Tag: भरतपुर सबस्टेसन

  • भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

    भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

    काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन् ।

    नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझबाट विद्युत आपूर्ति दिएको छ ।

    सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरुमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत आपूर्ति सुरु गरिएको थियो ।

    कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।

    सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहले बताए।

    सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ ।

    तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।

  • भरतपुर सबस्टेसनको मर्मत गर्न अझै आठ घण्टा लाग्ने

    भरतपुर सबस्टेसनको मर्मत गर्न अझै आठ घण्टा लाग्ने

    चितवन । चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ ।

    सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ । यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

    अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ । अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्बसाधारणलाई बत्ति आपूर्ति गरिने छ ।

    तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिट्टो सक्न निर्देशन दिएको छ ।

    कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिट्टो विद्युत आपूर्तिको व्यवस्था गर्न निर्देशन दिए ।
    ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहकलाई तिहारमा बत्ति बाल्न पाउने व्यवस्था मिलाउनु पर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

    सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो ।

    अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

    अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीव कुमार सिंहले बताए ।