Tag: बेलायत भ्रमण

  • जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६)मा भाग लिन आज बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन् ।

    कोप–२६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

    टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन् ।

    प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत(नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

    देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनेछन् ।

  • यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

    यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

    लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् ।

    नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् ।

    लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् । देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

    प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको खनालले बताइन्।

    भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।

    देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।