Tag: बिजुली

  • चेपाङ बस्तीमा बिजुली बत्ती

    चेपाङ बस्तीमा बिजुली बत्ती

    मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् ।

    सीमान्तकृत चेपाङ समुदायको संख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जनाएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताए ।

    २३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए ।

    पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले १३ लाख सहयोग गरेकामा गाउँपालिकाले ६ लाख र बाँकी चार लाख बराबरकोे स्थानीयवासीले श्रमदान गरेका थिए ।

    अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भने । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको छ । रासस

  • नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने गृहकार्य

    नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने गृहकार्य

    काठमाडौं । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।

    नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो । यसबाट ५ अर्ब नोक्सान भएको छ । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो ।

    बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए । ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत हामी खरिद गर्न सक्छौँ ।’

    हमिदले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए ।

    जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न हुने भएको छ । ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने ।

    बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सीधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरू गर्ने भएको हो ।

    भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ। नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

    बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ । नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ ।

    भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे ।

    परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

    ढाकामा भएको भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलको उपस्थिति थियो ।

    यसैगरी नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।

  • उद्योगलाई पर्याप्त बिजुली दिने प्राधिकरणको तयारी

    उद्योगलाई पर्याप्त बिजुली दिने प्राधिकरणको तयारी

    काठमाडौं । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ ।

    प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्य अनुसार काम भएको खण्डमा चालू आवमा नै थप एक हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुन्छ । त्यसो हुँदा प्रणालीमा तीन हजार ३०० मेगावाट बराबरको बिजुली प्रवाह हुन्छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातको समयमा झण्डै ४०० मेगावाट बिजुली जगेडामा रहेको छ । यसो भन्नुको अर्थ खेरगइरहेको छ । यस्तै दिनको समयमा पनि झण्डै २५० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ । प्राधिकरणले बढी भएको बिजुली भारत निकासीको प्रयास पनि नगरेको होइन । तर, नेपालमा आउन दिने, भारतमा निकासी हुन नसकेको अवस्थामा प्राधिकरणले देशभित्रै बिजुलीको खपत बढाउन लागेको हो ।

    जानकारका अनुसार एक युनिट बिजुली लगानी गर्दा झण्डै ९० देखि रु १०० बराबरको आर्थिक उपार्जन हुन जान्छ । यस आधारमा बिजुलीलाई कच्चापदार्थको रुपमा समेत लिइन्छ । उद्योगी व्यवसायीका अनुसार बिजुलीको सहज उपलब्धताले अर्थतन्त्रमा बहुआयमिक प्रभाव पर्दछ । प्राधिकरणले अव १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ । त्यसका लागि के कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिन समेत भनिएको छ ।

    वर्षाको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर भइसकेको छ । आगामी डेढवर्षभित्र हिउँदमा समेत आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । प्राधिरकणले हाल वर्षाको समयमा देशमा विद्युत्को मागभन्दा उत्पादन बढी भई खेर जाने अवस्था सिर्जना भएको भन्दै उद्योगीलाई थप बिजुली उपलब्ध गराउन सकिने उल्लेख गरेको छ । प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण गरिरहेकाले १३२ केभीलाई पनि वितरण लाइनमा विस्तार गर्न चाहेको हो ।

    यही असोज १४ गते विद्युत् विकास विभागले आयोजना गरेको विद्युत् महसुलसम्बन्धी सार्वजनिक सुनुवाइका क्रममा समेत कार्यकारी निर्देशक घिसिङले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगीलाई गुणस्तरीय बिजुली उपलब्ध गराइने जानकारी दिएको थियो ।

    बिजुलीको सहज उपलब्धता बढ्दै गई आत्मनिर्भर बनेको अवस्थालाई ध्यानमा राखेर देशभित्रै बिजुलीको खति बढाउन कार्ययोजनाका साथ अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

    त्यस्तै देशका विभिन्न औद्योगिक सहरमा माग अनुसारको थप बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन तथा सवस्टेशनको विस्तारलाई व्यापक रुपले अगाडि बढाइएको छ । सबै प्रकारका ग्राहकलाई क्षमता वृद्धि वा थप बिजुली माग भएमा सरल र सहज हिसाबले शीघ्र उपलब्ध गराउनेगरी व्यवस्था मिलाइएको छ ।

    आयोगको सुनुवाइका क्रममा व्यवसायी एवं एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले विदेश निर्यात गर्नुभन्दा देशभित्रै थप बिजुली उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरेको थियो ।

    उनले प्राधिकरणले थप बिजुली उपलब्ध गराए आफूहरु लिन तयार रहेको बताउनुभएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले ठूला औद्योगिक ग्राहकलाई थप बिजुली दिन लागेको हो । प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनको आसपासमा विद्युत् माग गरेमा तत्काल उपलब्ध गराइने उल्लेख गरेको छ ।

    सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सवस्टेशन भएको स्थानबाट नजिक उद्योग स्थापना गरी आवश्यक विद्युत माग गर्न भनिएको छ । प्रसारण लाइन एवं सवस्टेशनबाट टाढा भएमा कहिलेसम्ममा के कति मात्रामा बिजुली चाहिने हो यर्थाथ विवरण खुलाई तत्काल माग गर्न समेत प्राधिकरणले आग्रह गरेको छ । प्राविधिक दृष्टिकोणबाट सम्भव भएका स्थानबाट तत्काल र प्राविधिक दृष्टिकोणबाट तत्काल सम्भव नभएका स्थानमा प्राधिकरण थप लाइन तथा सवस्टेशन विस्तार गर्न पनि तयार रहेको जनाएको छ ।

    त्यस्ता स्थानमा छिटो भन्दा छिटो बिजुली आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उद्योगीका अनुसार थप ५०० देखि ८०० मेगावाटसम्मको थप बिजुली माग रहेको छ । त्यसमा सबैभन्दा बढी सिमेन्ट र छड उद्योगले थप माग गरेको अवस्था छ । प्रसारण लाइन निर्माण नभएका काराण चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले बिजुली पाउन सकेको छैन । सो उद्योगले मात्रै ८० मेगावाट माग गरेको अवस्था छ ।

    यस्तै, अन्य सिमेन्ट उद्योगले पनि क्षमता वृद्धिका लागि बिजुली माग गरेका छन् । बाह्य बजार खोज्दै हिँड्नु भन्दा देशभित्रै बिजुलीको बजार खोज्न प्राधिकरण लागिपरेको छ । कार्यकारी निर्देशक घिसिङले माग अनुसारको बिजुली उपलब्ध गराउनका लागि आफूहरु तयार रहेको जानकारी दिए । रासस

  • आज राजधानीका दर्जन बढी स्थानमा बिजुली काटिँदै

    आज राजधानीका दर्जन बढी स्थानमा बिजुली काटिँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण आज शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

    प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

    सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ ।

    बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।

    प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।