Tag: बंगलादेश फुटबल टोली

  • ब्रुजोनको नेतृत्वमा बंगलादेशले साफ च्याम्पियनसिप मात्रै खेल्ने

    ब्रुजोनको नेतृत्वमा बंगलादेशले साफ च्याम्पियनसिप मात्रै खेल्ने

    काठमाडौं । बंगलादेश राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक ओस्कार ब्रुजोनले साफ च्याम्पियनसिपका लागि मात्रै टोलीलाई प्रशिक्षण दिने भएका छन् ।

    केही समय अगाडिमात्रै बंगलादेश फुटबल संघले पूर्व प्रशिक्षक जेमी डेलाई बर्खास्त गरेर बसुन्धरा किङ्सका बु्रजोनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    उनले साफ च्याम्पियनसिपका लागि मात्रै प्रशिक्षण दिने राष्ट्रिय टोली समितिका अध्यक्ष र बंगलादेश फुटबल संघका उपाध्यक्ष काजी नाविल अहमेदले पुष्टि गरेका हुन् ।

    बंगलादेश फुटबल संघका अध्यक्ष काजी सालहुदिन र ब्रुजोनसँगको बैठक पछि नाविलले भने, ‘हामीले प्रशिक्षकसँग भावी कार्ययोजनाबारे छलफल गर्‍यौं । म अहिले सम्झौताको बारेमा सबै कुरा खुलाउन सक्दिन जे होस सबै कुरालाई अन्तिम रूप दिइएको छ । बसुन्धरा किङ्सले पनि उनलाई रिलिज गर्नेछ र उनी हामीसँग काम गर्नेछन् । उनले साफ च्याम्पियनसिपका लागि मात्रै काम गर्ने भएकाले हामीले लामो समयको सम्झौताबारेमा छलफल गरेनौँ ।’

    उनले थपे, ‘हामी बसुन्धरा किङ्सलाई उनीहरूको प्रशिक्षकलाई राष्ट्रिय टोलीसँग काम गर्न नुमति दिएकोमा धन्यवाद दिन्छौँ । हामीलाई उनी बसुन्धरा किङ्स फर्किए पनि केही समस्या हुने छैन ।’

    ब्रुजोन थोरै समयमा पनि राष्ट्रिय टोलीका लागि राम्रो प्रशिक्षक हुनेमा आफूहरू विश्वस्त रहेको विगत तीन वर्षदेखि ब्रुजोन बंगलादेशमै रहेकाले खेलाडीसँग परिचित रहेको उनले बताए ।

    नाविलले ब्रुजोनको आवश्यकता अनुसारनै कोचिङ स्टाफ नियुक्त गर्ने कुरा पनि जानकारी दिए ।

  • साफ च्याम्पियनसिप: बंगलादेशको २६ सदस्यीय टोलीमा नाइजेरियन मुलका एलेटा

    साफ च्याम्पियनसिप: बंगलादेशको २६ सदस्यीय टोलीमा नाइजेरियन मुलका एलेटा

    काठमाडौं । बसुन्धरा किङ्ग्सका स्ट्राइकर एलेटा किङ्ग्सले साफ च्याम्पियनसिपका लागि घोषित २६ सदस्यीय टोलीमा समेटिएका छन् । अक्टोबर १ देखि माल्दिभ्समा सुरु हुने प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा समेटिएका एलेटा २६ सदस्यमा पनि अटाएका हुन् ।

    नाइजेरियामा जन्मिएका एलेटाले गत जुनमा बंगलादेशी पासपोर्ट पाइसकेका छन् । र, पहिलो पटक बंगलादेशी टोलीमा समेटिएका हुन् ।

    बसुन्धरा किङ्ग्सबाट खेल्ने फरवार्ड एलेटा को हुन् ?

    नाइजेरियाको ओग्बोनामा जन्मिएका एलेटाले त्यहाँकै क्लब अक्वा युनाइटेडबाट खेल्दै सन् २००९ मा व्यावसायिक करियरको सुरुआत गरेका थिए । एलेटाले सन् २०११ देखि लगातार बंगालदेशमा रहेका फुटबल खेलिरहेका छन् । उनले आरमबाघ केएस, टिम बीजेएमसी र मुक्तिजोद्दा सग्सद केसीबाट खेलिसकेका छन् ।

    सन् २०२१ मा उनले बंगलादेशी नागरिकता लिएका थिए । र, बंगलादेशी च्याम्पियन बसुन्धरा किङ्ग्समा आवद्ध भएका थिए । अहिले एलेटा पूर्ण रूपमा बंगलादेशका नागरिक हुन् । तर, उनले फिफाबाट भने स्पष्ट स्वीकृति पाउन बाँकी छ ।

    एलेटाले बंगलादेशबाट खेल्न पाउनेबारे के भन्छ बीएफएफ ?

    फिफाबाट स्पष्ट स्वीकृति नपाए पनि बंगलादेशको फुटबल संघले एलेटालाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । बीएफएफले फिफाले चाँडै उनलाई बंगलादेशबाट खेल्ने अनुमति दिने आशासहित टोलीमा राखेका हो ।

    डेसी स्टारसँग बंगलादेश फुटबल संघका महासचि अबु नयिम सोहागले भने, ‘एलेटाले बंगलादेशको नेतृत्व गर्दै साफ च्याम्पियनसिप खेल्न पाउने विषयमा हामीले फिफासँग पटक-पटक सम्पर्क गरेका छौं । हामीले बुझेअनुसार फिफाले त्यो विषयका लागि एसियन फुटबल महासंघलाई भन्ने छ । र, हामी भर्चुअल वार्ता गरेर उनले बंगलादेशबाट खेल्न पाउने विषयमा छलफल गर्न सक्छौं ।’

    बंगलादेशले साफ च्याम्पियनसिपको पहिलो खेल कहिले खेल्दै छ ?

    बंगलादेशले अक्टोबर १ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै, अक्टोबर ४ मा भारतसँग र ७ मा माल्दिभ्ससँग खेल्ने छ । नेपालसँग भने बंगलादेशको खेल अक्टोबर १३ मा हुने तय भएको छ ।

    साफ च्याम्पियनसिपको फर्म्याट कस्तो छ ?

    प्रतियोगितामा पाँच टोली मात्रै सहभागी हुने भएपछि आगामी साफ च्याम्पियनसिपमा समूह हुने छैनन् । र, प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा सञ्चालन हुनेछ । समूह चरणका खेल सकिएपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

    बंगलादेशको २६ सदस्यीय टोली

    गोलकिपर: अनिसुरु रहमान, सहिदुल आलम, अश्राफुल इस्लाम राना,

    डिफेन्डर: विश्वनाथ घोष, टोपु बार्मन, टारेक काजी, टुटुल होसेन, रहमत मिया, सेयसिन अराफत, रजाउल करिम, मोहम्मद अतिकुज्जमान, मेहेदी हसन ।

    मिडफिल्डर: अटिकर रहमान, सोहेल राना, साद उद्दिन, जमल भुया, रकिब होसेन, मानिक होसेन मोला ।

    फरवार्ड: बिप्लो अहमद, महब्यिबुर रहमान,मोहम्मद इब्राहिम, एलेटा किङ्ग्सले, मोहमद माटिन मिया, जेवेल राना, सुमन रेजा ।

  • नेपाल भर्सेस बंगलादेश- गोलको प्रतीक्षा, उपाधिको भोक

    नेपाल भर्सेस बंगलादेश- गोलको प्रतीक्षा, उपाधिको भोक

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको अनावृष्टि टुङ्ग्याउन आयोजना गरिएको थ्री नेशन्स कपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । प्रतियोगिताको खडेरी तोड्न सफल थ्री नेशन्स कपले गोलको खडेरी भने टार्न सकेन ।

    समग्र प्रतियोगितामै गोलको हाहाकार मच्चिएको प्रतियोगिताले नेपालको गोलविहीन यात्रालाई त झनै लम्ब्याइ दिएको छ । हुन पनि प्रतियोगितामा अहिलेसम्म तीन खेल भइसके । तर, गोल एउटा मात्रै भएको छ, त्यो पनि आत्मघाती ।

    आयोजक नेपाल, दक्षिण एसियाली अर्को मुलुक बंगलादेश र किर्गिस्तानको यू-२३ गरी तीन टोली सहभागी प्रतियोगितामा दुई भ्रमणकारी टोली आमनेसामने भएका थिए । सोही खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले डिफेन्सिफ हाफमा आएको बल क्लियर गर्ने क्रममा पोस्टमा छिरेको थियो ।

    त्यही एकमात्र गोलले अहिलेसम्म प्रतियोगितामा एकाधिकार जमाइरहेको छ । त्यसलाई चुनौती दिने अन्य गोल सिर्जना हुन सकेका छैनन् । अझ नेपालले त पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।

    नेपाल आज सोही गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा छ । ‘हामीले सोचेअनुसार खेले पनि गोल गर्न सकेका छैनौं,’ नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जन भन्छन्, ‘हाम्रो प्रमुख लक्ष्य गोल हुनेछ ।’

    त्यस्तै, राष्ट्रिय टोलीको अग्रपंक्ति सम्हालिरहेका फरवार्ड अभिषेक रिजालले पनि गोल स्कोरिङमा देखिएको समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गरेका छन् । ‘कहिले काहिँ खेल तलमाथि हुन्छ नै । त्यसका बाबजुद हामी थ्री नेशन्स कपको फाइनल पुगेका छौं,’ अभिषेकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देखिएको स्कोर समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गर्छु ।’

    राष्ट्रिय टोलीका आक्रमण सम्हालेका अभिषेकले गोल स्कोरिङबारे बताइरहँदा गोलपोस्ट सम्हालेका कप्तान किरण चेम्जोङ उपाधि उचाल्न हतारिएका देखिन्छन् । आजको खेलमा यसअघि देखिएको फिनिसिङको समस्या टार्दै फरवार्डले गोल गर्नेमा आशावादी रहेका कप्तान किरण भन्छन्, ‘जुनसुकै कप्तानलाई आफ्नो टोलीले उपाधि जित्दा खुशी लाग्छ, मेरो कप्तानीमा देशलाई उपाधि दिलाउन चाहन्छु ।’

    त्यस्तै, उपकप्तान रोहित चन्द पनि ६ वर्षपछि रंगशाला फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उपाधि घरैमा राख्ने बताउँछन् । यसअघिका दुई खेलमा निकालेको बराबरी नतिजासमेत उल्लेख गर्दै ‘फाइनलमा नेपालले अझै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि घरमा नै राख्ने’ सामाजिक सञ्जालमा लेखेका छन् ।

    राउन्ड रोबिन प्रणालीमा जारी प्रतियोगिताका दुवै खेलमा गोल गर्न असफल नेपाल आजकाे फाइनलका लागि जति उत्साहित छ, त्यति नै बंगलादेश पनि । सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश कुनै पनि हालतमा उपाधि गुमाउन चाहँदैन ।

    अन्तर्राष्ट्रिय खेलमा गोलको खडरीले उजाडिएको नेपाली टोली र प्रतियोगितामा तीन अंक हासिल गर्ने एउटा मात्र टोली बंगलादेशबीच भोलिको खेलमा घमासान प्रतिस्पर्धा हुने सहजै अनुमान लगाउन सकिन्छ । बंगलादेशी टोलीका प्रशिक्षक जेम्स डे पनि याे खेल प्रतिस्पर्धात्मक हुने टिप्पणी गर्छन् ।

    ‘हामी फाइनलमा पुग्यौं त्यो नै हाम्रा लागि ठूलो कुरा हो,’ उनी भन्छन्, ‘घरेलु टोलीलाई समर्थकको साथ पनि रहनेछ ।’

    अनुभवी बंगलादेशी टोलीलाई २२ वर्षपछि नेपालमै नेपालविरुद्ध फाइनलमा पुर्‍याएका कप्तान जमल भुया उपाधि जित्ने सुनौलो मौका रहेको बताउँछन् । ‘हाम्रा लागि उपाधि जित्ने सुन्दर मौका छ । र, हामी त्यसका लागि तयार छौं,’ जमलले भने ।

    नेपालले १९९९ को साफ गेम्समा बंगलादेशविरुद्ध नेपालमै फाइनल खेलेको थियो । त्यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट असफल रहेको बंगलादेशले १९९९ को अक्टोबर ४ मा नेपाललाई पराजित गरेर साफ गेम्समा पहिलो स्वर्ण पदक जितेको थियो ।

    त्यो समय नेपाली टोलीको सदस्य रहेका बाल गोपाल महर्जन एक खेलाडीको रूपमा पराजित भएको टोलीसँग प्रशिक्षकको रूपमा बदला लिने इच्छासहित दशरथ रंगशालामा उत्रिने छन् ।

  • ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    काठमाडौं । हुन्छ कि हुँदैन…भन्ने द्विविधा र अन्योल चिर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि दशरथ रंगशालामा बिहीबार पहिलो म्याच खेल्दै छ । थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिम आमनेसामने हुँदैछन् ।

    दशरथ रंगशाला र नेपाली फुटबल एक–अर्काका पर्याय झैं बनेका थिए । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएपछि पाँच वर्षसम्म रंगशालाले फुटबलको मुख देख्न पाएन । पुनर्निमाणपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन दशरथ रंगशालामा भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले चाहिँ भूकम्पयता पहिलोपटक रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो ।

    अभ्यासमा रोहित चन्द । तस्वीर: एन्फा ।

    सागमा नेपालको यु–२३ फुटबल टोलीले रंगशालामा खेलेको थियो र स्वर्ण पदक जितेको थियो । त्यसयता कोरोना महामारीका कारण रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फेरि बिरानो भयो । त्यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग रंगशालामा भएको थियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बलले पहिलोपटक लिग जितेको थियो ।

    मच्छिन्द्रले लिग जितेकै दिन साँझ तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रशिक्षणका लागि प्रारम्भिक टोलीसमेत बोलाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण ती सबै खेल एक वर्षपछि सरे । र, फेरि पनि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएन ।

    त्यसपछिको कोरोना महामारी सम्झिँदा एक वर्षअघि यति छिट्टै रंगशालामा फुटबल फर्कने सम्भव देखिएको थिएन । तर, करिब एक वर्षपछि राष्ट्रिय महिला लिगमार्फत् रंगशालामा फुटबल फर्कियो । त्यसले चाँडै नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध विश्वकप तथा एसियन कप छनोट खेलेको हेर्ने आशा पुनःजिवित गरेको थियो ।

    अभ्यासमा विराज महर्जन । तस्वीर: एन्फा ।

    तर, उही कोरोनाको महामारीले फेरि एकपटक ती सबै खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोली र दर्शक निराश भए । तर, करिब ६ वर्षको खडेरी तोड्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गर्‍यो ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको अर्को लहर चलेपछि फेरि यो प्रतियोगिता पनि अन्योलमा परेको थियो । तर, हिजो थ्री नेसन्स लिगको पहिलो खेल सम्पन्न भइसकेपछि बिहीबार हुने नेपाल र किर्गिस्तान यु–२३ बीचको खेललाई लिएर फुटबलप्रेमी र समर्थक दुवै उत्साहित छन् ।

    कप्तान भन्छन्- यो दिनका लागि धेरै पर्खिनुपर्‍यो

    नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रंगशालामा नेपालको प्रतिनिधित्व गरेर खेल्ने दिन फर्किँदा विछट्टै खुशी लागेको बताउँछन् ।

    ‘रंगशालामा हामीले अन्तिम पटक २०१५ मा भारतविरुद्ध खेलेका थियौं, त्यसपछि के–के भयो के–के…. फुटबल हुन्छ भन्यो, फेरि हुँदैन । हुन्छ भन्यो फेरि हुँदैन…’ उनले भने, ‘तर, अब फाइनल्ली टुर्नामेन्ट सुरु भएको छ । यो दिनका लागि हामीले एकदमै धेरै पर्खिनु पर्‍यो ।’

    भोलिको खेल र समग्र प्रतियोगिताका लागि कप्तान आफू र टोली पनि एकदमै उत्साहित रहेको गोलकिपर किरणको भनाइ छ ।

    ‘हामी एकदमै धेरै उत्साहित छौं । हाम्रा लागि यो एकदमै महत्त्वपूर्ण पनि थियो । किनभने, विश्वकप छनोटअन्तर्गत हामीले अझै तीन खेल खेल्न बाँकी छ । अब सबै खेल नेपालमै होस् भन्ने आशा पनि छ ।’

    नेपाली राष्ट्रिय टोलीले गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नजिता निकालेको थियो । त्यो नै नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

    फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

    ‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

    तर, ओलम्पिक टोली अर्थात् यु–२३ सँग पहिलो पटक खेल्न लागेको नेपाल ६ वर्षपछि घरेलु समर्थकासामु जितको खुशी साट्न चाहन्छ ।
    ‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’

    नोभेम्बरमा भएका खेलमा नेपालको नतिजा सन्तोषजनक नहुनुको कारणमा तयारी नपुगेको र सबै खेलाडी उपलब्ध नभएको उनले औंल्याए ।

    ‘त्यो बेला धेरै खेलाडीले विभिन्न कारणले खेलेका थिएनन् । एक हप्ता मात्रै अभ्यास गरेका थियौं । त्यो पनि पनि राम्ररी गर्न पाएका थिएनौँ । त्यसैले नतिजा राम्रो भएन,’ प्रशिक्षक महर्जनले भने ।

    तर, अहिले अवस्था फरक रहेको र सबै कुरा अनुकुल रहेको उनले दावी गरे ।

    बिहीबार साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन् । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।

    नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।

    अभ्यासमा नवयुग श्रेष्ठ । तस्वीर: एन्फा ।

    नवयुग, विकाश, आषिश र विशाल परेनन् टोलीमा

    र, यो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

    प्रशिक्षक महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् ।

    विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

    नेपालको टोली

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    काठमाडौं । बंगलादेशले थ्री नेसन्स कपको पहिलो खेलमा मंगलबार किर्गिस्तान यु-२३ लाई १-० गोलको नतिजामा पराजित गरेसँगै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    दशरथ रंगशालामा भएको खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले अग्रता लिएको थियो ।

    पहिलो हाफमा लिएको १-० को अग्रताको बचाउ गर्दै बंगलादेशले कठिन जित सुनिश्चित गर्‍यो । २०१३ पछि पहिलो पटक दशरथ रंगशालामा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान यु-२३ र बंगलादेश सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तान यु-२३ को सामना गर्नेछ ।

    विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुन: स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको अयाोजना गरेको हो ।

    १५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट बिक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।