Tag: बाढी

  • उर्लिएको कालीगण्डकीले ९ घर बगायो

    उर्लिएको कालीगण्डकीले ९ घर बगायो

    कुस्मा । शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका ९ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मंगलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

    मंगलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो ।

    अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो । अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए । बाढीले भत्काएका घरबाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो ।

    अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ । त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ । सेतिवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

  • मेलम्ची आयोजनाका ४७ कामदारको सेनाद्वारा उद्धार, २३ जना सम्पर्कविहीन

    मेलम्ची आयोजनाका ४७ कामदारको सेनाद्वारा उद्धार, २३ जना सम्पर्कविहीन

    काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ ।

    हेलम्बु गाउँपालिका -१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए ।

    आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘हेलिकप्टरले ३÷४ खेप गरी कामदारहरुलाई उद्धार गरेर धुलिखेल अस्पतालमा राखिएको छ । उनीहरु घाइते थिए थिएनन् भन्ने खुल्न सकेको छैन । अब उद्धार गर्नुपर्ने कति छन् अझै जानकारी आइसकेको छैन ।’

    मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना त्यहाँ कार्यरत थिए । बाढीमा फसेकाहरुको खोजी तथा उद्धार कार्य भइरहेको छ ।

    आयोजनाको कर्मचारी मजदुरहरुको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाताहरु खटिरहेको र बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना  कामदार रहेकाे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    उनले भने, ‘उद्धार गर्नुपर्ने अझै धेरै छन् । तर उनीहरुको अवस्था अज्ञात रहेकोले उद्धारमा समस्या भइरहेको छ । खोजी गर्नका लागि नेपाली सेना पुग्न सकेको छैन ।’ उनका अनुसार ७० जना मध्यै अझै पनि २३ जना सम्पर्कविहीन छन् ।

    बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित रहेको उनले बताए । मुहानभन्दा माथि बाढी आएपछि सुुरुङको गेट बन्द गरिएकाले क्षति हुन पाएन । तर हेर्डवक्सको सरंचनाहरु भने डुबानमा परेका छन् ।

    मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ । बाढीले दर्जनौं पुलहरु बगाएको छ ।

     

  • लमजुङको दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

    लमजुङको दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

    लमजुङ । यहाँको दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

    उनले भने, ‘ती घरमध्ये ९ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन्, ‘घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।’ एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

    त्यस्तै, ५/६ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ ।

    कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । ‘विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो’, वडाध्यक्षले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताएका छन् ।

  • मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था ‘अज्ञात’

    मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था ‘अज्ञात’

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ ।

    हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘खानेपानीको मुहानमा रहेको हेडवर्क्समा बाढी पस्यो । संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित छ । तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प बगाएको छ ।’

    लेवर क्याम्पमा हेडवर्क्स निर्माण गरिरहेका कामदारहरू बस्ने गरेका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी नआइसकेको पन्तको भनाइ छ । तर, क्याम्पभित्र हताहति भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

    प्रवक्ता पन्तले भने, ‘हेडवर्क्सका संरचनाहरू सबै पानीले डुबाएको छ । सरंचनाहरू पानीमुनि देखिन्छन् । तर क्षति देखिएको छैन अहिलेसम्म । पानी कम भएपछि मात्रै एकिन भन्न सकिन्छ ।’

    खानेपानीको मुहानको गेट बन्द गरिएकाले सुरुङ सुरक्षित रहेको उनले बताए । सडक अवरुद्ध भएका कारण उक्त स्थानमा जान सम्भव नभएको उनको भनाइ छ ।

    मेलम्ची आयोजनाकै दोस्रो चरणको निर्माणस्थल याङ्ग्री र लार्केमा रहेको क्याम्पमा पनि क्षति पुगेको छ । पाचँपोखरी थाङपाल गाउँपालिकाको इन्द्रावति खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको प्रवेशमार्गमा क्षति पुगेको हो । कामदारहरू बसेको क्याम्पमा समेत क्षति पुगेको छ ।

  • मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

    मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

    होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

    बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

  • हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

    हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

    सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्य’ भएको छ । हेलम्बु क्षेत्रमा आज उनीहरुको शव आज भेटिएको हो ।

    हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ ।

    बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

  • मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा (तस्बिरहरु)

    मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा (तस्बिरहरु)

    सिन्धुपाल्चोक । अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।

    बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।

    बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् ।

    मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनियाँको क्याम्प पनि डुबानमा परेका छन् । हिजो रातको समय भएकाले घटनास्थलमा पुग्न नसकेको प्रहरीले विहानबाट वेपत्ताको खोजी र उद्दार कार्य सुरु गरेको छ ।

    अहिलेसम्म मानवीय क्षति पुष्टि भएको छैन । यसैबीच मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ आज हेलिकोप्टर चढेर स्थलगत अनुगमनमा आउन लागेका छन् ।

  • यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    काठमाडौं । सरकारले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो दुवै प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

    नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

    एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७० र ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए ।

    स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी सुनसरीमा ४ लाख ५ हजार ५ सय १० घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा १ लाख ६८ हजार ८ सय ३७ घरपरिवार प्रभावित हुनेछन् ।

    तेस्रोमा कञ्चनपुरमा १ लाख ७ हजार ६ सय ४५, चौथोमा सर्लाहीमा १ लाख ४ हजार ६ सय ५६ जना घरपरिवार र पाचौँमा सिराहामा १ लाख २ हजार १ सय २८ घरपरिवार प्रभावित हुनेछन् ।

    विभिन्न जिल्लामा भारनयोग विधि प्रयोग गरेर निकालिए अनुसार पहिरोबाट मात्र १ लाख १७ हजार २ सय १७ घरपरिवार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जनाएको छ ।

    जसमा सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए उनका अनुसार तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् ।

    विगत ९ वर्षको अवधिमा पुर्ण तथा आंशिक गरेर १ अर्ब ६ करोड ३४ लाख ९५ हजार २ सय ४९ बराबरको अनुमानित क्षति भएको जनाइएको छ । जसमा ११ हजार ८२ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४१ हजार ८ सय २७ घर आंशिक रुपमा क्षति भएका छन् । दुवै गरेर ५२ हजार ९ सय ९ वटा घरमा क्षति पुगेको छ ।

    पछिल्ला १० वर्षमा मुलुकभर बाढीबाट २ लाख ७३ हजार ७ सय ७६ जना प्रभावित भएका पनि प्राधिकरणले जनाएको छ । औषतमा सबैभन्दा बढी महोत्तरीमा १ लाख १ हजार ३ सय ७ जना प्रभावित भएका छन् भने दोस्रोमा मोरङमा ३४ हजार ८ सय ७७ जना प्रभावित भएका छन् ।

    विपद व्यवस्थापन कोषमा करिब १ अर्ब

    यस वर्षको मनसून आपत्कालीन कार्यका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि सातै प्रदेशका विपद व्यवस्थापन कोषमा करिव १ अर्ब जम्मा रहेको छ । प्राधिकरणका अनुसार ७ वटै प्रदेशको जोड्दा ९९ करोड ९० लाख ५८ हजार ५ सय ६२ रुपैयाँ मौज्दात रहेको छ ।

    जसमा सबैभन्दा बढी प्रदेश २ मा ४५ करोड ६९ लाख ९ हजार ४ सय ७९ रुपैयाँ जम्मा रहेको छ भने दोस्रोमा बागमती प्रदेशमा २५ करोड ४८ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ जम्मा छ । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १० करोड २ लाख २४ हजार १ सय ९४,प्रदेश नं १ मा ६ करोड ४९ लाख ८३ हजार ७ सय ८७, सुदूरपश्चिम प्रदेशमा ६ करोड ३१ लाख ७४ हजार ११, गण्डकी प्रदेशमा ३ करोड ४२ लाख ५० हजार १ सय ६४ र कर्णाली प्रदेशमा २ करोड ४६ लाख ३२ हजार २ सय ९४ रुपैयाँ मौज्दात छ ।

    ९ जिल्लाका ३६ स्थानीय तहमा पूर्व सूचना प्रणाली विकास

    प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्व सुचना प्रणालीको विकास गर्न सुरुवात गरिएको छ ।

    अहिलेसम्म वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही शहरी क्षेत्रका १ सय ५५ वटा स्वीकृत खुला क्षेत्र र समुदायले प्रयोग गरिरहेका अन्य सामान्य १ सय ९१ खुला स्थानको अभिलेखलाई प्रणालीमा ल्याइएको छ ।

  • यी नदीहरूमा बाढीको सम्भावना, सतर्क रहन अनुरोध

    यी नदीहरूमा बाढीको सम्भावना, सतर्क रहन अनुरोध

    काठमाडौं । मनसुन भित्रिएसँगै केही दिनयता देशका विभिन्न ठाउँमा पानी परिरहको छ ।

    आज प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आउँदा ३ दिन कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईजस्ता मझौला नदी र यसका स-साना नदीजलाधारमा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत गराएको छ ।

    यी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

  • काठमाडौंलगायत विभिन्न ठाउँमा वर्षा, यी ठाउँमा बाढीको चेतावनी

    काठमाडौंलगायत विभिन्न ठाउँमा वर्षा, यी ठाउँमा बाढीको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा बुधबार बिहानदेखि हल्का देखि मध्य खालको वर्षा भइरहेको छ ।

    अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभर सामान्य देखि पूर्ण बदली भइरहेको मौसमविद्हरुले बताएका छन् ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी तीन दिनसम्म कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

    यस्तै टाउ ते चक्रवात सामुद्रिक आँधीको प्रभावले नेपालको विशेष गरी पश्चिम भूभागमा हुने वर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने बाढी पूर्वानुमान विभागले जनाएको छ ।

    भोलिसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    भारी वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरीसहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ ।

    ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभाव बुधबार देखि शुक्रबार सम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने छ ।

  • इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    एजेन्सी । इण्डोनेसिया र पूर्वी टिमोरमा आइतबार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

    लगातार भइरहेको भारी वर्षाका कारण तटबन्धहरुमा पानी ओभरफ्लो भएर थुप्रै टापूका हजारौं घर जलमग्न भएका छन् ।

    बाढी र पहिरोका कारण इण्डोनेसियाको पूर्वी क्षेत्र फ्लोर्स टापूदेखि छिमेकी देश पूर्वी टिमोरसम्म नराम्ररी प्रभाविक भएका छन् ।

    इण्डोनेसियाको आपतकालीन उद्दार एजेन्सीका प्रवक्ताका रादित्य जातीका अनुसार चार उप–जिल्ला र सात गाउँमा बाढीको नराम्रो असर परेको छ । ‘प्रभावित क्षेत्रमा रहेका हाम्रो टिमको जानकारी अनुसार अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ र २७ जना अझै हराइरहेका छन् । ९ जना घाइते छन्,’ उनले भने ।

    तर पूर्वी फ्लोर्स राज्यका अधिकारीहरुले आफ्नो क्षेत्रमा कम्तिमा ६० जनाको निधन भएको बताएका छन् । राष्ट्रिय सरकारले यसको पुष्टि गरेको छैन ।

    उता पूर्वी टिमोरको राजधानी जिलीमा बाढीका कारण कम्तिमा ११ जनाको निधन भएको छ ।