Tag: फेसबुक

  • प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालय गठन नै गरिसकेका छैनन् । प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन ।

    यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित हुने गरेको छ । सचिवालय गठन नगरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित काम लगाउने गरेको पाइएको छ ।

    लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्बिर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको छ ।

    प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।

    ‘जुनसुकै प्रयोजनका लागि भए पनि प्रधानमन्त्रीको फेसबुक प्रहरीले चलाउन मिल्दैन । यसमा प्रधानमन्त्री स्वयं, सचिवालय र प्रहरी प्रशासन दोषी देखिन्छ’, प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे एक उच्च सरकारी अधिकारीले भने ।

    बालुवाटार स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो । ‘यो मानवीय त्रुटी हो । उहाँलाई प्रधानमन्त्रीका कार्यक्रमको फोटो हाल्न एक्सेस दिएकोमा भूलवश आफ्नो फोटो पोष्ट भएछ’, बालुवाटार स्रोतले भन्यो ।

    सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । प्रहरीलाई नै प्रधानमन्त्रीको फेसबुक चलाउन दिँदा दुरुपयोगसँगै गोपनीयतामाथि पनि गम्भीर प्रश्न उठ्नसक्छ ।

  • फेसबुकले गर्‍यो नाम परिवर्तन

    फेसबुकले गर्‍यो नाम परिवर्तन

    एजेन्सी । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए ।

    ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन,’ बिहीबार कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

    ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ कि यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छाडिदिउँ,’ उनले भने ।

    फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

    कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ ।

  • फेसबुकले तेस्रो चौमासिकमा ९ बिलियन डलर कमायो

    फेसबुकले तेस्रो चौमासिकमा ९ बिलियन डलर कमायो

    काठमाडौं । विभिन्न साइबर आक्रमणहरूका बाबजुद चर्चित सामाजिक सञ्जाल फेसबुकले यो वर्षको तेस्रो चौमासिकमा ९ बिलियन अमेरिकी डलर कमाएको छ । अमेरिका बेस्ड कम्पनी फेसबुकले सेप्टेम्बरसम्म तेस्रो चौमासिकमा ९ बिलियन अर्थात् ९ अर्ब डलर आम्दानी गरेको जानकारी दिएको छ ।

    एप्पलको आइओएस अपरेटिङ सिस्टममा देखिएको प्राइभेसी अपडेटको समस्याका कारण फेसबुकको विशेष प्रयोगकर्ता लक्षित विज्ञापन प्रभावकारी भएको थिएन । फेसबुकका पूर्व कर्मचारीको अनैतिक कार्यका कारण त्यो समस्या आएको कम्पनीले दाबी गरेको थियो ।

    यद्यपि, गोप्य सूचना चुहावट, प्राइभेसीलगायतका विभिन्न समस्याका बाबजुद पनि फेसबुकले राम्रो आम्दानी गरेको छ । फेसबुकका फ्रान्सेस हाउगेनले सञ्चारमाध्यमलाई उपलब्ध गराएको डकुमेन्टमा कम्पनीले सेप्टेम्बरसम्ममा ९ बिलियन डलर कमाएको उल्लेख छ ।

  • बेपत्ता भएको ५२ वर्षपछि फेसबुकले घर फर्कायो गंगाबहादुरलाई

    बेपत्ता भएको ५२ वर्षपछि फेसबुकले घर फर्कायो गंगाबहादुरलाई

    बेनी । बेपत्ता भएको ५२ वर्षपछि म्याग्दीका एक वृद्धको पारिवारिक पुनर्मिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका-४ थामडाँडाका ७५ वर्षीय जंगबहादुर भनिने गंगाबहादुर गुरुङ सम्पर्कमा आएका हुन् ।

    २६ वर्षको हुँदा सम्पर्कविहीन भएका गुरुङ चार वर्षपछि कैलालीको चुरे गाउँपालिका-३ मस्यगाउँमा पुगेको खबर परिवारले पाएका थिए । त्यसपछि पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन् । हालै स्थानीय युवाले फेसबुकमा गुरुङको तस्वीर राख्दै पुर्ख्यौली थलो बेनी भएको र घर फर्कन चाहेको सन्देश राखेपछि उनी भेटिएका हुन् ।

    नेपाल रेडक्रस सोसाइटी म्याग्दीको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र उनका आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट उनको परिवार सम्पर्कमा आएपछि टेलिफोन संवाद गराइएको हो ।

    कैलालीमा एक व्यक्तिको सहारामा बसिरहेका गुरुङ थामडाँडाका बलवीर गुरुङका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा भाइका परिवारसँग मुनर्मिलन गराइएको हो ।

    रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक भेट गराइएको छ ।

    साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा गंगाबहादुर भेटिएको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए ।

    घरबाट हिँडेपछि तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पैसा नदिएपछि हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए । उनले आफू त्यहाँ पुगेपछि एक जमिनदारको घरमा आश्रय लिएर माछा पालेर जीविका चलाइरहेको बताए ।

    आफन्त लिन पुगेपछि उनलाई गाउँलेले सम्मानसहित बिदा गरेका थिए ।

    कमल खत्री/रासस

  • सही जन्मदिन नराखे इन्स्टाग्राम चलाउन नपाइने!

    सही जन्मदिन नराखे इन्स्टाग्राम चलाउन नपाइने!

    काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रयोगकर्ताले अनिवार्य जन्मदिन राख्नु पर्ने भएको छ । प्रतिष्ठित सोसियल एप इन्स्टाले सोमबारले एक वक्तव्य जारी गर्दै कम्पनीलाई आफ्नो जन्मदिन पठाउनु पर्ने बताएको हो ।

    यदि कसैले यसलाई अनावश्यक मानेर पठाउँदैन भने सेवा लिनबाट पनि वञ्चित हुने कम्पनीले बताएको छ ।

    ‘यदि तपाईँले हामीलाई जन्मदिन पठाउनु भएको छ भने हामी नोटिफिकेसन पठाउँछौं,’ इन्स्टाले भनेको छ, ‘र, इन्स्टा चलाइराख्न चाहनुहुन्छ भने तपाईँले त्यो सेयर गर्नुपर्नेछ ।’

    आफ्नो जन्मदिनबारे झुटो बोल्नेलाई रोक्नका लागि कम्पनीले यो नियम ल्याएको बताएको छ ।

    ‘कतिपयले हामीलाई गलत मितिमा बर्थ डे भनेको पाइएको छ, त्यसलाई रोक्न र समाधान गर्न हामी नयाँ सिस्टम बनाइरहेका छौं,’ इन्स्टाले भनेको छ ।

  • केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

    केपी ओलीले अपडेट गरेनन् ट्वीटर र फेसबुक

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो बायो अझै अपडेट गरेका छैनन् ।

    ४१ महिना नेपाल सरकारको नेतृत्व गरेर सोमबार सर्वोच्च अदालतको परामादेशसँगै प्रधानमन्त्रीबाट हटेका ओलीको फेसबुक पेज र ट्वीटर ह्यान्डल दुवैमा ‘प्राइम मिनिस्टर अफ नेपाल’ यथावत छ ।

    भेरिफाइड ट्वीटर र फेसबुकलाई आधिकारिक मानिन्छ । तर, केपी ओलीले तीन दिनसम्म पनि बायो परिवर्तन नगर्नु आश्चर्यजनक छ ।

    यद्यपि, नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले भने आफ्नो बायो परिवर्तन गरेर प्राइम मिनिस्टर अफ नेपाल राखिसकेका छन् ।

  • फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी

    फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी

    वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् ।

    फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो ।

    पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।

    फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ ।
    -रासस

  • नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने, फिट इन्टरनेशनलसँग सम्झौता

    नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने, फिट इन्टरनेशनलसँग सम्झौता

    काठमाडौं । फिट इन्टरनेशनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ ।

    नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायीले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्ने भएका छन् ।

    अहिलेसम्म यस्ता विज्ञापनको भुक्तानी अनौपचारिक रूपमा गरिदै आएको थियो । अनौपचारिक एक तथ्यांक अनुसार नेपाली व्यावसायीले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेका छन् ।

    फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिने भएको छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब-किताब राख्न सक्नेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउनसँगै सम्बन्धित सबै पक्षका लागि सहज भएको छ ।

    यस कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंहलले नेपालको उद्योग राम्रो हुँदै जादा यसबाट बढी फाइदा लिन सकिने बताए ।

    ‘यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धिको प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा उद्योगलाई फाइदा पुर्याउने गरी साझेदारी गर्न चाहान्छौं’ , उनले भने ।

    फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने र यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंक मार्फत मान्य हुने कम्पनीले जनाएको छ । यसका लागि आईआरडी गाइडलाइन समेत पूर्ण रूपमा पालना गरिने बताइएको छ ।

  • सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख

    सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख

    काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् ।

    विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न थालेका छन् ।

    निरौलाको फेसबुक एकाउन्टबाट उनका ‘छक्का पञ्जा’ सह-निर्माता सुमन गिरी भाञ्जालाई पैसा मागिएको छ । ह्याकरले आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको सन्देश नेपालीमा पठाएको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

    भरतपुरबाट किशार शाह नाम गरेका व्यक्तिले मेसेज गर्दै पैसा मागेको दीपाश्रीले जानकारी दिइन् । दीपाश्री उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी छिन् ।

    यसैगरि, अभिनेता खनालको समेत फेसबुक ह्याक भएको छ । उनको एकाउन्टबाट ह्याकरले मेसेज गर्दै पैसा माग्न थालेको जनाइएको छ । बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छिन् ।

  • फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान, प्रस्तावित कानुनमा संसोधन गर्ने सहमति

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान, प्रस्तावित कानुनमा संसोधन गर्ने सहमति

    सिड्नी- प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ ।

    अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।

    फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।

    अस्ट्रेलिया सरकारले संचारमाध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।

    अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।

    फेसबुकले अस्ट्रेलियाली संचार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।

    अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए। अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।

    साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए ।

    एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् ।

  • फेसबुकको निर्णयले अष्ट्रेलिया डराउँदैन : प्रधानमन्त्री मरिसन

    फेसबुकको निर्णयले अष्ट्रेलिया डराउँदैन : प्रधानमन्त्री मरिसन

    काठमाडौं । आफ्नो देशलाई लक्षित गरि समाचारमा प्रतिबन्ध लगाउने फेसबुकको कदमलाई लिएर अष्ट्रेलिया सरकार नडराउने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् ।

    अष्ट्रेलियालाई अनफ्रेन्ड गर्ने फेसबुकको कार्य निराशजनक रहेको समेत उनले जनाएका छन् ।

    आफ्नो प्लेटफर्ममा प्रवाह हुने समाचार बापत शुल्क तिर्नुपर्ने अष्ट्रेलियाको प्रस्तावित कानुनप्रति असन्तुष्टि जनाउँदै फेसबुकले यस्तो निर्णय लिएको थियो । विहिबार बिहानदेखि त्यहाँ अष्ट्रेलिया र विदेशी संचारमाध्यमको फेसबुक पेज रित्ता देखिएका छन् ।

    फेसबुकले भेरिफाइड पेजमा प्रवाह हुने समाचारलाई मात्र रोक लगाएको छ । भेरिफाइड नभएका पेजमार्फत भने समाचार प्रवाह भैरहेका छन् । भेरिफाइड पेज भएका नेपाली मिडियाको पेजलाई पनि रोक लगाइएको छ ।

    विदेशमा रहेकाले पनि फेसबुकमा अष्ट्रेलियाली समाचारलाई हेर्न पाएका छैनन् । अष्ट्रेलियाका थुप्रै सरकारी र आकस्मिक सेवाको पेजमा पनि रोक लगाइएको छ । तर, फेसबुकले गल्ती भन्दै केही पेजलाई सुचारु गरेको छ ।

    मिडिया उद्यमी रुपर्ट मुर्डोकका संचारमाध्यममा प्रवाह हुने कन्टेन्टलाई पैसा तिर्ने कुरामा गुगल सहमत भएको केही दिनपछि फेसबुकले अष्ट्रेलियामा यस्तो निर्णय लिएको हो ।

  • कोरोनाको भ्याक्सिन सम्बन्धी भ्रामक सूचना  हटाउँदै फेसबुक

    कोरोनाको भ्याक्सिन सम्बन्धी भ्रामक सूचना  हटाउँदै फेसबुक

    एजेन्सी । फेसबुकले आफ्नो प्लेटफर्ममा भएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन सम्बन्धी भ्रामक सूचना तथा पोस्टहरू डिलिट गरेको छ ।
    इज्रायलका न्याय मन्त्रीले बताएअनुसार सरकारले फेसबुकले सरकारको आह्वानमा आफ्नो प्लेटफर्मबाट भ्रामक सूचना हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

    गत शनिबार इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु देशकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन लगाउने नागरिक बनेका थिए । त्यहाँ जारी भएको भोटिङ पोलमा एक तिहाइ नागरिक भ्याक्सिन लगाउने पक्षमा उभिएका थिए ।

    ‘कोरोना भाइरसविरुद्धको भ्याक्सिनको सम्बन्धमा गलत सूचना फैलाउन सम्प्रेषण गरिएका त्यस्ता म्यासेज, फोटो र भिडियो हटाइएको छ,’न्याय मन्त्रीले भने ।

    यसरी जारी गरिएका भ्रामक सूचनामा सरकारले नागरिकको जीवनमाथि खेलवाड गरेको, मानिसलाई भ्याक्सिनको परीक्षणका लागि प्रयोग गरिएको, नागरिकको शरीरमा विष घोलिएको जस्ता भ्रामक र गलत जानकारी समावेश गरिएको न्यायमन्त्रीले बताए ।

    फेसबुकका प्रवक्तार्ले कम्पनीको नीतिभन्दा बाहिर पाइएका हिब्रु भाषाका चारवटा समूहहरू खारेज गरेको’ बताएका छन् । उनका अनुसार ती समूहहरूमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन सम्बन्धी गलत सूचना सम्प्रेषण हुने गरेको पाइएको थियो ।