Tag: प्रेस चौतारी

  • प्रेस चौतारीले चयन गर्‍यो प्रदेश कमिटी, कुन प्रदेशमा को अध्यक्ष ?

    प्रेस चौतारीले चयन गर्‍यो प्रदेश कमिटी, कुन प्रदेशमा को अध्यक्ष ?

    काठमाडौं । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

    प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् ।

    वागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र
    सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

    उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र
    एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

  • प्रेस चौतारी एशोसियट प्रदेश अध्यक्षमा थापा

    प्रेस चौतारी एशोसियट प्रदेश अध्यक्षमा थापा

    काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको एशोसियट प्रदेश अध्यक्षमा श्रीहरी थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा श्यामसुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा बिक्रम सुनार र मनोज न्यौपानेसँगै कोषाध्यक्षमा पवित्रादेवी ढकाल (पूजा) चयन भएका छन् ।

    प्रेस चौतारीले शनिबार नै वाग्मती, मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ ।

    प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।

  • प्रेस चौतारीमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षसहित पदाधिकारीमा कसको सम्भावना कति ?

    प्रेस चौतारीमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षसहित पदाधिकारीमा कसको सम्भावना कति ?

    काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ । फागुन २७ गतेदेखि पोखरामा हुने अधिवेशनबाट नेतृत्वमा आउनका लागि नेताहरुले लबिङ तीव्र बनाएका छन् ।

    अध्यक्षसहित कुल १७ पदाधिकारीका लागि पत्रकारहरुले आफूनिकट नेतासँग भनसुन थालेका छन् । पार्टीले जनवर्गीय संगठनको पदाधिकारी १७ सदस्यीय बनाउन निर्देशन दिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य जस्तै छ । तर कुन पदमा कतिजना हुने भन्ने टुंगो लागेको छैन ।

    अहिलेसम्मको अभ्यासअनुसार एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र १० सचिव हुने सम्भावना प्रबल छ । नेताहरुले यसैअनुसार तयारी थालेका छन् ।

    १० सचिवमा सात प्रदेशबाट एक–एक जना, उपत्यका, एशोसियट र प्रतिष्ठानबाट एक–एकजना चुनिने छन् । यसमा अझै टुंगो भने लागिसकेको छैन । सात प्रदेशबाट एक–एक सचिव र तीन खुला सचिव चुनिने सम्भावना पनि छ । त्यस्तै, सचिवको संख्या घटाएर उपाध्यक्ष बढाउनेबारे पनि छलफल भइरहेको बताइएको छ । यी सबैको टुंगो महाधिवेशनको बन्दसत्र हलले नै लगाउनेछ ।

    उपाध्यक्ष वा सचिवको संख्या यताउता भए पनि व्यवस्थापन हुने अहिले चर्चामा नाम आएकाहरुको नै हो ।

    अहिलेसम्म अध्यक्षका लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् । जसमा अहिलेका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट र गणेश पाण्डेले खुलेर उम्मेदवारी घोषणा गरेका छन् ।

    नेपालले यसअघि वरिष्ठ उपाध्यक्ष भइसकेको र अघिल्लोपटक पनि त्याग गरेका कारण यसपटक आफू अध्यक्ष चुनिनेमा विश्वस्थ रहेको बताएका छन् ।नेपाल प्रेस चौतारीको केन्द्रीय सदस्य, सचिव, महासचिवहुँदै वरिष्ठ उपाध्यक्ष भएका हुन् । उनी सिन्धुपाल्चोकदेखि संघर्ष गर्दै वरिष्ठ उपाध्यक्षसम्म भएका हुन् ।

    उपाध्यक्ष विष्टले आफू निरन्तर संगठनको काममा लागि परेको भन्दै अध्यक्षका लागि लबिङ गरिरहेकी छन् । उनले इतिहासमा नै पहिलोचोटि संगठनले महिला नेतृत्व पाउने अवसर भएकाले आफूलाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् ।

    त्यस्तै उपाध्यक्ष पाण्डेले आफू निरन्तर संगठनको काममा सक्रिय भएका कारण आफ्नो दाबी स्वभाविक भनेका छन् । पाण्डे अहिलेको महाधिवेशन व्यवस्थापन समितिका संयोजक हुन् ।

    अहिलेका अध्यक्ष गणेश बस्नेतले सचिवालय बैठकमै आफू फेरि नदोहोरिने घोषणा गरिसकेका छन् ।

    तीनजनाबीच चर्को दाबी भएमा वरिष्ठबाट प्रमोद दाहाल वा श्रीधर आचार्यलाई अध्यक्ष बनाउने गरी सहमतिको प्रयास भएको पनि बुझिएको छ । तर त्यसको सम्भावना न्यून छ ।

    नेपाल, पाण्डे र विष्टले अहिलेसम्म आफू नै सर्वसम्मत अध्यक्ष चुनिने र नभए चुनाव लड्न पनि तयार रहेको बताइरहेका छन् । चुनाव भएमा अहिलेका अध्यक्ष बस्नेतको समर्थन पाउनेले जित्ने सम्भावना बढी छ । बस्नेतले अहिलेसम्म खुलेरै कसैको समर्थन गरेका छैनन् ।

    त्यस्तै दुई उपाध्यक्षका लागि देविका घर्ती मगर, निमा काफ्ले, लोग्शरी कुँवर, भरत केसी र लालबाबु सेखको चर्चा धेरै छ । एक कोषाध्यक्षका लागि हरिबल्लभ नेपाल, संगम महत, विष्णु तारुके र नवराज कुँवरले चाह राखेको नेताहरुले बताएका छन् ।

    त्यस्तै महत्वपूर्ण मानिने एक महासचिवका लागि चारजनाले आकांक्षा राखेका छन् । जसमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सञ्चार क्षेत्र सम्हालेका चेतन अधिकारी, अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य र केन्द्रीय सदस्य प्रकाश सिलवालले चाहना व्यक्त गरेका छन् ।

    अधिकारी नै महासचिव हुने अवस्थामा सिलवाल र आचार्य बाधक नबन्ने बताइएको छ । त्यो अवस्थामा उनीहरु उपमहासचिव हुन सक्नेछन् । अन्नतः सिलवालले सचिवमा चित्त बुझाउनुपर्ने सम्भावना धेरै छ । महासचिवका लागि सशक्त दाबेदार लामाले सहमतिको प्रयास हुँदा उपाध्यक्ष वा उपमहासचिव नै दाहोर्याउने सम्भावना पनि छ । त्यस्तै रामकृष्ण ज्ञवाली पनि उपमहासचिवका लागि धेरै सम्भावना बोकेका पत्रकार नेता हुन् । चुनाव नै हुने स्थितिमा भने उनीहरुले मैदानमा उत्रने बताइरहेका छन् ।

    सचिवमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । यद्यपि, बढी चर्चामा प्रदेश १ बाट विक्रम लुँइटेल, सन्तोष काफ्ले र देवेन्द्र कार्की, मधेस प्रदेशबाट फणि महत, वाग्मतीबाट दिनेश थापा, रामेश्वर कार्की, हेमराज सिलवाल र माधव तिवारी, गण्डकीबाट शुष्मा पौडेल र विष्णु शर्मा, लुम्बिनीबाट प्रदीप आचार्य, सुरेश सुमन डाँगी र टीका बस्नेतको नाम छ । त्यस्तै सुदूरपश्चिमबाट गोबिन्द रोस्यारा, दिलबहादुर छत्याल र लक्ष्मण तिवारीको नाम चर्चामा छ ।

    त्यस्तै खुल्ला सचिवमा विमल नेपाल, मोहन बास्तोला, शरद सापकोटा र सन्तोष खड्कालगायतको दाबी छ । सँगै भूगोलबाट सचिवमा नपरे खुल्लाबाट आउन चाहनेहरु पनि छन् । उपत्यका, एशोसियट र प्रतिष्ठानबाट सचिव चुनिने अवस्थामा पनि यिनै पात्रहरु व्यवस्थापन हुने हुन् ।

    उल्लेखित नामहरु प्रारम्भिकरुपमा आएका हुन् । यसबाहेक पनि विभिन्न पदका आकांक्षीहरु थुप्रै हुन सक्छन् । र, पदाधिकारीमा एउटा पद नपाए अर्कोमा व्यवस्थापन हुनसक्ने सम्भावना छ ।

    एमालेले भूगोलदेखि जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरिरहेकाले प्रेस चौतारीको नेतृत्व पनि सर्वसम्मत चुन्ने प्रयास छ । यद्यपि, सर्वसम्मत नभए ‘टीका लगाएर घोषणा’ भने नगर्ने मुडमा पार्टी प्रचार विभाग रहेको बताइएको छ ।

  • एमाले महाधिवेशन : सुदूरपश्चिमबाट १६४ प्रतिनिधि छनोट

    एमाले महाधिवेशन : सुदूरपश्चिमबाट १६४ प्रतिनिधि छनोट

    कैलाली । यही मंसिर १० देखि चितवनमा हुन गइरहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना प्रतिनिधि छनोट गरिएको छ ।

    प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए ।

    १६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो । उनले भने, ‘२ क्षेत्रमा मात्रै निर्वाचन भयो बाँकीमा सहमतिको आधारमा प्रतिनिधि छ्नोट गरिएको हो ।’

    कैलालीको चार र कंचनपुरको १ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको उनले बताए ।

    राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ । यस्तै क्रमशः दार्चुलामा १२ बझाङ १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ ।

  • १० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा

    १० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा

    सुर्खेत । नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालका इन्चार्ज एवम् पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमाले एकताको आधार भनेर कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं कार्यान्वयनमा लिइसकेका छौं । कार्यदलमा रहेका केही सदस्यहरुले अहिले पनि दश बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिइरहनुभएको छ । त्यो सब बेकारको कुरा हो ।’

    थापाले ती नेताहरूको जुन-जुन पद थियो त्यसैमा भएकोले अब स्थायी कमिटी बैठकमा आउनुपर्ने बताए । देउवाले ल्याएको अध्यादेश र माधव नेपालको पार्टी दर्ता फिर्ताको लागि भनिएको दबाब अनावश्यक माग भएको उनको टिप्पणी छ ।

    ‘पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, थापाले भने ।

    नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन सबैलाई आव्हान गरे । ‘अहिले हामीले बाँकी रहेका साथीहरूलाई आउन आव्हान गरिरहेका छौं । उहाँहरू नआए पार्टी चुप लागेर बस्ने अवस्था छैन । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा हामी सहभागी हुन्छौं ।’

    कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टलगायत सहभागी थिए ।

  • पूर्वमन्त्री पुनले पत्रकार डाँगीको चरित्रहत्या गरेको प्रेस चौतारीको आरोप, महासंघको भूमिकाप्रति आपत्ति

    पूर्वमन्त्री पुनले पत्रकार डाँगीको चरित्रहत्या गरेको प्रेस चौतारीको आरोप, महासंघको भूमिकाप्रति आपत्ति

    काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक सभापति एवं कान्तिपुरका पत्रकार काशिराम डाँगीलाई नामै किटेर पूर्वमन्त्री वर्षमान पुनले सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ । राजनीतिक वक्तव्यबाजी गर्ने पत्रकार महासंघले डाँगीलाई धम्कीपूर्ण भाषामा चरित्रहत्या गर्दा पनि मौन समर्थन गरेको भन्दै चौतारीले महासंघ नेतृत्वको नियतमा प्रश्न उठाएको छ ।

    महासंघका कार्यवाहक महासचिव हिरामान लामाले शनिवार विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री तथा माओवादी नेता पुनको व्यवहारप्रति महासंघ मौन बसेकोमा प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ–रोल्पामा अक्सिजन सिलिण्डर बिक्रिबितरण गरेको आरोप लागेका पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण आक्रोश व्यक्त गर्नु अत्यन्तै निन्दनीय र खेदजनक कार्य हो ।

    रोल्पामा बसेर मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध हर्कत कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब दिँदै व्यक्तिगत चरित्र हत्या गर्ने पूर्वमन्त्री पुनमाथि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न चौतारीले माग गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ–एक जना श्रमजीवी पत्रकारमाथि सरकारी उच्च ओहोदामा पुगिसकेका व्यक्तिले योजनाबद्ध रुपमा लगाएको गम्भीर आरोपप्रति श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिम्मेवार बन्नु पर्दैन ? यो राजनीतिक र व्यक्तिगत विषय हो भन्दै उम्किन मिल्छ ? निष्पक्ष, निर्भिक र स्वतन्त्र पत्रकारितामाथि नै आँच पुर्‍याउने गरी लगाइएका लाञ्छना सैह्य हुन सक्दैन ।

    चौतारीले पत्रकार डाँगीको चरित्र हत्या गर्ने पक्षमाथि कारबाहीका लागि दवाव सिर्जना गर्न आम सञ्चारकर्मी, नागरिक समाज, बुद्धिजीवी, मानव अधिकारकर्मीलगायत राज्यका सबै तह र तप्काका अधिकारीहरुसँग अनुरोध समेत गरेको छ ।

  • ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए।

    ‘केही त मिसन पत्रकारितावाला छन्,’ ओलीले भने, ‘उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ।’

    ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास व्यक्त गरे । उनले सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

  • प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

    प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

    काठमाडौं । प्रेस चौतारी नेपालको संस्थापन पक्षले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।

    चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रूपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।

    बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको हो । उनीहरू माधवकुमार नेपालनिकट मानिन्छन् ।

    बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरूपमा उपस्थित हुन निर्देशन गरेको छ ।

    यस्तै जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिइएको छ ।

    रासस