Tag: बन्दीपुर

  • पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    काठमाडौं । बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटन प्रवर्द्धन गर्न कस्सिएको हो ।

    पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यससँगै समृद्ध एवं सु-संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या बढाउन पनि बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको उनले जानकारी दिए ।

    अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउन बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ । बन्दीपुरका युवाहरूलाई स्वरोजगारबाट रोजगार सिर्जना गरि त्यही व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, बन्दीपुरका उत्पादनहरूलाई सोही ठाउँमा उपभोग तथा बिक्री वितरण गर्ने र विदेश पलायन हुनबाट युवालाई रोक्ने पनि भ्रमण वर्षले मद्दत पुर्‍याउने उनको भनाई छ ।

    भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरिसकेको छ । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको छ ।

    दुई लाख पर्यटक भित्र्याउने लक्ष्य 

    बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । पर्यटकको सङ्ख्यालाई दोब्बर बनाउने योजना सुनाउँदै संयोजक वैश गुरुङले भने, ‘भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने गरी योजना बनाएका छौँ । भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने योजना बनाएका छौँ ।’

    भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर घुमाउने लक्ष्य रहेको समेत उनले सुनाए ।

    भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । यो खर्च पर्यटक प्रवर्द्धन, पूर्वाधार निर्माण, पर्यटकीय गतिविधि, तालिमहरू, रैथाने बालीका परिकार बनाउन सिकाउने, आफ्नै उत्पादन गराउन खर्च गरिने उनले जानकारी दिए ।

    बन्दीपुर गाउँपालिकाको मुख्य आम्दानी पनि पर्यटन नै हो । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याउने समेत लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिए ।

    बसाइ लम्ब्याउन पदमार्गको विकास 

    बसाइ पनि लम्ब्याउनु पर्ने आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले भने, ‘अहिले बन्दीपुरमा आन्तरिक पर्यटकको बसाई वान नाइट स्टे मात्रै रहेको छ । त्यसलाई तीन दिन पुर्‍याउने लक्ष्य छ । भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ ।’

    अहिले विदेशी पर्यटकहरूको बसाइ सरदर एक हप्ता रहेको छ । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइने भ्रमण वर्षको लक्ष्य छ ।

    पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थल र पदमार्गको विकास गरिएको छ । बिमलनगर–सिद्धगुफा–गुम्बा–बन्दीपुर, मुग्लिङ–लाब्दि–छिम्केश्वरी–हिलेखर्क–धारगाउँ–बन्दीपुर, बन्दीपुर–रामकोट–रुम्सी–सेरेटार–बन्दीपुर पदमार्ग विकास गरिएको छ । यी सबै पदमार्ग एक दिनको हो । छिम्केश्वरी–मनकामना, गोरखा दरबार–लिपकोट–भानुजन्मस्थान–बन्दीपुर पदमार्गको पनि विकास गरिएको छ । यो पदमार्ग दुई दिनको हो ।

    ‘आसपासमा पालिकाहरुको पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने हाम्रो रणनीति छ’, उनले भने ।

    दैनिक १७ सय पर्यटक राख्ने क्षमता 

    गुरुङका अनुसार हाल बन्दीपुरमा ७५ होटल छन् । यसबाहेक चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।

    ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ’, उनले भने ।

    भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

    उनका अनुसार भ्रमण वर्षमार्फत सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने तयारी छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ । पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने लक्ष्य रहेको छ ।

    बन्दीपुर नै भ्रमण किन ? 

    बन्दीपुर नै भ्रमण किन गर्ने भन्ने प्रश्नमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’

    अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिन्छ ।

    बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन् । हालसम्म आएका पर्यटक हरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको सङ्ख्या बढाउने तयारी रहेको उनले जानकारी दिए ।

    ‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने ।

    विधार्थीहरुलाई छुटसहित घुम्न आकर्षित गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । ‘हामीले पर्यटकको उमेर अनुसारको प्याकेज तयार पारेका छौँ’, उनले भने, ‘विद्यार्थीहरू भविष्यका पर्यटक हुन्छन् । पर्यटक प्रवर्द्धन गर्ने पनि उनीहरूले नै हो । तर, उनीहरू सधैँ पैसाको हाराकारबाट गुज्रिरहेका हुन्छन् । तसर्थ त्यस्ता विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गर्नेछौँ ।’

    वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक÷एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’

    पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्ष अन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्तीहरू राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगहरूको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गरिने, स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्ने र उनीहरूको बजार व्यवस्थापन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

    ‘भ्रमण वर्षको सन्देशसहित कौरा नृत्यको भव्य प्रदर्शन गरिनेछ । नेपालमै आजसम्म ननाचेको ठूलो सङ्ख्यामा बन्दीपुरको टुँडिखेलमा नचाउने योजना रहेको छ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने तयारी रहेको समेत उनले जानकारी दिए ।

    प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्रकोरुपमा पनि बन्दीपुर परिचित छ । बन्दिपुर साहसिक खेलहरू प्याराग्लाइडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुटहरू रहेका छन् ।

  • बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् ।

    चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको सङ्ख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।

    ‘दिउँसो आउनेको सङ्ख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको सङ्ख्या भने कमै भयो’, प्रधानले भने । उनका अनुसार बास बस्ने पर्यटकको सङ्ख्या दैनिक दुई हजार रहेको थियो ।

    बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो ।

    बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।  रासस

  • बन्दीपुरको ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

    बन्दीपुरको ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

    तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

    बन्दीपुर गाउँपालिका कार्यालयले एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो ।

    प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।

    आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने,‘अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारको दिन एक हजारदेखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् ।’

    बाह्य पर्यटक खासै देख्न नपाए पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकाले बन्दीपुर पुग्ने जो कोही पर्यटक मिनी ग्रेटवाल पुगेर मात्रै फर्किने गरेको उनले बताए । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात करोड विनियोजन भएकाले छिट्टै टेण्डरका लागि प्रक्रिया अघि बढाइने छ ।

    नेपाल सरकारको चार करोड ५५ लाख नेपाल सरकारको र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ ।

    उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)मा १९ करोड रहेको छ भने २०७९ फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्ण थापाले जानकारी दिए ।

    टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको हो । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चलाउने तालीम प्रदान गरिने अध्यक्ष थापा बताए ।

    काठमाडा,ैं पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । बन्दीपुरमा आउने पर्यटकका लागि मिनी ग्रेटवाल थप आकर्षण स्थलका रुपमा रहेको पर्यटन व्यवसायी बैश गुरुङले बताए।

    कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने उनले बताए । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

    पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।

    प्रमुख आकर्षण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहीद पार्कलगायतका बन्दीपुरको दृश्यावलोकन गर्ने मुख्य स्थान हुन् ।

    बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुरमा प्याराग्लाइडिङका लागि पनि प्रचुर सम्भावना रहेको बताइएको छ । रासस