Tag: बर्थ डे

  • बर्थ डे केक खाएका १३ जना बिरामी, पसलेविरुद्ध प्रहरीमा उजुरीको तयारी

    बर्थ डे केक खाएका १३ जना बिरामी, पसलेविरुद्ध प्रहरीमा उजुरीको तयारी

    रूपन्देही । प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा जन्मदिन मनाउन ल्याइएको केक खाँदा १३ जना बिरामी परेका छन् ।

    स्थानीय ६९ वर्षीय एकबहादुर गुरुङको जन्मदिनमा ल्याइएको केक खाएका १३ जना बिरामी भएपछि उनको परिवार बिक्रेताविरूद्व उजुरी दिने तयारीमा छ ।

    बिरामी पर्नेमा एकबहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङसहित विष्णु गुरूङ, राजकुमार विष्ट, शर्मिला गुरूङ, ठगबहादुर गुरूङ, विजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेको स्थानीय राजकुमार गुरुङले नेपाल प्रेसलाई बताए ।

    केक खाएको भोलिपल्ट झाडापखाला र वान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो । बिरामी परेकामध्ये १२ जनालाई अस्पतालले चार दिनपछि डिस्चार्ज गरेको गुरुङले बताए । कुमारी गुरूङको भने बुटवलस्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ ।

    गुरुङका अनुसार यो घटना भदौ १५ गतेको हो । केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाएको छ । केक विक्रेताविरुद्व प्रहरीमा उजुरी दिने तयारी रहेको पीडितले बताए ।

  • जब ओलीले माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए…

    जब ओलीले माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए…

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा हिजो फैसला सुनाएपछि चर्चामा छन् माधवकुमार नेपाल । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ ।

    आफ्नो लागि स्तब्धकारी फैसला आउँदा संयोगले माधव नेपाल जन्मदिनको खुशीयाली मुडमा थिए । पार्टीका नेता-कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए । शुभकामना दिनेमध्ये एक थिए, प्रधानमन्त्री केपी शर्मा ओली ।

    ओलीले हिजो बिहानै नेपाललाई फोन गरेर ‘बर्थडे विस’ गरेको स्रोतले बतायो । जवाफमा नेपालले धन्यवाद दिए ।

    ओलीले भनेका थिए, ‘तपाईंको बर्थ डे केक काटेर धुमधामले मनाउन मन थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ ।’

    उनीहरूको फोन संवाद सुनेका नेता सुवास नेम्वाङले ओलीलाई कटाक्ष गरे ।

    ‘तपाईंहरुको भित्रभित्र यत्रो हिमचिम रहेछ, जन्मदिनमा बिहानै सम्झेर फोन गर्नुहुँदो रहेछ । बाहिर चाहिँ किन एकअर्कालाई देखि नसहेझैं गर्नुहुन्छ ?’ नेम्वाङले भने । ओली मुसुमुसु हाँसे मात्र ।

    नेम्वाङले दिउँसो आफैं माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए । नेपालले गलल हाँस्दै धन्यवादज्ञापन गरे ।

    यो शुभकामना आदानप्रदान सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला सुनाउनुभन्दा अगाडिको हो । फैसलापछि ओली र नेपाल दुवै एउटै पार्टीका भएका छन् ।