Tag: बर्डफ्लु

  • गण्डकी सरकारले सुरु गर्‍यो बजेट निर्माणमा छलफल

    गण्डकी सरकारले सुरु गर्‍यो बजेट निर्माणमा छलफल

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि विज्ञहरुसँग सुझाव लिएको छ । कोरोना संक्रमणका कारण आर्थिक संकटमा रहेको सरकारले संघ सरकारको अनुदानमै केन्द्रित भएर बजेट ल्याउन लागेको हो । यसअघि ३० अर्बको बजेट ल्याएको सरकारले अहिले बजेटको आकार अझै घट्न सक्ने संकेत गरेको छ ।

    यसपटक विज्ञहरुले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाएका छन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवामा विशेष जोड दिन उनीहरुको आग्रह छ । अहिले पनि अर्बौको उत्पादन नेपाल आयात हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिन उनीहरुको सुझाव छ ।

    नेपालको माटो सुहाउँदो बस्तु तथा सेवा उत्पादन गर्न बाँझो जमिनलाई भूमि बैंकको रुपमा प्रयोग गरी ठूलो मात्रमा उत्पादन हुने र त्यस्ता ठूला फार्मलाई अनुदानको व्यबस्था गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठले सरकारले बजेट खर्च गर्न नसकेका कारण देशमा आर्थिक तरलता बढेको बताए ।

    प्रदेश र स्थानीय सरकारको साढे ३ खर्ब सरकारी बैंकमै रहेको उनले जानकारी दिए । ‘सरकारी पैसा खर्च भएको छैन । ३ खर्बको कृषि बस्तु आयात भएको छ,’ उनले भने, ‘एकातिर खर्च नहुने अर्कोतिर आयात बढ्ने त राम्रो भएन ।’

    उनले अधिकांश बजेट खर्चमा जोड दिन सुझाव दिएका छन् । कोरोना र हालको अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमा ठूलो नतिजा ल्याउन प्रोडक्ट, प्रोसेस र मोडेल कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा।पुष्परमण वाग्लेले प्रदेशमा टुक्रे योजना बढेको र बजेट मागसमेत बढ्दै गएको बताए । प्रदेशमा ३ हजार योजनाको माग भएको २५ अर्बको बजेट आवश्यक पर्ने उनको भनाई छ । कूल ७८ अर्ब लाग्नेमा २५ अर्ब सिलिङ रहेको वाग्लेले जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले ८५ गाँउपालिकामा सुपथ मुल्यका पसल सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जग्गा प्राप्तिको समस्याले गौरवका योजनामा अवरोध भएको बताए । संविधानले प्रदेशलाई कम अधिकार दिएकोले आफूहरुले चाहेर पनि धेरै काम गर्न नसकेको उनको भनाई छ ।

    ‘डेढ बर्ष पहिला प्रतिपक्ष दलको नेता हुँदा यही समस्या थियो । अहिले मुख्यमन्त्री हुँदा पनि त्यही समस्या छ,’ उनले भने । अर्थमन्त्री रामजी प्रसाद बरालले विज्ञहरुको सुझाव अनुसार बजेट र नीति तथा कार्यक्रम बनाउने बताए । नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्रथामिकता दिने उनको प्रतिबद्धता छ ।

     

  • चितवनका ३१ स्थानमा बर्डफ्लु, भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी

    चितवनका ३१ स्थानमा बर्डफ्लु, भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी

    चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।

    अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

    पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको उहाँले। बताउनुभयो । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।

    बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।
    बागमती प्रदेश कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा। शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्रीगर्दा रोग फैलिएको बताए । जैबिक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । यो प्रदेशमा सबैभन्दा वढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ ।

    सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिब्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।

    नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए। छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो । पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

    नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्क नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए । रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अबस्थामा कृषक पुगेको उनको भनाइ थियो । हालसम्मकै सङ्कटग्रस्त अबस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए । रासस

  • पोखरामा बर्डफ्लु संक्रमित क्षेत्रका चार सय कुखुरा नष्ट, अन्य क्षेत्रमा परीक्षण गरिँदै

    पोखरामा बर्डफ्लु संक्रमित क्षेत्रका चार सय कुखुरा नष्ट, अन्य क्षेत्रमा परीक्षण गरिँदै

    पोखरा । पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्लाभित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ ।

    वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका सन्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो ।

    कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

    पोखरा १५ का खुशीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो । नजिकका फार्महरुको निगरानी र परीक्षणसमेत गर्न थालिएको न्यौपानेले बताए ।

  • उदयपुरमा बर्डफ्लु भेटियोः १६ सय कुखुरा मरे, पाँच हजार नष्ट गरिँदै

    उदयपुरमा बर्डफ्लु भेटियोः १६ सय कुखुरा मरे, पाँच हजार नष्ट गरिँदै

    उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा बर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलोपटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका– ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।

    केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए ।

    त्यस क्षेत्रमा १ हजार ६२५ पन्छी मरेको साहले बताए । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमूना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

    विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।

    भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए ।

    पाँच हजार पन्छी नष्ट गरिने साहले बताए ।

  • काठमाडौंको गोर्कणमा बर्डफ्लु भेटियो

    काठमाडौंको गोर्कणमा बर्डफ्लु भेटियो

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लु रोग पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार गोर्कर्णेश्वर नगरपालिका- ३ बालुवामा बर्डफ्लू संक्रमण पुष्टि भएको हो ।

    उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए ।

    बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स)को क्रममा रोग पुष्टि भएको उनले बताए । रोग फैलने सक्ने सम्भावित क्षेत्रका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको जनाइएको छ । २० स्थानीय कुखुरा, ५ परेवा, ३ लौकाट ५१६ नष्ट गरिएको विभागले जनाएको छ ।

    उनका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ ।

    मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

    यस्तै, फार्र्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बलन गर्न, पक्षीपालक किसानले फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्रीस्थलमा अस्वाभाविक रुपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरेको छ ।

    यसअघि चितवन र मोरङमा बर्डफ्लु पुष्टि भएको थियो ।

     

     

  • चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि, सरकारले थाल्यो अनुसन्धान

    चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि, सरकारले थाल्यो अनुसन्धान

    काठमाडौं । चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण भएको पुष्टि भएको छ । बुधबार एक पुरुषलाई संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । भाइरस कसरी सर्‍यो भन्नेबारे पुष्टि हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

    गतसाता बर्डफ्लु संक्रमण पुष्टि भएको थियो तर अहिले उनी निको भएर घर फर्किसकेको जनाइएको छ । कुखुराबाट मानिसमा बर्डफ्लु सरेको धेरै घटनाहरु भए पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिमा बर्ड संक्रमण पुष्टि भएको थिएन ।

    बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)का अनुसार अस्पतालमा भर्ना गरिएको एक महिना पछि उनमा बर्डफ्लु गराउने भाइरस H10N3 बाट संक्रमण पुष्टि भएको थियो । विश्वमा यो संक्रमण कुनै मानिसमा पनि भेटिएको थिएन । यो पंक्षीबाट मानिसमा सरेको पहिलो संक्रमण हो ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यो संक्रमण फैलने जोखिम न्यूून रहेको र मानिसबाट मानिसमा उक्त भाइरस नसर्ने बताएको छ ।
    बर्डफ्लु संक्रमण मानिसमा देखिएपछि त्याहाँ पालिएका लाखौं पक्षीहरु नष्ट गरिएको छ ।

     

  • काठमाडौंका तीन स्थानमा बर्डफ्लु संक्रमण

    काठमाडौंका तीन स्थानमा बर्डफ्लु संक्रमण

    काठमाडौं । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ का तीन स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो ।

    उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

    उनका अनुसार उक्त स्थानमा संक्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।

    उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

    यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरुपमा निःसंक्रमणमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ । यसअघि काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो ।

    -रासस

  • ललितपुरको नख्खुमा बर्डफ्लु संक्रमण पुष्टि

    ललितपुरको नख्खुमा बर्डफ्लु संक्रमण पुष्टि

    ललितपुर महानगरपालिका-१४, नख्खुमा बर्डफ्लु रोग पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार गत चैत १३ गते उक्त क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो ।

    बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स)को क्रममा रोग पुष्टि भएको विभागद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यहाँका किसानले पालेका कुखुरा, बट्टाई र हाँसबाट संकलन गरिएको नमुनालाई केन्द्रीय अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको जनाइएको छ ।

    रोग फैलने सक्ने सम्भावित क्षेत्रका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको जनाइएको छ । ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाइ, ९४४ गोटा अण्डा र ३३५ किलो दाना नष्ट गरिएको जनाइएको छ ।

    रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरि नष्ट गरिएको उल्लेख छ । रोगलाई पूर्ण नियन्त्रणमा राख्न जैविक सुरक्षाका विधि अवलम्वन गर्न समेत विभागले आग्रह गरेको छ ।

  • कोरोना कहरबाट नतङ्ग्रिँदै बर्डफ्लुको मारमा पोल्ट्री व्यवसायी

    कोरोना कहरबाट नतङ्ग्रिँदै बर्डफ्लुको मारमा पोल्ट्री व्यवसायी

    काठमाडौं । कोरोना कहरले करीब ५० अर्ब रुपैयाँ घाटा व्यहोरेर विस्तारै लयमा फर्किन लागेको पोल्ट्री व्यवसाय फेरि बर्डफ्लुको मारमा परेको छ ।

    पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा फेरि बर्ड फ्लु देखिएसँगै पोल्ट्री व्यवसायी चिन्तामा परेका छन् । बर्ड फ्लु प्रमाणित भएसँगै शुक्रबार तारकेश्वर क्षेत्रका ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिए हो ।

    अहिले मात्रै होइन, केही समयअघि पनि तारेकश्वरको साङ्लेखोला छापका किसानले पालेका कुखुरा र हाँसमा फेरि बर्डफ्लु भेटिएको थियो । त्यतिबेला पनि बर्डफ्लु पुष्टि भएसँगै ‘¥यपिड रेस्पोन्स टिम’ ले १४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको थियो ।

    क्षतिमाथि क्षति, व्यवसायी चिन्तामा

    नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कोरोना कहरले पोल्ट्री क्षेत्रले ५० अर्बभन्दा धेरै घाटा भएको बताए । उनले भने, कोरोनाले पोल्ट्री व्यवसाय समस्यामा परेको थियो, फेरि बल्र्डफ्लुको कारणले समस्यामा परेको छ । पोल्ट्री क्षेत्रमा १ खर्ब २० अर्ब लगानी रहेको पनि उनले बताए ।

    सरकारले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भनेपछि किसानले लगानी विस्तार गर्दै आएका थिए । त्यसैको प्रभावस्वरूप केही वर्षयता नेपाल पोल्ट्री व्यवसाय पूर्ण रूपमा आत्मनिर्भर बनेको थियो । नेपालमा खपत हुने मासु र अण्डामा भारतसँगको परनिर्भरता समेत हट्यो । तर, कोरोनाको विश्वव्यापी महामारीका कारण वर्षौंको मिहिनेत र लगानी भएको क्षेत्र समस्या भएर विस्तारै माथि उठ्न लागेको समयमा नै बल्र्डफ्लुले किसानलाई समस्या पारेको विष्टले बताए ।

    कोरोनाको महामारी शुरु हुनुअघि दैनिक २२ करोड रुपैयाँ बराबरको मासु, अण्डा, चल्ला र कुखुराका लागि आवश्यक दाना खरीद बिक्री हुँदै आएको पोल्ट्री व्यवसायमा अहिले कारोबार घटेको व्यवसायी बताउँछन् ।

    तर विष्टले भने पहिले जस्तो बर्डफ्लु भनेर कुखुराको मासुका उपभोक्ता डराउन छाडेको बताए । कोल्डस्टोरले उत्पादन गरेको मासु स्वच्छ र स्वस्थ रहेकोले मासु प्रयोगमा कुनै समस्या नरहेको बताए ।

    बर्डफ्लु लागेपछि ९० प्रतिशत कुखुरा मर्ने गरेकाले पनि किसानलाई समस्या पर्ने गरेको छ । पशु सेवा विभागले बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि काम गर्नुपर्ने हो तर अहिले विभागमा महानिर्देशक नै छैनन् । सरकारले यसलाई बेलैमा नियन्त्रणका लागि काम गर्ने हो भने समयमा नै बर्डफ्लु नियन्त्रण हुने बताए ।

    के गर्दै छ सरकार ?

    पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको उनले बताए ।

    उनले भने– बर्डफ्लुले चिसोमा बढी असर गर्छ । बर्डफ्लु कसरी भित्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ । अहिले कन्ट्याक्ट ट्रेसिङ र रोग नियन्त्रणमै विभाग केन्द्रित रहेको छ ।

    के भन्छन् डाक्टर

    कुखुराको मासु राम्रोसँग पकाएर खादा बर्ड फ्लु नसर्ने डाक्टर शेरबहादुर पुनले बताए ।

    उनले भने ‘पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसारलगायतका काममा संलग्न हुनेहरूले बर्डफ्लुसँग विशेष ध्यान दिनुपर्छ । कुखुराको मासु राम्ररी पकाएर खाने, काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ । पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिने, कुखुराको खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुटको प्रयोग गर्नुपर्छ ।’

  • काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू फेला परेको छ ।

    पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका व्यवसायिक कुखुराको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको हो ।

    रोग देखिएको क्षेत्रमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित
    गर्न/गराउन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन पनि विभागले अनुरोध गरेको छ ।

     

  • सुर्खेतमा देखियो ‘बर्डफ्लु’, कुखुरा र अण्डा नष्ट

    सुर्खेतमा देखियो ‘बर्डफ्लु’, कुखुरा र अण्डा नष्ट

    सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ ।

    वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो । संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

    संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।

    वीरेन्द्रनगरको नौलो टोलका दुई जना स्थानीयले पालेका २ सय ७९ कुखुरा, १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिए ।

    सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली खटिएको छ । निर्देशनालयले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरेको छ ।

    सरकारले भारतबाट भित्रिने पन्छी तथा पन्छीजन्य वस्तुमा ६ वर्ष अघि नै प्रतिबन्ध लगाए पनि खुला सिमानाको फाइदा उठाउँदै भारतीय कुखुरा बाँके हुँदै कर्णाली प्रदेश भित्रिरहेको पाइएको छ ।

  • तारकेश्वरमा फेरि भेटियो बर्डफ्लु

    तारकेश्वरमा फेरि भेटियो बर्डफ्लु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा फेरि बर्डफ्लु भेटिएको छ ।

    तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

    केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो ।

    बर्डफ्लु पुष्टि भएसँगै ¥्यपिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए।

    केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

  • तारकेश्वरको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा

    तारकेश्वरको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । यही माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएको थियो ।

    उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपर पशुको नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताउछन् । ‘हामीले उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आएका छौँ, सोही स्थानमा थप सङ्क्रमण देखिएको छैन’, उनले भने।

    रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको थियो । एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको थियो ।

    पशु सेवा विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरेको थियो । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल नियमितरुपमा अनुगमन गर्ने, शङ्कास्पद नमूना परीक्षण गर्ने र अध्ययनलगायतका आवश्यक काम भइरहेकोबताउँछन्।

    विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्नुपर्ने, फार्म परिसरमा नियमितरुपमा निःसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, पंक्षी फार्म वा अन्य पंक्षीपालन वा विक्रिस्थलमा अस्वाभाविक रुपमा पंक्षी विरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्नसमेत आग्रह गरेको छ ।

    विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । विभिन्न सीमानाका हुँदै आयात हुने कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको हो । रासस

  • बर्ड फ्लु देखिएसँगै घट्यो कुखुराको मासुको भाउ

    बर्ड फ्लु देखिएसँगै घट्यो कुखुराको मासुको भाउ

    काठमाडौं । कुखुराको मासुको मूल्य प्रतिकेजी २० रूपैयाँ घटेको हो । कुखुराको मासु प्रतिकेजी ३७० बाट घटाएर ३५० रूपैयाँ तोकिएको छ ।

    लकडाउनपछि बढेको कुखुराको मासुको भाउ बर्ड फ्लु देखिएसँगै घटाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जगबहादुर बीसीले बर्ड फ्लु झन फैलियो भने अझै मासुको मूल्य घट्ने बताए । उनले भने, ‘बर्ड फ्लुलाई यतिमा नै रोक्न सकियो भने मासुको मूल्य घट्दैन ।’

    काठमाडौंको तारकेश्वर-७ फुटुङमा एक किसानले पालेका हाँस-कुखुरामा शुक्रबार बर्ड फ्लु देखिएपछि पशु सेवा विभागले पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक लगाएको छ । पन्छी र पन्छीजन्यको भेटेरिनरी जाँच गराएर स्वस्थ प्रमाणित भएका पशुपन्छीमात्रै कारोबार गर्न विभागले सुझाएको छ ।

    बर्ड फ्लु देखिएको क्षेत्र तारकेश्वर पुगेर विभागको टोलीले शनिबार १८ सय ६५ वटा हाँस, ६२२ वटा बट्टाइ, ३२ वटा कुखुरा र २५ वटा टर्की मारेर गाडेको छ। साथै उक्त क्षेत्रबाट ५४२ वटा अन्डा र ७५ केजी दाना पनि नष्ट गरिएको विभागले जनाएको छ ।

  • बर्डफ्लु नेपाल भित्रिएपछि भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

    बर्डफ्लु नेपाल भित्रिएपछि भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

    काठमाडौं । नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

    संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

    १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

    रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

  • भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

    भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

    काठमडौं । भारतमा बर्डफ्लु देखिएसँगै नेपालमा उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका हुन् ।

    सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो ।

    जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ । चापागाईका अनुसार चितवनमा केही दिनअघि समितिको बैठक बसेको थियो । बैठकले व्यवसायीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।

    वाग्मती प्रदेश सरकारको सहयोग र व्यवसायीको साझेदारीमा नारायणगढ–मुग्लिन सडकखण्डमा ढुवानी गर्ने साधन सरसफाइ र निसङ्क्रमण गरिँदै छ । भरतपुर महानगरपालिकासँग जग्गा माग गरी २५ लाख रुपैयाँ खर्च गरेर सवारी साधनको सरसफाइ र निसङ्क्रमण स्थल निर्माण गर्न लागिएको उनले जानकारी दिए।

    काठमाडौँ, पोखरा, गोरखा, धादिङ, लमजुङलगायतका जिल्लामा यही बाटो हुँदै कुखुराजन्य पदार्थ जाने गर्दछ । फर्कदा सवारी साधनलाई निसङ्क्रमण गर्न लागिएको हो । देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको उनले बताए ।

    कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ । प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ ।

    प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट सङ्कलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ । भारतमा बर्डफ्लु देखा परेसँगै नमूना सङ्कलन बढाइएको उनले जानकारी दिए ।

    हाल यस प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ । खरेलले कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि पटकपटक अनुरोध गरिँदै आएको बताए ।

    गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताए ।

    नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको उनको भनाइ छ । उनले भने ,‘अहिले डराउनुपर्ने अवस्था नरहे पनि सरकारी र निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा नगरेमा रोग भित्रन सक्छ ।” सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकेमा नेपालमा रोग भित्रन नपाउने उनको भनाइ छ ।

    पक्षी रोग प्रयोगशालाबाट तत्काल कोभिड–१९ प्रयोगशाला स्थानान्तरण गरेर त्यहाँ पक्षीको परीक्षण बढाउनुपर्ने उनको भनाइ छ । कुखुराजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको छ । यस क्षेत्रमा रु एक खर्बभन्दा बढीको लगानी भइसकेको व्यवसायीको भनाइ छ । जाडो मौसममा बर्डफ्लुको उच्च जोखिम हुने गर्दछ ।