Tag: बंगलादेश

  • बंगलादेशसँग दक्षिण अफ्रिकाको हार

    बंगलादेशसँग दक्षिण अफ्रिकाको हार

    काठमाडौं । बंगलादेशले शुक्रबार राति दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय खेलमा ३८ रनको जित निकालेको छ । बंगलादेशले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा २७६ रनमा सीमित भयो ।

    दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ८६ रन जोड्दा डेविड मिल्नरले ७९ रनको योगदान गरे । त्यस्तै, बभुमाले ३१ रन जोडे ।

    बंगलादेशका लागि मेहदी हसन मिराजले चार, तास्किन अहमदले तीन,सोरिफुल इस्लामले दुई तथा महमदुल्लाहले एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१४ रनको योगफल तयार पारेको थियो ।

    बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ७७ रनको योगदान गरे । त्यस्तै लिट्टन दार र यासिर अलीले समान ५० रन जोड्दा कप्तान तमिम इकबालले ४१ रनको योगदान गरे ।

    यससँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

     

  • नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने गृहकार्य

    नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने गृहकार्य

    काठमाडौं । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।

    नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो । यसबाट ५ अर्ब नोक्सान भएको छ । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो ।

    बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए । ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत हामी खरिद गर्न सक्छौँ ।’

    हमिदले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए ।

    जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न हुने भएको छ । ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने ।

    बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सीधै विद्युत खरिद सम्झौता (पिपिए) गराउने गृहकार्य सुरू गर्ने भएको हो ।

    भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ। नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

    बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ । नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ ।

    भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे ।

    परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

    ढाकामा भएको भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलको उपस्थिति थियो ।

    यसैगरी नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।

  • टी-२० विश्व कपमा वेस्ट इन्डिजको पहिलो जित

    टी-२० विश्व कपमा वेस्ट इन्डिजको पहिलो जित

    काठमाडौं । बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा क्यारेबियन साइड वेस्ट इन्डिजले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।

    वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो । बंगलादेशको जितमा टोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

    वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो ।

    वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए । बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान दुई विकेट लिए ।

    जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ । समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ । बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ ।

  • बंगलादेशमा हिन्दूहरूमाथि गरिएको आक्रमणको काठमाडौंमा विरोध (तस्बिरहरू)

    बंगलादेशमा हिन्दूहरूमाथि गरिएको आक्रमणको काठमाडौंमा विरोध (तस्बिरहरू)

    काठमाडौं । बंगलादेशमा मुस्लिम समुदायले अल्पसंख्यक हिन्दूहरुमाथि गरेको आक्रमणलाई लिएर काठमाडौंमा प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्थाको अगुवाइमा काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

    प्रदर्शनका सहभागीले ‘बंगलादेशका हिन्दूहरूलाई न्याय देऊ’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए । करिब दुई दर्जन व्यक्तिहरू प्रदर्शनमा सहभागी भए ।

    बंगलादेशमा पछिल्लो साता अल्पसंख्यक हिन्दूहरुमाथि मुसलमान समुदायले ज्यादति गरिरहेका छन् । हिन्दूका मन्दीर तोडफोड गर्नेदेखि घरमा आगो लगायत कार्यहरु भएका छन् । मुस्लिमको आक्रमणमा अहिलेसम्म ६ जना हिन्दू धर्माबलम्बीका मृत्यु भएको छ ।

  • बंगलादेशमा किन चर्कियो धार्मिक दंगा ? हिन्दुमाथिको ज्यादति रोक्न राष्ट्रसंघको अपिल

    बंगलादेशमा किन चर्कियो धार्मिक दंगा ? हिन्दुमाथिको ज्यादति रोक्न राष्ट्रसंघको अपिल

    ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दु र बहुसंख्यक मुस्लिम समुदायबीच सुरु भएको तनावले उग्ररुप लिन थालेको छ । पछिल्लो एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा मु्स्लिम आन्दोलनकारीले आगो लगाएका छन् भने ६६ वटा घर भत्काएका छन् । मुस्लिम आक्रमणमा हालसम्म ६ जना हिन्दु धर्माबलम्बिको ज्यान गएको छ ।

    गत साता दुर्गापुजाका क्रममा हिन्दुले मुसलमानको निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै मुसलमानहरुले हिंसा सुरु गरेका थिए ।

    इस्लामहरुको धर्मग्रन्थ कुरानलाई एउटा हिन्दु मन्दिरमा रहेको मुर्तिको पैतलामा राखिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएको थियो । त्यसमा एक हिन्दुले अनादरपूर्ण टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दुका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।
    प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेका थिए । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुईवटा किचेन तथा २० वटा झुपडीमा आगजनी गरेका छन् । पछिल्लोपटक राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दुको घरमा आगजनी गरेका छन् ।

    दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको आरोपपछि धार्मिक तनाब बढेको थियो । सयौंको संख्यामा मुस्लिमहरुले दक्षिणपूर्वी नोआखली जिल्लामा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनकै क्रममा दुई हिन्दुहरु मारिएपछि हिंसा चर्किएको हो । उनीहरुको मृत्यु कसरी भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले आक्रमणकारीहरुलाई कडा कारवाही गर्ने बताएको छ ।

    आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ । उनीहरुले हिन्दुका घरबाट पैसा र जिन्सी सामानहरु लुटपाट समेत गरेका छन् । घटनामा प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ ।

    सोमबार हिन्दुहरुको संगठन हिन्दू गु्रप इन्टरनेसनल सेसाइटीको आह्वानमा ढाकामा न्यायको माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा ढाका युनिभर्सिटीका विद्यार्थी तथा शिक्षकहरुसमेत सहभागी थिए ।

    बंगलादेशमा हिन्दुहरु कुल जनसंख्याको १० प्रतिशतजति छन् । प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी सन् २००९ मा सत्तामा आएयता ठूलोमध्येको धार्मिक दंगा हो यो । स्वतन्त्र बंगलादेशमा सत्ता आलोपालो गरिरहेका अन्य दुई राजनीतिक संगठनभन्दा बढी धर्मनिरपेक्षतावादी मानिने अवामी लिगलाई यो दंगाले चुनौति खडा गरेको छ ।

    ज्यादती रोकः राष्ट्रसंघ
    बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भएका श्रृंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । हिन्दुमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ ।

    ‘सामाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दुमाथि भएका हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने, ‘अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निष्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौं ।’
    अमेरिकाले पनि हिन्दुमाथिको आक्रमण रोक्न अपिल गरेको छ । ‘धर्म वा विश्वासको स्वतन्त्रता हरेक व्यक्तिको मानवअअधिकार हो । सबैले आफ्नो धर्म मानिरहँदा सुरक्षित महसुस गर्नुपर्छ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

  • साफअघि बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे बर्खास्त, ब्रुजोन नियुक्त

    साफअघि बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे बर्खास्त, ब्रुजोन नियुक्त

    काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप नजिकै आइसक्दा बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)ले मुख्य प्रशिक्षक जेमी डेलाई बर्खास्त गरेको छ ।

    सन् २०१८ देखि बंगलादेशी टोलीको नेतृत्व गरेका इङ्लिस प्रशिक्षक जेमीलाई बर्खास्त गर्दै बीएफएफले उनको स्थानमा बसुन्धरा किङ्ग्सका ओस्कार ब्रुजोनलाई नियुक्त गरेको छ ।

    बंगलादेशले जेमीको नेतृत्वमा खेलेका २९ मध्ये ९ खेलमा जित हासिल गरेका थियो । बाँकी पाँच खेलमा बराबरी र १५ खेलमा पराजय भोगेको थियो । उनको स्थानमा नियुक्त भएका ब्रुजोनले डोमेस्टिक क्लब बसुन्धरा किङ्ग्सको प्रशिक्षण सम्हालिरहेका छन् ।

    ब्रुजोनले स्पोर्टिङ गोवा, न्यु राडियान्ट र बसुन्धराबाट घरेलु प्रतियोगितामा सफलता हासिल गरिसकेका छन् । स्पेनिस प्रशिक्षक ब्रुजोनसँग स्पेनमै जुनियर लेभलमा बटुलेको अनुभव पनि छ ।

    जेमीको नेतृत्वमा लगातार सात खेलमा जितविहीन रहेको बंगलादेश सेप्टेम्बरमा खेलेका दुई मैत्रीपूर्ण खेलमा पनि पराजित भएको थियो । पहिलो खेलमा प्यालेस्टाइनसँग २-० को नतिजामा पराजित भएको बंगलादेश दोस्रो खेलमा किर्गिस्तानसँग ४–१ को हार बेहोरेको थियो ।

    जेमी बर्खास्त भएसँगै बंगलादेशले ब्रुजोनको नेतृत्वमा साफ च्याम्पियनसिप खेल्ने छ ।

  • साफ च्याम्पियन्ससिपः बंगलादेशको टोलीमा नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सले

    साफ च्याम्पियन्ससिपः बंगलादेशको टोलीमा नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सले

    काठमाडौं । बंगलादेश फुटबल संघ (बीएफएफ)ले नाइजेरियामा जन्मिएका फरवार्ड एलेटा किङ्ग्सलेलाई साफ च्याम्पियनसिपको तयारीका लागि ३४ जनाको प्रारम्भिक टोलीमा समावेश गरेको छ । यद्यपि, एलेटाले बंगलादेशको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने विषयमा फिफाबाट आधिकारिकता पर्खिरहेको छ ।

    बंगलादेशको फुटबल टोलीले सेप्टेम्बर २१ मा राष्ट्रिय फुटबलको सिजन समाप्त भएसँगै साफ च्याम्पियनसिपको तयारी सुरु गर्ने प्रयत्न गरिरहेको छ । बसुन्धरा किङ्ग्सले बंगलादेश प्रिमियर लिगमा बाँकी तीन खेल सेप्टेम्बर १४, १७ र २० मा खेल्ने छ । त्यसपछि राष्ट्रिय टोलीको तयारी सुरु गर्ने बीएफएफको योजना छ ।

    बसुन्धरा किङ्ग्सबाट खेल्ने फरवार्ड एलेटा को हुन् ?

    नाइजेरियाको ओग्बोनामा जन्मिएका एलेटाले त्यहाँकै क्लब अक्वा युनाइटेडबाट खेल्दै सन् २००९ मा व्यावसायिक करियरको सुरुआत गरेका थिए । एलेटाले सन् २०११ देखि लगातार बंगालदेशमा रहेका फुटबल खेलिरहेका छन् । उनले आरमबाघ केएस, टिम बीजेएमसी र मुक्तिजोद्दा सग्सद केसीबाट खेलिसकेका छन् ।

    सन् २०२१ मा उनले बंगलादेशी नागरिकता लिएका थिए । र, बंगलादेशी च्याम्पियन बसुन्धरा किङ्ग्समा आवद्ध भएका थिए । अहिले एलेटा पूर्ण रूपमा बंगलादेशका नागरिक हुन् । तर, उनले फिफाबाट भने स्पष्ट स्वीकृति पाउन बाँकी छ ।

    एलेटाले बंगलादेशबाट खेल्न पाउनेबारे के भन्छ बीएफएफ ?

    फिफाबाट स्पष्ट स्वीकृति नपाए पनि बंगलादेशको फुटबल संघले एलेटालाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । बीएफएफले फिफाले चाँडै उनलाई बंगलादेशबाट खेल्ने अनुमति दिने आशासहित टोलीमा राखेका हो ।

    डेसी स्टारसँग बंगलादेश फुटबल संघका महासचि अबु नयिम सोहागले भने, ‘एलेटाले बंगलादेशको नेतृत्व गर्दै साफ च्याम्पियनसिप खेल्न पाउने विषयमा हामीले फिफासँग पटक–पटक सम्पर्क गरेका छौं । हामीले बुझेअनुसार फिफाले त्यो विषयका लागि एसियन फुटबल महासंघलाई भन्ने छ । र, हामी भर्चुअल वार्ता गरेर उनले बंगलादेशबाट खेल्न पाउने विषयमा छलफल गर्न सक्छौं ।’

    बंगलादेशले साफ च्याम्पियनसिपको पहिलो खेल कहिले खेल्दै छ ?

    बंगलादेशले अक्टोबर १ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै, अक्टोबर ४ मा भारतसँग र ७ मा माल्दिभ्ससँग खेल्ने छ । नेपालसँग भने बंगलादेशको खेल अक्टोबर १३ मा हुने तय भएको छ ।

    साफ च्याम्पियनसिपको फर्म्याट कस्तो छ ?

    प्रतियोगितामा पाँच टोली मात्रै सहभागी हुने भएपछि आगामी साफ च्याम्पियनसिपमा समूह हुने छैनन् । र, प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा सञ्चालन हुनेछ । समूह चरणका खेल सकिएपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

  • आजदेखि बंगलादेशले लगायो नेपालसँगको उडानमा प्रतिबन्ध

    आजदेखि बंगलादेशले लगायो नेपालसँगको उडानमा प्रतिबन्ध

    ढाका । नेपालमा कोभिड-१९ को संक्रमण अवस्था भयावह बनेको बताउँदै बंगलादेशले पनि नेपालसँग हुने उडानलाई रोक लगाएको छ ।

    बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।

    आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।

    ए समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम छ ।

  • बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    ढाका । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए ।

    कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ ।

    साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्यमा केही दिनमै लकडाउन लागु गर्ने तयारी भएको मुख्यमन्त्री उद्धव ठाकरेले जनाएका छन् ।

    उनले संक्रमणको दर नघटे भारतको आर्थिक राजधानीमा कडा लकडाउन लागु गर्ने जनाए । शनिबार महाराष्ट्र राज्यमा मात्र ४७, ८२७ संक्रमित थपिएका छन् । २४ घण्टामा भारतमा ९० हजार संक्रमित थपिएका छन् ।

    उनले बढ्दो संक्रमणलाई महाराष्ट्रको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने समेत बताए ।

  • खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    काठमाडौं । नेपालले ३७ वर्ष लामो खडेरी तोड्दै आज घरेलु मैदानमा फुटबलको उपाधि उचाल्यो । यो क्षण आफैंमा विशेष थियो, नेपाली फुटबल फ्यानहरुका लागि । नेपाली टिमलाई साथ दिन महंगो टिकट काटेर उल्लेख्य सख्यामा दर्शक उपस्थित भएका थिए । समर्थकहरुकै बीचमा थिए प्रधानमन्त्री केपी ओली । उनी त्यहाँ आफ्नो उपस्थित जनाउन मात्र होइन, खेल हेर्नलाई नै आएका थिए ।

    उनी सुरुदेखि अन्त्यसम्म रंगशालामा बसेर खेलाडीलाई हौसला दिए । नेपाली टोलीले पनि निराश बनाएन । यस प्रतियोगिताका दुई खेलमा गोलको खाता खोल्न नसकेको नेपालले फाइनलमा दुई गोल गर्यो । बंगलादेशले उत्तराद्र्धमा एक गोल फर्काए पनि नेपालको जित रोक्न सकेन । नेपालले गोल गर्दा दर्शकदर्घामा ठूलै रौनक छाएको थियो । प्रधानमन्त्रीले उठेर ताली बजाएका थिए । खेलाडीहरुले पनि जमेर खुशी मनाए । जितपछिको माहोल झन् अविस्मरणीय थियो । आजको फाइनलका केही क्षणहरुलाई तस्वीरमा हेर्नुस

             
    
    
    
    
  • बंगलादेशले नेपाललाई एक गोल फर्कायो

    बंगलादेशले नेपाललाई एक गोल फर्कायो

    काठमाडौं । थ्री नेसन्स कप अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेलको उत्तराद्र्धमा बंगलादेशले एक गोल फर्काएको छ ।

    नेपाल जित नजिक ठानिएको बेला गोल गर्दै बंगलादेश खेलमा फर्केको हो ।

  • मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक प्रतिबन्ध

    मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक प्रतिबन्ध

    ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक र म्यासेन्जरलाई प्रतिबन्ध लगाइएको छ ।

    चारजनाको ज्यान जाने गरि शुक्रबार हिंसा मच्चिएपनि सरकारले सामाजिक संजाललाई रोकेको हो । फेसबुकका प्रवक्ताले सम्भावित हिंसाहुन नदिन बंगलादेशमा सेवामा रोक लगाइएको बताएको डेलीस्टारले जनाएको छ ।

    शुक्रबार ढाकास्थित मुकाराम राष्ट्रिय चर्चमा बिहानी प्रार्थनापछि मुस्लिम संगठनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । कट्टरपन्थी इस्लामिक समूह हेफाजत ए इस्लामले शनिबार र आइतबार प्रदर्शनको आयोजना गरेको छ ।

    इस्लामविरोधी भन्दै मोदीविरुद्ध प्रदर्शन भएको जनाइएको छ । बंगलादेशको ५० औं स्वतन्त्रता दिवस मनाउन आयोजित समारोहमा भाग लिन भारतीय प्रधानमन्त्री दुईदिने ढाका भ्रमणमा छन् । शनिबार समकक्षी शेख हसिना वाजेदसँग द्धिपक्षीय वार्ता हुने जनाइएको छ ।

     

  • बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

    बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

    बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।

    आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनएचसिआर० का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए । उनका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

    शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ ।

    म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन् । यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो ।

    बंगलादेशले रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहि¬ङ्ग्या शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् ।

    रोहिङ्ग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए ।

  • राष्ट्रपतिको भ्रमणबारे बंगलादेशसँगै भारत र चीनका मिडियामा चर्चा

    राष्ट्रपतिको भ्रमणबारे बंगलादेशसँगै भारत र चीनका मिडियामा चर्चा

    इटहरी । स्थानीय समय अनुसार सोमबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुग्दा राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नै आइपुगे ।

    बंगलादेशको ‘नम्बर वान’ अंग्रेजी भाषाको दैनिक अखबार दि डेली स्टारका अनुसार बंगलादेशी राष्ट्रपतिले १०:१७ मा भण्डारीलाई ‘रिसिभ’ गरेका थिए । भण्डारीलाई २१ तोपको सलामी र ‘गार्ड अफ अनर’ दिइयो ।

    बंगलादेशका राष्ट्रपित बंगबन्दु शेख मुजिबुर रहमानको शतवार्षिकी तथा बंगलादेशको स्वतन्त्रताको स्वर्ण महोत्सवको दश दिने विशेष समारोहमा सरिक हुन भण्डारी बंगलादेश पुगेको समाचारले त्यहाँ विशेष महत्त्व पायो । मार्च १७ (चैत्र ५)बाट सुरु दश दिने समारोहरूमा सरिक हुने राष्ट्रपति भण्डारी तेश्रो राष्ट्र प्रमुख हुन् ।

    राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा सोमबार बंगलादेश पुग्नु अगाडि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे र माल्दिभ्सका राष्ट्रपति इब्राहिम महोमद सोलिह बंगलादेश पुगेका थिए । भण्डारी पुगेको भोलिपल्ट भुटानी प्रधानमन्त्री लोतो छिरिङ बंगलादेश ओर्लिए । दि डेलि स्टारका अनुसार मार्च २६ (चैत्र १३) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बंगलादेश ओर्लिनेछन् ।

    बंगलादेशी मिडियामा ‘ब्याक टु ब्याक’ अपडेट

    दुइ दिने बंगलादेशको राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीको समाचार कभरेज बंगलादेशमा व्यापक भयो । राष्ट्रपति आउनेदेखि आएपछि भएका लगभग हरेक मुद्धाहरू मुलधारका अखबारमा समाचार बने ।

    उदाहरणका लागी बंगलादेशको सर्वाधिक पढिने अखबार दि डेली स्टारनै हेरौँ । स्टारले भ्रमणको एक दिन अगाडि नै हेडलाइन बनाएको थियो ‘भोलि नेपाली राष्ट्रपति बंगलादेश आउँदै’ ।

    भ्रमण भएको दिनपनि डेली स्टारले समाचार बनायो- ‘नेपाली राष्ट्रपति ढाका आइपुगिन्’ । भण्डारी ढाका ओर्लिएको प्रशंग ल्याउदै समाचारमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको एक अति विशिष्ठ हवाइजहाजबाट नेपाली राष्ट्रपति र उनको भ्रमण दल हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा दश बजे ओर्लिएको छ ।’

    स्टारले नै राष्ट्रपति भण्डारीले बंगलादेशी शहीदहरूलाई माल्यार्पण गरेको समाचारलाई प्राथामिकता दिएको छ । ‘नेपाली राष्ट्रपतिले राष्ट्रिय विभूतिहरुलाइ सम्मान गरिन्’ शीर्षक समाचारमा भण्डारीले नेपाल बंगलादेशलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने सातौँ मुलुक भएको बताएको उल्लेख छ ।

    बंगलादेशको राष्ट्रिय स्मारकमा भण्डारी पुग्दा उनलाई बंगलादेशका मुक्ति युद्ध मामिला मन्त्री एकेइएम मुजामेल हक, स्वास्य तथा पारिवारिक कल्याण मन्त्री जाहिद मालेक लगायतले स्वागत गरेका थिए । ‘उदय पड्डा’ नामक बिरुवासमेत रोपेकी राष्ट्रपति भण्डारीले आगन्तुक पुस्तिकामा लेखिन्- ‘देशको इतिहासमा शहीदहरूको बलिदानीलाई आउने पुस्ताको शक्ति तथा प्रेरणाको श्रोतको रूपमा सम्झिइन्छ ।’

    राष्ट्रपति भण्डारीकै भ्रमणमा गरिएका चार समझदारी पत्रको हस्ताक्षरलाई पनि स्टारले प्राथामिकताका साथ छापेको छ । ‘ढाका र काठमाडौंले चार समझदारी पत्रमा गरे हस्ताक्षर’ शीर्षक समाचारमा भण्डारीको भ्रमणमा भएका व्यापार, पारवहन, पर्यटन, सरसफाइ तथा सांस्कृतिक आदानप्रदानको समझदारी पत्रको हस्ताक्षरको चर्चा गरिएको छ ।

    बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन सचिव मोकामेन हुसेन र नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरेको पर्यटन साझेदारी, नेपालका उद्योग व्यापार तथा निर्यात मन्त्रालयका सचिव दिनेश भट्टराई र बंगलादेशको कृषि मन्त्रालयका वरिष्ठ सचिव महोमद मेसबल इस्लामले गरेको सेनिटरी तथा साइटोसेनिटरीको समझदारी, सचिव भट्टराईले नै वाणिज्य मन्त्रालयका सचिव डाक्टर महोमद जफर उदिनसँग गरेको रोहनपुर-सिंहवाद रेल्वे रूटको पत्र आदानप्रदानको समझदारी भएको समाचारमा उल्लेख छ ।

    यस्तै, सन २०२२ देखी २०२५ सम्म बंगलादेशका संस्कृति मामिला सचिव बाद्रुल आरेफिल र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव यादव प्रसाद कोइरालाले गरेको सांस्कृतिक आदानप्रदानको सम्झौता भएको डेलि स्टारको समाचारमा उल्लेख छ ।

    यस्तै स्टारले बंगलादेशले भारत हुँदै नेपालको बिजुली आयात गर्ने विषयमा समेत प्राथामिकताको साथ समाचार बनाएको छ । राष्ट्रपति भण्डारी नेपाल फर्किने समयमा लेखिएको समाचारमा बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेनलाइ उदृत गर्दै भनिएको छ, ‘नेपाल बंगलादेश र भारत समझदारीको अन्तिम चरणमा छन् ।’

    भण्डारीको समाचार भारतीय र चिनियाँ मिडियामा पनि

    दक्षिण एसियाका दुई साना मुलुकको दुई पक्षीय मामिला हो, राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण । तर, यहि मामिलाको समाचार भारत तथा चिनियाँ मिडियाहरूमा समेत चर्चा भएको छ ।

    भारतका हिन्दुस्तान टाइम्स, दूरदर्शन टेलिभिजनदेखि भारतको पहिलो मल्टिमिडिया समाचार एजेन्सी एसियन न्यूज इन्टरनेसनल (एएनआई)ले भण्डारीको बंगलादेश भ्रमणको समाचार प्रकाशन गरेका छन् ।

    भारतीय मिडियाहरूले राष्ट्रपति भण्डारीको दुई दिने बंगलादेश भ्रमण शीर्षक वरिपरि रहेर राष्ट्रपति कार्यालयले जारी गरेको सूचनालाई आधार बनाएर भ्रमण तालिका र कार्यक्रमहरूको समाचार बनाएका छन् ।

    यस्तै, चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि राष्ट्रपति भण्डारीले बंगलादेशको राजकीय भ्रमणको समाचार बनाएको छ । सन् २०१९ मा बंगलादेशका राष्ट्रपति नेपालको राजकीय भ्रमणमा आएको प्रसंग ल्याउदै सिन्ह्वाले नेपाली राष्ट्रपति भण्डारीको भ्रमणमा विभिन्‍न सम्झौताहरू हुने तथा नेपालको ऊर्जा बंगलादेशले किन्ने कुराको प्रसंग ल्याएको छ ।

  • बंगलादेशको रोहिंग्या मुसलमान शरणार्थी शिविरमा भीषण आगलागी

    बंगलादेशको रोहिंग्या मुसलमान शरणार्थी शिविरमा भीषण आगलागी

    एजेन्सी । बंगलादेशको कक्सबजार स्थित म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्या मुसदमानको सबैभन्दा ठूलो शिविरमा भीषण आगलागी भएको छ ।

    आगलागीमा कम्तिमा १ हजार घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसोदेखि लागेको आगोले शरणार्थी शिविरको ठूलो क्षेत्रमा नोक्सानी पुर्‍याएको हो ।

    अग्नि नियन्त्रक र स्वयम्सेवकको तीव्र प्रयासका बाबजुद आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । शिविरमा धेरैजसो घरहरु बाँस र काठबाट बनेका कारण आगो नियन्त्रणमा कठिनाइ भएको हो ।

    कक्स बजारमा शरणार्थीका लागि राहतको काम गर्दै आएको संस्थाका कार्यकर्ताहरुका अनुसार त्यहाँ लागेको अहिलेसम्मकै ठूलो आगो हो । यसै वर्ष जनवरीमा पनि आगो लागेको थियो ।

    समाचारहरुमा सोमबारको आगोले थुप्रै मानिसको मृत्यु पनि भएको हुनसक्ने अनुमान गरिएका छन् । तर, अहिलेसम्म कुनै मानवीय क्षतिबारे पुष्टि भएको छैन ।

    कक्स बजारको शिविरमा ११ लाख रोहिंग्या शरणार्थी रहन्छन् । तीन वर्षअघि म्यानमार सरकारको मुसलमानमाथिको दमनबाट प्रताडित भएर उनीहरु बंगलादेश आएर बसेका हुन् ।

  • ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

    ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

    ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुगेकी छिन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा उनले भाग लिने कार्यक्रम छ ।

    बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । कोभिड–१९ प्रोटोकलको कारण फूलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

    भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।

    आजै नेपाली राष्ट्रपतिले ढाकाको सावर पुगेर बंगालदेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । भण्डारीले सावरमा वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नेछिन् ।

    अपरान्ह राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने नेसनल परेड स्क्वायरमा उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति बंगबन्धुको शतवार्षिकामा पनि भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । बेलुका आयोजना हुने रात्रीभोजमा भण्डारी सरिक हुने जनाइएको छ ।

    राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य छन् ।

  • राष्ट्रपति आज बंगलादेशको भ्रमणमा जाँदै

    राष्ट्रपति आज बंगलादेशको भ्रमणमा जाँदै

    रासस । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि आज ढाका प्रस्थान गर्दैछिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका लागि राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।

    राष्ट्रपति भण्डारी ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको न्यारो बडी ए–३२० जहाजबाट ढाका प्रस्थान गर्नेछिन् ।

    स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । त्सपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि जानेछिन्।

    आजै उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ । त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरिसकेको छ ।

    बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

    नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

  • राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण-तालिका सार्वजनिक

    राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण-तालिका सार्वजनिक

    काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको दुइदिने बंगलादेश भ्रमणको तालिका सार्वजनिक गरेको छ । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्दैछिन् ।

    भण्डारी चैत १० गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागि हुने जनाइएको छ ।

    राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बंगलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागि हुनेछिन् । उक्त अवसरमा भण्डारीले नेपाल र बंगलादेशको द्धिपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्नेछिन् ।

    बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुने जनाइएको छ । साथै राष्ट्रपतिले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्नेछिन् । राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागि छ जसले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।

    भण्डारीले ढाकास्थित नेपाली दुतावासमा आयोजना हुने रात्रीभोज पनि भाग लिनेछिन् ।

  • ब्लगर हत्यामा संलग्न पाँचलाई बंगलादेशले सुनायो मृत्युदण्ड

    ब्लगर हत्यामा संलग्न पाँचलाई बंगलादेशले सुनायो मृत्युदण्ड

    काठमाडौं । ब्लगर हत्यामा दोषी पाइएका पाँच जनालाई बंगलादेश सरकारले मृत्युदण्डको सजाय सुनाएको छ । अर्को एकलाई जन्मकैदको सजाय सुनाइएको छ ।

    सन् २०१५ मा बंगलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयको हत्या गरेका थिए । राजधानी ढाकामा आयोजित पुस्तक प्रदर्शनी कार्यक्रममा भाग लिने क्रममा उनको हत्या भएको थियो ।

    नास्तिक रहेका रोयले बेला बेलामा धर्म निरपेक्षताको कुरा गर्थे र उनको कुरामा चित्त नबुझाएका इस्लामिक लडाकुले उनको हत्या गरेको अनुमान गरिएको थियो ।

    उक्त आक्रमणमा रोयकी पत्नी गम्भिर घाइते भएकी थिइन् ।