसैले चाँडै आयोग व्यूतिन्छ भन्ने हामीले बुझेका छौ ।’

    तर अहिलेसम्म कुनै पनि परिपत्र आइनसकेको हुनाले मन्त्रालयले के हुन्छ भन्न नसक्ने उनले बताए । जोशीका अनुसार विघटन भएसँगै आयोग गठन आदेश पनि खारेज भइसकेकाले अब नयाँ संंरचनामा आयोग गठन हुनेछ । कुनै पनि राजनीतिक निर्णय भएमा र निर्देशन आएमा मन्त्रालय तयारी अवस्थामा रहेको उनले बताए ।

    आयोग विघटन भए पनि आयोगमा रहेको स्थायी कर्मचारी संयन्त्र भने यथावत रहेको उनले बताए ।

    उनले भने, ‘अहिलेसम्म आयोगले गरेका काम गतिविधि र विवरण भदौ मसान्तसम्ममा सबै व्यवस्थित र सुरक्षित तरिकाले राख्न आयोगका कर्मचारीलाई निर्देशन गईसकेको हामीले बुझेका छौ । जिल्ला समितिको हकमा पनि सम्बन्धित जिल्लाको मालपोत कार्यालयलाई कर्मचारी संयन्त्रमार्फत निर्देशन गइसकेको छ ।’

    माओवादीको आग्रह, एमालेको दबाब

    सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि भर्खरै विघटन भएको भूमि समस्यासम्बन्धी समाधान आयोग पुनर्गठन गर्न सरकारलाई आग्रह गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले भूमिहीन, दलित, अव्यवस्थित बसोबासको समस्या ज्यूँका त्यूँ रहेको भन्दै छिटो पुनर्गठन गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

    संविधान र कानुनअनुरूप यथासक्य चाँडै भूमि आयोग बनाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आयोग बनाएर नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता छ ।’

    नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयप्रति सरकारको ध्यानकर्षण गराउँदै अविलम्ब सच्याउन माग गरिसकेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयबाट संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन भएको बताएका छन् ।

    ऐनबमोजिम गठन भएको आयोज खारेजीले सरकार दलित र भमिहीन विरोधी रहेको पुष्टि भएको प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । १२ लाखभन्दा बढी भूमिहीन सुकुमबासीले जग्गा पाउने बेलामा आयोग खारेजी गरिएको भन्दै एमालेले निर्णय फिर्ता लिन माग गरेको छ ।

    स्थानीय तहको असन्तुष्टि

    आयोग विघटन गर्ने मन्त्रीपरिषदको निर्णयमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले असन्तुष्टि जनाएका छन् । महासंघ र संघले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै भूमि आयोग विघटन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

    ‘विगतमा यस्ता आयोग बन्ने र बिघटन हुने तथा एउटा आयोगले सम्पादन गरेको कार्यको त्यसपछि बन्ने आयोगले स्वामित्व नलिने प्रचलनले समस्याको समाधान हुन सकेन र अब पनि हुने सक्ने देखिदैन । आयोगलाई अविच्छिन्न उत्तराधिकार संस्थाको रुपमा लिई सम्पादित कार्यको स्वामित्वग्रहण गरेर अघि बढेमा मात्र यि समस्या सहजै समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ,’ महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र संघका अध्यक्ष अशोक व्याञ्जुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    आयोगको नेतृत्व तथा स्थानीय तहको ठुलो लगानी र अथक प्रयासबाट अहिलेसम्म भएको उपलब्धीको संरक्षण एवं कार्यान्वयन गरी भूमिहिनको मौलिक हक कार्यान्वयन गर्न गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका महासंघले विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    झण्डै १२ लाख भूमिहिनको विवरण संकलन

    आयोगको रेकर्ड अनुसार दुई लाख ४७ हजार नौ सय ६० दलित र सुकुम्बासी तथा नौ लाख २२ हजार आठ सय एक अव्यवस्थित बसोबासीले विवरण फारम भरिसकेका थिए । यस्तै, पाँच सय १३ स्थानीय तहको सूचना प्रकाशन भई तीन सय १९ भन्दा बढी स्थानीय तहमा लगत संकलन पुरा भइसकेको छ ।

    आयोगले यस अवधिमा १७ लाख फाराम छपाएर वितरण गरेको थियो, जसमा ११ लाख ८० हजारको रेकर्ड आयोगले प्राप्त गरिसकेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका अनुसार गत असार मसान्तसम्म दुई लाख ४७ हजार नौ सय ६० भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा नौ लाख ३२ हजार आठ सय एक अव्यवस्थित सुकुम्बासी गरेर जम्मा ११ लाख ८० हजार सात सय ६१ जना भूमिहिन दलित र भूमिहित सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण आयोगले प्राप्त गरेको हो ।

    कालिकोट, पाल्पा, रुपन्देही, तनहुँ, लगायतका विभिन्न जिल्लामा सबै काम सकाएर जग्गाधनी पूर्जा नै वितरण गर्ने अवस्थामा पुगिसकिएको आयोगले जनाएको छ । ती जिल्लाका ४० हजार भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने अन्तिम चरणमा आयोग पुगेको जनाइएको छ ।

    आयोगका अनुसार सात सय ५३ स्थानीय तहमध्ये सात सय ४३ स्थानीय तहसँग कार्यसम्पादन समझदारी पत्रमा सम्झौतामा हस्ताक्षर भइसकेको छ । ५ सय १३ भन्दा बढी स्थानमा सहजीकरण समिति पनि बनिसकेको छ । वडा तहमा पनि सहजीकरण गर्न हजारौं समिति गठन गरिएको छ ।

    लगत संकलनका लागि आयोगले विज्ञापन गरिएको सूचना समेत राष्ट्रिय पत्रिकामा निकालेको थियो । पाँच सय ५३ स्थानीय तहमा लगत संकलनका लागि विज्ञापन समेत प्रकाशित गरिएको र त्यसमध्ये तीन सय १९ स्थानीय तहले आफ्नो लगत संकलन सकेको जानकारी आयोगलाई गराइसकेका छन् । लगत संकलनलाई व्यवस्थित गर्न नयाँ प्रणालीको विकास गरिएको छ । एक लाख ७१ हजार लगतलाई नयाँ प्रणालीमा अर्थात बिद्युतीय डिजिटल प्रणालीमाा राखिएको छ । आयोगले नौ हजार विघा जग्गाको यसबीचमा नापजाँच गरेको छ । त्यसअघिका आयोगलाई प्राप्त तर समाधान निस्कन नसकेका ४५ हजार बढी उजुरीमा आयोगले अध्ययन पनि गर्न सुरु गरिसकेको छ ।

    आयोगका अध्यक्ष ज्ञवालीले आयोगको संरचना विघटन भए पनि आफ्नो नेतृत्वमा भएका काम सरकारलाई हस्तान्तरण गर्न चाहेको बताए ।

    उनले भने, ‘आयोग विघटन त भइसक्यो, अब कम्तिमा पनि हामीले गरेको काम हस्तान्तरण गर्न पाएको भए र सरकारले यसलाई अहिलेकै चरणमा अघि बढाउन सकेको भए आफुले काम गरेकोमा केही सन्तोष मिल्ने थियो ।’

  • भूमि आयोग खारेजीविरुद्ध एमाले आन्दोलनमा, सुकुम्बासीसहित किसान महासंघ र युवा संघको प्रदर्शन

    भूमि आयोग खारेजीविरुद्ध एमाले आन्दोलनमा, सुकुम्बासीसहित किसान महासंघ र युवा संघको प्रदर्शन

    काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । आयोग खारेजी गरेर सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै एमालेले विरोध गरेको छ ।

    आयोग विघटनविरुद्ध आज एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । अपरान्ह ३ बजे विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीहरुमार्फत ज्ञापनपत्र बुझाउने कार्यंक्रम रहेको महासंघका अध्यक्ष प्रेम दंगालले बताए ।

    त्यस्तै एमाले सम्बद्ध युवा संघले पनि आजै विरोध प्रदर्शन गर्दैछ । भक्तपुरको मनहरा फाँटको सुकुम्बासी बस्तीबाट आयोग खारेजविरुद्ध आन्दोलनको शुरुआत हुने युवा संघका इन्चार्ज तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले जानकारी दिएका छन् ।

    सुकुम्बासीहरुसहितको आन्दोलन अब देशब्यापी अघि बढाइने उनले बताएका छन् । यसअघि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले आयोग खारेजीको निर्णय सच्याउन सरकारलाई आग्रह गरेका थिए ।

    याे पनि पढ्नुहाेस्

    भूमि आयोग विघटनअघि गृहमन्त्री खाँणसँग देवी ज्ञवालीको सवाल-जवाफ

  • भूमि आयोग विघटनअघि गृहमन्त्री खाणसँग देवी ज्ञवालीको सवाल-जवाफ

    भूमि आयोग विघटनअघि गृहमन्त्री खाणसँग देवी ज्ञवालीको सवाल-जवाफ

    काठमाडाैं । केपी ओली सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न बनाएको आयोग देउवा नेतृत्वको सरकारले विघटन गरिदियो । बुधबार बसेको मन्त्रीपरिषदले आयोग विघटनको निर्णय लिनुअघि सरकारले आयोग पदाधिकारीलाई ‘मार्गप्रशस्त’ गर्न निर्देशन दिएको खुलेको छ ।

    सरकार परिवर्तनसँगै आयोग विघटन हुने चर्चा सुरु भएको थियो । मन्त्रीपरिषदले यसबारे निर्णय गर्न सक्ने आँकलन गरेका आयोगका पदाधिकारीहरु चिन्तित बनेका थिए । यसलाई रोक्नका लागि अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चाहेको सन्देश पठाए । प्रधानमन्त्री देउवाले भने आफूले नभेटी गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न भने ।

    खाँणका विश्वासपात्र मानिन्छन् सचिव पाण्डे । उनलाई गृहमन्त्री खाँडले गृह सचिव बनाउने बचनसमेत दिइसकेका छन् । उनैमार्फत गृहमन्त्री खाँणले आयोगका पदाधिकारीलाई भेट्न सन्देश पठाएका थिए ।

    सचिव पाण्डेले आयोगका चार दिनअघि अध्यक्ष ज्ञवालीलाई खवर गरे । गृहमन्त्रीले भेट्न बोलाएको खवरले आयोग पदाधिकारीमा आशा पलायो । अध्यक्ष ज्ञवाली पाँचजना पदाधिकारी साथमा लिएर गृहमन्त्रालय पुगे । गृहमन्त्रीसँगै थिए उनका पीए, भूमि सचिव पाण्डे र आयोगका पदाधिकारी । उनिहरुबीच गृह मन्त्रालयमा करिव आधा घण्टा छलफल भयो ।

    भेटमा गृहमन्त्रीले केही सोध्न नपाउँदै ज्ञवालीले प्रश्नको वर्षा गरे, ‘अहिलेको सरकारको सोच के हो ? आयोगमा आएर हामीले के नराम्रो काम गरेका छौ ? आयोगलाई विघटन नगरी नहुने किन ? जुन सरकारले गठन गरे पनि भूमिहीनलाई जग्गा दिने त होइन र ? यहाँहरुको पालामा काम गर्न सक्यौ भने तपाईहरुकै लागि राम्रो हुने होइन ?’

    ज्ञावाली बोलिसकेपछि गृहमन्त्री खाँणले प्रश्न गरे, ‘त्यसो भए आयोगले अहिलेसम्म के–के काम गरेको छ देखाउनुस न त ?’

    आयोगका अध्यक्ष र पदाधिकारीसहित सबैजनाले आयोगले गरेका कामको बेलिबिस्तार लगाए ।

    त्यो सुनिसकेपछि खाँणले भने, ‘तपाईंहरुले काम त राम्रै गर्नुभएको रहेछ । तर के गर्नु तपाईहरुलाई थाहा नै छ । यत्रो ठुलो गठबन्धनको सरकार छ । गठबन्धनका मान्छेलाई पनि हामीले जिल्लास्तरसम्म व्यवस्थापन गर्नुछ । त्यसैले तपाईंहरुले मार्गप्रशस्त गरिदिनुपर्‍याे ।’

    त्यसपछि आयोगका अध्यक्ष ज्ञवालीले प्रतिपश्न गर्दै भने, ‘तपाई एकातिर राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ । अर्कोतिर मार्गप्रशस्त गरिदिनुस् पनि भन्नुहुन्छ । यो त संवैधानिक व्यवस्थाअनुसार बनेको आयोग हो । हामीले सरकारकै काममा सहयोग गर्ने हो । बरु हामीलाई पेलेरै काम लगाउनुस न, जति पेलिन पनि तयार छौं । तर, विघटन गर्नु राम्रो होइन । यसले भूमिहीनको हित गर्दैन । अर्को गठन गर्न ६ महिना लागिहाल्छ । त्यतिबेलासम्म स्थानीय तहको निर्वाचन आइसक्छ । स्थानीय तहमा नयाँ नेतृत्व आएपछि आयाोगले राम्रोसँग काम गर्न सक्दैन । तपाईहरुले चोहेको नतिजा आउँदैन ।’

    तर, पनि खाँण कन्भिन्स्ड भएनन् । उनले मार्गप्रशस्त गर्नैपर्ने अडान लिए ।

    त्यसपछि ज्ञवालीले थपे, ‘हामीलाई अघिल्लो सरकारले ल्याएको हो । तपाईंहरुले भन्ने वित्तिकै पनि छोडिहाल्ने कुरा पनि आउँदैन । हामीलाई ल्याउने नेतृत्वले के भन्नुहुन्छ, सल्लाह गर्नैपर्छ ।’

    आयोगका पदाधिकारीको जवाफ सुनिसकेपछि गृहमन्त्री खाँणले भने, ‘तपाईंहरुको कुरा म प्रधानमन्त्री समक्ष पुर्‍याउँछु । यो सबै मेरो बसमा पनि छैन । तपाईंहरुले छलफल गर्न चाहनुभएको छ भन्ने खवर पाएपछि उहाँले मलाई तपाईंहरुको कुरा सुन्न भन्नुभएको हो । उहाँले तपाईंहरुलाई मार्गप्रशस्त गरिदिनुस भन्ने सन्देश पठाएकोले त्यही सन्देश मैले सुनाएको हो ।’

    सो भेटघाटबारे गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्रिफिङ गरेका थिए । त्यो सुनेपछि देउवा आयोग पदाधिकारीले राजीनामा नदिने निस्कर्षमा पुगे । जबरजस्ति गर्दा फेरि अदालतले फर्काइदिनसक्ने बारे मन्त्रीपरिषदमा छलफल भएको स्रोत बताउँछ ।

    अन्ततः पदाधिकारीसँग छलफल गरको तेस्रो दिन अर्थात मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गर्यो । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा विभिन्न निर्णय सुनाउँदै गर्दा भने, ‘भूमि सम्बन्धी समस्या समाधान आयोग विघठन गर्ने निर्णय गरिएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्षको वैशाख १ गते राजपत्रमा सूचना प्रकाशित गरी आयोग गठन गरेको थियो । सूचना प्रकाशित भएको तीन दिनपछि बैशाख ४ मन्त्रिपरिषद्को निर्णयबाट आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवाली, एक विज्ञ सदस्य जगत देउजा र अन्य तीन सदस्यमा भीमबहादुर कार्की, मञ्जली शाक्य, र दिनेशचन्द्र यादव नियुक्त गरिएका थिए । आयोगका सदस्य यादवको कोरोनाका कारण ६ महिनाअघि मृत्यु भएपछि सरकारले उनका छोरा बिक्रम यादवलाई सदस्यमा नियुक्त गरेको थियो ।

    भूमिसम्बन्धी आठौ संशोधन ऐन २०७६ को दफा ५२ को ख को ६ मा भूमिहीनलाई जग्गा उपलब्ध गराउनका लागि आयोग गठन गर्न सक्ने व्यवस्था गरेको छ । त्यसै व्यवस्थामा टेकेर तत्कालिन सरकारले निर्णय गरेको थियो । त्यसपछि आयोगले सातवटै प्रदेश सरकारको सिफारिसमा सातजना सदस्य थप्यो । प्रदेश १ बाट गोपाल गुरागाई, प्रदेश २ बाट जगदेव यादव, बागमती प्रदेशबाट केशव देवकोटा, गण्डकी प्रदेशबाट एक बहादुर रानामगर, लुम्बिनी प्रदेशबाट शोभाराम बस्नेत, कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशबाट अगस्तराज अधिकारी नियुक्त भएका थिए । उनीहरुलाई तत्कालिन भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा आर्यालले बैशाख ४ गने नै सपत गराएकी थिइन् ।

    संघीय संरचनामा आयोग गठन भएको १० महिनापछि जिल्ला संरचना निर्माण भएको थियो । २०७७ माघ १५ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिष्रिषदले बैठकले ७७ जिल्लामा एक अध्यक्ष, एक विज्ञ सदस्य र एक अर्को सदस्य गरी एकैपटक दुई सय २१ जनालाई जिल्ला पदाधिकारीमा नियुक्त गरेको थियो ।

  • भूमिहीन-सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक तथ्यांक सांर्वजनिक (सूचीसहित)

    भूमिहीन-सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक तथ्यांक सांर्वजनिक (सूचीसहित)

    काठमाडौ । मुलुकभर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या सवा ८ लाख नाघेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरण अनुसार अव्यवस्थित बसोबासीको संख्या ४ लाख १४ हजार ४ सय १८ पुगेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको सख्ंया ४ लाख ६ हजार ५ सय २ पुगेको हो ।

    ७ वटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरण अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जम्मा संख्या ८ लाख २० हजार ९ सय २० पुगेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार सबैभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या बागमती प्रदेशमा १ लाख ८८ हजार ३ सय ६४ पुगेको छ भने अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ लाख ५३ हजार ६ सय ८ पुगेको छ ।

    आयोगका विज्ञ सदस्य जगत देउजाका अनुसार मुलुकभरका ७७ वटै जिल्लाको विवरण आयोगलाई प्राप्त भइसकेको छैन् । तर अहिलेसम्म ७ वटै प्रदेशका ७७ जिल्लामध्ये ३९ जिल्लाका पनि आंशिक स्थानीय तहको प्राप्त प्रारम्भिक विवरण अनुसार सबैभन्दा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या ९ लाख ३० हजार ३० पुगेको छ ।

    जसमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या १ लाख ९६ हजार ३ सय १५ छ भने अव्यवस्थित बसोबासीको संख्या ७ लाख ३३ हजार ७ सय १५ छ । जसमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा धेरै सुदूरपश्चि प्रदेशको कैलाली जिल्लामा रहेको छ ।

    कैलालीमा ७५ हजार ७ सय ४२ अव्यवस्थित बसोबासी र १६ हजार ५ सय २५ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरेर जम्मा संख्या ९२ हजार २ सय ६७ पुगेको विज्ञ सदस्य देउजाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार दोस्रोमा सुदूरपश्चिम प्रदेशकै कञ्चनपुरमा ६५ हजार ३० अव्यवस्थित बसोबासी र ४ हजार ७ सय ३७ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरेर जम्मा ६९ हजार ७ सय ६७ रहेका छन् ।

    आयोगले समझदारीपत्रमा हस्ताक्षर र लगत संकलनको कार्य चरणबद्ध रुपमा गरेको हो । आयोगको संस्थागत क्षमता र आयोगले बनाएका मापदण्ड, कार्यविधि र ढांचाको परीक्षण तथा सिकाई गर्न केही स्थानीय तह छनौट गर्दै अघि बढेको आयोगका अध्यक्ष देवी ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।

    त्यसै अनुसार आयोगले पहिलो चरणमा छानिएका १ सय ३१ स्थानीय तहमध्ये प्रत्येक प्रदेशबाट २ वटाका दरले १४ वटा स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर गरी लगत संकलनको काम अघि बढाइएको उनले बताए । यसरी छानिएका १४ स्थानीय तहका लागि गत पुष ८ गते लगत संकलनको सुचना आयोगले प्रकाशन गरेको थियो ।

    त्यसैगरी पहिलो चरणमा छानिएका मध्ये बाँकी स्थानीय तहसँग प्रदेशगत रुपमा समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रम गरिएको थियो । चैत्र मसान्तसम्म आयोगले ६ सय ६४ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी विभिन्न मितिमा २ सय ६२ स्थानीय तहका लागि आयोगले लगत संकलन गर्न पाँच पटकसम्म सूचना प्रकाशन गरिसकेको छ ।

  • भूमिहीनको विवरण संकलनमा भेदभाव नगर्न मन्त्री तुम्बाहाम्फेको निर्देशन (भिडियाे)

    भूमिहीनको विवरण संकलनमा भेदभाव नगर्न मन्त्री तुम्बाहाम्फेको निर्देशन (भिडियाे)

    काठमाडौं । सरकारले भूमिहिनको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समिक्षा एवं वार्षिक प्रतिवेदन–२०७७’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आयोगका पदाधिकारी यस्तो निर्देशन दिएकी हुन् ।

    मन्त्री तुम्बाहाङ्फेले केही स्थानीय तहमा यस्तो समस्या देखिएको गुनासो आएको भन्दै राजनीतिक रुपमा भेदभाव नगरी काम गर्न निर्देशन दिएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो सुकुम्बासीको समस्या भनेको कुनै एउटा दलको समस्या होइन । सबै दलको, सबै नेपाली जनताको, सरकारको समस्यालाई समाधान गर्ने एउटा उद्देश्य हो । त्यसकारण आयोगले के ध्यान दिन प¥यो भने त्यो विवरण भराउदाँ यो वा त्यो दलको नाममा कसैको विवरण छुटनु भएन । छुट्यो भने पनि गलत हो । छुटने काम हुन हुँदैन भन्ने खालको कुरा आयोगले तल स्थानीय तहसम्म यो सन्देश सम्प्रेषण गर्न जरुरी छ ।’

    भूमिहिनको विवरण सङ्कलन गर्दा कुनै पनि कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिले गलत विवरण सङ्कलन गरेमा कारबाही गर्ने तर्फ पनि ध्यान दिन आयोगलाई निर्देशन दिइन । विवरण सङ्कलन गर्नु भन्दा अगाडि नै यस सम्बन्धमा जानकारी गराउने र त्यसो गर्दा पनि सही विवरण नदिएको पाइएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन उनले आयोगलाई निर्देशन दिईन ।

    उनले भनिन्, ‘यदि कुनै जनप्रतिनिधि वा त्यो विवरण सङ्कलन गरिरहदा खटने कर्मचारीले गलत विवरण सङ्कलन गरेमा वा गलत विवरण भर्नका लागि उक्साहट गरेमा यो ऐनमा व्यवस्था भए अनुसार दण्ड सजाय जे व्यवस्था छ त्यो कारबाही हुन्छ भन्ने कुरा नविर्सनुहोला । यो मैले पटक पटक दोहो¥याई रहेको अवस्था छ । मैले पहिले पनि अध्यक्ष ज्यूलाई भनिसकेको छु ।’

    मन्त्री तुम्बाहाङ्फेले सरकार परिवर्तन हुने वित्तीकै आयोगको नेतृत्व पनि परिवर्तन हुन्छ र आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्छु भन्ने मानसिकता नबनाउन पनि निर्देशन दिइन् ।

    कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले केही स्थानीय तहमा आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्ने मनसाय रहेकाले समस्या भएको बताए । केही स्थानीय तहमा समस्या नै नभएको र केहीमा राजनीतिक हिसाबले काम हुन नसकेको पनि अध्यक्ष ज्ञवालीले स्वीकार गरे । कतिपय स्थानीय तहको बुझाइमा कमजोरी हुँदा पनि विवरण सङ्कलन हुन नसकेको बताए ।

    आयोगको वार्षिक प्रतिवेदन अनुसार देशभर ४ लाख ६ हजार ५ सय २ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको संख्या रहेकाे छ । यस्तै अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ ।

  • जग्गा पाउने लोभमा वन जंगल अतिक्रमण गर्नेलाई सरकारले कारवाही गर्ने

    जग्गा पाउने लोभमा वन जंगल अतिक्रमण गर्नेलाई सरकारले कारवाही गर्ने

    काठमाडौं । सरकारले कुनै व्यक्ति, परिवार वा समूहले तत्काल कुनै स्थानमा वन जंगल फडानी गरी वा अतिक्रमण गरी बसोबास गरेको पाइए भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गा उपलब्ध नगराउने स्पष्ट पारेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो कार्य गर्ने गराउनेलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएकाे हाे ।

    विगत केही दिन यता विभिन्न सञ्चार माध्यममा भूमिहीन सुकुम्बासीको नाममा जग्ग पाउने लोभले वन लंगल फडानी भएको विषयमा प्रकाशित समाधारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका सूचना अधिकारी समेत रहेका उपसचिव टोलराज उपाध्यायकले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

    ‘कुनै जग्गामा कुनै व्यक्ति, परिवार वा समूहको बसोबास कहिले देखि भएको हो भन्ने विषय एकीन गर्न स्थलगत सर्जमीन गरिने, स्थानीय तहको  सिफारिस र कार्यपालिकाको निर्णय आवश्यक पर्ने र सर्जमीनबाट भएको सिफरिसको सत्यापन भूमि सम्बन्धी (अठारौ) संशोधन) नियम, २०७७ को नियम ४१ (ज) चार बमोजिम विगतमा लिइएका हवाई फोटो वा भूउपग्रह तस्बीरको माध्यमबाट समेत गरिने छ ।’ मन्त्रालयकाे विज्ञप्तीमा भनिएको छ ।

    त्यसैले कुनै पनि व्यक्ति, परिवार वा समूहले जग्गा प्राप्त गर्ने प्रयोजन कै लागि अहिले तत्काल वन जंगल पडानी गर्ने, सरकारी सार्वजनिक जग्गा अतिक्रमण गर्ने जस्ता गैर कानूनी क्रियाकलाप नगर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तो कार्यलाई कसैले पनि सहयोग वा प्रोत्साहन नगर्न र स्थानीय तहलाई पनि यस्तो किसिमको जग्गाको झुठो सिफारिस नगर्न नगराउन मन्त्रालयले विज्ञप्तीमार्फत नै स्पष्ठ पारेको छ ।

    मन्त्रालयले यस्तो आग्रह गर्दागर्दै पनि यस्ता किसिमको गैरकानूनी काम र झुठो विवरण आधारमा सिफारीस गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ । दशकौं देखि देशमा विद्यमान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सधैका लागि समाधान गर्न सरकारले एक वर्ष अघि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको हो ।

    आयोगले भूमि सम्बन्धी ऐन, २०२१ (आठौं संशोधन २०७६) मा उल्लिखित बाहेक अन्य जग्गा १० वर्ष वा त्यस भन्दा अघि देखि आवाद कमोत गरिआएको आधारमा भूमि सम्बन्धी (अठारौं संशोधन) नियम, २०७७ मा उल्लेख भए बमोजिम उपलब्ध गराउने व्यवस्थित गर्ने प्रकृया शुरु गरिसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

  • रुपन्देहीमा पौने एक लाख भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी

    रुपन्देहीमा पौने एक लाख भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी

    रुपन्देही । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जिल्लामा पौने एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवार रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । आयोगले जिल्लामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित पौने एक लाख घरपरिवारले जग्गाको स्वामित्व प्राप्त गर्नसक्ने देखिएकोे जनाएको हो ।

    माघ २४ गतेबाट काम सुरु गरेको जिल्ला समितिले केही स्थानीय तहमा तथ्यांक संकलन गरिसकेको र केही तथ्यांक संकलन जारी रहेको आयोगका सदस्य गंगा कार्कीले जानकारी दिए । अहिलेसम्म विभिन्न पालिकाबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा यति संख्यामा भूमिहिन र सुकुम्बासी रहेको आँकडा निकालिएको उनको भनाइ छ ।

    आयोगका जिल्ला अध्यक्ष बलबहादुर आचार्यका अनुसार तथ्यांक संकलन गरिएका पालिकामध्ये बुटवल उपमहानगरपालिकामा १५ हजार ४ सय ३०, देवदह नगरपालिकामा १४ हजार ३ सय ४३, सैनामैना नगरपालिकामा १३ हजार, तिलोत्तमा नगरपालिकामा ७ हजार ७ सय ३२ रहेका छन् । त्यसैगरी कञ्चन गाउँपालिकामा १२ हजार ६ सय ८६, गैडहवामा ८ हजार ९ सय १५ र मायादेवी गाउँपालिकामा ७ सय १६ परिवार भूमिहिन र अव्यवस्थित बसोबासी रहेको आचार्यले जानकारी दिए ।

    सियारी र शुद्धोधन गाउँपालिकामा तथ्यांक संकलनको कार्य सुरु भएको अध्यक्ष आचार्यले बताए । उनका अनुसार सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकामा, कोटइमाइ, मर्चवारी र सम्मरीमाइ गाउँपालिकामा पनि तथ्यांक संकलनको तयारी सुरु गरिएको छ ।

    आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा यी स्थानीय तहबाट करिब ७२ हजार ७ सय ९५ घरपरिवारको जग्गाको नापजाँच गरी पूर्जा वितरण हुने जनाएको छ । आयोगले तथ्यांक संकलन कार्य सम्पन्न भइसकेका स्थानीय तहका वडामा तथ्यांक जाँचबुझ र सार्वजनिक सुनुवाई स्थानीय तहमार्फत तथ्यांक आउने भएकाले थप प्रभावकारी बन्ने जनाएको छ ।

    बिगतका आयोग, समिति र कार्यदलले काम गर्दै अधुरा रहेका कार्यको बाँकी काम सम्पन्न गर्ने र फागुन १० गते जारी भएको ३५ दिने सूचनापछि प्राप्त निवेदन दर्ता हुने काम भइरहेको आयोगले जनाएको छ ।

    नेपाल सरकारले गत माघ १५ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला जिल्ला समिति गठन गरेको थियो । आयोगको जिल्ला समितिमा विज्ञ सदस्यमा कृष्णबहादुर कुँवर छन् ।

  • भूमि आयोगका ७७ जिल्ला अध्यक्ष, दलित ३ जना मात्रै, महिला ६ जना

    भूमि आयोगका ७७ जिल्ला अध्यक्ष, दलित ३ जना मात्रै, महिला ६ जना

    काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गर्दा ३ जिल्लाका  अध्यक्षमा मात्र दलित नियुक्त गरेको छ ।

    ५ दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको जिल्ला समितिमा धनकुटा जिल्ला समितिको अध्यक्षमा नैनकुमार विश्वकर्मा, हुम्लाको अध्यक्षमा प्रकाश बहादुर सुनार र बैतडीको अध्यक्षमा नरेश कुमार विश्वकर्मा नियुक्त गरेको हो ।

    आयोगका जिल्ला समितिमा महिला अध्यक्ष भने ६ जना नियुक्त भएका छन् । जसमा पाँचथरको अध्यक्षमा करुणा राई, पर्सामा विनादेवी शर्मा, नुवाकोटमा विन्द्रा ढुंगाना, बाँकेमा शान्तीदेवी ढकाल, नवलपरासी पश्चिममा बिमला अर्याल र कञ्चनपुरमा कमला बोहोरा अध्यक्ष नियुक्त भएका हुन् ।

    ७७ जिल्लामा अध्यक्ष बाहेक १ सय ५४ सदस्य नियुक्त गर्दा ९ जना मात्र दलित सदस्य र ३६ जना महिला सदस्य नियुक्त भएका छन् ।

    दलित तथा भूमिहिनका समस्या समाधान गर्न तत्कालिन भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालयको सिफारिसमा सरकारले गठन गरेको ५ सदस्यीय आयोगमा १ जना पनि दलित प्रतिनिधि नपरेको भन्दै बिरोध भएको थियो ।

    यसै बेला भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डां. शिवमाया तुम्वाहाफको सिफारिसमा सकारले जिल्ला समिति गठन गरेको हो ।