Tag: बुटवल उपमहानगरपालिका

  • बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

    बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य पाँचदलीय गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

    कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा एकीकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार विजयी भएका हुन् ।

    एमालेका सबै उम्मेदवार पराजित भएका छन् । यहाँको मेयरमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन् । १९ वडा रहेको उपमहानगरमा ५ वटा वडाध्यक्ष मात्रै एमालेले जितेको छ ।

  • संघ र प्रदेश सरकारबाट प्राप्त १४ करोड अनुदान खर्च हुन नसकेर बुटवलबाट फिर्ता

    संघ र प्रदेश सरकारबाट प्राप्त १४ करोड अनुदान खर्च हुन नसकेर बुटवलबाट फिर्ता

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएको करिब १४ करोड रुपैयाँ बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको छ । कोरोना महामारीका कारण गत आर्थिक वर्षमा संघ तथा प्रदेश सरकारबाट ससर्त, विशेष र समपूरक अनुदानमा आएको रकम खर्च हुन नसकेको हो ।

    ती शीर्षकमा बुटवलले ८० करोड ३ लाख बजेट अनुदान पाएको थियो । संघीय सरकारबाट प्राप्त ससर्त अनुदानको मात्र ११ करोड ६८ लाख रुपैयाँ फ्रिज भएको छ । सशर्त अनुदानमार्फत ६४ करोड ८२ संघबाट प्राप्त बजेटमध्ये ११ करोड ६८ लाख रुपैयाँ फ्रिज भएको हो ।

    त्यस्तै संघबाट नै प्राप्त १ करोड ५० लाख विशेष अनुदान बजेटमध्ये २२ लाख रुपैयाँ फिर्ता भएको छ । प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक तिनै शीर्षकका बजेट पनि फ्रिज भएको उपमहानगरपालिकाले जनाएको छ । ७ करोड ८७ लाख सशर्त अनुदानमध्ये ६७ लाख, २ करोड ३० लाख विशेष अनुदानमध्ये ४४ लाख र ३ करोड ५४ लाख समपुरक अनुदानमध्ये ९१ लाख रुपैयाँ फ्रिज भएको उपमहानगरपालिकाले जनाएको छ ।

    उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संघ र प्रदेशबाट प्राप्त अनुदान शीर्षकको बजेट ढिलो गरी प्राप्त भएको र कार्यान्वयनमा नजाँदै दोश्रो लहरको कोरोना महामारी फैलिएकोले विभिन्न योजनाको लागि आएको अनुदान फिर्ता भएको बताए ।

    महामारीले विकास खर्च कम भएको तर्क

    उपमहानगरपालिकाले संघ र प्रदेश सरकारमार्फत विभिन्न शीर्षकमा प्राप्त भएका योजना मात्र नभई उपमहानगरपालिका आफ्नै श्रोतमा सञ्चालित योजनाहरु पनि कोरोना महामारीका कारण प्रभावित बनेका छन् । महामारी सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र संक्रमितको उपचारमा लगाउँदा विकास निर्माणलगायतका कामहरु पछाडि परेको नगर प्रमुख सुवेदीको भनाइ छ ।

    तर उपमहानगरभित्रै संक्रमण कम देखिएका १४ देखि १९ सम्मका वडाहरुमा भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि रहेको छ । यो तथ्यांकले संक्रमण धेरै फैलिएका वडाहरुको प्रगति भने कम भएको दावी सुवेदीको छ । उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा थपिएका ५ सय ५३ र अघिल्लो वर्षका सरेका क्रमागत योजना गरी ८ सय ४२ वटा योजना संचालन गरिएको थियो । तीमध्ये ४ सय २१ वटा अर्थात् ५० प्रतिशत योजनाको काममात्र पूरा भएको छ । पालिकाको कम विकसित क्षेत्रको धेरै योजना यो वर्ष बनेका छन् भने शहरी क्षेत्रका काम नभएको देखिन्छ ।

    राजश्व असुली शतप्रतिशत

    विकास खर्च कम भएपनि उपमहानगरपालिकामा राजश्व असुली अनुमानित योजनाको करिब शतप्रतिशत पूरा भएको छ । यसले महामारीमा पनि नागरिकले सरकारलाई बुझाउने दायित्व पूरा गरेको देखाउँछ । आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत भएको उपमहानगरको तथ्यांकमा जनाइएको छ ।

    उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालका अनुसार एक वर्षको अवधिमा ५० करोड ४९ लाख राजश्व संकलन भएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो । यसैगरी गत आर्थिक वर्षमा ऋणबाट राजश्वस्वरुप प्राप्त १ करोड ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा संकलित ४८ करोड ६३ लाख गरी कूल ९२ करोड ११ लाख राजश्व जम्मा गर्न सफल भएको हो ।

    बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७/७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगततर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो । कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो ।

    यसैगरी पूँजीगततर्फको वित्तीय प्रगतिमा गतवर्षको तुलनामा बढी सफलता प्राप्त भएको छ । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

    घरबहाल सम्झौताको म्याद एक वर्ष थप

    महामारीको प्रभावलाई मध्यनजर गरी बुटवल उपमहानगरले आफ्नो मातहतमा रहेका विभिन्न घर तथा सटरहरुको घर बहाल सम्झौताको म्याद एक वर्षका लागि थप गरेको छ । महामारीले सम्पूर्ण आर्थिक क्षेत्र धरासयी भएको अवस्थामा राहतस्वरुप २०७८ असार मसान्तसम्म म्याद समाप्त भएको घर बहाल सम्झौताहरुमा थप गरेको हो । यसैगरी सो अवधिसम्म हरेक वर्ष भाडादरमा नियमित वृद्धि हुँदै आए पनि यो वर्ष वृद्धि नहुने भएको छ ।

    महामारीमा घरजग्गा कारोबार झन् बढी

    कोरोना महामारीले जनजीवन अस्तव्यस्थ र आर्थिक क्रियाकलापहरुमा समेत प्रभाव देखिएको समयमा पनि बुटवलमा घरजग्गा कारोबारमा भने बढेको छ । उपमहानगरले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको तथ्याङ्क अनुसार महामारीले घर जग्गा कारोबारलाई कुनै प्रभाव पारेको देखिएन ।

    बुटवल उपमहानगरमा अघिल्लो आर्थिक वर्ष घर जग्गा रजिष्टेशन दस्तुर बापत १२ करोड ८४ राजश्व संकलन गर्न सफल भएको थियो भने गएको आर्थिक वर्ष २०७७÷७८ मा वृद्धि भई १६ करोड २० लाख राजश्व संकलन भएको छ । राजश्व संकलनमा मुख्य श्रोत नै घरजग्गा कारोबार देखिएको छ । यसैगरी उपमहानगरले यो वर्ष मूल्य अभिवृद्धि करबापत १५ करोड ७ लाख, सवारी साधनबाट ३ करोड ९ लाख, विज्ञापनबाट १६ लाख, बन रोयल्टीबाट २१ लाख तथा विद्युत सम्बन्धि रोयल्टी २ लाख गरी कुलन ३४ करोड ७५ लाख राजश्व प्राप्त गर्न सफल भएको छ । यो राजश्व उपमहानगरले प्रदेश सरकारलाई प्रतिशतका आधारमा बुझउनुपर्ने छ ।

  • बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    रुपन्देही । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा सुरुवात गरेको छ ।

    उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ ।

    उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरि नयाँ व्यवस्था गरिएको छ ।

    एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
    बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले यस्तो कामको थालनी गरेको जनाएको छ ।

    कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ ।

    अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।

    होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पुर्‍याइरहेको छ ।

    होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ ।

    आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

    सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

    संघसंस्थाको समन्वय

    उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत छन् ।

    अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताइन् ।

    जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन् ।

     

    आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा

    कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख,उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा पुगेका छन् ।

    होम आइसोलेसनमा बसेकाहरुका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।

    उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् ।

    आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताइन् ।

    बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो ।

    बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।

    होम आइसोलेसनमा मापदण्ड पूरा गर्न आग्रह

    कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ ।

    होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ ।

    संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

    कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए निःशुल्क परीक्षण

    उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ ।

    १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

    संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पुर्‍याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । यी सबै कामका लागि फोलक पर्सन तोकिएको छ ।

  • कोरोना कहरले बुटवलका अधिकांश आयोजना प्रभावित, लक्ष्य पूरा नभएपछि फेरि म्याद थपियो

    कोरोना कहरले बुटवलका अधिकांश आयोजना प्रभावित, लक्ष्य पूरा नभएपछि फेरि म्याद थपियो

    रुपन्देही । कोरोना संक्रमणका कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजना पूरा गर्न बुटवल उपमहानगरपालिकाले म्याद थप गर्दै आएको छ । फागुन मसान्तसम्म सबै योजनाहरूको सम्झौता गरी कार्यान्वयनमा जाने लक्ष्य लिएकोमा पूरा नभएपछि शुरुमा एक महिना थप गरी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गर्नेगरी समयसीमा परिवर्तन गरिएको थियो । तर उक्त समयमा पनि लक्षित योजना अगाडि नबढेकाले बाध्य भएर फेरि म्याद थप गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

    चैत महिना अन्तिम मिति तोकेको उपमहानगरले गतवर्ष कार्यान्वयनमा नआएका योजनाहरूका लागि पुनः १५ दिन म्याद थप गरेको उनले बताए । उपमहानगरले यही वैशाखको १५ गतेसम्म गत आर्थिक वर्ष २०७६/७७ मा स्थगित भएका योजनाहरूलाई यसै आर्थिक वर्षमा सक्नेगरी पुनः म्याद थप गरेको हो ।

    काम शुरु गर्ने समयमा यो वर्ष पनि कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सबै योजनाहरू कार्यान्वयन गर्न समस्या पर्ने देखिएको ठेकेदार सन्तबहादुर क्षत्रीले बताए । कोरोना दिनदिनै बढ्न थालेपछि कामदारहरु नियमित आउन छाडेका कारण यस्तो समस्या आउनसक्ने आफूले आंकलन गरेको उनको भनाइ छ ।

    गत आर्थिक वर्षका योजनाहरु २ सय ८९ बाँकी रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २ सय ४८ योजना पूरा गरिसकेको उपमहानगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएका ४ सय ७ योजनामध्ये २५ योजना मात्रै सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्षका लागि गतवर्ष सहितका ८ सय १४ योजना स्वीकृत भएका थिए । यी मध्ये ६ सय ९६ योजना कार्यान्वयनमा गएका थिए ।

    पुँजीगत खर्च ३६ प्रतिशत मात्रै

    यसैबीच बुटवल उपमहानगरपालिकाले चैत मसान्तसम्ममा ३६ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६.२४ प्रतिशत मात्रै खर्च भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनले चालु खर्च ४४.८१ प्रतिशत र वित्तीय खर्च ४२.६६ प्रतिशत खर्च भएको बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आएको ७०.४५ प्रतिशत आम्दानी गरेको उपमहानगरले जनाएको छ ।

    २ अर्ब २० करोड ३४ लाख अनुमानित आम्दानी लक्ष्य राखेको उपमहानगरले १ अबै ६२ करोड १४ लाख आम्दानी गरिसकेको जनाएको छ । संघीय सरकारबाट अनुमानितको ५३.६३ प्रतिशत, प्रदेश सरकारबाट ८०.९८ प्रतिशत, राजस्व बाँडफाँडबाट ७४.८१ प्रतिशत, आन्तरिक श्रोत ऋणसमेत गर्दा ७०.६२ प्रतिशत आम्दानी गरेको जनाइएको हो ।