Tag: बङ्गलादेश

  • राष्ट्रपति भण्डारी र बङ्गलादेशी समकक्षी हमिदबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र बङ्गलादेशी समकक्षी हमिदबीच भेटवार्ता

    काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ ।

    भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

    भेटवार्तापछि दुबै राष्ट्रपति बंगलादेशी समकक्षी हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए ।

    बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।

    बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिइन् ।

    राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

    सो अघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् ।

  • बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

    बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

    ढाका । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् ।

    भ्रमणमा संलग्न नेपाली संचारमाध्यमसँग कुरा गर्दै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए ।

    मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले जनाए ।

    भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जनाए ।

    राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो ।

    ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए ।

    बङ्गलादेशसँग भएको रोहनपुर-सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

    नेपालसँगको व्यापार घाटा कम गर्न बङ्गलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरुपमा प्रवेश पाउनका लागि आफूहरुले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    नेपालको धागो निर्यात गर्ने मार्ग अपायक भएकाले त्यसलाई पायक बनाउन आग्रह गरिएको र नेपालबाट बङ्गलादेशमा ऊर्जाको व्यापारका लागि भारतसँग दुवैले थप छलफल गर्ने विषयमा साझा बुझाइ रहेको उनले बताए ।

    दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरुका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र सङ्कल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

    समग्रमा राष्ट्रपति भण्डारीको भ्रमण कस्तो रह्यो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने –“बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसर पारेर भएको यो भ्रमण आफैँमा महत्वपूर्ण छ । छोटो अवधिको यो भ्रमण उपलब्धिमूलक र सफल भएकोे छ । दुवै देशका सरकार र जनताका तहमा रहेको सम्बन्ध अझै सुदृढ भएको छ ।”

    बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

    बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन् । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् ।

  • नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

    ढाका- नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।

    समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

  • राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता, आजै द्धिपक्षीय सम्झौता समेत हुँदै

    राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता, आजै द्धिपक्षीय सम्झौता समेत हुँदै

    ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

    आजै बंगलादेशी विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज ढाका पुगेकी हुन् ।

    बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् ।

    ढाकाको सावरस्थित बंगलादेशी स्वतन्त्रताका नायकहरुको प्रतिमूर्तिमा माल्यार्पण गर्दै राष्ट्रपति भण्डारी ।

    राष्ट्रपति भण्डारीले आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । दुबै समकक्षी द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

    राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमण : तीन समझदारी पत्रमा हस्ताक्षर तयारी

    राष्ट्रपतिको बंगलादेश भ्रमण : तीन समझदारी पत्रमा हस्ताक्षर तयारी

    काठमाडौं । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् ।

    नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

    आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन् । राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

    बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

    बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बताउँछन् बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्र । ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको टेलिफोनमा बताए ।

    सम्पर्क सञ्जालका बहुढाँचाको विकास, सुदृढ पारवहन सुविधाका लागि लगानी प्रवद्र्धन, पर्यटन विस्तारमा सहकार्य, ऊर्जा क्षेत्रमा साझेदारी अभिवृद्धि, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा थप सहयोग बढाउने तथा दुवै देशका उत्पादनलाई आ–आफ्नो मुलुक निर्वाध पुर्‍याउन सहुलियतपूर्ण व्यापार सम्झौता (पिटीए) गर्ने तयारी गरिएको भए पनि केही प्राविधिक कठिनाईका कारण राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने बताए ।

    विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली उत्पादन बङ्गलादेशका बजारमा पुर्‍याउने, चिकित्सा शास्त्रका अधिकांश विधामा आकर्षित नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति, उनीहरूले झेल्नुपरेका प्रवेशाज्ञालगायत समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने अवसरका रुपमा यो भ्रमणलाई उपयोग गर्नसके नेपाल र नेपालीलीलाई दीर्घकालीन लाभ हुनेछ ।

    नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकटोक चटगाउँ र मोङ्ला बन्दरगाहसम्म पहुँच दिने व्यवस्था, व्यापार, वाणिज्य र पारवहनमा सहजीकरण र दुवै देशलाई हवाई, जल एवं सतहमार्गबाट जोड्दै बृहत् सम्पर्क सञ्जालमार्फत् व्यापारमात्र नभई जनस्तरमा विद्यामान आपसी आत्मीय सम्बन्धलाई अझ सुमधुर तुल्याउन भ्रमण उपयोगी हुने विश्वास दुवै देशका नागरिकले गरेका छन् ।

    नेपाल र बङ्गलादेशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित÷विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, विविध कारणले अबरुद्ध भएको ढाका–काठमाडौँ बससेवा पुनः सञ्चालन गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, नेपालको बढ्दो व्यापार घाटा घटाउन तुलनात्मक लाभका वस्तुलाई भन्सार महशुल नलिइ बजारसम्म पहुँच, भन्सार बिन्दुमा प्रक्रियागत प्रशासनिक झमेलाको अन्त्य, भन्सार प्रक्रियाको सरलीकरण, द्विपक्षीय सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नतिमा केन्द्रित रहेर नेपालले बङ्गलादेशका उच्च अधिकारीसँग विचारविमर्श गर्नुपर्नेमा जोड दिन्छन् पूर्व उद्योग, वाणिज्य तथा आपूूर्ति सहायकमन्त्री राजेशकाजी श्रेष्ठ ।

    मालसामानको सहज जाँचपास र व्यापार प्रवद्र्धनका लागि दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोधको अन्त्य स्थल र हवाईमार्गबाट बङ्गलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नसके भ्रमण फलदायी हुने तर्क उनको छ ।

    विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र पहिल्याउने, नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग मल कारखाना स्थापानालगायत कृषि क्षेत्रका पूर्वाधार निर्माणमा बङ्गालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवद्र्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्नसकेमा दुवै मुलुक लाभान्वित हुने उहाँको धारणा छ । चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित सुविधाका साथ बङ्गलादेशले आफ्ना बजार उपलब्ध गराइदिए हुन्थ्यो भन्ने उहाँको अभिमत छ ।

    नेपाल र बङ्गलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्‍याउने, आपसी पर्यटन प्रवद्र्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बङ्गलादेशबीच जलविद्युत् उत्पादन, व्यापार र लगानीका क्षेत्रमा गर्न सकिने साझेदारीबारे पनि भ्रमणका क्रममा विचारविमर्श हुने बताउँछन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल । बङ्गलादेशसँग उसले निर्यात गर्ने वस्तुको सूची मागिएको र त्यो अध्ययनको क्रममा रहेकाले राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने उनले बताए । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर सन्धिसम्झौता गर्नुपर्ने भएकाले पिटीएमा केही विलम्ब भएको उनी स्वीकार्छन् ।

    निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१८/१९ मा नेपालले रु एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ, गहुँ, काउली, गोलभेँडा, सागसब्जीका बीउबिजन, जुस, फर्निचर, कुचो, अम्रिसो, फेल्ट, काठका फर्निचर, सल, मफ्लर, जुटका बोरा, ओढ्ने बङ्गलादेश निर्यात गरेको थियो ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याएर तदनुरुप काम गर्नुपर्ने सुझाव दिन्छन् संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि प्राडा जयराज आचार्य । राष्ट्रपतिको भ्रमणको उद्देश्य सार्वजनिक गर्नुपर्ने मत प्रकट गर्दै उनी भन्छन् – आपसी सद्भाव, सहयोग, समझदारी र सहकार्यबाटै समृद्धिको लक्ष्य प्राप्तिमा बल मिल्छ, सहयोग विस्तारका अथाह सम्भावनायुक्त दुवै देशले आफ्नो राष्ट्रिय हित र जनताको बृहत्तर लाभका खातिर द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा मिलेर काम गर्नुपर्छ ।”

    बङ्गलादेशले अतिकम विकसित राष्ट्रको सूचीबाट आफूलाई स्तरोन्नति गरेको बेलामा हुन लागेको राष्ट्रपति भण्डारीको राजकीय भ्रमणबाट स्तरोन्नतिको सूचीमा उक्लिने हाम्रो सपना साकार पार्न बङ्गलादेशी अनुभव र शिक्षा हासिल गर्न मद्दत पुग्नेछ भने दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्ष राष्ट्रका हैसियतले अवरुद्ध सार्क प्रक्रियालाई पुनर्जीवनसहित नव गति दिने दिशामा रचनात्मक भूमिका निर्वाह हुनसक्छ ।

    बङ्गलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन), बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) लगायत बहुपक्षीय सङ्घसंस्थामा दुवै देशबीच सहकार्य हुँदै आएको सन्दर्भमा भावी रणनीति तर्जुमा गर्ने सुअवसर पनि यस भ्रमणबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

    बङ्गलादेशको स्वतन्त्रता संग्राममा बंगबन्धु नेतृत्वको मुक्तिबाहिनी सेनालाई नेपालको तत्कालीन राजनीतिक नेतृत्वले हतियार समेत उपलब्ध गराएर राजनीतिक तहमा समेत उन्नत बनाएको बहुआयामिक नेपाल बङ्गलादेश सम्बन्धलाई राष्ट्रपति भण्डारीको यस राजकीय भ्रमणले थप सुमधुर बनाउने अपेक्षा गरिएको छ । रासस

  • बङ्गलादेशको रासायनिक मल आज नेपाल आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल आज नेपाल आइपुग्ने

    काठमाडौं । नेपाल र बङ्गलादेश सरकार  (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ ।

    बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

    मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

    कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए।

    उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।

    गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

    पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

    बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए।

    उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

    जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

    मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

    सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो । कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

    पर्याप्त मौज्दात धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ ।

    कम्पनी र साल्टट्रेडिङ कर्पारेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।

    कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ ।

    चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ ।

    शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने बताइएको छ ।

     

  • युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच  सम्झौता

    युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

    काडमाडौं । बङ्गलादेशबाट युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ । नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच बिहीबार सम्झौता भएको हो ।

    बंगलादेशबाट युरिया मल ल्याउन नेपाल सरकारले तीन महिना अघि नै निर्णय गरेको भए पनि बिहीबार मात्र सम्झौता गर्यो । सम्झौता अनुरुप बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाल आपूर्ति गर्नेछ ।

    बंगलादेशबाट नेपालले युरिया मल चार लटमा आयात गर्नेछ । सम्झौता भएको तीन महिनाभित्र मल नेपाल निर्यात गरिनेछ । यो मलको आयातसँगै नेपालमा रासायनिक मलको अभावकाे समस्या समाधान हुने कृषि मन्त्रालयको भनाइ छ ।

    यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने मल पर्याप्त रहेको मन्त्रालयले बताएको छ । मल अभाव हुन नदिनका लागि मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति समेत तयार भइरहेको जनाएको छ । नेपालले जी–टु–जी (सरकार–सरकारबीच सम्झौतामार्फत मल आपूर्ति गर्न लगेको हो ।