काठमाडौं । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो ।
अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै ट्याक्सीको पनि भाडा बढेको छ।
बाग्मती सरकारले जारी एक सुचनामा भनिएको छ,‘ २०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा वढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुनेछ।’
बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर १० रुपैयाँ कायम गरिएको छ भने प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १.२० रुपैयाँ कायम गरिएको छ ।
विधुतीय माध्यमबाट सञ्चालन हुने ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ । यस्तै मालबहाक सवारी साधनकाे पनि १३ प्रतिशत भाडा बढेकाे छ ।
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरियो ।
निषेधाज्ञाको तयारीसँगै थातथलो फर्कनेहरूका लागि २ दिनको समय दिइएको थियो । तर, निषेधाज्ञा लम्बिएसँगै त्यो बेला घर नगएकाहरूको भीड बढ्न थालेको छ ।
धादिङ, चितवान, हेटौंडा, वीरगञ्ज, बुटवल, झापा, कैलाली, कञ्चनपुर, बाँके र बर्दियालगायत कलंकीको बाटो भएर जाने बस प्रत्येक दिन छुटिरहेका छन् ।
उपत्यकाका विभिन्न ठाउँबाट ३ घण्टासम्म पैदल हिँडेर कलंकी, बालकुमारी पुल नजिकको चोकलगायतको ठाउँमा भेला भएर यात्रुहरू घर गइरहेका छन् ।
निषेधाज्ञाको मौका छोपेर काउन्टरले गाडी भाडा भने मनलागी असुल गरिरहेका छन् । घर जानैपर्ने बाध्यताको फाइदा उठाएर मनपरी भाडा लिइरहेको पीडित यात्रुको भनाइ छ ।
सामान्य अवस्थाको भन्दा अहिले ४ गुणासम्म बढी भाडा लिएर बसले यात्रु ओसारिरहेका छन् । समान्य समयमा काठमाडौंबाट चितवन हुँदै हेटौंडा जाँदा ५०० भाडा थियो । अहिले हेटौंडासम्म यात्रा गर्दा बसले १ हजार देखि २ हजार रुपैयाँसम्म भाडा उठाइरहेका छन् । अन्य ठाउँमा पनि गाउँ जानेहरुले जति भन्यो त्यति भाडा तिर्न पर्ने अवस्था रहेको छ ।
वीरगञ्जबाट काठमाडौं यात्रु लिन आएका बसका चालक कमल कार्कीले टिकट काट्नेले यात्रुसँग १ हजार देखि २ हजारसम्म लिने गरेको बताए । तर, हामीले भने प्रति यात्रु १ हजार मात्रै पाउँछौं ।
कार्कीले भने, ‘यस्तो कोरोनाको समयमा यात्रु बोक्न आउँदा हामीले प्रति यात्रु १ हजार मात्रै पाउने हो । टिकट काट्नेले प्रति व्यक्ति नै ५ सयदेखि १ हजार रुपैयाँसम्म कमिसन खाने गरेका छन् । काठमाडौं आउँदा खाली आउनु पर्ने भएकाले पनि दोब्बर भाडा लिएका हौं । बसमा तेल हालेर १५ देखि २० हजार मात्रै जोगिन्छ । त्यही जोगिएको पैसाबाटै साहुलाई भाडा दिने हो । हामी चालकले पाउने भनेको धेरैमा ५ हजार मात्रै हो । बन्द नभएको समयमा पनि हामीले ४ हजारसम्म पाउने गरेका थियौं ।’
साँझको समयमा काठमाडौंबाट यात्रु चढाएर हिँडेपछि ट्राफिक प्रहरीले कतै पनि पास नमाग्ने र चेकिङ पनि नगर्ने कार्कीले नेपाल प्रेससँग बताए ।
कालीकोटका हंस शाही पनि निषेधाज्ञामा नै गाउँ जानका लागि कलंकी आएर आस कुरिरहेका थिए । उनी ललितपुरबाट हिँडेर कलंकी आइपुगेका हुन् ।
शाहीले भने, ‘पहिलेभन्दा अहिले गाउँ जानका लागि भाडा धेरै नै लिरहेका छन् । घरबाट जसरी पनि आउनु पर्छ भनेकोले धेरै भाडा तिरेर पनि गाउँ जान लागेको हो । नगरपालिकाले नै काठमाडौंमा समस्या परेर बसेकाहरुलाई गाउँ लाने बसको व्यवस्था गरेको छ ।’
त्यस्तै कलंकीबाट आफ्नो घर जान लागेका व्यक्ति हुन् कैलालीका खगेन्द्र जोशी । पढ्नका लागि २ महिनाअघि र्कीतिपुर आएर बसेका जोशीले भने, ‘शुरूमा २२ गतेसम्म मात्रै बन्द भनिएको थियो । पछि बढाउँदै गएको छ । हामी काम गर्दै पढ्नेलाई लामो समय बन्द हुँदा समस्या पर्ने भएर नै गाउँ जान लागेका हौं । पहिले काठमाडौं आउँदा १३ सयमा आएको अहिले जाँदा २ हजार भाडा तिरेर जान लागेको छु ।’
गाउँमा नै १० दिन क्वारेन्टाइनमा बस्ने कुरा भएर जान लागेको जोशीले बताए ।
ट्राफिक प्रहरीले केही दिनअघि धेरै भाडा असुल्ने काउन्टरका केही व्यक्तिलाई पक्राउ गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता डीएसपी सुनिमजंग शाहले पास भएका बस र साना गाडीहरू मात्रै सडकमा गुडेको बताए ।
शाहले भने, ‘विवाह, मृत्यु संस्कार र जिल्ला प्रशासन काठमाडौंले दिएको पास भएका बसहरू मात्रै सञ्चालन भएको छ । यात्रुले धेरै भाडा लिए भनेर जानकारी गराएको ठाउँमा सम्बन्धित ठाउँमै पुगेर कारवाही गरिरहेका छौं ।’
पास नभएका गाडीहरू सडकमा गुडे रोक्ने गरेको शाहले बताए ।
कसरी आउछन् यात्रु बसको सम्पर्कमा ?
घर फर्कनुपर्नेहरू नयाँ बसपार्कको हटलाईन नम्बरमा सम्पर्क गर्छन् । त्यहाँ सम्पर्क गरेपछि सम्बन्धित काउन्टर वा व्यक्तिको सम्पर्क नम्बर यात्रुलाई दिइन्छ र त्यही नम्बरमा सम्पर्क गरेको आधारमा बस चढेर जान पाइन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण दर फैलनुको पछाडि आवतजावत नरोकिनु रहेको बताए ।
‘धेरै कोरोना संक्रमित भएको ठाउँबाट मान्छे अन्य ठाउँ जाँदा कोरोना संक्रमण फैलिन सक्ने जोखिम हुन्छ । संक्रमण धेरै भएको ठाउँका मान्छेहरु सकेसम्म पहिले बसेकै ठाउँमा बस्दा कोरोना फैलिन पाउँदैन । पहिले पनि धेरै संक्रमित भएको ठाउँबाट अन्य शहर वा गाउँमा मान्छेहरू गएकाले नै कोरोना फैलिएको थियो’, पुनले भने, ‘अहिले पनि त्यस्तो नहोला भन्न सकिँदैन । कोरोना संक्रमणको लक्ष्यण नदेखिए पनि कोरोना संक्रमण हुन सक्ने भएकोले गाउँ गएकाहरू पनि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । क्वारेन्टाइनमा बस्दा गाउँमा कोरोना सर्ने डार कम हुन्छ ।’
कोरोना संक्रमण धेरै भएको स्थानबाट गाउँ गएकाहरुलाई स्थानीय तहहरुले नै क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन क्वारेन्टाइनमा राख्न सके कोरोना संक्रमण फैलिन र काम गर्न सहयोग मिल्ने पुन बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले यातायात व्यवसायीलाई यात्रु गाउँ लैजानेबारे कुनै जानकारी नै नदिएको बताए । तर, सडकमा आफ्नै तरिकारले भाडा तोकेर बसहरु भने सञ्चालन भइरहेको छ ।
सिटौलाले भने, ‘राज्यले आपतकालीन अवस्थामा गाउँमा यात्रु लैजाने सकरी भनेर महासंघलाई कुनै जानकारी दिएको छैन् । यातायात व्यवस्था विभाग र ट्राफिक कार्यलयसँग मिलाएर आफ्नै तरिकाले बस सञ्चालन भइरहेको छ ।’
कोरोना महामारीको समयमा सबैले स्वास्थ्यको मापदण्ड पूरा गरेर सुरक्षित तवरले यात्रुलाई गाउँ पुर्याउनु पर्ने समयमा आफ्नै मनोमानी तरिकाले सब सञ्चालन भइरहेको सिटौलाले बताए ।