Tag: भिजिट भिसा

  • भिजिट भिसासम्बन्धी समस्या समाधानका गठित कार्यदलले गृहमन्त्री खाणलाई प्रतिवेदन बुझायो

    भिजिट भिसासम्बन्धी समस्या समाधानका गठित कार्यदलले गृहमन्त्री खाणलाई प्रतिवेदन बुझायो

    काठमाडौं । भिजिट भिसा र त्यसबाट सृजित समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रतिवेदन बुझाएका हुन् ।

    गत माघ ११ गते प्रवक्ता पोखरेलको संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुनेको आधार के हो ? कसरी छुट्टयाउने भन्नेबारेमा सिफारिस गरेको छ । त्यस विषयमा बस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको गृह प्रवक्ता तथा कार्यदलका संयोजक पोखरेलले जानकारी दिए ।

    यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने उनले बताईन । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र सम्वद्ध निकायका प्रतिनिधि सम्मिलित समिति बनाउने उनले बताए । प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागु गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याइ जिम्मेबार बनाउन सुझाव दिइएको छ ।

    त्यस्तै वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाले श्रम अनुमति नलिइ भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिलाई विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।

    कार्यदलमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी थिए ।

  • ‘सेटिङमा भिजिट भिसामा पठाउने सरकार, तर दोष म्यानपावरलाई’

    ‘सेटिङमा भिजिट भिसामा पठाउने सरकार, तर दोष म्यानपावरलाई’

    काठमाडौं । सरकारी सेटिङमा नै भिजिट भिसामा नेपाली युवा विदेशिरहेका र विदेश पुगेर दुख पाइरहेका वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवालाले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले काठमाडौंमा गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाले यस्तो गुनासो गरेका हुन् ।
    पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढिरहेकाले विभिन्न मुलुकमा पुगेर युवा अलपत्र पर्ने गरेका ति सरोकारवालाको भनाई छ । त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाले सबै नेपालीलाई भिजिट भिसामा नजान पनि आग्रह गरेका छन् ।
    भिजिट भिसामा गैर आवासीय नेपाल संघ (एनआरएनए)ले नै लैजाने गरेको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले आरोप लगाए । उनले भने, ‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो । आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो । र अर्को भारतको बाटोमार्फत पनि युवा भिजिट भिसामा जाने गरेका छन् ।’ लामो यात्रा ९० दिन र छोटो यात्रा ३० दिनका लागि मात्रै हुने भएकाले कानुनी रुपमा ३० दिन पनि भिजिट भिसाका लागि आवश्यक नरहनेकाले यसलाई संशोधन गर्नुपर्नेमा कार्यवाहक अध्यक्ष तामाङले जोड दिए ।
    सरकारको दलाली र विदेशमा गएका व्यक्तिमार्फत भिजिट भिसा मौलाउँदै गएको उनले गुनासो गरे । भिजिट भिसामा दक्ष र शिक्षित युवा नै गइरहेको समेत कार्यबाहक अध्यक्ष तामाङले उल्लेख गरे । उनले थप्दै भने, ‘एउटा म्यानपावरको व्यक्तिले सेटिङ गरेर पठायो । यो निजी क्षेत्रको दलाली हो । तर भिजिट भिसामा पठाउने अन्तिम निकाय त सरकार नै हो । सरकारको पनि अध्यागमन विभाग नै हो । त्यहाँ कार्यरत कर्मचारीले सरकारी जागिर खाँदा कसम खाएको थियो होला नि त । किन जान दिइयो ? किन पत्ता लगाइएन ?’
    विभिन्न संघ संस्थाले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको भन्दै उनले दुःख व्यक्त गरे । सबै ट्राभल तथा म्यानपावर व्यवसायीलाई सरकारले कडाई गर्न सके मात्र भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्धत पुग्ने कार्यबाहक अध्यक्ष तामाङको भनाई छ ।
    ट्राभल एजेन्सी र कन्सल्टेन्सीले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष सबैले म्यानपावर व्यवसायीमाथी लगाउने गरेको भन्दै उनले दुःख व्यक्त गरे । यस्तो समस्या आउन नदिन वैदेशिक रोजगारमा जाने व्यक्ति नै बढी सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ । सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधै रहिरहन्छ ।’
    पछिल्लो समय युरोपियन मुलुकमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले औँल्याए । उनले थप्दै भने, ‘वैदेशिक रोजगारीले बेरोजगारी घटाएको छ । रेमिट्यान्स भित्र्याएको छ, गरिबी घटाएको छ । तर, वैदेशिक रोजगारीमा पठाउने व्यवसायीलाई राम्रो नजरले हेरिँदैन ।’
    मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा कसैले राम्रो काम पाउने र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि रहने बताए । अप्ठ्यारोमा परेका पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको प्रहरी निरीक्षक भट्टले उल्लेख गरे ।
    उनले भने, ‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस् । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा परेका छन ।’ भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाई गर्न सकिनेमा उनको जोड थियो ।
    म्यानपावरमार्फत गएका व्यक्ति त्यति धेरैसमस्यामा नपरे पनि व्यक्तिमार्फत गएका व्यक्ति बेचबिखनमा पर्ने गरेका उजुरी व्यूरोमा धेरै आएका उनले बताए । भिजिट भिसाको दुरुपयोगका कारण मानिस अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उनले आग्रह गरे ।
    उनले थप्दै भने, ‘वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ । कुन उद्देश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् । त्यति भयो भने पछि समस्या पर्दा पनि त्यो पैसा फिर्ता पाउन सहज हुन्छ ।’ भिजिट भिसामा जानेहरुले उजुरी दिए पनि उक्त उजुरी पछैर्यौट नहुदैँ फेरि सोही प्रकृयामार्फत विदेश पुगिसकेको अनुभव पनि उनले सुनाए ।
    जनचेतनाको अभावका कारण पनि युवाले भिजिट भिसाको दुरुपयोग गरिरहेको प्रहरी निरीक्षक भट्टले बताए । उनले भने, ‘कसैले पिआर दिलाउँछु भनेर पनि पठाउने रहेछन् । आर्थिक वर्ष २०७७-०७८ मा मात्र पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसले अनुसन्धान ब्यूरोमा उजुरी गरेका थिए ।’
    पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवा ओसार्ने प्रवृत्ति बढेको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । उनका अनुसार यसरी जानेहरू समस्यामा पर्नुका साथै विभिन्न सेवा सुविधाबाटसमेत बञ्चित हुने गरेका छन् । उनले भने, ‘त्यसैले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने छ । साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने फर्किरहनुपर्ने अवस्था पनि आइरहेको छ ।’
    भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको श्रमविज्ञ रामेश्वर नेपालले बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेकोबारे सम्बन्धीत सरोकारवाला जानकार भए पनि कडाई गर्न नसकिएको उनको भनाइ छ । उनले भने, ‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुन पर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आवश्यक छ ।’ यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको भन्दै एकजुट भएर काम गर्नुपर्नेमा नेपालको जोड छ ।
    कामका लागि भिजिट भिषामा जाँदै नजान सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले आग्रह गरे । उनले भने, ‘अहिले नेपालीको संस्कृति नै भिजिट भिसामा जाने भइसकेको छ । तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाइरहनुभएको छ ।’ सरकारले म्यानपावर कम्पनीका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाको आरोप छ । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने अध्यक्ष रानाले सरकारसँग माग गरे ।