Tag: बाघ सर्वेक्षण

  • चितवन निकुञ्जमा बाघ गणनाको काम सकियो

    चितवन निकुञ्जमा बाघ गणनाको काम सकियो

    चितवन । राष्ट्रिय बाघ गणना २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणनाको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा गणना भइरहेको छ । ती क्षेत्रमा ३०० जोडी क्यामेरा राखिएको उनले जानकारी दिए। यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि गणना सम्पन्न हुने छ । ती क्षेत्र सम्पन्न भएसँगै यहाँको क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको गणनापछि तथ्याङ्कको काम गरिने जनाइएको छ ।

    चितवन र पर्सालाई तीन ब्लक बनाएर सो गणना गत मङ्सिर १९ गते चितवनबाट सुरुआत गरिएको हो । पहिलो र दोस्रो ब्लकमा ‘क्यामेरा ट्रयापिङ’का काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो । क्यामेरा ट्रयापिङको विधिबाट बाघ गणना गरिएको हो । प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर सर्वेक्षण गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसारसर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन् ।

    अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा गणनाको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए । गणना अन्तर्गत बर्दिया र बाँके ब्लकमा मङ्सिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ ।

    यसका लागि करिब चार करोड खर्च हुने अनुमान गरिएको छ। बाघ गणनाका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिन्छ । क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने गर्दछ ।

    तस्वीर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना रहेको छ । सन् २००९ देखि राष्ट्रियरूपमा नै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटासम्म बयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को गणनाअनुसार २३५ वटा बयस्क बाघ रहेको अनुमान गरिएको थियोे । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    बाघ सर्वेक्षणको वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले स्वचालित क्यामेरा सञ्चालन गरी शुभारम्भ गर्नुभएको थियो । नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न सुरु गरिएको हो ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखहरूको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।

    तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ वटा बाघ रहेको तथ्याङ्क थियो । दोनेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । अहिले निकुञ्ज र वन क्षेत्रमा बाघको चहलपहल बढी देखिएसँगै यो गणनासँगै बाघको सङ्ख्या बढेको तथ्याङ्क आउने विज्ञहरुको अनुमान छ । निकुञ्जमा घुम्न आएका पर्यटक र संरक्षणकर्मीले बाघ देखेको जनाउँदै आएका छन् । रासस

  • राष्ट्रिय बाघ सर्वेक्षणमा ९०० क्यामेरा र १०० गणक परिचालन हुने

    राष्ट्रिय बाघ सर्वेक्षणमा ९०० क्यामेरा र १०० गणक परिचालन हुने

    नवलपुर । यही मंसिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ ।

    निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिए ।

    निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताए ।

    बाघ गणनाको समयमा मंसिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गरेका छन् । ‘बाघ एकदमै लजालु जनावर हो’, आचार्यले भने, ‘क्यामेरा ट्यापिङको क्रममा मानिसको मुभमेन्ट भयो भने बाघ नदेखिन सक्छ ।’

    बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ । एकजोडी क्यामेराको दूरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताए। ‘बाघ गणनाको क्रममा निकुञ्जलाई ग्रिड (बाघको क्षेत्र निर्धारण गर्दै वर्गाकार बनाउने)मा विभाजन गर्नेछौँ’, उनले भने, ‘एक जोडी क्यामेराबाट अर्को जोडी क्यामेराको दूरी एकदेखि दुई किलोमिटर रहनेछ ।’

    जमिनबाट करिब ४५ देखि ६० सेन्टीमिटरको उचाइमा क्यामेरा राखिँदैछ । बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः अन्य जनावरको गणना गरिनेछ ।

    ‘अघिल्लो पटक बाघ र अन्य जनावरको एकैपटक गणना गरिएको थियो’, उनले भने, ‘अहिले जङ्गलमा झाडी भएका कारण अन्य जनावरको गणनामा समस्या हुन भएकाले मार्चपछि मात्रै गणना गर्छौँ ।’

    क्यामेरा नष्ट हुने डर

    बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताए । ‘बाघको फोटो खिच्न राखिने क्यामेरा बाघको फोटो खिच्नबाहेक अन्य काममा प्रयोग गर्न सकिँदैन’, उनले भने, ‘बाघ गणनामा स्वचालित क्यामेरा प्रयोग हुनेछ, त्यसले बाघको मात्रै फोटो खिच्ने गरी निर्माण गरिएको हुन्छ, अन्य कुनै पनि प्रयोजनमा काम लाग्दैन ।’

    बाघको संख्या बढाउन चुनौती

    सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १२१ बाघ भएकामा सन् २०२२ सम्म २५० बाघ पु¥याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिए । ‘हरेक पाँच वर्षमा बाघ गणना गरिँदै आएको छ”, उहाँले भन्नुभयो, “सन् २०१३ मा बाघको संख्या १९८ पुग्यो, सन् २०१८ को गणनामा बाघको संख्या २३५ पुगेको छ ।’

    अघिल्लो गणनामा बाघको सङ्ख्या २३५ पुगेको भए पनि अबको गणनामा बाघको संख्या २५० पुग्नेमा चुनौती रहेको साहको भनाइ छ । ‘कुनै पनि वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहँदैन’, उनले भने,‘निश्चित विन्दुमा पुगेपछि स्थिर वा घट्ने क्रम सुरु हुन्छ, नेपालका संरक्षित क्षेत्रमा समेत बाघको सङ्ख्या वृद्धि गर्नु अब चुनौती बन्दै गएको छ ।” यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा संख्या दोब्बर पु¥याउने नेपाल पहिलो देश हुने उनी बताउँछन् ।

    ‘बाघको संख्या वृद्धिका लागि हामीले बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, संरक्षण शिक्षालगायतमा जोड दिँदै आएका छौँ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले भने,‘सरकारी संयन्त्रका साथै समुदायको साथ र सहयोगबाट बाघको सख्या वृद्धि हुनेमा हामी आशावादी छौँ ।’ चितवन राष्ट्रिय निकुञ्जमा सन् २००८ को तुलनामा २०१३ मा बाघको संख्या वृद्धि भएको देखिए पनि सन् २०१८ मा भने बाघको संख्या घट्दा चुनौती थपिएको आचार्यको भनाइ छ ।

    चितवन निकुञ्जमा सन् २००९ मा ९३, सन् २०१३ मा १२० र सन् २०१८ मा ९३ मात्रै बाघ भेटिएका थिए । त्यस्तै शुक्लाफाँटामा पनि सन् २०१३ र २०१८ को गणनामा बाघको सङ्ख्या स्थिर देखिएको आचार्यको भनाइ छ । शुक्लाफाँटामा सन् २००९ मा आठ, २०१३ मा १७ तथा २०१८ मा १६ वटामात्रै बाघ भेटिएका थिए ।

    पछिल्ला गणनामा पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या बढेको थियो । सन् २००९ को गणनामा पर्सामा चार, बर्दियामा १८ बाघ पाइएकामा सन् २०१३ मा पर्सामा सात, बाँकेमा चार तथा बर्दियामा ५० बाघ भेटिएका थिए । त्यस्तै सन् २०१८ मा पर्सामा १८, बाँकेमा २१ तथा बर्दियामा ८७ बाघ भेटिएका थिए । सन् २००९ मा बाँकेमा बाघ गणना गरिएको थिएन ।

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघ लजालु जनावर भए पनि मानवीय कारणले हिंस्रक बनाएको बताए । ‘कुनै नयाँ कुरा देखेपछि बाघ तर्किएर हिँड्छ’, उनले भने, ‘हाम्रै कारणले बाघ हिंस्रक बन्दैछ, हामीले बाघको क्षेत्रमा अवरोध पु¥याउँदा उसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको हो ।’ बासस्थान संरक्षण, आहाराका कारण बाघको जनसंख्यामा प्रभाव पर्ने उल्लेख गर्दै ढुङ्गानाले बाघका कारण सिङ्गो पर्यावरण नै प्रभावित हुने बताए।

    नेपालमा बाघ पाइने क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको पुर्नवासमा पर्ने लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघ गणना हुँदैछ । चितवन–पर्सा कम्प्लेक्सलाई पनि तीन क्लस्टरमा विभाजन गरेर बाघ गणना गरिनेछ । बाघ गणनाको नजिता भने सन् २०२२ को मार्च महिनाभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइँदै छ । रासस