काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्याउने साथै बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको खुद नाफा २२.२५ ले घटेको कम्पनीले जनाएको छ । कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम हो ।
धेरैजसो भुक्तानी प्रणाली कारोबार शुल्क घटाइएको, पहिलो लकडाउनमा कारोबार शुल्क पूर्ण मिनाहा गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण नाफामा कमी आएको कम्पनीले जनाएको छ ।
बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने तीन जना नयाँ संञ्चालकको चयन गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने संञ्चालकको कार्यकाल सकिएकाले ती पदमा हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका आईटी प्रमुख सृजन मल्ल चयन भएका छन् ।
