Tag: फिल्म हल

  • संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारद्वारा फिल्म हलमा नजान आग्रह

    संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारद्वारा फिल्म हलमा नजान आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्रको रुपमा घोषणा गर्दै त्यहाँका फिल्म हल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

    मन्त्रालयले विज्ञप्ती जारी गर्दै ती क्षेत्रमा कोरोनाभाइरसको नयाँ प्रजातिको फैलिएको र संक्रमणको उच्च जोखिम कायम भएकाले ती जिल्लामा संचालन भएका फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा नजान आग्रह गरेको हो ।

    मन्त्रालयले ती क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न पनि आग्रह गरेको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ कोरोनाको अति प्रभावित जिल्ला बनेका छन् ।

    मन्त्रालयले ती जिल्लामा अत्यावश्यक नभई घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ । तर, स्वास्थ्यको मन्त्रालयको यो विज्ञप्तीलाई फिल्म सम्बद्ध निकायले कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्म हलहरु चलिरहेपनि न्यून अकुपेन्सीमा फिल्म प्रदर्शन भैरहेका छन् ।

    फिल्म हलको छाता संस्था चलचित्र संघका गोपाल कायस्थले सरकारको आग्रहबारे चाँडै बस्ने संघको बैठकमा छलफल हुने बताए ।

  • फिल्म हलमा पुनः कडाइ गर्न सरकारको निर्देशन, नयाँ कोरोनाबाट सतर्क हुन आग्रह

    फिल्म हलमा पुनः कडाइ गर्न सरकारको निर्देशन, नयाँ कोरोनाबाट सतर्क हुन आग्रह

    काठमाडौं । कोरोनाको बेलायती प्रजाति फैलिएको भन्दै सरकारले फिल्म हल, सपिङ मल लगायतका भीडभाड हुने ठाउँमा कडाइ गर्न पुनः निर्देशन दिएको छ ।

    स्वास्थ्य मन्त्रालयको बुधबारको बैठकले फिल्म हल लगायतका ठाउँमा जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्न सरोकार निकायलाई निर्देशन दिएको हो ।

    फिल्म हल, नाचघर, सपिङ मल, स्वीमिङ पुल लगायतका थलोमा कोभिड प्रोटोकलमा कडाइ गर्न सरकारले भनेको हो । मन्त्रालयले विज्ञप्ती जारी गर्दै बेलायती भेरिएन्टको संक्रमण फैलन नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ र त्यसको अनुगमन गर्न स्थानीय निकायलाई निर्देशन दिएको हो ।

    उसैपनि, लगभग शून्य अकुपेन्सीमा फिल्म हल प्रदर्शन भैरहेका छन् र दर्शकीय उपस्थिती पनि न्यून छ । सरकारले आगामी जेठ पहिलो साता संक्रमण दर उचाइमा पुग्ने बताइसकेको छ ।

    गत पुस १० गते खुलेका फिल्म हलहरु अहिले न्यून अकुपेन्सीमा चलिरहेका छन् भने कतिपय फिल्मको सुटिङ र रिलिज प्रभावित भएको अवस्था छ ।

     

  • फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खुलाउन दिने निर्णय गरेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै एक मन्त्रीले फिल्म हल खुलाउने निर्णय भएको जानकारी दिए । सरकारले अनुमति नदिएपनि व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएर फिल्म प्रदर्शन गर्दै आएका थिए । ‘अर्को निर्णय नहुँदासम्म अहिलेलाई स्वास्थ्य मापदण्ड पुरा गरेर हल खुलाउने निर्णय भएको छ’ ती मन्त्रीले भने ।

    यसैगरि, बन्द भएका नाटक घर माघ १ गतेदेखि खुल्ने भएका छन् । सिल्पी थिएटरले उक्त दिनमा ‘६ पात्रको एकलाप’ नामक नाटक मंचन गर्दैछ ।

  • तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल र विद्यालय नखोल्न विज्ञले सुझाव दिएका छन् । नयाँ प्रजातिको कोरोनाभाइरस छिमेकी देशमा देखिएको र संक्रमणको जोखिम नघटेकाले तत्काल हल खोल्दा दोस्रो तरंग आउन सक्ने चेतावनी उनीहरुको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले फिल्म हल खोल्न मन्त्रिपरिषद्मा सिफारिस गरेपछि विज्ञले तत्काल हल खोल्न जोखिमपूर्ण हुने चेतावनी दिएका हुन् । राजनीतिक दलको जुलुस, क्लब र बजारमा भएको भीडलाई पनि नियन्त्रण गर्न उनीहरुको सुझाव छ ।

    तर, सीसीएमसी प्रवक्ता महेन्द्रप्रसाद गुरागाइँले चाहिँ फिल्म हल र स्कुल हल खोल्ने निर्णय नभैसकेको बताए । ‘हामीले कुनै क्षेत्र खोल्ने निर्णय गरेका छैनौं तर, खोल्ने वा बन्दै गर्ने भन्नेबारे मन्त्रिपरिषद्मा छलफल गराउने कुरा भएको छ’ उनले भने, ‘संक्रमण संख्या घटेकाले हामीले खोल्नुपर्छ भनेर मन्त्रिपरिषद्मा छलफलका लागि लैजान लागेका हौं ।’

    जनस्वास्थ्यविद्ले चाहिँ सबै क्षेत्र खुलाउने सरकारी तयारीमा प्रश्न गर्दै त्यसो नगर्न सुझाएका छन् । जनस्वास्थ्यविद् डा. केशव देउवाले ठूलो भीडभाड नगर्न भन्ने मान्छेले नै सामाजिक दूरी पालना नगरेको बताए । टेकु अस्पताल प्रमुख डा. सागर राजभण्डारीले पनि संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको बताए ।

    नयाँ प्रजातिको भाइरस पुरानो भन्दा खतरनाक र संक्रमित रहेको भन्दै उनले सरकारी अधिकारीले सचेततापूर्वक नियम लागु गर्नुपर्ने बताए । डा. देउवाले चाहिँ देश कोरोनाभाइरस मुक्त नभैसकेकाले यसलाई हल्कारुपमा नलिन आग्रह गरे । सरकारले आधिकारिकरुपमा निर्णय नभैसकेपनि व्यवसायीले एकपक्षीय रुपमा हल संचालनमा ल्याएका छन् ।

  • फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको छ ।

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

    यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।

    यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड मापदण्ड पालना गरेर हल खुलाउने निर्णयसहितको पत्र सीसीएमसीमा पठाइसकेको छ । फिल्म प्रदर्शक कम्पनी क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले आफूहरुलाई प्रशासनबाट भाइरस संक्रमबाट जोगिने मापदण्ड अपनाएर हल चलाउन अनुमति मिलेको बताए । 

    पुस १० गतेदेखि व्यवसायीले एकपक्षीय रुपमा हल खुलाएका थिए । गत चैत ११ गते सरकारले लागु गरेको लकडाउनपछि बन्द भएका हल अहिले करिब जिरो अकुपेन्सीमा चलिरहेका छन् । ‘पानी र बत्तीको पैसा समेत उठ्ने अवस्था छैन’ अडिगाले भने, ‘घाटै खाएर पनि हल चलाइरहेका छौं । यो हप्ता सबैभन्दा बढी ३५ जना फिल्म हेरे । पाँचजनालाई पनि फिल्म देखाइरहेका छौं ।’

    फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरी चाहिँ मन्त्रिपरिषद्ले आधिकारिक निर्णय नगर्दासम्म ढुक्क साथ फिल्म चलाउने, सुटिङ गर्ने र देखाउने वातावरण नबन्ने बताउँछन् । ‘अहिले भद्रगोल स्थिती छ’ गिरी भन्छन्, ‘यस्तो बेला पैसा कमाउनेभन्दा पनि दर्शकलाई हलमा आकर्षण गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ सरकारले अनुमति नदिएपनि फिल्म सेन्सर चाहिँ भैरहेको छ । शिव श्रेष्ठले माघ १ गते फिल्म रिलिज घोषणा गरेका छन् ।

    क्यूएफएक्सले तीन हल मात्र चलाइरहेको छ । नयाँ फिल्म नभएकाले थप हल खुलाउने निर्णय नभएको अडिगाले बताए । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले शुक्रबार हलिउड फिल्म मुलान प्रदर्शनको लागि गृहकार्य गरिरहेको बताए । ‘नयाँ फिल्म रिलिज नगर्दासम्म दर्शक हलमा आउने सम्भावना नरहेकाले मुलान रिलिज गर्ने तयारी थालेका छौं’ नेपाल प्रेससँग श्रेष्ठले भने ।

    अहिले मल्टिप्लेक्स हलहरुले सरसफाइ, सामाजिक दूरी र मास्कलाई हलमा अनिवार्य गरेका छन् । काठमाडौंका हल शुक्रबारदेखि संचालनमा आएका थिए भने दोस्रो ठूलो फिल्म बजार पोखराका मल्टिप्लेक्स चाहिँ बुधबारदेखि चलेका थिए ।

  • नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली फिल्म हलहरु नौ महिनापछि शुक्रबारदेखि खुलेका छन् । व्यवसायीले एकपक्षीय निर्णय गर्दै सिनेमा घर संचालनमा ल्याएका हुन् ।

    पहिलो दिन काठमाडौंस्थित फिल्म हलहरुले चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः रिलिज गरे । कोभिड–१९ मापदण्ड पालना गर्दै संचालनमा ल्याइएको हलमा सामाजिक दूरी, सरसफाइ र मास्क अनिवार्य देखियो ।

     

    गत चैत ११ गते लागू गरिएको लकडाउनपछि बन्द भएका हल बल्ल खुलेका हुन् । यद्यपि मोफसलमा भने हल शुक्रबार खुलेनन् । सरकारले शुक्रबार बेलुकासम्म फिल्म हललाई मापदण्ड पूरा गर्दै संचालनको अनुमति दिने अपेक्षा गरिएको छ ।

    शुक्रबारै चलचित्र विकास बोर्ड र चलचित्र संघका अध्यक्षहरुसित काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका थिए । छलफलमा फिल्म हल खुलाउन आग्रह गर्नेसहितको पत्र सीसीएमसीलाई लेखेर पठाउने निर्णय भएको छ । उक्त निर्णयलाई मन्त्रिपरिषदले पारित गर्ने अपेक्षा छ ।

    शुक्रबार आमा, सेन्टी भाइरस, इन्टु मिन्टु लन्डनमा, ब्लडसट र इन्भिजिबल म्यान प्रदर्शन भए । पहिलो दिन दर्शकको संख्या न्यून देखिए पनि माहाेल चाहिं गजबको देखिन्थ्यो ।

  • यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ?

    यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ?

    काठमाडौं।  बन्द भएको नौ महिनापछि नेपाली फिल्म हल खुल्ने तयारीमा छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गरेपछि हल बन्द थिए । चलचित्र हल व्यवसायीले आगामी पुस १० गते एकपक्षीय रुपमा हल खुलाउने निर्णय गरिसकेका छन् ।

    व्यवसायीले हल खुलाए भने पनि सरकारले हस्तक्षेप नगर्ने संकेत दिएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले निर्माता संघका पदाधिकारीलाई हस्तक्षेप नगर्ने जनाउ दिएका छन् ।

    पचास प्रतिशत मात्र दर्शक राखेर मुलुकका हलहरू सञ्चालनमा आउने चलचित्र संघले जनाएको छ । आधा प्रतिशत दर्शक राखेर हल चलाउनुको अर्थ केही समय हल व्यवसायीले घाटा व्यहोरेर  पनि प्रदर्शनलाई निरन्तरता दिनुपर्ने हुन्छ । पुस १० गतेदेखि हल खुल्ने भएपछि हल सञ्चालक र वितरकले तयारी सुरु गरेका छन् ।

    क्यूएफएक्सले तत्काल सिभिल र लाबिम मात्र खोल्ने
    मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले तत्काल सिभिल मलस्थित सेन्ट्रल सिनेमा र लाबिम मलस्थित हल सञ्चालनमा ल्याउने तयारी थालेको छ । उपत्यकाबाहिरका अन्य हल सञ्चालनमा ल्याउने वा नल्याउने बारे चाँडै टुंगो लाग्ने क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए ।

    चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार सुरुमै मुलुकका दुईसय हल खुल्ने छैनन् । संक्रमणको स्थिति हेरेर केही हल मात्र खुल्ने भएका छन् । ‘हल सफाइ, उपकरण मर्मत र कर्मचारी व्यवस्थापनको पाटो पनि हेर्नुपर्ने हुन्छ,’ प्रधानले नेपाल प्रेससँग भने, ‘कुन फिल्म रिलिज गर्ने भन्ने बारेमा चाहिँ वितरकसँग बसेर मात्र सल्लाह गर्छौं ।’ गोपीकृष्ण मूभिजले तत्काल ओम नमः शिवाय नामको अडिटोरियम मात्र खुलाउने भएको छ । दर्शकको प्रवाह हेरेर मात्र थप हल हल खुलाउने टुंगो लाग्ने अध्यक्ष प्रधानले बताए ।

    यस्तो हुनेछ कोभिड प्रोटोकल
    सामाजिक दुरी, मास्क र सरसफाइलाई सबै हलले अनिवार्य गर्नुपर्ने भएको छ । एक सिट छाडेर दर्शकीय सिटको लाइन व्यवस्था गरिने भएको छ । एकै परिवारका बाहेक अन्य दर्शकलाई एक सिट छाडेर राखिनेछ । अनलाइन टिकटलाई प्रोत्साहन गरिने भएको छ ।

    हलभित्र उपलब्ध खानेकुरा वितरण र सरसफाइमा विशेष ध्यान दिने तयारी छ । प्रत्येक दर्शकलाई टिकटसँगै मास्क वितरण पनि उपलब्ध गराइने कतिपय मल्टिप्लेक्सले जनाएका छन् । एउटा फिल्मको सो सकिएपछि हललाई अनिवार्य निसंक्रमण तुल्याइने र एउटा सो र अर्कोको ग्यापबीच लामै अन्तर राखिने भएको छ ।

    पोखरास्थित मिडटाउन ग्यालरीका प्रमुख निकेश द्धाले कोभिड–१९ मापदण्ड पालनामा कुनै कसर बाँकी नराख्ने बताए । ‘हामी सरसफाइ र प्रोटोकल पालनामा पुरै प्रतिबद्ध छौं,’ द्धाले भने, ‘सुरुमा माहोल तयार पार्ने कार्य हुनेछ ।’ जसअनुसार मिडटाउन ग्यालरीले यही साता कर्मचारीलाई पोस्ट–कोभिड स्क्रिनिङबारे तालिम पनि दिने भएको छ ।

    कुन-कुन फिल्म रिलिज हुँदैछन् ?
    हल खुल्ने भए पनि सुरुमै नयाँ नेपाली फिल्म रिलिज नहुने अवस्था छ । पुरानै ब्लकबस्टरलाई रिलिज गर्ने कि भन्ने बारेमा संघले सूची तयार पार्दैछ । ‘हामी वितरकसँग बैठक बस्दैछौं र कन्टेन्टको बारेमा निधो हुनेछ,’ चलचित्र संघ अध्यक्ष प्रधानले भने ।

    सम्भवतः हलिउड फिल्म मुलान वा टेनेटमध्ये कुनै एउटा विदेशी फिल्म रिलिज हुनेछ । मुलान रिलिज हुन केही दिन बाँकी छँदा लकडाउन भएपछि रिलिज रोकिएको थियो । कन्टेन्ट अझै सुरक्षित भएकाले मुलान रिलिजको तयारीमा एप्पल इन्टरटेनमेन्ट छ । ‘हामी क्रिस्टोफर नोलनको फिल्म टेनेट रिलिजको छलफलमा पनि छौं,’ क्यूएफएक्स सिनेमाज् निर्देशक नकिम उद्दिनले भने, ‘हामी छलफलकै चरणमा छौं ।’

    सम्भवतः छक्का पञ्जाको कुनै एक सिरिज पनि पुनःरिलिज हुनसक्छ । यसका लागि चलचित्र संघले निर्माता एवं अभिनेता दीपकराज गिरीसँग छलफल चलाएको छ । गिरी स्वयम् पनि दर्शकीय माहोल बनाउने यो प्रस्तावसँग सहमत छन् । बिग बजेटका नेपाली फिल्म तत्काल रिलिज हुने तयारी छैन । माहोल बनेपछि मात्र ठूला र नयाँ फिल्म रिलिज गर्ने अधिकांश निर्माताको मनसाय छ ।

  • फिल्म हल पुस १० गतेदेखि खुल्ने, हल संचालकद्वारा एकपक्षीय निर्णय

    फिल्म हल पुस १० गतेदेखि खुल्ने, हल संचालकद्वारा एकपक्षीय निर्णय

    फिल्म हलहरु आगामी पुस १० गतेदेखि खुल्ने भएका छन् । फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै एकपक्षीय रूपमा हल खोल्ने निर्णय गरेको हो ।

    कोभिड–१९ संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्दै हल खोल्न लागिएको संघका अध्यक्ष मधुसुधन प्रधानले बताए । सरकारले संक्रमण रोकथामका लागि चैत ११ गते लकडाउन घोषणा गरेयता सबै १ सय ९३ फिल्म हल बन्द थिए ।

    ‘सरकारले हाम्रो मागको सुनुवाइ नगरेपछि बाध्य भएर यस्तो निर्णय लिनुपरेको हो’ प्रधानले भने, ‘यदि खोलेपछि सरकारले हस्तक्षेप गर्‍यो भने हामी प्रतिकार गर्न तयार छौं ।’ चलचित्रकर्मी अशोक शर्माले पनि फिल्म हलबाट संक्रमणको जोखिम कम हुने तर्क गरे ।

    हल सञ्‍चालकहरूले सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले ५० प्रतिशत अकुपेन्सी, अनलाइन टिकेटिङ, हलभित्र अनिवार्य मास्क, स्यानिटाइजर एवं डिसइन्फेक्सन गर्नेलगायतका मापदण्ड अनिवार्य पालनाको निर्णय गरेका छन्। 

    ‘सबै हल नखोलेपनि सुरुमा केही मात्र खोलेर माहौल सिर्जना गर्न लागेका छौं’ प्रधानले भने, ‘दर्शकको संख्या बढ्न थाल्यो भने विस्तारै हलको संख्यामा पनि वृद्धि हुनेछ । ढुक्क साथ दर्शकले फिल्म हेर्न सक्नुहुन्छ ।’ गोपिकृष्ण हल व्यवस्थापक प्रदीप दाहालले सुरुमा एउटा अडिटोरियम मात्र खुलाइने बताए ।

    फिल्म कसरी रिलिज हुनेछन् ?
    पुस १० गते हल खोलेपछि कुन फिल्म रिलिज गर्ने भन्ने टुंगो लागिसकेको छैन । यद्यपी, वितरकसँगको सल्लाह बमोजिम फिल्म प्रदर्शन गरिने जानकारी पनि चलचित्र संघले दिएको छ ।

    क्यूएफएक्स प्रमुख नकिम उद्दिनका अनुसार हलिउडका ठूला तीन फिल्म टेनेट, मुलान र वन्डर वुमनको दोस्रो सिरिज प्रदर्शनको प्राथमिकतामा छन् । मुलान लकडाउनकै कारण रोकिएको थियो । ‘नेपाली फिल्मको टुंगो वितरकको सल्लाह बमोजिम हुनेछ’ अध्यक्ष प्रधानले नेपालप्रेससँग भने ।

    तत्कालै बिग बजेटका फिल्म चाहिँ रिलिज हुनेछैनन् । ‘हाम्रो प्राथमिकतामा केही हिट फिल्मलाई पुनः रिलिज गर्न सकिनेछ’ अशोक शर्माले भने, ‘तत्कालको उद्देश्य पैसा कमाउने भन्दा पनि माहौल सिर्जना गर्ने हो ।’ नेपाली फिल्मले सरकारलाई ठूलै रकम कर तिर्ने भएपनि सरकारले मागलाई नजरअन्दाज गरिरहेको उनको आरोप थियो ।

    सरकारसामु संघका ९ बुँदे माग
    चलचित्र संघले सरकारसँग नौ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । जसमा फिल्मलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन हुनुपर्ने र फिल्म हल संचालन नभएको अवधिको विद्युत महसुलको डिमान्ड चार्ज पूर्णरुपमा मिनाहा हुनुपर्ने माग छ ।

    चलचित्र क्षेत्रमा मौद्रिक नीतिको अनिवार्य कार्यान्वयन हुनुपर्ने, फिल्मले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, दुईवर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने माग राखिएको छ ।

    साथै, फिल्म घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने माग छ । बाँकी बक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने समेत माग राखिएको छ ।