Tag: फिल्म छायांकन

  • नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

    काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ ।

    जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समावेश छन् । म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन् ।

    सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ । नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ ।

    ‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ । चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन् । जसमध्ये हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडी ठूला फिल्म हुन् ।

    तस्विर : हलिउड फिल्म एभरेस्ट छायांकन सगरमाथा आधार शिविरमा । तस्विर –हलिउड रिपोर्टर

  • ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३० भन्दा बढी फिल्म तत्काल छायांकनमा जाने तयारीमा छन् । सरकारले फिल्म सुटिङ फुकुवा गरेपछि माघ–फागुनदेखि फ्लोरमा जाने फिल्मको लाइन छ । अन्तराष्ट्रिय संयुक्त लगानीका फिल्म चाहिँ नेपाली नयाँवर्षदेखि जाने तयारीमा छन् ।

    सरकारले लकडाउन घोषणा गरे लगत्तै सात फिल्मको सुटिङ रोकियो भने १५ फिल्म छायांकनमै जान पाएनन् । झन्डै दर्जन फिल्म फ्लोरमा जाने तयारीमा छन् । सरकारले छायांकन अनुमति दिएपछि भने निर्मातालाई हाइसञ्चो भएको छ ।

    गणपति, भाँडाकुटी, चिलगाढी, प्रकाश, हुतुतु, चिसो वर्ष, दिपेश सापकोटा र प्रवेश पौडेलका फिल्म छायांकनमा जाने तयारीमा छन् । साथै, छक्का पञ्जाको नयाँ सिरिज, गोर्खा वारियर्स २, रानी महल, मनपरेसी, अल्लारे २, प्रेमपूजा, नाइँ नभन्नू ल ६, छड्के २, बेन्जो, पर्खिबसेँ २, सुदूर, सँगसँगै, पारस, चिसो मान्छे पनि सुटिङमा जाने छन् ।

    लकडाउनले गर्दा सुटिङ रोकिएका परेदशी २, दुई नम्बरी, ए मेरो हजुर ४, गुञ्जन, देशान, तीन जन्तु, होल टाइमर र विच्छेद पुनः फ्लोरमा जाने तयारीमा छन् । चिसो सकिएलगत्तै छायांकन सुचारु गरिने सम्बन्धित निर्माताहरुले जनाएका छन् ।

    मीनबहादुर भामले निर्देशन गर्ने अन्तराष्ट्रिय संयुक्त लगानीको फिल्म ‘चिसो वर्ष’ चाहिँ बैशाखदेखि छायांकन हुने तयारीमा छ । कास्टिङको अन्तिम चरणमा रहेको फिल्मका प्राविधिक विदेशबाट आउनुपर्ने भएपछि छायांकनमा ढिलाइ हुने भएको हो । दीपक रौनियारको फिल्म ‘राजा’ पनि छायांकनमा जाने तयारीमा छ । एरिक भ्याली आउने वर्ष क्याराभान २’ छायांकन लाने तयारी गर्दैछन् ।

  • फिल्म छायांकनले गति लिन थाल्यो, हिरोइन खोज्दै ‘भाँडाकुटी’

    फिल्म छायांकनले गति लिन थाल्यो, हिरोइन खोज्दै ‘भाँडाकुटी’

    सरकारी फुकुवासँगै फिल्म छायांकनले गति लिन थालेको छ । निर्माताहरु धमाधम कास्टिङ कलमा व्यस्त हुन थालेका छन् । फागुन १ देखि फिल्मांकन सुरु हुने सोसल–रोमकम ड्रामा ‘भाँडाकुटी’ले दुई लिड हिरोइनको खोजी थालेको छ ।

    लिडमा बेनिशा हमाल कन्फर्म भए पनि अन्य दुई सहायक एक्ट्रेसको खोजी भैरहेको निर्देशक किरण विकले बताए । फिल्ममा तीन हिरो र तीन हिरोइनलाई लिनुपर्ने हुन्छ । निर्माताहरु चलेकै अनुहार र निर्देशक नयाँलाई स्थान दिनुपर्छ भन्ने योजनामा छन् ।

    फिल्ममा यसअघि नै बेनिशा र मुकुन भुषाल अनुबन्धित भैसकेका छन् । सहायक हिरोहरुमा महावीर विश्वकर्मा र रिजेन थापा तय छन् । फिल्मका विद्यार्थी किरण विक यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । बुटवलको सेटिङमा छायांकन हुने फिल्मका थप दुई नायिकाको खोजीका लागि निर्देशक विकसहितको टोली त्यसतर्फ जाँदैछ ।

    सकेसम्म आञ्चलिक अनुहारलाई नै लिने तयारीमा निर्देशक छन् । प्रेममा जातीयताको द्वन्द्वलाई उठान गर्ने फिल्मलाई गोपाल आचार्यले सह–निर्देशन गर्दैछन् । फिल्मलाई आउँदो नेपाली नयाँ वर्षमा रिलिज गर्ने तयारी छ ।

    सरकारले अनुमति प्रदर्शन गरेसँगै चिसो यामपछि दर्जनौं फिल्म छायांकनमा जाँदैछन् । केही फिल्मको सुटिङ लकडाउनको कारणले अलपत्र परेको थियो । माघ र फागुनमा फ्लोरमा जाने फिल्मको सूची लामो हुने अनुमान गरिएको छ ।

  • फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय, हल खुलाउनेबारे मौन

    फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय, हल खुलाउनेबारे मौन

    झन्डै नौ महिनादेखि बन्द फिल्म गतिविधि शर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने निर्णय चाहिं भएको छैन ।

    मन्त्री परिषद्को निर्णयबारे संचारमन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले फिल्म गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद्मा लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ ।

    फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लकडाउन लगत्तै फिल्मको छायांकन रोकिएको थियो ।

    सरकारले अनुमति नदिए पनि केही फिल्म छायांकन सुचारु भएको थियो भने, म्युजिक भिडियो छायांकन निरन्तर थियो । मोफसलमा जातीय फिल्म छायांकन पनि धमाधम भैरहेका थिए ।