Tag: बाह्रविसे

  • अब बाह्रविसेका दीर्घरोगीसँगै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

    अब बाह्रविसेका दीर्घरोगीसँगै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

    सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने भएको छ । नवनिर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेतले पदभार ग्रहण कार्यक्रममा यस्तो निर्णय गरेका हुन् ।

    नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि निःशुल्क खाजाको व्यवस्था पनि गर्ने भएको छ । बढ्दो सहरीकणसँगै आगालगीबाट स्थानीय जनधनको क्षति हुन थालेपछि नगरपालिकाले दमकल खरिद गर्नेसमेत निर्णय गरेको छ ।

    पदभार ग्रहणसँगै नगरप्रमुख बस्नेतले बाह्रविसे नगरपालिका मातहात रहेको प्रथामिक स्वास्थ्य केन्द्रको स्तोरन्नति गरेर क्षेत्रीयस्तरको स्वास्थ्य केन्द्र बनाउने अर्काे निर्णय गरेको छ ।

    त्यस्तै, कृषि तथा पशुपालन र कृषकलाई प्राथमिकता दिँदै उत्पादन र बजारीकरणको व्यवस्थामा ध्यान दिने निर्णय पनि नगरपालिकाले गरेको छ । नगरभित्र शैक्षिक विकासमा ध्यान दिने र प्राविधिक शिक्षालयको विकासमा जोड दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।

    नगरभित्र कार्यरत बालविकास सहजकर्ता, विद्यालयभित्र कार्यरत कर्मचारीहरुलाई न्यूनतम पारीश्रमिक उपलब्ध गराउने पनि नगरपालिकाले निर्णय गरेको छ ।

    वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत प्रमुख र मञ्जु तामाङ उपप्रमुखमा निर्वाचित भएका हुन् ।

  • सिन्धुपाल्चोकको बाह्रविसेमा ‘वस्नेतको कमब्याक’, शेर्पा बाहिरिए

    सिन्धुपाल्चोकको बाह्रविसेमा ‘वस्नेतको कमब्याक’, शेर्पा बाहिरिए

    सिन्धुपाल्चोक । २०७४ सालको स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निमफुञ्जो शेर्पासँग कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेतले २११ मतअन्तरले पराजय भएका थिए । तर ५ वर्षअघि आफूले हारेकोभन्दा निकै बढी मतान्तरमा जित हात पार्न वस्नेत सफल भएका छन् ।

    एमाले उम्मेदवार शेर्पालाई बस्नेतले २ हजार २ सय ९५ मतको फराकिलो अन्तरले हराएका हुन् ।

    २०७४ सालको चुनावमा शेर्पाले ४ हजार ९२९ मत ल्याएका थिए भने बस्नेतले ४ हजार ७११ मत ल्याएका थिए । योपटक कांग्रेसका बस्नेतले ७ हजार ७२८ मत ल्याए भने शेर्पाले ५ हजार ४३३ मत ल्याए । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै मन्जु तामाङले ६ हजार ९७७ मत ल्याउँदा उनका प्रत्यासी एमालेकी शुशीला पाख्रिनले ५ हजार ९९० मात्रै मत ल्याइन् । उपमेयरमा अन्तर ९ सय ८७ को रहेको छ ।

    पाँच वर्षपछि अवस्था फेरिएको छ, बाह्रविसेमा । नेकपा एमालेले बाह्रविसे नगरपालिकामा योपटक पुरानै मेयर, उपमेयरलाई निर्वाचनमा उम्मेदवार बनाएको थियो । मेयरमा शेर्पा र उपमेयरमा पाख्रिन । तर एमालेका दुवै उम्मेदवार पराजित भए र बाह्रविसे ५ वर्षपछि कांग्रेसको पोल्टामा गएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको गृहनगरपालिका समेत रहेको बाह्रविसेमा योपटक कांग्रेसले ५ वडासहित मेयर र उपमेयरमा जित हासिल गरेको छ ।

    २०७४ मा एमालेले मेयर, उपमेयरसहित चार वडाध्यक्ष जितेको थियो । तर योपटक एमाले जम्मा दुई वडाध्यक्षमा मात्रै खुम्चिएको छ । वस्नेत ५ वर्षअघि मेयरका उम्मेदवार थिए भने उपमेयर मञ्जु तामाङ भने नयाँ अनुहार हुन् ।
    माओवादी केन्द्रबाट पनि २०७४ को निर्वाचनमा उम्मेदवार भएका बुद्धराज बस्नेत नै पुनः उम्मेदवार भएका थिए । बुद्धराजले अघिल्लोपटक ल्याएको मत ल्याइ अहिले निरन्तरता दिन सकेनन् । उनले २५७६ मत ल्याएका थिए तर योपटक जम्मा १२३१ मात्रै मत ल्याए ।

  • बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    सिन्धुपाल्चोक । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार सर्वसम्मत सिफारिस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रमुख, उपप्रमुखमा हालकै मेयर, उपमेयर दोहोरिने भएका छन् ।

    केही दिनदेखि जारी नेकपा एमाले बाह्रविसे नगर कमिटीको बैठकले मेयरमा निमफुञ्जो शेर्पा र उपमेयरमा शुसिला पाख्रिनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

    मेयरमा अन्यको पनि आकांक्षा भएपनि अहिलेको जटिल अवस्थामा पार्टीभित्र एकमना एकताका साथ हालकै मेयर उपमेयरलाई निरन्तरताका लागि सिफारिस गरिएको एमाले बाह्रविसे नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतले जानकारी दिए ।

    आफू नदोर्याउने पक्षमा भएपनि बाह्रविसेका पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना र पार्टीमा संकटको अवस्था भएकोले पुनःउमेदवार भएको मेयरका उमेदवार निमफुञ्जो शेर्पाले बताए ।

    बाह्रविसे नगरपालिकामा जसरी पनि जितेर आउनका लागि भन्दै केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नै बोलाएर शेर्पालाई निर्देशन दिएका थिए । ‘अध्यक्ष ज्यूले समेत बाह्रबिसे नगरपालिकामा जिताउनु भन्ने छ, सबै साथीहरुको चाहना पनि यही छ, त्यही भएर म फेरि उम्मेदवार भएर एमालेलाई जिताउने अभियानमा लागेको छु’, शेर्पाले भने । बाह्रविसेमा अब एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी शेर्पाले गरे ।

    सिन्धुपाल्चोकमा गठबन्धनको टुङ्गो नलागे पनि माओवादी केन्द्रले पनि बाह्रविसे नगरपालिकामा मेयर र उमेयरमा आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । मेयरमा बुद्धराज बस्नेत र उपमेयरमा पातली थामीलाई सिफारिस गरेको छ । बस्नेत अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बुद्धराज अघिल्लो निर्वाचनमा माओवादीमा प्रवेश गरेर मेयरमा उम्मेदवार भएका थिए । कांग्रेस, माओवादी गठबन्धन गर्ने चर्चा भइरहे पनि बस्नेत भने गठबन्धनको विपक्षमा छन् ।

    उनले केही दिनअघि सामाजिक सञ्जालमा मन मिल्नेहरुसँग मात्रै गठबन्धन हुनुपर्ने धारण सार्वजनिक गरेका थिए । बाह्रविसेमा अहिले आफूहरुको संगठन मजबुत भएकाले योपटक एक्लै लड्दा पनि जित्ने अवस्था भएको मेयरका उम्मेदवार बस्नेतले दाबी गरे ।

    सवारी साधान फिर्ता

    आसन्न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने भएपनि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशिला पाख्रिनले नगरपालिकाबाट लिएको सवारीसाधान नगरपालिकालाई फिर्ता गरेका छन् ।

    निर्वाचन आयोगले घोषणा गरेको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै नगरपालिकाबाट लिएको सवारी साधान फिर्ता गरेको उपमेयर पाख्रिनले जानकारी दिइन् । निर्वाचन आयोगले लाभको पदधारण गरेकाहरुले उम्मेदवार हुन नपाउने बताएको थियो ।

  • बाह्रविसेका बाढीपहिरोपीडितलाई पुनर्वास गराइँदै, पहिलो चरणमा १११ घरको सम्झौता

    बाह्रविसेका बाढीपहिरोपीडितलाई पुनर्वास गराइँदै, पहिलो चरणमा १११ घरको सम्झौता

    सिन्धुपाल्चोक । एक वर्षदेखि टेन्टमा बस्दै आएका बाह्रविसे नगरपालिकाका बाढीपहिरोपीडितको स्थायी बसोबास प्रक्रिया सुरू भएको छ ।

    नगरपालिकाको निरन्तर पहलपछि राष्ट्रिय विपद जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिरकणले विभिन्न बस्तीका विस्थापित एक सयभन्दा बढी परिवारसँग आवास पुननिर्माण सम्झौता सुरू गरेको हो । ढिलै भएपनि नगरपालिकाको समन्वयमा घर निर्माणका लागि सम्झौता सुरु हुने भएपछि विस्थापित परिवार खुसी भएका छन् ।

    २०७७ असार २२ र २४ गते आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाको प्राय वडाका बस्ती जोखिममा परेका थिए । घुम्थाङ नागपुजे, जम्बु, खागदाललगायतका बस्तीमा बाढीपहिरोले ४० जनाभन्दा बढीको मृत्युसमेत भएको थियो । बाढीबाट सबैभन्दा घुम्थाङ र जम्बुमा धेरै क्षति पुगेको छ ।

    गएको असारमा सामुदायिक आत्मनिर्भर केन्द्र, टिम नेपाल र बाह्रविसे नगरपालिका समेतको सक्रियतामा विस्थापित बस्तीहरूको स्थलगत निरीक्षण गरेर प्रभावित परिवारको तथ्यांक संकलन गरिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले बताइन् । उनका अनुसार वडा नम्बर ७ को ताङसार बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

    बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिका साथै विपद जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिरकणका प्रमुख कार्यकारी अनिल पोखरेल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, भूगर्वविद्लगायतले केही दिनअघि जोखिम बस्तीहरूमा पुगेर निरीक्षण समेत गरेका थिए ।

    निरीक्षणपछि तत्कालै आवास पुननिर्माण सुरूआत गरेर आउने वर्षामा पीडितहरूलाई सुरक्षित रूपमा राख्ने गरी स्थायी घर भित्र राख्नका लागि आफुहरु तयार रहेको प्राधिकरणका प्रमुख पोखरेलले बताएको उपप्रमुख पाख्रिनले जानकारी दिइन । भूगर्वविद् र नगरपालिकाको प्राविधिकहरुले बाह्रविसे नगरपालिकाको ५१ बस्तीको स्थलगत अनुगमन गरेको थियो ।

    राष्ट्रिय विपद् जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्राविधकहरूले जोखिमको आधारमा तीन भागमा वर्गीकरण गरेको र ‘क्याट थ्री’ मा परेकालाई आवास पुननिर्माण सम्झौता गरिने बाह्रविसेका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

    घुम्थाङका २६ घर र जम्बुका ४३ घर पुननिर्माणका लागि सम्झौता सुरू गरिएको छ । ‘हामीले अहिले यी सबै घरहरूको सम्झौताका लागि रातो कार्ड बनाएका छौं , अब आइतबारदेखि सम्झौता सुरू हुन्छ’, मेयर शेर्पाले भने, ‘हामी टेन्टमा बसेकाहरूलाई आउने वर्षाभित्र आफ्नै घरमा राख्ने गरेर काम गर्छौं ।’

    बाह्रविसे- १ मा ६, २ मा १४, ३ मा ५, ४ मा ६, ५ मा ४३, ६ मा ९, ७ मा २६ र वडा नम्बर ८ मा २ घर गरेर पहिलो चरणमा १११ घर पुननिर्माणको लागि सम्झौता हुनेछ ।

  • प्रहरी हिरासतमा मृत्यु प्रकरण–पोष्टमार्टमपछि पनि अन्तिम संस्कार गर्न अश्वीकार

    प्रहरी हिरासतमा मृत्यु प्रकरण–पोष्टमार्टमपछि पनि अन्तिम संस्कार गर्न अश्वीकार

    चौतारा । सहकारी चोरी गरेको आरोपमा पक्राउ परेका एक युवाको इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा मृत्यु भएको पाँच दिनपछि बल्ल पोष्टमार्टम भएको छ । साउन २२ गते बिहान उपचारको क्रममा धुलिखेलमा मृत्यु भएका बाह्रविसे नगरपालिका–७ घुम्थाङका खडकबहादुर तामाङको मंगलबार बेलुकी मात्रै शिक्षण अस्पताल महारजगञ्जमा पोष्टमार्टम भएको हो ।
    पोष्टमार्टम पछि मृतकका आफन्तहरु परम्परा अनुसार दाहासंस्कार गर्न मन्जुर भएपनि तामाङ समाजका केही अगुवाहरुले पोष्टमार्टमको रिपोर्ट नआउदा सम्म दाहासंस्कार गर्न नदिने भनेपछि मृतकका आफन्तहरु समस्यामा परेका छन् ।
    मृत्यु भएकै दिन बाह्रविसे नगरपालिकाको पहलमा मृतकका आफन्तहरु पोष्टमार्टम गर्न सहमती भएपनि प्रहरीको यातनाबाट तामाङको मृत्यु भएको भन्दै तामाङ समाज लगायतले विरोध गरेपछि पोष्टमार्टम हुन सकेको थिएन ।

    बाह्रविसे नगरपालिकामा पीडित पक्ष,प्रहरी राष्ट्रिय मानवअधिकार संगठनका प्रतिनिधि र तामाङ समाजका प्रतिनिधिहरुको छलफल पछि घटनाको अनुसन्धानका लागि स्वतन्त्र छानविन समिति गठन गर्ने र त्यो भन्दा अघि मृतकको पोष्टमार्टम गर्ने सहमती भएपनि सहमती कार्यन्वन नहुदा पोष्टमार्टममा ढिलाई भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शर्पाले जानकारी दिए ।
    ‘हामीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निष्पक्ष छानबिन समिति गठन गर्न भनेका थियौ तर तामाङ समाजका केही अगुवाहरुले आफ्नो स्वार्थ अनुसार अगाढी बढ्नु भयो’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने।

    मंगलबार बेलुकी शिक्षण अस्पतालमा मृतकको पोष्टमार्टम भएपछि काजकिरीयाका लागि मेयरले व्यक्तिगत रुपमा एक लाख सहयोग गर्ने र पछि नगरपालिकाबाट पनि मृतकका परिवारलाई थप सहयोग गर्ने बचन दिएपछि दाहासंस्कार गर्न परिवार सहमती भएका थिए ।
    तर छानविन समितिका सदस्य समेत रहेका तामाङ समाजका डिबी लामाले पोष्टमार्टमको रिपोर्ट नआउदासम्म केही गर्न नहुने बताएपछि दाहासंस्कार हुन नसकेको मेयर शेर्पाले जानकारी दिए ।

    ‘ढिलो पोष्टमार्टम हुदा आउनु पर्ने तथ्यहरु नआउन सक्छ,त्यसैले हामी छिटो पोष्टमार्टम गरेर त्यसपछि आउने रिपोर्टको आधारमा छानविन अघि बढाउन खोजेका थियौ मेयर शेर्पाले भने–‘तर घटनालाई राजनीतिक रंग दिन खोजीयो,मृतकमाथी घृणित राजनीति भयो । ’
    मेयर शेर्पाका अनुसार परिवारका आफन्तको मृत्यु भएको छ त्यसमाथी लाश कुरेरे अस्पतालमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।

    मेयर शेर्पाले भने–‘पोष्टमार्टम भइसकेको छ,अब लासलाई किन अस्पतालमा वेवारीस बनाएर राख्नु ।’ आफ्नो स्वार्थका लागि केही तत्वहरुले पीडितहरुलाई झन पीडा दिएको मेयर शेर्पाको आरोप थियो ।
    पोष्टमार्टमा को रिपोर्ट नआउदा सम्म मृतकका आफन्तहरुलाई राजधानीमा खान बस्न समेत समस्या सुरु भएको छ ।
    परिवारका आफन्तहरु दाहासंस्कार गर्न चाहान्छन् तर अन्य व्यक्ति गर्न दिदैन् मेयर शेर्पाले भने–‘आन्दोलनकारीहरु पीडितलाई न्याय भन्दा पनि अन्याय गर्न लागिरहेका छन् । पहिला पोष्टमार्टमा रोक्ने,अहिले सदगत रोक्ने यो त हदै भयो नी बाह्रविसेका एक स्थानीयले भने । राजनीतिक स्वार्थ राखेर यसरी लाख माथी राजनीति गर्न नहुने ति स्थानीयको भनाई थियो ।
    प्रहरी हिरासतमा मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले ुहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल,जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेत,राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला,जिल्ला बारका अध्यक्ष भुपेन्द्र थिङ,तामाङ समाजको तर्फबाट डीबी लामा,सोही वडाका सदस्य बिरबहादुर थापा र मृतकको आफन्तहरुको तर्फबाट श्याम तामाङ रहेको छानविन समिति सोमबार गठन गरिएको थियो ।

    छानविन समितिको प्रतिवेदन आएपछि अन्य प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

  • हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

    हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

    चौतारा । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालबाट पोष्टमार्टम रिपोर्ट आएपछि अरु प्रक्रिया अघि बढाउन सहमती जनाएका छन् ।

    शुक्रबार पोस्टमार्टम गर्न खोजीएपनि समय अभावको कारणले सम्भव नभएको र शनिबार मात्रै पोष्टमार्टमको रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । मृतकका आफन्तहरुबाट जाहेरी आएको छ, पोष्टमार्टमको रिपोर्टमा प्रहरीको कुटपिटबाट मृत्यु भएको देखियो भने कानुन अनुसार कारवाही हुनुर्ने जाहेरीमा छ । डीएसपी बस्नेतले भने-‘अब अरु सबै प्रक्रिया पोष्टमार्टम रिपोर्ट पछि मात्रै सुरु हुन्छ ।’

    हिरासत भित्र युवकको मृत्यु भएपछि गाउँका सयौँ स्थानीय प्रहरी कार्यालयमा आएका थिए । हामीले घटनाको बारेमा सबै जानकारी गराएका छौं, सीसीटीभी फुटेज पनि देखाएका छौं, घटनाको अनुसन्धानमा खटिएको डीएसपी बस्नेतले भने-‘पक्राउ परेको भोलिपल्ट पनि उनी बिरामी भएपछि आफन्तलाई जानकारी गराएर अस्पतालमा लगेका थियौं ।’

    चोरी आरोपमा इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका बाह्रविसे नगरपालिका-७ घुम्थाङका युवाको उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    बाह्रविसेका मेयर भन्छन् : निष्पक्ष छानविन होस्

    प्रहरी हिरासतमा आफ्नो नगरको स्थानीय मृत्यु भएपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले घटनाको निष्पक्ष छानविनका लागि अनुरोध गरेका छन् । मेयर शेर्पाले सामाजिक सञ्जाल मार्फत मानवअधिकारकर्मी, सञ्चारकर्मी, पीडित पक्ष सबैलाई सहभागी गराएर निष्पक्ष छानविन समिति गठन गर्न आग्रह गरेका छन् ।

    प्रहरीको कडा सुरक्षा घेरा भित्र हिरासत कक्षमा रहेका युवाको मृत्यु हुनु दुःखद हो, बाह्रविसे नगरपालिका यस घटनाप्रति दुःख व्यक्त गर्दछ । घटनाको निष्पक्ष छानबिनका लागि हामी अनुरोध गर्दछौ मेयर शेर्पाले भनेका छन् ।

    बाह्रविसे नगरपालिकाको न्यायिक समितिले पनि घटनाको बारेमा अध्ययन गर्ने बताउदै मेयर शेर्पाले पोष्टमार्टम रिपोर्ट दिएपछि त्यही रिपोर्टको आधारमा सत्यतथ्य बाहिर आउने विश्वास गरेका छन् । पोष्मार्टमाको रिपोर्टबाट सबै कुरा थाहा हुने भएकाले त्यो रिपोर्ट नआउदासम्म कोही पनि उत्तेजित नहुनका लागि सबैमा विनम्र अनुरोध गर्दछु मेयर शेर्पाले भनेका छन् ।