Tag: भरतपुर अस्पताल

  • भरतपुर अस्पतालमा बिताएका दुई वर्षले सिकाएको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास

    भरतपुर अस्पतालमा बिताएका दुई वर्षले सिकाएको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास

    २०७१ असोजमा २ वर्षका लागि भन्दै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको मन्त्रीस्तरीय निर्णयबाट म भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएँ । मैले नियुक्तिअघि यस जिम्मेवारीमा जाने विषयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई जानकारी गराएको थिएँ । उहाँले तपाईंले गर्नुपर्ने धेरै कामहरु छन्, एउटा जिल्ला अस्पतालमा नजान सल्लाह दिनुभयो ।

    मैले भरतपुर अस्पताल गएर सुधार गर्ने अठोट सुनाएँ । उहाँले जिल्ला अस्पताल भन्दै गर्दा मैले जिल्ला अस्पतालबाट केन्द्रीय अस्पताल बनाउने सपना संगालेको थिएँ । मेरो निवासबाट केही मिटरको दूरीमा रहेको अस्पताल हो, भरतपुर अस्पताल । म र मेरो परिवारमात्रै हैन, यस जिल्लासहित वरपरका जिल्लाका गरिब, विपन्न बहुसंख्यक जनताको जीवन जोगाउने भरतपुर अस्पताललाई साँच्चै जनताको अस्पताल बनाउने सोच मसँग थियो ।

    अस्पताललाई तत्कालीन अवस्थाबाट उठाएर एउटा सुविधा सम्पन्न, बिरामी मैत्री केन्द्रीय शिक्षण अस्पताल बनाउनुपर्दछ भन्ने सुन्दर सपनासहित म अस्पतालमा आएँ । मलाई थाहा थियो, लौरी टेक्ने एक दिन म पनि यहीँ अस्पतालमा उपचार लिन आउनुपर्छ । उस्तै परे यहीँ मर्नुपर्छ । त्यसैले पनि यो अस्पताल बन्नुपर्छ र बनाउनुपर्छ भन्ने लागेर नै म अस्पतालको अध्यक्ष बनें ।

    म भनाइमा हैन, कर्ममा विश्वास गर्छु । समाज परिवर्तन गर्न र मुलुकलाई समृद्ध बनाउन राजनीतिक पार्टीबाट मात्र सम्भव छ भनेर हामी सानैदेखि राजनीतिक आन्दोलनमा लाग्यौं । आन्दोलनबाट सफलता पनि प्राप्त भयो तर जनतामा अनुभूति हुने गरी सेवा प्रवाह गर्ने निकायहरुको सुधारमा ध्यान दिन सकेनौं । राजनीतिलाई समाज सेवा र जनताको प्रत्यक्ष सुविधा पाउने तहसम्म जोड्न सकियो भनेमात्रै बल्ल जनतामा परिवर्तनको आभास दिलाउन सकिन्छ ।

    म अस्पताल पुग्दा…

    भरतपुर अस्पताल बनाउने उद्देश्यसहित मैले २ वर्षे जिम्मेवारी लिँदा अस्पतालको तत्कालीन अवस्था के थियो भन्ने सन्दर्भ उल्लेख गर्नु यहाँ उपयुक्त होला । अस्पतालको मुख्य गेट सामान्य मानिसहरु आउन जानमात्रै प्रयोग हुन्थ्यो । बिरामी र अन्य सवारीसाधनसहित अस्पतालभित्र प्रवेश गर्न अहिलेको पार्किङतर्फको गेट प्रयोग गरिएको थियो । गेट जीर्ण थियो, जहाँबाट हिँड्दा कुहिएको शवको दुर्गन्ध आउँथ्यो ।

    अस्पतालभित्र प्रवेश गर्ने जो–कोहीको पहिलो ‘इम्प्रेसन’ नै के हुन्थ्यो होला तपाईं आफै कल्पना गर्नुस् । बेवारिसे शवको व्यवस्थापन अर्को चुनौती थियो । नारायणी नदीमा बेवारिसे शवहरू फालिएका दृश्यहरू पनि हामीले देखेका थियौं । नजिकका सामुदायिक वन र सरकारी वनमा समेत वेवारिसे शव व्यवस्थापन गर्न नदिने अवस्था थियो । अस्पतालको आकस्मिक कक्ष अति नै जीर्ण र साँघुरो थियो ।

    त्यतिबेला लोडसेडिङको चरम चेपटाबाट देश गुज्रिएको थियो । बिजुली जानेबित्तिकै अस्पतालको आकस्मिक कक्ष, अप्रेशन कक्ष र आईसीयूबाहेक अन्यत्र विद्युत हुन्थेन । बिजुली गएपछि मैनबत्ती बालेर बिरामीको सेवामा स्वास्थ्यकर्मीहरु खटिएको मैलै पटकपटक देखें । त्यसले एकदमै बिझायो, दुःखायो । अस्पतालको ‘ए’ ब्लक भवन निर्माण अलपत्र थियो । त्यसलाई पूरा गर्न ठूलो चुनौती थियो । रकम भेरियसन गराएर ७ करोड थप भार अस्पताललाई पार्न खोजिएको थियो । मैले यसमा विशेष पहलकदमी लिएर भवन पनि पूरा गरेरै छाडें भने अस्पतालको थप ७ करोड रुपैयाँ क्षति हुनबाट जोगाएँ ।

    ‘बी’ ब्लक पूरा भएको थिएन । अत्यन्तै असहज अवस्था थियो । अस्पताल विकास समितिको अध्यक्ष नियमानुसार सेरेमोनियलमात्रै थियो, ‘एक्जुकेटिभ’ थिएन । नीतिगत निर्णयमात्रै गर्न सक्ने अधिकार अध्यक्षलाई थियो । मेडिकल सुपरिटेन्डेन्टलाई आर्थिक र प्रशासनिकसहितको सबै अधिकार थियो । अध्यक्षले चाहेरमात्रै समस्याको समाधान गर्न सक्ने पृष्ठभूमि थिएन । अस्पतालको अवस्था र अस्पताल बदल्ने मेरो सपनाबीच बेमेल देखियो तर म अस्पतालमा धेरै गर्न सकिन्छ भन्ने सकारात्मक सोचबाट लागिरहें ।

    अस्पतालमा के थियो र हामीले के गर्यौं ?

    भूकम्प पीडितको घाउमा मल्हम

    २०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उपचार भरतपुर अस्पतालले ग¥यो । चितवन, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, मकवानपुर, सिन्धुली, ललितपुर, काठमाडौं, नवलपरासी आदि जिल्लाबाट सयौं घाइतेहरु उपचारका लागि भरतपुर अस्पताल आए । तीमध्ये भरतपुर अस्पतालमा ११२ जना घाइतेको अप्रेशन गरियो । राष्ट्रिय विपत र संकटको बेलामा आएका घाइतेहरुको निःशुल्क उपचार गराई घरसम्म भाडा दिएर पठाउने काम हामीले अस्पतालबाट ग¥यौं ।

    अस्पतालमा आकस्मिकबाहेकका अप्रेशनहरूलाई थाती राखी २४ सै घण्टा दिनरात नभनी घाइतेहरुको अप्रेशन गर्ने काम गरियो । छिटो प्रक्रियाबाट अप्रेशनका लागि आवश्यक इम्प्लान्टहरू खरिद गरियो । अस्पतालमा अप्रेशनका लागि सिंगो अर्थोपेडिक विभाग र अन्य चिकित्सकहरू दिनरात नभनी जुट्नु भयो । अस्पतालको जनशक्ति चौबीसै घण्टा अनवरत खटेको सम्झँदा मलाई उहाँहरुप्रति सधैँ सम्मान भाव पैदा हुन्छ । अस्पतालभन्दा बाहिरबाट समेत चिकित्सकहरुको टोली झिकाई भूकम्पका घाइते बिरामीको २४ सै घण्टा अप्रेशन गर्ने व्यवस्था मिलाइयो । भूकम्पका घाइतेहरुलाई यथाशीघ्र भरतपुर अस्पतालसम्म ल्याइदिन हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक आह्वान नै गरेका थियौं ।

    भरतपुर अस्पतालमा रहेका घाइतेका कुरुवालाई मात्र नभइ २ वटा मेडिकल कलेज, निजी अस्पताल र क्यान्सर अस्पतालहरुमा रहेका बिरामीका कुरुवाहरुलाई पनि निःशुल्क बिहान–बेलुका खाना खुवाउने काम अस्पताल कर्मचारी युनियनको पहलमा गरिएको थियो ।

    खुट्टामा परेका फोरा र ‘सी’ ब्लकको सपना

    अस्पतालको ‘सी’ ब्लक मेरो एउटा सपना थियो । अलपत्र दुई भवनलाई पूर्णता दिने काम मैले २ वर्षको अवधिमा पूरा गरे तर सी ब्लक बनाउने मेरो सपना २ वर्षे कार्यकालमा पूरा हुने अवस्था थिएन । मलाई ‘सी’ ब्लक भवन निर्माण जसरी पनि सुरु गर्नु थियो, बजेट सुनिश्चित गर्नु थियो । विभिन्न खाले अवरोध, प्राकृतिक विपत्ति, तत्कालीन राजनीतिक अवस्थामा आएको फेरबदल र अध्यक्ष स्वयं सेरेमोनियल पदले गर्दा मेरा लागि काम गर्न अनुकूल पृष्ठभूमि थिएन ।

    ‘सी’ ब्लक भवनको निर्माण मेरै पालोमा सुरु हुनुपर्छ भनेर म मेरो कार्यकालको ‘इन्जुरी’ समयमा निकै खटें । ‘सी’ ब्लक बन्दा देखिने भरतपुर अस्पतालको सुन्दर चित्र मेरो मानसपटलमा आइरहन्थ्यो । मेरो त्यो सपना आज पूरा भएको छ । डाइग्नोस्टिक ब्लकका रुपमा रहेको ‘सी’ ब्लक भवन झण्डै ५ वर्षमा बन्यो । गएको चैत २५ गते त्यसको उद्घाटन पनि भयो । अस्पतालका धेरैजसो सेवाहरु यहाँ स्थानान्तरण हुने अवस्था तयार भयो ।

    यो भवन बनाउँदा गरेको दुःख मेरो मानसपटलमा अझै ताजा छन् । त्यस दिन घडीमा झण्डै बेलुकाको ८.३० बज्दै थियो । स्वास्थ्य मन्त्रालयका तत्कालीन लेखा अधिकृत सुरेश जी आई पुग्नुभयो । म उहाँलाई नै कुरेर बसिरहेको थिएँ । अस्पतालको ‘सी’ ब्लक निर्माणका लागि जसरी पनि टिप्पणी उठाउनु थियो । सामान्यतया सरकारी कार्यालयहरू साँझ ५ बजे नै बन्द हुन्छन् ।

    २०७३ असोज २ गते स्वास्थ्य मन्त्रालयको लेखा शाखामा पुग्दा नै साँझ ५ बजिसकेको थियो । मसँग भरतपुर अस्पतालको अध्यक्ष भएर बसिरहने पर्याप्त समय थिएन । सुरेश जीलाई पहिल्यै फोन गरेर विषयका बारेमा जानकारी गराएकोले उहाँ आउनुभयो । मेरो वचन हार्न सक्नुभएन । उहाँ आएर भन्नुभयो, ‘विजयजी आज धेरै ढिला भयो । भोलि सुरु समयमा नै टिप्पणी लेखौंला ।’ मैले आज नै टिप्पणी लेख्नुपर्छ भनेर जिद्दी गरें । परिस्थितिको बारेमा जानकारी गराएँ ।

    भरतपुर अस्पतालको जीवनमा ‘सी’ ब्लक भवनको महत्व दर्शाएँ । यसअघि अस्पतालको ‘ए’ ब्लक भवन र ‘बी’ ब्लक भवन निर्माणमा आवश्यक सबै प्रक्रिया पूरा नगरेकै कारण भोग्नुपरेको सास्ती ‘सी’ मा नदोहोरियोस् भन्नेमा सचेत थिएँ । काठमाडौंमा नै बसेर सिंहदरवार र स्वास्थ्य मन्त्रालय झण्डै १५ दिन धाउँदा मैले खुट्टाभरि टेक्नै नमिल्ने गरी फोराहरू उठाएको छु ।

    त्यस साँझ मेरो अनुरोधलाई टार्न नसकेपछि सुरेशजीले टिप्पणी उठाउनुभयो । हामी राति साढे ९ बजे मन्त्रालयबाट छुट्टियौं ।

    असोज ३ गते बिहान १० बजे तत्कालीन उपसचिव विष्णु तिमिल्सेना लेखा शाखामा आउनुभयो । लागत इस्टिमेट स्वीकृत गरी ‘सी’ ब्लक निर्माणका लागि टेन्डर प्रक्रियामा जान सिफारिस दिनुभो । दिउँसो ३ बजे सहसचिव रामशरण चिमोरियाले आन्तरिक प्रशासन शाखामा आएर टिप्पणी सदर गरी स्वीकृतिका लागि सचिवकहाँ पठाउनुभयो ।

    मध्यान्न ४ बजे सचिव डा. सैनेन्द्र उप्रेती कार्यकक्षमा आउनुभयो । उहाँले सुरुमा टिप्पणी सदर गर्न हिच्किचाउँदै भन्नुभयो, ‘यो कसरी मिल्छ अहिले ?’ सँगै रहनुभएका सहसचिव चिमोरियाले भन्नुभयो, ‘यसको सबै प्रक्रिया पुगेको छ । फाइल स्वीकृत गर्नुभए हुन्छ ।’ चिमोरियाले थप्नुभयो, ‘कुनै समस्या परे सामूहिक जिम्मेवारी लिउँला ।’

    सहसचिव चिमोरियाले यसो भनेपछि सचिवले फाइलमा हस्ताक्षर गरी बोलपत्र आह्वान गर्न भरतपुर अस्पताललाई अधिकार प्रत्यायोजन गर्नुभयो । डा.उप्रेतीले भरतपुर अस्पतालकै पूर्वमेडिकल सुपरिटेन्डेन्ट भएर कार्य गरिसक्नुभएको थियो । मेरो विचारमा सायद भरतपुर अस्पतालको फाइल यति छिटो अघि बढ्दा कतै प्रक्रिया पुगेको छैन कि भन्ने त्रास उहाँमा थियो । बोलपत्र आह्वान गर्ने स्वीकृतिपछि असोज ६ गते तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाबाट ‘सी’ ब्लक भवनको शिलान्यास भयो । उहाँले सुरुमा बोलपत्र नै सार्वजनिक नभएको अस्पतालको भवनको शिलान्यास गर्न आनाकानी गर्नुभयो । पछि हाम्रो कामप्रतिको विश्वास र लगनशिलता देखेर उहाँ शिलान्यास गर्न तयार हुनुभएको थियो ।

    यसको आधारमा स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिइ तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा अर्थ मन्त्रालयबाट ‘सी’ ब्लक भवनका लागि आवश्यक बजेट २९ करोड रुपैयाँ सुनिश्चित गरिएको थियो । भवन शिलान्यासको झण्डै डेढ वर्षपछि मात्रै ‘सी’ ब्लक भवनको निर्माण प्रक्रिया अघि बढ्यो । ढिला गरी यो भवन पूरा भएको छ । योसँगै मेरो एउटा सपना पनि पूरा भयो । अस्पतालको आकस्मिक भवन र सरूवा रोग अस्पताल भवन बनिरहेका छन् । अस्पतालले अझै विकास गर्दै जाओस् । अस्पतालबाट बिरामीहरू खुसीसाथ निको भएर जान सकून् । मेरो शुभकामना !

    (भरतपुर अस्पतालका पूर्व अध्यक्ष सुवेदी एमालेबाट भरतपुर महानगरपालिका प्रमुखमा सिफारिस भएका छन्)

  • भरतपुर अस्पतालमा औषधि सप्लायर्सको मनोमानीः आपूर्तिमा ढिलाई, म्याद नाघेका औषधि थुप्रिए

    भरतपुर अस्पतालमा औषधि सप्लायर्सको मनोमानीः आपूर्तिमा ढिलाई, म्याद नाघेका औषधि थुप्रिए

    चितवन । औषधि दिन अटेर गर्ने सप्लायर्सलाई भरतपुर अस्पतालले कारवाही थालेको छ । १ वर्षसम्म खरिद आदेश बमोजिम १४ दिनभित्र उपलब्ध गराउनुपर्ने सम्झौतामा लेखिए पनि २ महिनासम्म आलटाल भएपछि अस्पतालले कारवाही नै थालेको हो ।

    मेडिकल सुपरिटेन्डेन्टका रुपमा कृष्ण पौडेलको नियुक्तिपछि उनले औषधि उपलब्ध गराउन ढिलाइ गर्ने सप्लायर्सलाई कारवाही तीव्र पारेका छन् । अस्पतालले अतिआवश्यक औषधि आफैंले खरिद गरेर बढी पर्न गएको मूल्य सप्लायर्सबाटै लिने गरी कारवाही गरेको हो ।

    पहिलो चरणमा पोखराको सन फार्मेसी, हिमसागर मेडिकल हल र भरतपुरको मेडिसेल्स फर्म कारवाहीमा परेका छन् । सन फार्मेसीले २ सय ११, हिमसागरले १ सय ८१ र मेडी सेल्सले ९४ प्रकारका औषधि उपलब्ध गराउने गरी अस्पतालसँग सम्झौता गरेका थिए । तर, खरिद आदेश पाएको महिनौंसम्म औषधि दिन अटेर गर्दै आइरहेका थिए ।

    अस्पताल फार्मेसीका प्रमुख सविनराज लामिछानेले अतिआवश्यक औषधि अभाव हुन नदिन अस्पतालले नै खरिद गरेको बताए । ‘बेलैमा औषधि नदिने सप्लायर्सलाई पटकपटक ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘बिरामीको उपचार प्रभावित नहोस् भनेरै सम्झौता भएका सप्लायर्सले नै दायित्व व्यहोर्ने गरी अन्य निकायबाट खरिद गर्न सुरु गरेका हौं ।’ तोकिएको समयमा आपूर्ति नभएमा जमानत जफत गरी रद्दसमेत गरी कारवाही भोग्न सप्लायर्सले लिखित सम्झौता गरेका छन् ।

    खरिद आदेश पाएको १७ दिनभित्र समेत स्वीकृत नमूना, गुणस्तर र कम्पनीका औषधिहरु सप्लाई दिन नसके अस्पतालले नै अन्य निकायबाट खरिद गरे पनि सबै दायित्व खर्च सप्लायर्सलेनै ब्यहोर्ने, ढिलो सप्लाई भएमा दैनिक ०.०५ प्रतिशतका दरले जरिवाना समेत लगाइने उल्लेख छ । अस्पतालले १० वटा औषधि सप्लायर्स र ६ वटा सर्जिकल समान सप्लायर्ससँग गत माघमा एक वर्षको अवधिभरका लागि सम्झौता गरेको थियो । केही सप्लायर्सले पटक पकट ताकेता गरेपछि मात्रै औषधि उपलब्ध गराउने गर्दै आएका छन् ।

    भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सन फार्मेसीले प्रतिट्यावलेट १ रुपैयाँ ४० पैसामा उपलब्ध गराउने गरी सम्झौता गरेको मेटफार्मिन (मधुमेह बिरामीको उपचार गर्ने) औषधि लाई १ रुपैयाँ ७५ पैसामा खरिद गरेर सो मूल्य सोही सप्लयार्सबाट लिने गरी कारवाही गरिएको छ ।

    यस्तै हिमसागरले प्रतिट्यावलेट ६ रुपैयाँ ९८ पैसामा ल्याउने गरी सम्झौता गरेको मेटफर्मिन प्लस ग्लिमेप्राइड औषधि ७ रुपैयाँमा खरिद गरेर सो मूल्य सोही सप्लायर्सबाट लिने गरी कारवाही गरेको छ । यो औषधि पनि मधुमेह बिरामीको उपचारमा प्रयोग हुने गर्छ ।

    यस्तै मेडिसेल्सले ११ रुपैयाँमा प्रति भाइल उपलब्ध गराउने गरी सम्झौता गरेको डेक्सा मेथासोन इन्जेक्सन १८ रुपैयाँ १२ रुपैयाँमा खरिद गरेर सबै मूल्य सप्ल्यार्सबाट लिने गरी कारवाही गरेको छ । यौ औषधि कोभिड–१९, आकस्मिक कक्ष तथा सघन कक्षमा उपचारत बिरामीलाई जीवन रक्षक औषधिका रुपमा प्रयोग हुने गर्छ ।

    अस्पतालले सम्झौता बराबरको मूल्यमात्रै तिर्ने छ भने बढी परेको मूल्य सप्लायर्सले जरिवाना वापत तिर्नुपर्ने पौडेलले जानकारी दिए ।

    अस्पतालका मेसु प्रा.डा. कृष्ण पौडेलले सम्झौता बमोजिमका औषधि सप्लाई गर्न नसक्ने सप्लायर्सलाई क्रमशः कारवाहीको दायरामा ल्याइने बताए । ‘सम्झौता हुबहु कार्यान्वयन हुनुपर्छ । औषधि अभाव हुन नदिन कारवाही प्रक्रिया थालेका छौ,’ मेसु डा. पौडेलले भने, ‘अटेर गरिरहे कालोसूचिमा राख्न विभाग तथा मन्त्रालयतहमै पत्राचार गर्दैछौं ।’

    अस्पतालको फार्मेसीमा चिकित्सकले उल्लेख गरेका औषधि सहजै बिरामीले पाउनुपर्ने वातावरण बनाउन लागिपरेको उनले बताए । बिमाका विरामीले पाउनुपर्ने करिव ७ सय प्रकारका औषधिमध्ये करिव १ सय ५० प्रकारका औषधि सप्लार्सले बेलैमा उपलब्ध नगराउदा अभाव हुँदै आएको छ ।

    भरतपुर अस्पतालकाे स्टाेरमा थन्किएकाे म्याद गुज्रिएका औषधि ।

    यसैबीच अस्पतालमा करिब २० लाख मूल्य बराबरका म्याद गुज्रेका औषधि स्टोरमा थन्किएका छन् । उत्पादन भएको मितिले कम्तिमा ७५ प्रतिशत म्याद गुज्रन बाँकी अवधि भएका सामानहरुमात्रै अस्पताललाई उपलब्ध गराउनुपर्ने भए पनि ठूलो परिमाणका औषधिहरु प्रयोगविहिन भएर बसेका छन् ।

    अस्पतालले ३ महिना वा सो भन्दा कम अवधिको म्याद भएका औषधिहरु फिर्ता पठाउन सक्ने र सो समान बराबरको रकम असुल गर्न पाउने गरी सम्झौता भएका थिए । तर, अस्पताल प्रशासनले पटकपटक ताकेता गर्दै म्याद सकिन लागेका वा म्याद नाघेका औषधि फिर्ता लैजान आग्रह गरेपनि सप्लायर्सहरुले इन्कार गर्दै आइरहेका छन् ।

    औषधि खरिद ठेक्कामा छनौट भएका फर्महरुले सस्तो मूल्य राखेर ठेक्का हात पारे पनि अस्पताललाई चाहिएका बेला दिन र म्याद नाघेका औषधि लैजान ढिलाई गर्दै आइरहेका छन् ।

    अत्यावश्यक, दीर्घरोगीले सेवन गर्ने, स्वास्थ्य बिमा तथा विपन्न कार्यक्रममार्फत निःशुल्क दिनुपर्ने औषधिसमेत बेलाबखत अभाव हुँदै आएको छ । मेसु डा. पौडेलका अनुसार अन्य सप्लायर्सलाई पनि ताकेता गरिएको र अटेर गरे कारवाही गरिनेछ ।

  • भरतपुर अस्पतालमा अख्तियारको छापा, फार्मेसीको कागजात नियन्त्रणमा

    भरतपुर अस्पतालमा अख्तियारको छापा, फार्मेसीको कागजात नियन्त्रणमा

    चितवन । अख्तियारको टोलीले भरतपुर अस्पतालमा छापा मारेको छ ।

    औषधी खरिदबिक्रीमा अनियमितता भएको उजुरी परेपछि हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका उपसचिव विष्णुप्रसाद सापकोटा नेतृत्वको टोलीले फार्मेसीसँग सम्बन्धित कागजातसमेत नियन्त्रणमा लिएको छ ।

    अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमाका सेवाग्राहीले न्यूनतम औषधीसमेत नपाएको गुनासो बढेको थियो । बिरामीलाई औषधी छैन भनेर फर्काउने तर बीमा बोर्डसँग बीमितको नाममा पूरै रकम दावी गर्ने गरेको भन्दै अस्पतालविरुद्ध उजुरी परेको थियो ।

    अस्पतालले टेण्डर प्रक्रियाभन्दा बाहिरबाट औषधी खरिद गरेको, अनधिकृत व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको लगायतका लिखित उजुरी अख्तियारमा परेको छ ।

    ‘हामीले आवश्यक कागजपत्र संकलन गरेका छौँ’, सूचना अधिकारीसमेत रहेका सापकोटाले नेपाल प्रेससँग भने, ‘आवश्यक परेमा छानविन तथा बयान पनि लिनेछौँ ।’

  • चितवनको भरतपुर अस्पताल कोरोना संक्रमितले भरियो

    चितवनको भरतपुर अस्पताल कोरोना संक्रमितले भरियो

    चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको संख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना संक्र भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

    अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ । तीमध्ये अहिले १०४ शय्या संक्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ संक्तमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए । २५ एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् । अस्पतालमा २५ शय्या क्षमताको सघन उपचारकक्ष छ ।

    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा संक्रमित बढ्दै गएको बताए । उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, ‘अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या भरिएको छ । अरु संक्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।’

    अस्पतालमा रहेका शय्या संक्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल शुरु भएको उनको भनाइ छ । संक्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्‍यो ।’ संक्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए ।

    अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् ।

    कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेशनमा, आठ सार्वजनिक आइसोलेशनमा र १२२ जना अस्पतालमा उपचाररत छन् । रासस