Tag: भन्सार एजेन्ट

  • भन्सार एजेन्टका लागि साढे ९ हजार भिड्दै, परीक्षा वैशाखमा

    भन्सार एजेन्टका लागि साढे ९ हजार भिड्दै, परीक्षा वैशाखमा

    काठमाडौं । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ ।

    परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि परीक्षा हुने भएको हो ।

    आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।

    गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो ।

    भन्सार एजेन्टको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोके पनि दुवैपटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो ।

    ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

  • भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

    भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

    काठमाडौं । कोरोना महामारीको कारण भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित भएको छ ।

    भन्सार विभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परीक्षा परिस्थिति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ ।

    यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

     

  • भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

    ‘कोभिड-१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

    गत चैत दोस्रो साता विभागले ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकै पटक ६ सय ६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो ।

    भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने गरी आवेदन खुला गरिएको थियो । वैशाख ५ गते र दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन खुला गरिएको थियो । आवेदन दिने समय सकिए पनि कोभिडका कारण लिखित परीक्षा स्थगन भएको हो ।

    दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो ।

    यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
    -रासस

  • ६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो, कसरी दिने आवेदन ?

    ६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो, कसरी दिने आवेदन ?

    काठमाडौं । आयात र निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । लामो समयपछि भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको हो ।

    २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सको लागि आवेदन माग गरिएको हो ।  भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो ।

    त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको छ ।

    एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

    त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी नयाँ भन्सार एजेन्टको आवेदन खोलेको हो । के चाहिन्छ एजेन्ट बन्न रु भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ ।

    प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

    २०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन ।

    काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो ।

    भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र अनलाइनबा नै दरखास्त दिन सकिने छ ।

  • २० वर्षपछि ६०० भन्सार एजेन्ट थपिंदै, लाइसेन्सको परीक्षा लिने तयारी

    २० वर्षपछि ६०० भन्सार एजेन्ट थपिंदै, लाइसेन्सको परीक्षा लिने तयारी

    काठमाडौं । आयात–निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्स परीक्षा चालु आर्थिक वर्षभित्रै हुने भएको हो ।

    भन्सार विभागले नयाँ भन्सार एजेन्ट थप्नको लागि काम शुरू गरिसकेको छ । विभागले यस वर्ष नै करिब ६०० नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रिया शुरु गरेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘कार्यविधि र पाठ्यक्रम तयार गरी विभागले भन्सार एजेन्टलाई लाइसेन्स दिने प्रक्रिया थालिसकेको छ’, घिमिरेले भने ।

    भन्सार विभागले नयाँ दिन लागेको लाइसेन्स पाउने करिब ६०० भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्तकुमार शर्माले भन्सारबाट सामान आयात–निर्यात गर्दा ९० प्रतिशत काम भन्सार एजेन्टले नै गर्ने गरेको बताए ।

    भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको छ ।
    एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित परीक्षा लिने विषयमा विभागले लोकसेवा आयोगसँग छलफल गरिरहेको घिमिरेले बताए । सरकारी तलब र भत्ता नखाने व्यक्तिलाई लोकसेवाले परीक्षा लिन मिल्छ कि मिल्दैन भनेर विभाग र आयोगबीच छलफल भएको उनले जानकारी दिए ।
    एजेन्टलाई विभागले लाइसेन्स दिए पनि सरकारी कोषबाट तलब–भत्ता खुवाउनुपर्दैन । सामान आयातकर्ता वा निर्यातकर्ताले नै भन्सार एजेन्टलाई पारिश्रमिक दिन्छन् । तर, पनि विभागले भने आफ्नो ऐनअनुसार परीक्षा लिने तयारी गरेको हो ।

    २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी परीक्षा लिन लागेको हो ।

    भन्सार एजेन्टले व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेका हुन्छन् । ती एजेन्टले नै व्यवसायीको सामानको राजस्व बुझाउने र भन्सार जाँचपास गर्ने गर्छन् । त्यसको अन्तिम जाँच भने भन्सारका कर्मचारीबाट हुन्छ ।

    के चाहिन्छ एजेन्ट बन्न ?
    भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ । प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

    भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । २०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन । काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ ।