Tag: फ्राइडे रिलिज

  • फ्राइडे रिलिज : लाहुरे कथाको ‘गोर्खे’देखि ड्रयागन खोजीको ‘राया’सम्म

    फ्राइडे रिलिज : लाहुरे कथाको ‘गोर्खे’देखि ड्रयागन खोजीको ‘राया’सम्म

    काठमाडौं । शुक्रबार दुई फिल्म नेपाली हलमा रिलिज भएका छन् । नेपाली भाषाको फिल्म ‘गोर्खे’ र हलिउड फिल्म ‘राया एन्ड द लास्ट ड्रागन’ प्रदर्शनमा आएका हुन् ।

    ‘गोर्खे’ भाइरस लकडाउनपछि रिलिज हुने दोस्रो घरेलु फिल्म हो । यसअघि रिलिज भएको शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समिक्षात्मक कोणमा असफल भयो ।

    किम्मत गौतमको निर्देशन रहेको गोर्खेलाई प्राविधिक हरि लामाले निर्माण गरेका हुन् । लामा लामो समयदेखि फिल्म छायांकनमा सक्रिय छन् । रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, एन्जल श्रेष्ठ, अञ्जली अधिकारी, अस्मी श्रेष्ठ, साजन तामाङको अभिनय छ ।

    भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने उद्देश्य लिएको एक नेपाली युवाको सपनामा फिल्म आधारित छ । एक्सन–लभस्टोरी विधामा यसलाई राखिएको छ ।

    ‘राया एन्ड द लास्ट ड्रागन’ एनिमेसन, एड्भेन्चर र एक्सन हलिउड फिल्म हो । डन हल र कार्लोस लोपेजे एस्ट्राडाले मिलेर निर्देशन गरेको फिल्मले कुमुन्द्रा नामक एक काल्पनिक ग्रहमा ड्रयागनको खोजीका लागि राया नामक पात्रले गर्ने संघर्ष चित्रण गर्छ ।

  • फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म

    फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म

    कोरोना महामारीकै बीच शुक्रबारदेखि नेपाली फिल्म हल खुल्दैछन् । ओभर द टप (ओटीटी) प्लेटफर्ममा पनि फिल्म रिलिज हुनेछन् । शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् ।

    नेपाल प्रेसलाई वितरकले उपलब्ध गराएको विवरणअनुसार हलमा चल्दाचल्दैका फिल्म पुनः रिलिज हुनेछन् । ओटीटीमा शुक्रबारदेखि नयाँ फिल्म लाग्नेछ । नौ महिनापछि हल खुलाउन अहिले धमाधम हलको सरसफाइ र उपकरण मर्मतको काम भैरहेको छ ।

    एप्पल इन्टरटेनमेन्टले डिज्नेको ‘मुलान’ र भिन डिजेलको ‘ब्लडसट’लाई पुनः रिलिज गर्ने निश्चित भएको छ । कम्पनीका रुबेन श्रेष्ठका अनुसार दुबै फिल्मको कन्टेन्ट तयारी अवस्थामा छ । गत चैत ११ गते लकडाउन लगत्तै यी दुईको प्रदर्शन रोकिएको थियो । ‘मुलान’को भने पहिलो रिलिज हो ।

    चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ फिल्मको पनि प्रदर्शन सुचारु हुने भएको छ । ‘नेपालीतर्फ यी दुईवटा फिल्मसहित अन्य हिट फिल्म पनि पुनः प्रदर्शन गर्ने तयारी छ’ चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले भने, ‘सबै हललाई शुक्रबारदेखि खोल्न र यी फिल्मलाई देखाउन सर्कुलर गरेका छौं ।’

    वितरण कम्पनी गोपिकृष्ण मूभिजले शुक्रबारदेखि ज्याकी च्यान स्टारर फिल्म ‘भ्यानगर्ड’लाई नेटटिभी र डीसहोमसहितका नेपाली ओटीटी प्लेटफर्ममा रिलिज गर्दैछ । कम्पनी प्रमुख नीरज पौडेलका अनुसार जनवरी ७ मा सलमान खानको फिल्म ‘कागज’ र १४ मा फिल्म ‘पावर’ ओटीटीमा रिलिज हुनेछन् ।

    ‘तत्काल हलमा फिल्म रिलिज गर्ने तयारी हाम्रो छैन’ पौडेलले भने, ‘अवस्था हेरेर हल रिलिजबारे निर्णय गर्छौ ।’ उनका अनुसार वरुण धवन स्टारर बलिउड फिल्म ‘कुली नम्बर वान’ नेपालमा ओटीटी र हल दुबै प्लेटफर्ममा रिलिज हुनेछैन ।

    चलचित्र संघले शुक्रबारदेखि संचालनमा ल्याउन लागेका हलमा कोभिड मापदण्डको कडाइका साथ लागु गर्ने भएको छ । अध्यक्ष प्रधानका अनुसार सबै हलमा एकजना स्वास्थ्यकर्मीलाई राखिनेछ । ‘संक्रमणको बीचमै फिल्म माहौल निर्माण हुनेछ’ उनले भने ।