काठमाडौं । ‘विकेन्द्रिकृत विद्युतीय मुद्रा’ अर्थात् क्रिप्टोकरेन्सीले हालका दिनहरूमा विश्वभर निकै व्यापकता पाइरहेको छ । नेपालको छिमेकी मुलुक भारतले यसलाई नियमन गर्नका लागि गत जनवरीमा ‘नेसनल स्ट्रेटिजी अन ब्लकचेन’ ड्राफ्ट गर्यो । नेपालको कानूनले भने यस्तो मुद्रा र कारोवारलाई पूर्णतया अवैधानिक मानेको छ ।
पछिल्लो समय इन्टरनेटमा पनि क्रिप्टोकरेन्सीका सम्वन्धमा यथेष्ट बहस र सूचनाहरू भेटिन्छन् । तथापि नेपालमा भने यसबारे सही बुझाइ अझै निर्माण हुन सकेको छैन । धेरैले ‘बिटक्वाइन’ सुनेका र केही हदसम्म बुझ्का छन् । तर, ‘क्रिप्टोकरेन्सी’ भन्नु नै ‘बिट्क्वाइन’ र ‘बिट्क्वाइन’ भन्नु नै ‘क्रिप्टोकरेन्सी’ भन्ने आम बुझाइ पाइन्छ । सर्वसाधारणमा मात्र नभएर नेपाल राष्ट्र बैङ्कले समेत यस्तै मान्यता राखेको देखिन्छ । राष्ट्र बैङ्कले २०७४ साल साउन २९ गते जारी गर्दै ‘बिट्क्वाइन कारोवार नेपालमा गैरकानुनी रहेको’ जनाएको थियो । यसले क्रिप्टोकरेन्सीका अन्य क्वाइनहरूलाई समेट्न सकेको छैन ।
बिटक्वाइन र क्रिप्टोकरेन्सी
क्वाइनमार्केट क्यापको आँकडाअनुसार अहिले विश्वभर १० हजारभन्दा धेरै क्रिप्टोकरेन्सीहरू छन् । तीनै क्रिप्टोकरेन्सी अर्थात् क्वाइनमध्ये सबैभन्दा पहिलो, धेरै मूल्यको र चर्चित ‘बिट्क्वाइन’ हो । बिट्क्वाइन २००९ मा एक जापानी प्रोग्रामरले बनाएका थिए ।
अहिले विश्वमा बिट्क्वाइन जस्ता हजारौं क्रिप्टोकरेन्सीहरू छन् । ‘इथेरियम’, पोल्काडट, रिप्पल, डोजक्वाइन जस्ता अन्य क्वाइनहरू पनि क्रिप्टोकरेन्सी हुन् । तर, नेपालमा भने क्रिप्टोकरेन्सी भन्नु नै बिट्क्वाइन हो भन्ने बुझाइ हावी छ ।
अज्ञानता कि लापरवाही ?
नेपालमा हुने सम्पूर्ण आर्थिक कारोबारको नियामक निकाय हो, नेपाल राष्ट्र बैङ्क । देशभित्रका बैङ्क तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकको समेत अभिभावकका रूपमा रहेको राष्ट्र बैङ्कले जारी गरेको बिट्क्वाइन सम्बन्धी सूचनाले यसको नीतिगत क्षमतामै प्रश्न चिह्न खडा गर्छ ।
नेपालको कानुनले ‘राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सक्ने’ व्यवस्था लागु गरेको छ । र, क्रिप्टोकरेन्सीको कारोबार र त्यसमा लगानी गर्नका लागि विदेश पैसा पठाउनु पर्ने हुन्छ । त्यसरी स्वीकृति बिना पैसा पठाउने कार्यलाई नै गैरकानुनी भनिसकेपछि राष्ट्र बैङ्कले बिट्क्वाइनलाई मात्र समेटेर जारी गरेको सूचनाले सर्वसाधारणमा झन् भ्रम छरेको देखिन्छ । अन्य क्वाइनमा हुने लगानी चाहिँ वैधानिक हो त ? भन्ने प्रश्न पनि उठ्छ ।
लगानीको सम्भावना
पछिल्लो समय दैनिकजसो क्रिप्टोकरेन्सीमा लगानी गरेर मानिसले अचानक करोडौं कमाएका समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने गरेका छन् ।
दुई साताअघि गोल्ड साच्सका एक उच्च स्तरका कर्मचारीले ‘डोजक्वाइन’ मार्फत् करोडौं डलर आम्दानी गरेर जागिर छोडेको समाचारले तहल्का मच्चाएको थियो । त्यस्तै, एक अमेरिकी २५ वर्षीय युवाले बिट्क्वाइनलमा लगानी गरेर कलिलो उमेरमै मिलिनियर बनेको समाचार पनि छ्याप-छ्याप्ती भएको थियो । तर, युरोप तथा अमेरिका र छिमेकी मुलुक भारतमा पनि यसको लगानी र कारोबार फैलिरहँदा नेपालमा भने कानूनत: यो अवैधानिक छ ।
राष्ट्र बैङ्कबाट स्वीकृति नलिई नेपालबाट विदेश पठाउनै गैरकानुनी मानिने नेपालमा क्रिप्टोकरेन्सीलाई मुद्राको मान्यता नदिएकाले झट्ट हेर्दा नेपालबाट लगानी असम्भव देखिन्छ । तर, सामाजिक सञ्जालका ग्रुप तथा स्ट्याटस हेर्दा अदृश्य रूपमा नेपालबाट पनि ठूलो रकममा यसको कारोबार भइरहेको पाइन्छ ।
केही हदसम्म वेबसाइट नै निर्माण गरेर, ‘पियर टू पियर’ ट्रान्सफरमार्फत् वा विदेश बस्ने साथीभाई र आफन्तमार्फत नेपालीले लगानी गरिरहेका छन् । फेसबुक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालमा समूह बनाएर क्रिप्टोकरेन्सीमा लगानी गर्ने जमातले यसको कारोबार गरिरहेको पाइन्छ । तर, कानुनले बर्जित गरेकाले खुलेआम यसको कारोबार भने देखिँदैन ।
अवैधानिक घोषणा कागजमा मात्रै
नेपालको कानुनले अवैधानिक घोषणा गरेका धेरै आर्थिक गतिविधि सरकारले रोक्न नसकेको ध्रुव सत्य हो । चाहे सट्टेबाजी होस्, हुन्डी होस् वा विद्युतीय कारोबार नै किन नहोस् । सरकारको नीति र निर्णयहरू कागजमा मात्रै सीमित भएको र फाट्टफुट्ट बाहिर आएका घटनामा पनि सरोकारवालाको उदासीनता उदेकलाग्दो छ ।
गत वैशाखमा मात्र खल्ती डिजिटल सेवा प्रदायकले सट्टेबाजीमा संलग्न रहेको आशंकामा करिब एक हजार प्रयोगकर्ताको ट्रान्जेक्सन स्टेटमेन्टसहित राष्ट्र बैङ्कलाई अनुसन्धानका लागि सजग गराएको थियो । तर, त्यसबारे अहिलेसम्म राष्ट्र बैङ्कले केही पनि कदम चालेको छैन । न त केही बताएको छ ।
त्यस्तै, नेपालबाट विदेश पैसा पठाउनका लागि हुने गरेको हुन्डी कारोबार गैरकानुनी भने पनि यसको रोकथाम र सर्वेक्षणबारे कानमा तेल हालेर सुत्ने भन्दा केही गरेको देखिँदैन । त्यस्तै, क्रिप्टोकरेन्सीको सम्बन्धमा पनि नेपाल राष्ट्र बैङ्क तथा सरकारको पारा उस्तै देखिन्छ ।
वैधानिकता आवश्यक छ ?
यसलाई दुवै पक्षबाट हेर्न सकिन्छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका मुलुकहरूले अबको भविष्य नै क्रिप्टोकरेन्सी हो भन्दै यसलाई वैधानिकता दिएका छन् । कतिपय स्थानहरूमा रेस्टुरेन्टको बिल तिर्न, नेटफिल्क्सको प्याकेज किन्न, टेस्ला कार किन्न, खेलहरूको टिकट किन्नसमेत क्रिप्टोकरेन्सीको प्रयोग हुन थालेको छ ।
विदेशमा पैसा पठाउनलाई नै अपराध मान्ने नेपालमा भने यसको तत्काल वैधानिकता कल्पना बाहिरको कुरा जस्तो देखिन्छ । तर, निकट भविष्यमा क्रिप्टोकरेन्सी र बिट्क्वाइनलाई फरक तरिकाले व्याख्या गर्नसक्ने नीति निर्माता नेपालले पायो भने यसले वैधानिकता पाउन पनि सक्छ ।
झट्ट हेर्दा सेयरबजार प्रकृतिको देखिने क्रिप्टोकरेन्सीको कारोबार फियाट मनी (रूपैयाँ, डलर, युरो, पाउन्डलगायत) जस्तो महँगो हुँदैन । किनभने, क्रिप्टोकरेन्सी ट्रान्सफरका लागि फियाट मनीजस्तो तेस्रो पक्ष (बैङ्क) को आवश्यकता पर्दैन । नेपालको कुनै एक स्थानबाट विश्वको जुनुसुकै देशमा तेस्रो पक्षबिना नै पैसा पठाउन सकिन्छ । क्रिप्टोकरेन्सीको कारोबारलाई सम्भव बनाउन ब्लकचेन प्रविधिको प्रयोग गरिएको हुन्छ । त्यसैले ट्रान्जेक्सनका लागि तेस्रो पक्षको आवश्यकता पर्दैन । त्यसले गर्दा यसको कारोबार सहज, सुरक्षित र छिटो पनि हुने गरेको छ ।
कसरी हुन्छ कारोबार ?
सामान्यतया ‘टिएमएस’ अकाउन्ट बनाएर सेयर खरिद–बिक्री गरेजसरी नै क्रिप्टोकरेन्सीको किनबेच गर्न सकिन्छ । यसको खरिद–बिक्रीका लागि विभिन्न प्लेटफर्महरूको प्रयोग हुने गरेको छ । जस्तै, बाइनान्स, क्रिप्टोडटकम, रबिनहुड, इटोरो, क्वाइनबेस लगायत प्लेटफर्ममा साइनअप गरेर यसको कारोबार गर्न सकिन्छ ।
तर, यसलाई राख्नका लागि क्रिप्टो वालेटको आवश्यकता पर्छ । ब्लकचेन प्रविधिको प्रयोग गरिएको हुनाले यसलाई सुरक्षित र विश्वसनीय मानिन्छ । अर्को अर्थमा प्लेटफर्ममा गरिने कारोबारलाई इ-सेवामा भएको पैसा र वालेटमा राख्नुलाई बैङ्कको खातामा राखिने पैसा जसरी बुझ्न सकिन्छ ।