Tag: बाढी प्रभावित

  • प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग

    प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग

    सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् ।

    मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।

    बाढी प्रभावितले नदिलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका छन् ।

    यस्तै बैंकको ऋणबाट व्यवसाय गरिरहेकालाई व्याज मिनाहा र सहुलियतको व्यवस्था मिलाउनुपर्ने, किसान, उद्योगी, व्यापारी विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्नुपर्ने, मेलम्ची र हेलम्बुमा तत्काल बेलिब्रिजको व्यवस्था गर्नुपर्ने, विद्युत् महसुलमा छुटको प्रबन्ध मिलाउनुपर्ने मागसमेत गरेका छन् ।

    उनीहरुले बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरुका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने बताएका छन् ।

    भेटपछि प्रधानमन्त्री देउवाले बाढी र पहिराले मेलम्ची क्षेत्रमा पुर्‍याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।

    विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले सबैभन्दा ठूलो क्षति व्यहोरेको मेलम्चीले विसं २०७८ असार १ गते राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो । रासस

  • मेलम्चीका बाढी प्रभावितलाई राष्ट्रसंघीय खाद्य कार्यक्रमद्वारा सहायता प्रदान

    मेलम्चीका बाढी प्रभावितलाई राष्ट्रसंघीय खाद्य कार्यक्रमद्वारा सहायता प्रदान

    काठमाडौं । मेलम्चीको बाढी प्रभावित बासिन्दालाई राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले सहायता सामग्री प्रदान गरेको छ ।

    टेन्ट, स्लिपिङ ब्याग र अन्य बन्दोबस्ती सामग्रीहरु भरिएको डब्लुएफपीको ट्रक मेलम्चीतर्फ प्रस्थान गरेका छन् ।

    गएराति इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुबेको छ भने सात जनाले ज्यान गुमाएका छन् । अझै कैंयन हराएको आशंका गरिएको छ ।