Tag: बरिष्ठ नेता पौडेल

  • संसद विघटनको सिफारिश राष्ट्रपतिले स्वीकार गर्नुहुँदैन  : वरिष्ठ नेता पौडेल

    संसद विघटनको सिफारिश राष्ट्रपतिले स्वीकार गर्नुहुँदैन : वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट सिफारिश भएकाे संसद विघटन राष्ट्रपतिले स्वीकार गर्न नहुने बताएका छन् ।

    नेता पौडेलले संसद विघटन संविधान विपरीत भएको भन्दै लोकतन्त्रको मर्मविपरीतको साथै राष्ट्रहित विपरीत सिफारिश फिर्ता लिन माग गरेका छन् ।

    उनले भने, ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्नुहुँदैन । यो फिर्ता गर्नुपर्दछ ।’

    नेता पौडेलले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको भर्त्सना गरेका छन् ।

    यस्तै नेपाली कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले संसद विघटनको सिफारिश असंवैधानिक कदम भएको बताएका छन् ।

    उनले जनताले राजनीतिक स्थिरताका लागि करिब दुई तिहाइ मत दिंदा पनि नेकपाले त्यसलाई जोगाउन नसकेको आरोप लगाएका छन् ।

    पार्टीभित्रको अन्तरसंघर्षको शिकार संसदलाई बनाउनु निन्दनीय भएको भन्दै नेता  सिंहले प्रधानमन्त्रीले यस्तो अप्रिय निर्णय लिएको साचो हो भने लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदमको घोर भर्त्सना गर्ने बताए ।

    साथै उनले सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एक ढिक्का भएर यसको खिलाफमा उभिन समेत अपिल गरेका छन् ।