Tag: भारतीय गणतन्त्र दिवस

  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    काठमाडाैं । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाऔबेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् ।

    सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल-भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

    त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गगरेका छन् । उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

  • भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

    भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै

    एजेन्सी । छिमेकी मुलुक भारतले आज आफ्नो ७२ औं गणतन्त्र दिवस मनाउँदैछ ।

    सन् १९५० जनवरी २६ मा संविधान जारी भएसँगै संघीय गणतन्त्रात्मक मुलुक बनेसँगै भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । भारत सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।

    गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको उपस्थिति हुनेछ ।

    यसअघि आज बिहान प्रधानमन्त्री मोदीले युद्धका क्रममा मारिएका सैनिक जवानलाई श्रद्धान्जलि अर्पण गर्न नेशनल वार म्युजियम पुगेका थिए ।

    राजपथमा हुने कार्यक्रममा भारतले आफ्नो शक्ति प्रदर्शन गर्नेछ । त्यस्तै देशका अलग–अलग क्षेत्रको संस्कृतिको झलक पनि देखाइनेछ ।

    गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूताबासले भने कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने यसअघि नै बताइसकेको छ । कोरोना भाइरसको महामारीका कारण २५ भन्दा बढी व्यक्ति एकै ठाउँ भेला हुन नपाउने सरकारी मापदण्डका कारण यस वर्ष औपचारिक कार्यक्रम हुन नसकेको दूताबासले प्रष्ट पारेको छ ।