Tag: बाढी-पहिराे

  • बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न आज गृहप्रदेश सुदूरपश्चिम जाँदैछन् । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि हुनेछन् ।

    प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् ।

    आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल पुग्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीको टोलीले बझाङको थालारा र चैनपुर, बैतडीको ढुंगाड, डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

    त्यस्तै जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढी पहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको टोली शुक्रबारमात्र काठमाडौं फर्किनेछ ।

    बेमाैसमी वर्षापछिकाे बाढी र पहिराेमा परि सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा धेरै क्षति पुगेकाे छ । आइतबारदेखि बुधबारसम्म देशभर वर्षा भएकाे थियाे । बाढी र पहिराेले सुदूरपश्चिम प्रदेशमा २० जनाकाे मृत्यु भएकाे छ भने सयाैं परिवार विस्थापित भएका छन् ।

     

  • पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    रूपन्देही । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

    चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

    स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

    पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

    उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

    उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

    राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।

  • यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    काठमाडौं । सरकारले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो दुवै प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

    नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

    एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७० र ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए ।

    स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी सुनसरीमा ४ लाख ५ हजार ५ सय १० घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा १ लाख ६८ हजार ८ सय ३७ घरपरिवार प्रभावित हुनेछन् ।

    तेस्रोमा कञ्चनपुरमा १ लाख ७ हजार ६ सय ४५, चौथोमा सर्लाहीमा १ लाख ४ हजार ६ सय ५६ जना घरपरिवार र पाचौँमा सिराहामा १ लाख २ हजार १ सय २८ घरपरिवार प्रभावित हुनेछन् ।

    विभिन्न जिल्लामा भारनयोग विधि प्रयोग गरेर निकालिए अनुसार पहिरोबाट मात्र १ लाख १७ हजार २ सय १७ घरपरिवार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जनाएको छ ।

    जसमा सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए उनका अनुसार तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् ।

    विगत ९ वर्षको अवधिमा पुर्ण तथा आंशिक गरेर १ अर्ब ६ करोड ३४ लाख ९५ हजार २ सय ४९ बराबरको अनुमानित क्षति भएको जनाइएको छ । जसमा ११ हजार ८२ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४१ हजार ८ सय २७ घर आंशिक रुपमा क्षति भएका छन् । दुवै गरेर ५२ हजार ९ सय ९ वटा घरमा क्षति पुगेको छ ।

    पछिल्ला १० वर्षमा मुलुकभर बाढीबाट २ लाख ७३ हजार ७ सय ७६ जना प्रभावित भएका पनि प्राधिकरणले जनाएको छ । औषतमा सबैभन्दा बढी महोत्तरीमा १ लाख १ हजार ३ सय ७ जना प्रभावित भएका छन् भने दोस्रोमा मोरङमा ३४ हजार ८ सय ७७ जना प्रभावित भएका छन् ।

    विपद व्यवस्थापन कोषमा करिब १ अर्ब

    यस वर्षको मनसून आपत्कालीन कार्यका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि सातै प्रदेशका विपद व्यवस्थापन कोषमा करिव १ अर्ब जम्मा रहेको छ । प्राधिकरणका अनुसार ७ वटै प्रदेशको जोड्दा ९९ करोड ९० लाख ५८ हजार ५ सय ६२ रुपैयाँ मौज्दात रहेको छ ।

    जसमा सबैभन्दा बढी प्रदेश २ मा ४५ करोड ६९ लाख ९ हजार ४ सय ७९ रुपैयाँ जम्मा रहेको छ भने दोस्रोमा बागमती प्रदेशमा २५ करोड ४८ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ जम्मा छ । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १० करोड २ लाख २४ हजार १ सय ९४,प्रदेश नं १ मा ६ करोड ४९ लाख ८३ हजार ७ सय ८७, सुदूरपश्चिम प्रदेशमा ६ करोड ३१ लाख ७४ हजार ११, गण्डकी प्रदेशमा ३ करोड ४२ लाख ५० हजार १ सय ६४ र कर्णाली प्रदेशमा २ करोड ४६ लाख ३२ हजार २ सय ९४ रुपैयाँ मौज्दात छ ।

    ९ जिल्लाका ३६ स्थानीय तहमा पूर्व सूचना प्रणाली विकास

    प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्व सुचना प्रणालीको विकास गर्न सुरुवात गरिएको छ ।

    अहिलेसम्म वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही शहरी क्षेत्रका १ सय ५५ वटा स्वीकृत खुला क्षेत्र र समुदायले प्रयोग गरिरहेका अन्य सामान्य १ सय ९१ खुला स्थानको अभिलेखलाई प्रणालीमा ल्याइएको छ ।