Tag: बाढी पीडित

  • एक घुट्को पानीले दिएको खुसी

    एक घुट्को पानीले दिएको खुसी

    ‘कहाँ हुनुहुन्छ ?’ बिहानै एक मित्रले टेलिफोनमा सोध्नुभयो ।

    ‘अफिस जाँदै छु’ मोटरसाइकल हाँकिरहेकाले संक्षिप्त जवाफ दिए र फोन राखे ।

    केही समयपछि फेरि फोन आयो । त्यतिबेला अफिस पुगिसकेको थिएँ ।

    ‘भेटौँ न’ मित्रको प्रस्ताव ।

    ‘हुन्छ । तर, कता ?’

    ‘यतै आउनु होस् न । एक दुईजना साथी छौँ । अनि सल्लाह गरौँला ।’

    म पुगें । त्यहाँ केही नेता, कार्यकर्ता र शुभचिन्तकहरू पनि थिए ।

    ‘कैलालीमा बाढी प्रभावित क्षेत्रहरूमा तत्काल राहत र उद्धारमा खटिनु पर्ने भयो’ त्यहाँ पुगेलगत्तै कुरा चल्यो ।

    ‘यो काम त तत्काल नै गर्नु पर्छ । तर, चन्दा उठाउनु हुँदैन है’ हल भित्र सकारात्मक सन्देश पनि सुनियो ।

    यसअघि कुनै पनि समाजसेवाको नाममा गरिने काममा कुन–कुन व्यक्तिसँग कति रकम माग्ने ? भन्ने कुरा मात्रै सुन्दै आइरहेको मलाई त्यहाँ रहेका युवाहरूको सकारात्मक सोचले मन जित्यो ।

    ‘चन्दा संकलन नगरी ठूलो मात्रामा राहत कसरी दिने ?’ कसैले प्रश्न गर्यो ।

    ‘हामी आफैं उठाउँ न ! ल मेरो तर्फबाट १० हजार भयो’ सुरुमै एक युवाले घोषणा गरे ।

    त्यसपछि केहीबेर सन्नाटा छायो ।

    ‘मेरो तर्फबाट ५० हजार’ अर्का युवाले भने ।

    त्यसपछि त एकपछि अर्को गर्दै गक्षअनुसार सहयोग घोषणा हुन थाल्यो ।

    ‘मैले चार हजार दिन्छु’ मेरो छेउमै रहेकी एक किशोरीले भनिन् । उनले ब्याग खोलेर चारवटा हात्ती चित्र भएका नोट झिकिन् र दिइन् ।

    पैसामा अबीर रंगिरहेको थियो । सायद दसैंमा दक्षिणास्वरुप आएको पैसा हो । पछि थाहा भयो, सौराहा जाने खर्च काटेर उनले बाढी पीडितको राहतका लागि रकम दिएकी रहिछिन् ।

    क्षणभरमै तत्कालको लागि पर्याप्त रकम उठ्यो । त्यहीं रकमले पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजासहितको एक ट्रक सामान बोकेर एउटा ट्रक बुधवार कैलालीको क्षतिग्रस्तस्थल टिकापुर हुइँकियो ।

    नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुको नेतृत्वमा गएको राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउनु चुनौतीपूर्ण थियो । यसअघि पनि कसैले पटक–पटक राहत बुझेको त कसैले पाउँदै नपाएको समाचार कयौँ पल्ट लेखेको थिएँ । त्यस्तै समाचार लेख्न नपरोस् भन्ने मनमा थियो ।

    यता आफ्नै पैसाले खरिद गरेका सामग्री छिटो वास्तविक पीडितहरुलाई बुझाउन युवाहरू आतुर थिए ।

    बाढीग्रस्त क्षेत्र कैलालीको धनगढीबाट करिब एक सय किलोमिटर टाढा थियो । तर, ठाउँठाउँका सडकमा पनि बाढीले क्षति पुर्याएपछि बुधबार राति मात्रै पीडित भएको स्थानमा पुगियो ।

    ‘राति वितरण गर्दा समस्या हुन्छ होला । सबैले नपाउन पनि सक्छन्’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘भोलि बिहानै वितरण गरौँ ।’

    युवा संघ कैलालीका अध्यक्ष गणेश महराले पनि त्यसै भने । उनी पनि वास्तविक पीडितले राहत पाउनु पर्छ भन्नेमा दृढ थिए । बाढी प्रभावित क्षेत्रको माउन्टेन होटलमा सबै सामान झारियो ।

    हुलाकी सडक कर्णालीको भंगालो फुटेर आएको पानीले बगाइसकेको थियो । हामी वारि थियौँ । पारि पीडितहरू थिए । तत्काल त्यहाँ जान सम्भव थिएन ।

    ‘यो त अजिङ्गरको वासस्थान हो ।’ एक स्थानीयले सुनाए । मेरो शरीरमा काँडा उम्रियो ।

    ‘अजिङ्गर बस्ने स्थानमा अरू पनि विषालु सर्प हुन सक्छन् । जो बाढीले बगाएर जहाँ पनि पुर्याएको हुन सक्छ’ उनले थपे । म सचेत बनें ।

    स्थानीयले परिबाट राति अबेरसम्म चम्किला लाइट बालिहरेका थिए । सडकमा कर्णाली बगिरहेको थियो । सडकमै नदीको भेल बगिरहेका बेला बस्तीको अवस्था कस्तो होला ? अनुमान मात्रै गर्न सकिन्थ्यो ।

    ‘सायद उनीहरूले हामीलाई उद्धार गर्नुहोस् भन्ने इसारा दिएका हुन सक्छन्’ मैले अरूलाई सुनाएँ ।

    ‘त्यहाँ त अहिले कोही पनि जान सक्दैनन् सर । यो त अजिङ्गरको बासस्थान हो’ ती व्यक्तिले फेरि भने । मनमा चिसो पस्यो ।

    मैले इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटासँग सम्पर्क गरे ।

    डिएसपीले उनीहरू सुरक्षित छन् । त्यहाँ प्रहरी पुगिसकेका छन् भनेपछि हामीलाई केही राहत भयो ।

    बिहीबार बिहान त्यही भेट्ने भन्दै बुधबार केही युवा धनगढी फर्किए । हामी त्यही बस्यौँ ।

    बिहीबार बिहानै पत्रकार महासंघ प्रदेशका अध्यक्ष योगेश रावल र अर्का पत्रकार एकेन्द्र तिमिल्सेनासँग भेट भयो ।

    उहाँहरूले पनि बाढी पीडितहरूको अवस्था दर्दनाक भएको बताउनु भयो ।

    त्यो बेलासम्म पनि राति चम्किला बत्तीको इसारा आँखै अघि घुमिरहेको थियो । फेरि डिएसपीको भनाइले मन शान्त हुन्थ्यो ।

    बिहीबार बिहान ९ बजे त्यहीं स्थानमा सबै भेला भयौँ ।

    धन्न, बिहानसम्म हुलाकी सडक बगाएको ठाउँमा कर्णालीको बेग कम भएको थियो । तर रोकिएको थिएन ।

    पर्याप्त युवा तथा विद्यार्थी भएको हुँदा केहीबेरमै एक ट्रक राहत पारिको बस्ती पुग्यो । हामी केही सामानसँगै सडकमा उर्लिरहेको कर्णाली तर्न नसकेका महिला तथा बालबालिकाहरूलाई बोकेर वारपार गराइरहेका थियौँ ।

    बेगमै कर्णाली तर्दा राति अजिङ्गर को बासस्थान हो भन्ने कुराले मनमा चिसो पारिरहेको थियो । त्यहीं बेला खुट्टामा ठोकिन आउने साना, मसिना ढुङ्गा र पात पतिङ्गरहरूले जिउँ नै सिरिङ्ग हुन्थ्यो ।

    एक ट्रक राहत पारि पुग्यो । त्यो बेलासम्म त्यहाँ दर्जनौँ परिवारहरू राहतको आसमा पुगिसकेका थिए । उनीहरूले पानीसमेत पिउन नपाएको पीडा पोख्दै थिए ।

    ‘मेरो सानो बच्चा छ । मैले र यसले केही खाएका छैनौँ’ ओठ सुकाएरै राहतको आसमा बसेकी महिलाको बोलीले मन कटक्क खायो । एउटा काखे बालक बोक्दै र अर्कोलाई हातमा डोहोर्याउँदै आएकी ती महिला भन्दै थिइन् ‘धन्न बच्चा त बचाएँ । समान केही रहेन ।’

    उनी बोल्दाबोल्दै रोकिइन् । अनि ‘सुक्क… सुकक..’ गर्न थालिन् ।

    ‘भयो नरुनुहोस्’ युवाहरूले सान्त्वना दिँदै भने । सबैभन्दा पहिले उनले राहत पाइन् । पलभरमै उनको मुहारमा बदलाव आयो ।

    ‘भोको पेटले चारो पायो । हजुरहरूको धन्य होस्’ उनी बोलिन् र लागिन् आफ्नै बाटो ।

    त्यसपछि फरक–फरक स्थानमा फसेका र विस्थापित भएकाहरूलाई राहत पुग्न थाल्यो । भोको पेटमा तत्कालका लागि चाउचाउ, भुजा, बिस्कुट र पानी परेपछि केही राहत पक्कै भयो होला । अनुमान गरिरहेका थियौँ ।

    स्वासै नबिराइ घटघट आवाज आउने गरी पुरै बोतलको पानी सक्दा र त्यसपछि मलिन मुहारमा मन्द मन्द मुस्कान देखिँदा युद्ध जितेर गन्तव्यमा पुगेकोभन्दा बढी सन्तुष्टि, सुख र आनन्द आएको हुँदो हो ।

    महिना दिन पनि नपुगेका शिशुलाई काखमा च्यापेर अनि दुई दिनसम्म भोकै रहेका आमा–बुवाका मलिन मुहारले मन पोल्थ्यो ।

    पानीको सतह केही कम भएपछि बस्तीमा देखेको पीडाले हामीलाई पनि गालेको थियो । दुई दिनसम्म खेपेको डर, त्रास र पीडा पीडितको मुहारमा झल्किरहेको थियो ।

    ‘मेरो छोराले हिजोदेखि पानी खान पाएको छैन’ स्थानीय गीता चौधरी राहत बुझ्दै गर्दा भन्दै थिइन् ‘हिजो पनि यहाँ राहत लिएर आएका थिए । तर हामीलाई पानी पनि दिएनन् ।’

    उनी जस्ता कयौँ थिए । सयौँ घरबारविहीन भएका छन् । हजारौँले लगाएको बाली नष्ट भएको छ । कोही बासी खाएर बसेका छन् । कोही केही नखाएरै रात काटिरहेका छन् । कसैको घर बगाएको छ । कसैको भत्किएको छ ।

    घरबारविहीन भएर पशु चौपायासहित सडकमा आश्रित भएकाहरू अधिकांश भोकै छन् । उनीहरूले चाउचाउ, चिउरा, भुजा र पानी पाउँदा पनि ठूलै कुरा भएको जसरी खुसी व्यक्त गरिरहेका थिए ।

    केही बेरलाई भए पनि भोक मार्न पाउँदाको आनन्द उनीहरूको बोलीमा नभइ मुहारमा झल्किरहेको थियो ।
    करिब २ सय परिवारलाई दिनभरि राहत वितरण गर्दा पनि थकानको कुनै महसुस भएन । कारण उनीहरूको पीडाको अघि हाम्रो थकाइको केही अर्थ थिएन ।

    त्यो राहतले एउटा बस्तीका नागरिकलाई तत्कालको भोक मेटाएको हो । उनीहरूको दैनिकी त्यसपछि पनि उस्तै छ ।

    अहिले पनि घर फर्किन सकेका छैनन् । एकातर्फ भोकले सताइरहेको छ अर्कोतर्फ विभिन्न रोगको संक्रमणको डर छ ।

    कैलालीको टिकापुर क्षेत्र मात्रै होइन । भजनी जानकी, र कैलारी गाउँपालिकामा पनि बाढीले वितण्डा मच्चाएको छ ।

    धान काटेर भित्र्याउन नपाउँदै बाढीले सखाप पारेपछि यसवर्ष कसरी गर्जो टार्ने भन्ने चिन्ताले पनि किसान पिल्सिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । दुई मन्त्री र पार्टीका नेतासहित लाखौँको हेलिकप्टर सवारमा खर्च गर्ने सरकारले त्यहाँका पीडितहरूको गाँस, बास र कपासका लागि के गर्छ ? त्यो हेर्न बाँकी नै छ ।

    यहाँ सरकारले केही गर्ला भनेर चुप बस्नुभन्दा आफैं अघि सरेर केही राम्रो कामको सुरुवात गर्नु पर्छ भन्ने सोच भएका युवाप्रति यो ब्लग समर्पित छ ।

  • सिन्धुपाल्चोकका बाढी पीडितलाई झापाका कैदीबन्दीकाे ५० हजार सहयाेग

    सिन्धुपाल्चोकका बाढी पीडितलाई झापाका कैदीबन्दीकाे ५० हजार सहयाेग

    झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १ सय नगद पठाइदिएका छन् ।

    वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।

    ‘परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ,’ कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।’

    कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।

    रासस