Tag: फिल्म सिटी

  • दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

    दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

    दोलखा । सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

    फिल्म सिटीको पछिल्लो अवस्था बुझ्ना सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ ।

    शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए ।

    मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन समेत बनाइसकेको छ ।

    सञ्चार सचिव डा. अर्यालले आयोजना स्थल अवलोकनपछि उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताए ।

    यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।

    फिल्मसिटी आयोजनास्थल अवलोकन गर्दै सञ्चार सचिव डा.वैकुण्ठ अर्यालसहितको टोली ।

    बोर्डको संयोजनमा पुगेको अवलोकन टोलीमा मन्त्रालयका सहसचिवद्धय विनोद प्रकास सिंह, अनिल दत्त, चलचित्र नगरी सहयोग समितिका संयोजक वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सदस्य बालकृष्ण बस्नेत र जीतबहादुर श्रेष्ठ, बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र साँखी, बोर्ड सदस्य प्रकास भट्टराईलगायत थिए ।

    फिल्म सिटीका अभियन्ता श्रेष्ठले राष्ट«को गौरवको परियोजना भएकोले यसलाई कुनै हिसाबले रोक्न नहुने बताए । स्थानीयको सहयोगमा जग्गा उपलब्ध गराउनेदेखि अन्य काममा समेत हातेमालो हुँदै आएकाले सरकारले ढिलो नगरी कामलाई तीव्रता दिन उनले मागसमेत गरे ।

    उक्त परियोजनाको सम्भाव्यता अध्ययनसहितको व्यवस्थापनमा संघीय सरकारले केही रकम उपलब्ध गराएपनि पर्याप्त बजेट नहुँदा चलचित्र क्षेत्रको भविष्य जोडिएको यो काममा ढिलाइ भएको उनको भनाइ छ ।

    प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भइ काम समेत सुरु भइसकेको छ ।

    डिपीआरमा केही थपघट गर्नुपर्ने भए त्यसलाई समेत हेरी बाँकी काम बढाउन वर्तमान सरकारले विशेष चासो दिने सचिव अर्यालले बताए ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत यो परियोजनालाई तीव्र ढंगले अघि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय गर्न मन्त्रालय तयार भएको जानकारी आफूले पाएको अभियन्ता श्रेष्ठले जानकारी दिए ।

    यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।

    ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।

    डाँङ्डुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको प्राविधिकहरुको मूल्यांकन छ ।

    आयोजना निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको बजेटले मात्र नपुग्ने भएकाले विदेशी सहायताका लागि समेत प्रयास भइरहेको जानकारी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले दिए ।

    काठमाडौंबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ ।
    प्रशासनिक भवन तथा प्रवेशद्धार निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि यो परियोजना छानिएको थियो । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन समेत आवश्यक पर्न सक्ने सचिव अर्यालले बताए ।

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले २ अर्ब ७५ करोड लागत अनुमान पर्ने जनाएको छ ।

    इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ ।

    फिल्म सिटी आसपासमा एयरपोर्ट, होटल, रेलसहित बनाउनुपर्ने प्रस्ताव छ ।

    यो आयोजनालाई निर्वतमान सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले २०७४ फागुन ३ गते शिलान्यास गरेका थिए ।

     

  • फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    दोलखा फिल्म सिटीको स्वामित्व बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संचार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पार्वत गुरुङले केन्द्र, प्रदेश र चलचित्र विकास बोर्डको स्वामित्व हुने गरि निर्माण अघि बढाउने जानकारी दिएका हुन् ।

    विहिबार मन्त्रालयमा मन्त्री, प्रदेश सरकारका सांसद, रजिस्टार र फिल्मकर्मीबीच फिल्म सिटीबारे छलफल चलेको थियो । दोलखा भीमेश्वर नगरपालिका–९ मा रहेको दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको सिटीको काम अघि बढाउन संघिय सरकारले कानुनहरु निर्माण गरिरहेको बताए ।

    बागमती प्रदेश सरकारले अहिले साढे तीन करोड रुपैया विनियोजन गर्दै सिटीको प्रवेशद्धार र सूचना केन्द्र बनाइरहेको छ । छलफलमा बरिष्ठ फिल्मकर्मी मदनदास श्रेष्ठले संघिय सरकारले बजेट विनियोजन नगर्दा सिटीमा पूर्वाधार बनाउने काममा ढिलाइ भएको बताए ।

    ‘सिटी बनाउने दातृ निकायले चासो देखाएका छन् तर सरकारले बजेट विनियोजनमा रुचि देखाएन’ उनले भने, ‘यसले गर्दा काममा ढिलाइ भएको छ ।’ प्रदेश सरकारले उक्त साढे तीन करोड रुपैयाँ भीमेश्वर नगरपालिकालाई प्रदान गर्ने भएको छ ।

    अहिले उक्त फिल्म सिटीसम्म पुग्ने सडक कालोपत्रे भएको छ भने बिजुली प्रसारण पनि भएको छ । प्राकृतिक सौन्दर्यले समेत महत्वपूर्ण लाकुरीडाँडामा अहिले इन्डोर र आउटडोर स्टुडियो बनाउने काम भैरहेको छ । काठमाडौंदेखि ८० किमी टाढा रहेको सिटीलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।