Tag: बालबालिका

  • जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

    जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

    मुगु । मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् ।

    विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् ।

    कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान गाह्रो भएको कक्षा ४ मा अध्ययनरत् चाउली तिरुवाले बताइन् । छायानाथ रारा नगरपालिकालाई बाटो निर्माणको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विकले बताए ।

    मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ । सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न नपाएको अध्यक्ष विकले बताए ।

     

  • काठमाडौंमा एक वर्षमा बेवारिसे अवस्थाका ४५ बालबालिका भेटिए

    काठमाडौंमा एक वर्षमा बेवारिसे अवस्थाका ४५ बालबालिका भेटिए

    काठमाडौं । नेपाल प्रहरीले एक वर्षमा ४५ जना बेवारिसे अवस्थामा बालबालिका फेला पारेको छ । २३ दिनदेखि १६ वर्ष उमेरसम्मका  उनीहरूलाई संरक्षणका लागि विभिन्न बालगृहमा सिफारिस गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीमा निवेदन परेकामध्ये अझै पनि नौ जना बालबालिका नभेटिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बताए ।

    उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २०७७ जेठदेखि २०७८ भदौसम्ममा फेला पारिएका १७ जना बालक र २८ जना बालगृहहरूलाई जिम्मा लगाइएको हो ।

  • सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

    सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

    जनकपुरधाम । सिरहामा भटाभट बालबालिकाको मृत्यु हुन थालेपछि कोरोनाको तेस्रो भेरियन्ट आइसकेको आशंका गरिएको छ ।

    १२ दिनमै सिरहामा १६ वर्ष मुनिका चार बच्चाको मृत्यु भएको सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जटिल बनेपछि अस्पताल ल्याउने क्रममै चारै बच्चाको मृत्यु भयो । उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।

    ती बच्चाहरूको मृत्यु के कारणले भयो भन्ने पुष्टि हुन सकेका छैन । उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्टकै कारण उनीहरूको मृत्यु भएको आशंका छ । मृतक बच्चाको पीसीआर परीक्षण गराउँदा कारण खुल्न सक्थ्यो । तर अभिभावकले आग्रह मानेनन् ।’

    मृतक बालबालिकाहरू कुन ठाउँका थिए भन्ने रेकर्ड अस्पतालसँग छैन । ‘अस्पताल ल्याउने क्रममै ती बालबालिकाको बाटोमै मृत्यु भयो । भर्ना हुनै पाएनन् । त्यसैले हामीसँग रेकर्ड छैन’, डा. यादवले भने ।

    तर मृत्युको कारण पत्ता लगाउन कसैले चासो देखाएका छैन । बच्चाहरूको मृत्युको कारण पत्ता लगाउने दायित्व कसको भन्ने जिज्ञासामा डा. यादवले भने, ‘स्थानीय तहका स्वास्थ्य शाखाको काम हो । आफ्नो गाउँ/नगरमा के समस्या छ भन्ने कुराको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर त्यो भइरहेको छैन ।’

    बिरामी परेलगत्तै नजिकको अस्पताल पुग्न, चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन नगर्न उनको सुझाव छ ।

    धनुषामा भने बालबालिकाको मृत्यु भएको कुरा बाहिर आएको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पछिल्लो समय कोरोनाको लक्षण देखिएका कुनै बालबालिकाको मृत्यु नभएको बताए ।

    कोरोनाको तेस्रो भेयिरन्ट आउन एक/डेढ महिना समय लाग्ने उनको भनाइ छ ।

  • बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

    बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

    काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस-सी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को संक्रमण पछिको जलिटलता हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस-सी संक्रमण देखिने बढी जनाएको छ । एमआइएस-सी भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको पुष्टि गरे ।

    उनले कोभिड-१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताए । उनले ती संक्रमिमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताए ।

    कान्ति बाल अस्पतालका निर्देशक डा.आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने बेलादेखि नै उक्त संक्रमणका बालबालिका देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । ‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस-सी को संक्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’

    उनका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको संक्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।

    पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड-१९ कै कारण देखिने संक्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’ उनका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।

    यो सामान्यत कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा. विच्छाले एमआइएस-सी को संक्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

    उनका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसीयू), २५ हाइ डिपेडेन्सी युनिट (एचडीयू) रहेका छन् । यस्तै १० आइसीयू र २५ एचडीयू थप्ने क्रममा रहेको छ । अहिले कोभिड-१९ संक्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।

    बालबालिकामा एमआइएस-सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरवहादुर तामाङले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसीयू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शय्या छुट्टाउन थालिएको बताए ।

  • कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

    अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

  • बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

    नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड-१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।

    ‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्छ’, बडालले नेपाल प्रेससँग भने ।

    दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।

    संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको बडालले जानकारी दिए । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए ।

    बडालका अनुसार नजिकै रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरी त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको छ ।

  • कोरोनाले बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक समस्या बढ्दो

    कोरोनाले बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक समस्या बढ्दो

    काठमाडौं । कान्ति बाल अस्पतालमा केही दिनअघि छोराको समस्या लिएर चिन्तित हुँदै एक अभिभावक आइपुगे । बालकको समस्या थियो- ‘मोबाइल अत्यधिक चलाएका कारण जीउ गल्ने । बालक जुनबेला पनि घरमा डराइरहन्थे । मनोविद्को परामर्शपश्चात् थाहा भयो उनलाई आफूलगायत ‘बा, आमा र भाइलाई केही हुन्छ कि’ भन्ने डरले सताइरहेको रहेछ । त्यसकै असरले अनौठो स्वभाव देखा परेको रहेछ ।

    ८ वर्षीय अर्का बालकमा सामानहरू फालिदिने, आगो लगाइदिने र बाआमाका कुरा मान्दै नमान्ने समस्या देखा परेपछि अस्पताल ल्याइयो । ती बालकले यस्तो प्रतिक्रिया जनाउन थालेको केही दिनमात्र भयो ।

    कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् डा. रामपुकार साहका अनुसार अस्पतालमा घरमा अतालिएर मनोवैज्ञानिक समस्या देखा परेका बालबालिकाका केस लकडाउनको बीचमा धेरै आएको छ ।

    ‘एक जना बालक केहीदिनदेखि डरले हिँड्नै नसक्ने भएका थिए । यसलाई डिसिसरी डिसअर्डर भनिन्छ । यसमा तनाब धेरै भएपछि त्यो शरीरमा जान्छ । र शरीरको कुनै पनि भाग नचल्ने हुनसक्छ । तर शारीरिक रुपमा केही पनि गाह्रो भएको थिएन । अरु जाँच गर्दा रिपोर्ट नर्मल थियो,’ उनले सुनाए ।

    कारण रहेछ, कोभिडको मनोवैज्ञानिक असर । घरमा बाहिर जाँदा ज्यान जान्छ भन्ने खालका कुरा सुनेपछि उनी अत्तालिन थालेका रहेछन् । साहका अनुसार कतिलाई त खान निल्नै गाह्रो हुने भएका केस पनि आए ।

    ‘खासमा बच्चाको डर व्यक्त गर्ने तरिका फरक हुन्छ । र उनीहरूको डर व्यक्त शरीरबाटै हुन्छ,’ डा. शाह भन्छन् ।

    तस्बिर स्रोत : युनिसेफ ।

    मनोविद् करुणा कुँवरसँग पनि पछिल्लो समय यस्ता केस आइरहेका छन् । ‘एकजना अभिभावकले बच्चाले धेरै मोबाइल चलाएपछि किन चलाएको भन्दा बच्चाले मुख लगाएछन् । मुख लगायो भनेर एक थप्पड हान्दा आँखामा लागेर चोटपटक लागेछ । कतिपय अभिभावक चिन्तित हुँदै फोन गर्नुहुन्छ,’ कुँवर भन्छिन् ।

    नयाँ भेरियन्टसहितको कोरोना दोस्रो वेभको प्रभाव बालिबालिकामा पनि उत्तिकै परेको छ । कोरोनाको प्रत्यक्ष असर त बालबालिकामा छ नै । त्यसमाथि लकडाउनको समयमा बालबालिकामा मानसिक समस्या पनि देखा पर्न थालेका यी प्रतिनिधि उदाहरण हुन् ।

    डा. साहका अनुसार कान्ति बाल अस्पतालमा तीन वर्षमुनिका बालबालिकामा विकासमा कमी आएका केससमेत आउँछन् । मांसपेशी विकास नहुने (जसले गर्दा हिँडडुल गर्न, सामात्न गाह्रो हुने), बोलाउँदा नबोल्ने, बोलीकै विकास नहुने, भावनात्मक कुरा नबुझ्ने खालका समस्या आइरहेको उनले बताए । उनका अनुसार बालबालिकाको हुनुपर्ने जति बौद्धिक विकास पनि भएको पाइएको छैन ।

    जोखिममा फ्रन्टलाइनरका बच्चा

    इटालीमा गरिएको एक अनुसन्धानका अनुसार ३० प्रतिशत बालबालिका ‘पोष्ट ट्रमाटिक डिसअर्डर’को उच्च जोखिममा छन् । यो जोखिम स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनरहरूको बालबालिकामा बढी देखिएको छ । नेपालमा पनि विशेषगरी मेडिकल क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरका बच्चाहरूमा त्यस्ता समस्या देखिएका छन् ।

    कोभिडको बेला कतिपय फ्रन्टलाइनरहरू घर नजाँदा बालबालिकाबीचको दूरी बढिरहेको छ । घर गए पनि आइसोलेसनमा रहने हुँदा बालबालिकासँग नजिक हुन पाउँदैनन् । मनोविद् कुँवर सुनाउँछिन्, ‘एकजना डाक्टर साथीले मलाई सुनाउँदै थिए- म घरमा आइसोलेसनमा बस्दा नजिक नआऊ भन्दा बच्चाहरू मान्दैनन् । इरिटेट हुने र एग्रेसिभ हुने समस्या देखा परेको छ ।’

    ‘उनीहरूसँग अभिभावकले पनि राम्रोसँग कुरा गर्न नपाउने टाढै बसेर कुरा गर्नुपर्ने अवस्था छ । यसले गर्दा बालबालिका अभिभावकसँग अहिले टाढिएको अवस्था छ,’ उनी थप्छिन् ।

    मनोविद् डा. साह पनि सोही अनुभव सुनाउँछन्, ‘बाआमा कोही अफिस जानु पर्‍यो भने डाँको छाडेर रुने, टाढा भयो कि दशदेखि पन्ध्रचोटी कल गर्ने, बोलाउने । अभिभावकहरू काममा पनि जान नसक्ने । यस्तो केस बढीजसो मेडिकल क्षेत्रमा काम गर्ने अभिभावकहरूले बताउँछन् ।’

    कतिपय भने दुवै अभिभावक काममा जानु पर्ने भएकाल लकडाउनको बेला बच्चाहरूलाई समय दिन सकिरहेका हुँदैनन् । यसको परिणाम बच्चाहरूमा बोलीको विकासमा कमी आउने, सामाजिक विकासमा कमी आउने, भावनात्मक समस्या बढी आउने खालका समस्या देखा परेको डा. साह बताउँछन् ।

    अत्यधिक त्रास र निराशा

    बाल मनोविद् डा. मिनाक्षी दाहाल शिक्षक तथा अभिभावकहरूसँग कुराकानीका क्रममा संवेदनशील बालबालिकालाई यसले थप नकारात्मक असर पारिरहेको पाइएको बताउँछिन् । दाहालका अनुसार जो बालबालिका पहिला बढी डर र त्रासमा थिए । जसलाई प्रत्यक्ष असर अघिल्लो लकडाउनमा पारेको थियो, त्यस्तो बालबालिकालाई यसले थप नकारात्मक प्रभाव पारेको छ । ‘अब यस्तै हुन्छ कहिले पनि खुल्दैन भन्ने खालका सोच, निराश हुने समस्या बालबालिकामा छन् ।

    एकजना अभिभावकसँगको संवादमा उनले सुनेकी थिइन् । ‘अब निराश हुनुपर्दैन । एक महिनापछि सबै ठीक हुन्छ’ भनेर अभिभावकले सम्झाउँदा भन्दा पनि सन्तानको निराशाजन्य जवाफ थियो, ‘फेरि अर्को यस्तै आइहाल्छ नि… ।’

    यद्यपि, सबै बालबालिकालाई एउटै नियम लागू नहुने उनको अनुभव छ । ‘यसले कति गहिरो असर बनाएको छ, यसलाई उनीहरूले ग्रहण गर्नसक्ने क्षमता कस्तो छ ? युवा तथा अभिभावकले त्यसलाई कसरी लिएका छौं, कसरी यसबारे कुरा गरेका छौं त्यो पनि उतिकै महत्वपूर्ण रहेछ,’ उनी सुनाउँछिन् ।

    किन हुन्छ यस्तो ?

    मनोविद्हरूका अनुसार कोभिडको कारण जुन भयको वातावारण सिर्जना भयो, त्यसले नै यो किसिमको समस्या पैदा भयो । समाचारमा मान्छे बितेको, अक्सिजन अभाव भएको लगायतका जानकारी आउँछन् । त्यसले गर्दा बच्चालाई सही जानकारी थाहा हुन्न । त्यसपछि उनीहरूले यो अवस्थालाई डरलाग्दो र उपायविहीन भन्ने हिसाबले सोच्छन् । डा. साहका अनुसार ५ वषदेखि १० उमेर समूहका बालबालिकामा कोरोनाबारे धेरै जानकारी आउँछ ।

    ‘अभिभावकले कुरा गर्दा उनीहरूले सुन्छन् । तर, बुझिरहेका हुँदैनन् । कोरोनालाई लिएर एकदमै डरलाग्दो मनस्थिति बन्छ । उनीहरूले डराएँ भनेर भन्ने भन्दा पनि शरीरबाट व्यक्त गर्ने हो । त्यतिबेला उनीहरूको लक्षण पेट दुख्ने, टाउको दुख्ने खालको हुन्छ,’ साह भन्छन्, ‘ किशोरकिशोरीको अवस्थामा चाहिँ जानकारी पनि हुन्छ । के भइरहेको भन्ने कुरा पनि थाहा हुन्छ । तर, एकदमै धेरै चिन्ता र इन्टरनेट एडिक्ट बढेको कारण ध्यान दिन कमी आउने, चिरचिराहट हुने, छट्पटी हुने, रिसाउने इत्यादि कुरा पनि अत्यधिक मात्रामा पाउँदैछौं ।’

    स्कुल बन्द भएका कारण साथीहरू भेट्न नपाउँदा पनि उनीहरूमा छट्पटी देखिने डा. दाहाल बताउँछिन् । ‘जाँच हुन्छ कि हुँदैन, स्कुल खुल्छ कि खुल्दैन लगायतका कुराले नकारात्मक मनोभावनालाई मलजल गरेको छ,’ उनी भन्छिन् ।

    अभिभावक सजग हुन आवश्यक

    बच्चाको मनोविज्ञान उनीहरूको अभिभावकको मनोविज्ञानमा समेत भर पर्ने मनोविद्हरूको बुझाइ छ । दाहाल भन्छिन्, ‘अभिभावकले कोभिडबारे अरुसँग कुरा गर्दै गर्दा त्यसबारे बच्चाले सुनिरहेका हुन्छन् । समाचार सुनिरहेको छ । कोभिडको ग्राफ त उनीहरूले पनि उतिकै देखिरहेको हुन्छन् । भलै, कुन उमेरको छ, कति भन्न र बताउन नसक्लान् । तर उनीहरूलाई यो परिवेशले, आएको समाचारहरूले, हामीले गर्ने कुराकानीले असर पारिरहेको हुन्छ ।’

    अभिभावक स्वयम् सामाजिक सञ्जालमा व्यस्त हुँदा बालबालिकाले समय नपाएको मनोविद् कुँवर बताउँछिन् । ‘बुबाआमा स्वयम् सामाजिक सञ्जालमा व्यस्त भएको हुँदा बालबालिकालाई समय नै नदिएको जस्तो देखिन्छ । यसमा अभिभावकले ध्यान दिनुपर्नेछ,’ उनी सुझाउँछिन् ।

    बालबालिकासँग संवाद आवश्यक

    बालबालिकालाई मनोवैज्ञानिक समस्याबाट जोगाउन अभिभावक र बालबालिका बीचको दूरी घटाउनुपर्ने डा. दाहाल बताउँछिन् । ‘अभिभावकले के गरिरहेका छन् भन्ने कुरा बालबालिकाले थाहा पाउनुपर्‍यो, बच्चाले के गर्दैछ भन्ने कुरा अभिभावकले थाहा पाउनुपर्‍यो । संवाद गर्नुपर्‍यो एकअर्कासँग,’ उनको सुझाव छ ।

    मनोविद् कुँवरको पनि उही मत छ । उनका अनुसार बालबालिकासँग अभिभावकले समय बिताउनुपर्छ । ‘उनीहरूसँग कुरा गर्ने, खेल खेल्ने । आँगन छ भने सहभागी भएर कुराकानी गर्ने, घरकै र सिर्जनात्मक काममा उनीहरूलाई संलग्न गराउने । सिकाइमा समावेश गराउने गर्न सकिन्छ,’ उनी सुझाउँछिन् ।

    डा. साह अभिभावकले पनि बालबालिकाको जिज्ञासा मेटाउनुपर्ने सुझाउँछन् । ‘बच्चाहरूसँग कोरोनाबारे खुलेर सही ढंगले कुरा गर्न सक्नुपर्‍यो । झुटो बोल्नुएन । बच्चाहरूलाई जिम्मेवारीका काम सिकाएर व्यस्त राख्नुपर्‍यो । साना-साना जिवन उपयोगी सीप सिकाउनुपर्‍यो,’ उनी सुझाउँछन् ।

    इन्टरनेटको लतमा नियन्त्रण

    इन्टरनेटको लतबाट बालबालिकालाई टाढै राख्नुपर्ने मनोविद्हरूको सुझाव छ ।

    डा. साह भन्छन्, ‘यदि बच्चा ६ वर्षमुनि छ भने इलेक्ट्रोनिक ग्याजेट्स आधी घण्टादेखि एक घण्टामात्र चलाउनु दिऊँ । त्यो पनि अभिभावकको उपस्थितिमा, ४ वर्षमुनिकालाई मोबाइल दिनु जरुरी छैन ।’ ८ वर्षभन्दा माथिकालाई ४५ मिनेटदेखि एक घण्टा दिन उनी सुझाउँछन् ।

    डा. दाहालका अनुसार इन्टरनेटको कुलतमा बालबालिका यसरी फसिरहेका छन् कि उनीहरू अश्लील साइटहरूमा जाने गरिरहेका छन् । कोही दुर्व्यवहारमा पनि फसिरहेका छन् ।

    ‘आफ्ना छोराछोरीले इन्टरनेटमा के हेरिरहेका छन्, कस्तो संगत गरिरहेका छन्, सामाजिक सञ्जाल के-के चलाइरहेका छन् भन्ने अभिभाविकले याद गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जाल भन्नेवित्तिकै निश्चित उमेर समूहका लागि त बन्दै गरिदिनुपर्छ,’ दाहाल भन्छिन् ।

  • होली खेल्दा झुक्किएर एसिड छ्यापियो, तीन बालबालिका घाइते

    होली खेल्दा झुक्किएर एसिड छ्यापियो, तीन बालबालिका घाइते

    काठमाडौं । काठमाडौंको साँखुस्थित शंखरापुर नगरपालिका-  १ चापागाउँमा होली खेल्ने क्रममा एसिड प्रहार हुँदा ३ जना घाइते भएका छन् । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जनामाथि एसिड प्रहार भएको हो ।

    घटनामा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ घाइते भएका छन् । एसिड छ्याप्ने १७ वर्षीय पवन पहारी र आकाश तामाङ रहेको प्रहरीले जनाएको छ । स्कुल कम्पाउण्डभित्र केशव नेपालले सञ्चालन गरेको क्यान्टिनको दूध डेरीमा राखिएको एसिड प्रहार भएको प्रहरी प्रभाग साँखुकी प्रहरी निरीक्षक जानुकादेवी खरेलले नेपाल प्रेसलाई बताइन् ।

    उनले भनिन्, ‘हिजो दिउँसो उनीहरु होली खेलिरहेका रहेछन् । त्यहीसँगै डेरीमा राखेको बोतलको एसिडलाई पानी सम्झेर छ्यापेका रहेछन् ।’

    डेरीमा एसिड चाहिने भएकाले राखिएको तर त्यसको असुरक्षित तरिकाले राख्दा दुर्घटना भएको छ । खरेलका अनुसार घाइतेहरुलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा उपचार भइरहेको छ । घाइते एकजना घर फर्किसकेका छन् ।

  • बालबालिकासँग प्रधानमन्त्री : सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ

    बालबालिकासँग प्रधानमन्त्री : सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूलाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न प्रेरित गरेका छन् ।

    बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरू र आफ्ना सुझावहरू दिनका लागि देशका विभिन्न भागबाट बालुवाटार आइपुगेका बालबालिकाहरुलाई प्रधानमन्त्रीले पूर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए ।

    ‘तपाईंहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

    प्रधानमन्त्रीले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिएका छन् । नेपालका बालबालिकाहरू ज्ञानमा निपुण तथा आविष्कारक पुर्वजको सन्तति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले मेहनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरु सक्षम हुने बताएका छन् ।

    पुर्वजहरुले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताए । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ’,बालबालिकाहरूसँग प्रधानमन्त्रीले भने ।

    बालबालिकाको क्षेत्रमा कामगर्ने सँस्थाहरूको समूह कन्रसोटियम नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले परिवार र समाजमा बालमैत्री वातावरण बन्नु पर्ने, बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागू गर्नुपर्ने माग राखेका छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू: राजन काफ्ले

  • बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने पक्राउ

    बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने पक्राउ

    कास्की । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका -६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेका थियो ।

    ईन्द्रमाथि बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

    हाल बालबालिकाहरुलाई सिविन नेपाल संस्थामा राखिएको छ भने उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • संरक्षक गुमाएपछि बिचल्ली परेका बालबालिकाको पीडा

    संरक्षक गुमाएपछि बिचल्ली परेका बालबालिकाको पीडा

    धादिङ । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् ।

    माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिफिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए । सक्नेहरु दौडेर अरुलाई उछिन्दै आए, नसक्नेहरु बिस्तारै बाहिर निस्किए ।

    चौरमा निस्किएपछि विद्यालय खाजा कार्यक्रममा सहभागी भए बिद्यार्थीहरु । लाइनमा पालो पर्खेर हातमा हलुवा राखेको प्लेट लिएर खाजा खाँदै थिए विद्यार्थी । यसरी खाजा खानेहरु कोही समूहमा थिए, कोही एक्लै एक्लै, त्यहि भिडमा दुईवटा समूह देखियो । पहिलो समूह ३ जनाको थियो, अलि पर दोश्रो समूह पाँच जनाको थियो ।

    सोधिखोजी गर्दै जाँदा थाहा भयो ति दुवै समूहका बालबालिकाको बास्तविकता । ५ जना थिए आमा गुमाएर विचल्लीमा परेका र ३ जना बाबुआमा दुबै गुमाएर अभिभावक विहिन हुन पुगेका । कुनै फिल्मीकथा जस्तो लाग्ने उनिहरुको कथा व्यथा निकै पिडादायी र कारुणीक छ ।

    दक्षिणी धादिङमा पर्ने बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ बरडाँडामा रहेको तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा पढिरहेका बालबालिका हुन् । राजमार्गको नजिकै रहेको यस बिद्यालमा गरिब, सिमान्तकृत बालबालिकाहरु पढ्दै आईरहेका छन् ।

    एकसरो पातलो लुगामात्र लगाएका सिर्जन प्रजा ४ वर्षको भए । उनि अहिले इसिडिमा पढ्दैछन् । उनको बाबुले दुई वर्ष अघि घरमै झुण्डिएर आत्महत्या गरे । चितवनको लोथर मुलघर भएका चेपाङ थरका ति युवा ससुराली गाउँमै आएर घर वनाएर बसेका थिए । तरकारी खेती गरेर राम्रो कमाई गर्दै आईरहेका उनले कुनै दिन कोहीसँग झैझगडा गरेको, रिसईबी लिएको समेत थाहा नपाएका गाउँले उनको आत्महत्याले स्तव्ध भए ।

    उनको मृत्युपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा बनाउन थालेको नयाँ घर बनाउने काम रोकिन पुग्यो । केही महिना पछि वेनिघाटरोराङ गाउँपालिका माथिल्लो ओर्वाङका एक चेपाङ युवक घर वनाउने ज्यामी बनेर आएका थिए । तिनै युवाले तीन सन्तानकी आमालाई फकाएर मायाजालमा पार्न सफल भए । घर वनाउने काम नभ्याउँदै ज्यामीको श्रीमती बनेर वालबच्चालाई अलपत्र छाड्दै आमा हिंडेपछि तीन जना बालबालिकाको जिवनमा अध्याँरो छाएको हो ।

    बाबुले अकालमा ज्यान फाले, आमाले अर्कैसंग घरजम गरिन् त्यसपछि ४ वर्षीय सिर्जन प्रजा, ६ वर्षीया आक्रेसी र ११ बर्षिया ११ वर्षीया आक्रोसी प्रजाको सहारा मावली घरका हजुरबुबा र हजुर आमा भएका छन् । बाबस आमा नभएपछि मामाघरका वृद्ध अवस्था भइसकेका हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था निकै दयनिय र कारुणीक छ ।

    घरमा हुँदा हजुरबा, हजुरआमाले रेखदेख गरेपनि बिद्यालय आउँदा भाईबहिनीको अभिभावक ११ वर्षीया आक्रोसी हुन । कक्षा कोठामा बसेर पढिरहँदा पनि भाईबहिनीले कोही संग झैझगडा गर्छनकी, कक्षाबाट बाहिर निस्कँदा लडिपो हाल्छनी कि ? घाउचोट पो लाग्छ कि , कसैले पिट्ने पो हो कि भन्ने चिन्ता मनमा लागिरहने गरेको

    ‘विद्यालयमा गरिब विद्यार्थीहरु धेरै जना भएपनि यि चेपाङ बालबालिकाको अबस्था भने निकै कष्टकर रहेको छ । पढ्नमा भने उनीहरु अब्बल रहेको र विद्यालयको अनुशासित र उत्कृष्ठ विद्यार्थी रहेरपनि उनिहरुलाई सहयोग गर्न सकिएको छैन–विद्यालयका शिक्षक दुर्गा कार्कीले बताईन ।

    कलिला बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन मामाघरका हजुरबा, हजुरआमा, मामा माईजुले हरतरह कोशिष गरिरहेको भएपनि उनीहरुको पनि आफ्नै समस्या र वाध्यता भएकाले यि तिनै जनालाई उचित शिक्षालागि कसैले सहयोग गरिदिए राम्रो हुने शिक्षक कार्कीको आग्रह छ ।

    सोही बिद्यालयको इसिडिमा पढ्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गंगा र जमुना कक्षा २ मा अध्यायन गर्ने दावा र कक्षा ३ मा पढ्ने गिता मगर मगर को आमाले पनि एक वर्षअघि झुण्डिएर आत्महत्या गरिन ।

    पाँच सन्तानकी आमाले झुण्डिएर आत्महत्या गरेपनि ति बालवालिकाको संरक्षण, पालन पोषण गर्ने अभिभारा उनिहरुको बाबुको काँधमा एक्लै पर्‍यो । श्रीमतीको मृत्युपछि श्रीमान पियक्कड बन्न पुगे । ज्याला मजदुरी गरेर जिवन निर्वाह गरिरहेका ति युवाको पछिल्लो अवस्थाले पाँच सन्तान सहाराविहिन जस्तै बन्न बाध्य भएका छन् ।

    चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदुरी गर्दछन । कहिलेकाँही मात्र घरमा खानेकुरा लिएर आउँछन । धेरै जसो घरमै आउँदैनन् । बुहारीले आत्महत्या गरेपछि छोरो पनि विक्षिप्त बनेर पियक्कड भएपनि उमेर ढल्किसकेका हजुरबुबा र हजुर आमाको काँधमा उनिहरुको स्याहार सुसार र पालनपोषणको जिम्मेवारी सरेको छ ।

    आंफै पनि काम गर्न नसक्ने भईसकेका बुढा बा आमालाई नाति-नातिना पनि हुर्काउनुपर्ने भएपनि झनै समस्या थपिएको छ । घरमा खानेकुरा नभएको बेला उनिहरु धेरै जसोखाली पेट विद्यालय आउँछन, भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुरिरहेका हुन्छन् । खाजा तयारी भएको थाहापाउँदा उनिहरुको पछि न्याउरो अनुहारमा केही चमक देखिने बिद्यालयका एक शिक्षक बताउँछन् ।

    आमाले आत्महत्या गरेपनि उनीहरुको बाबु छन तर खाना र लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनिहरु गरिबीसंँग जुधेर भएपनि पढाइमा भने जुटेका छन् । विद्यालयले दिने खाजाका लागि नियमित विद्यालय आउने र पढाइमा समेत राम्रो भएका चेपाङ र मगर परिवारलाई केही सहयोग गर्न सके उनिहरुले प्रगति गर्न सक्ने विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले बताए ।

    चरम गरिवीले अभिभावकले आत्महत्या गरिदिंदा त्यस्को मारमा साना बालबालिका परेका हुन । एउटै टोलका ८ बालबालिकाको यो कारुणिक दृष्यले निकै पिडा दिने गरेको प्रधानाध्यापक लोहनीले बताए ।

    संरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगीहरु र अन्य दाताहरुले उनिहरुको उद्धार गरि, आवासीय पठन पाठन गर्न सहयोग गरिदिए यि बालबालिकाले दुःख भोग्न नपर्ने उनको सुझाव छ ।

    तिनकन्या वागेश्वरी आधारभुत विद्यालयमा ३० जना दलित, ७ जना चेपाङ, २९ जना जनजाती, अन्य समुदायका ३६ जना गरि १ सय २ जना बालबालिकाले अधययन गरिरहेको प्रधानाध्यापक लोहनीले बताए ।

    केशव अधिकारी

  • बुबा जेल, आमाको झेल: तर पनि देवकी जित्दैछिन् खेल

    बुबा जेल, आमाको झेल: तर पनि देवकी जित्दैछिन् खेल

    फौजदारी अभियोगमा कारागारमा रहेका अभिभावकका सन्तानलाई अभिभावकत्व दिने संस्था हो बन्दी सहायता नियोग(पाम) । त्यस्ता बालबालिकाहरूको उद्धार गरी उनीहरूको शिक्षा र पालनपोषणमा पामको महत्वपूर्ण योगदान छ । काठमाडौंको नागार्जुन नगरपालिका रानीवनमा रहेको पामले त्यहाँ भएका बालबालिकालाई जुडो तालिम दिने र अब्बल खेलाडीको रुपमा समेत स्थापित गर्ने गरेको छ । पाममा हुर्किएकी १८ वर्षीय देवकीमाया श्रेष्ठ सिन्धुल्चोककी हुन् । बुबा जेलमा पर्दा उनी सानै थिइन् । बुबा जेल परेको सुरुका दिनमा आफ्ना भाइबहिनी सहित देवकीमाया ममीसँग बस्दै आइन् । तर, अचानक ममीले छाडेर हिंडेपछि उनीहरूको बिचल्ली भयो । त्यसपछि उनी पाममा पुगिन् र त्यहीँ हुर्किइन्।

    साहित्यकार पारिजातको पहलमा सन् १९९१ मा पामको स्थापना भएकाे हाे । स्थापनाको तीन दशकसम्म आइपुग्दा संस्थाले ५०० भन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ । संस्थाका अध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार हाल पाममा ३५ जना बालबालिका रहेका छन् ।