Tag: प्रेस काउन्सिल

  • प्रेस काउन्सिलले जेष्ठ नागरिकमैत्री निर्देशिका बनाउँदै, छिटै जारी हुने

    प्रेस काउन्सिलले जेष्ठ नागरिकमैत्री निर्देशिका बनाउँदै, छिटै जारी हुने

    काठमाडौं । प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे मिडियामा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।

    काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ ।

    काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।

    कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ । काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ को आधारमा अपाङ्गतामैत्री, बालमैत्री सञ्चार निर्देशिका र महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यन्वयनमा ल्याएको छ ।

    आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए–नभएको नियमित अनुगमन हुँदै आएको र उल्लङ्घन गर्ने मिडियालाई सचेत गराइएको काउन्सिल अध्यक्ष बस्नेतले जानकारी दिए ।

    यसैबीच प्रेस काउन्सिल नेपालले लोकल्याणकारी विज्ञापन प्रकाशन–प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सुझाव समेतका आधारमा त्यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धाराशुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘नेपाली मिडियाको भाषा मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको अग्रसरताले हामीलाई खुसी तुल्याएको छ । यसले ज्येष्ठ नागरिकप्रति नै सम्मान भएको छ’ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले भने ।

     

  • प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पाउने पत्रकारको नाम सार्वजनिक (सूचीसहित)

    प्रेस काउन्सिल पत्रकारिता पुरस्कार पाउने पत्रकारको नाम सार्वजनिक (सूचीसहित)

    काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कार र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो ।

    पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ ।

    प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा विस २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारलाई दिन थालिएको काउन्सिलका प्रवक्ता समेत रहेका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • लुम्बिनीको सञ्चार विधेयकप्रति प्रेस काउन्सिलको असहमति

    लुम्बिनीको सञ्चार विधेयकप्रति प्रेस काउन्सिलको असहमति

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले हालै प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालले असहमति जनाएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रस विज्ञप्ती जारी गर्दै उक्त विधेयकप्रति असहमति जनाएका हुन् ।

    सञ्चारमाध्यम प्रकाशन/प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई रजिष्ट्रारले कैद र जरिवाना गर्न सक्नेजस्ता प्रावधानसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा उक्त विधेयक दर्ता भएको सार्वजनिक भएको छ’ विज्ञप्तीमा भनिएको छ’, उक्त विधेयकमा प्रस्तावित प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको असहमति छ ।’

    ‘संविधानका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी प्रावधान र प्रेस काउन्सिल ऐन, २०४८ को जगमा काउन्सिल आम सञ्चार क्षेत्रको संबद्र्धन र नियमनमा क्रियाशील छ’ नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरेको भन्दै विज्ञप्तीमार्फत् अध्यक्ष बस्नेतले भनेका छन्, ‘ प्रेस अनुगमन, आचारसंहिता कार्यान्वयनजस्ता विषयमा परामर्श दिन प्रेस काउन्सिल सदैव तयार छ । काउन्सिलले गरिरहेका यस्ता काममा विरोधाभास हुने गरी कुनै पनि कार्य नगर्न काउन्सिल सरोकारवाला पक्षसँग आग्रह गर्दछ ।’

  • प्रेस काउन्सिलमा अध्यक्ष नियुक्तिप्रति विपक्षी गठबन्धनका पत्रकार संगठनको आपत्ति

    प्रेस काउन्सिलमा अध्यक्ष नियुक्तिप्रति विपक्षी गठबन्धनका पत्रकार संगठनको आपत्ति

    काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलसम्वद्ध पत्रकारको संगठनले प्रेस काउन्सिलमा सरकारले हालै अध्यक्ष नियुक्त गरेकोप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति निकालेर कामचलाउ सरकारले दीर्घकालीन महत्व राख्ने खालका नियुक्ति गर्न नपाउने बताएका छन् ।

    ‘विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवम् निकायमा आफ्ना कार्यकतालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका कियाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचारसंहिताको अनुगमनसमेत गर्ने अर्धन्यायिक निकायको रूपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजनाअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ।’

    काउन्सिलका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमामात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्णरुपमा उल्लंघन जिकिर गरिएको छ ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बालकृष्ण बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । उनले हिजोबाट कार्यभार सम्हालिसकेका छन् ।

  • प्रधानमन्त्री र ‘रअ’ प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?

    प्रधानमन्त्री र ‘रअ’ प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ वैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो ।

    शुरुमा ‘उज्यालो नेटवर्क डटकम’ नामक अनलाइनमा ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति’ शीर्षकमा समाचार प्रकाशित भयो । र, त्यही समाचारलाई मुलधार बाहेकका अन्य केही न्यूज पोर्टलले पनि साभार गरे ।

    यो विषयमा प्रहरीले समाचार प्रसारण अनलाइन मिडियामा छापा मार्‍यो भने प्रेस काउन्सिलले समाचार प्रकाशन भएको भोलिपल्ट २४ घण्टे स्पष्टीकरण सोध्यो।

    सहमति पत्र साँचो भएको प्रमाणित गर्न नसकेपछि शुरुमै समाचार प्रकाशन गर्ने उज्याले नेटवर्कले सो समाचारलाई हटाएर ‘असावधानीका कारण समाचार प्रकाशित हुन गएको’ भन्दै ८ बैशाखमा क्षमा माग्याे । र, अन्य अनलाईले पनि यही व्यहोरामा क्षमा प्रकाशन गरे ।

    तर, ८ दिनपछि यही प्रकरणमा प्रहरीले उज्यालो नेटवर्कका कार्यकारी सम्पादकलाई कार्यालयमै गएर नियन्त्रणमा लिएपछि यो विषय पुनः चर्चामा छ।

    प्रहरीको मुद्दा र दावी

    ‘विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुर’सम्बन्धी मुद्दाको पक्राउ पुर्जी थमाएर कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर टेकुले सम्पादक विवेक लोप्चनको मोबाइल पनि प्रहरीले अनुसन्धानका लागि भन्दै लिएर गयो ।

    महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह समाचार लेखेको विषय मात्रै नभइ ‘साइबर क्राइम’ र किर्ते पनि गरेकाले फौजदारी अभियोग लगाएर तामाङलाई पक्राउ गरेको दावी गर्छन् ।

    सिंह भन्छन्, ‘प्रधानमन्त्रीका बारेमा हुँदै नभएका फेक कागज बनाएर गलत समाचार प्रकाशन गरेर उनीहरुले ‘साइबर क्राइम’ पनि गरेका छन् । किर्ते पनि गरेका छन् । राज्यविरुद्ध नभएको गुप्तचरी सूचना संप्रेषण गर्नुहुँदैन । त्यही कसुरमा समातेको हो ।’

    प्रेस काउन्सिलमा यो विषयमा सहमति भइसकेको छ नि भन्ने प्रश्नमा उनी फौजदारी मुद्दामा माफी मागेको वा सहमति गरेको कुराको खासै अर्थ नहुने बताउँछन् ।

    ‘फौजदारी मुद्दामा कहीं माफी मागेको वा सहमति गरेको कुराले धेरै अर्थ राख्दैन,’ सिंहको भनाइ छ, ‘त्यो पनि हाम्रो मिसिलमा राख्छौं तर त्यसले हाम्रो अनुसन्धानमा केही फरक पार्दैन ।’

    प्रहरीले प्रधानमन्त्रीको दस्तखत किर्ते गरेको अभियोग समेत लगाउने तयारी गरेको छ । दुई देशबीचको सम्बन्धमै खलल पुग्ने आपत्तिजनक र संविधानले निषेध गरेको नक्कली कागज बनाएर हस्ताक्षर किर्ते गरेको अभियोग समेत लगाइएको छ ।

    अदालतको आदेश यस्तो छ

    यो विषयमा उच्च अदालत पाटनले समेत अन्तरिम आदेश दिएको छ। ९ बैशाखमा अदालतले दिएको आदेशमा प्रकाशित समाचारको खण्डन समेत गरिसकेको भन्दै धरपकड नगर्न भनिएको छ । तर, उक्त आदेशमा फौजदारी मुद्दामा भने अनुसन्धान गर्न पाउन सकिने उल्लेख गरिएको छ।

    मुख्यन्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले दिएको आदेशमा भनिको छ– ‘यसमा समाचार प्रकाशन गर्ने संस्था समेतबाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानून विपरित हुने गरी निवेदकलाई धरपकड गर्ने कार्य नगर्नु नगराउनू ।’

    उच्च अदालतले पाटनले गरेको आदेश आफूहरुले अहिलेसम्म नपाएको एसएसपी सिंहको दावी छ। आफूहरुले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिसकेको भन्दै यी सबै विषयमा अदालतले निर्णय लिने बताउँछन् ।

    प्रहरी स्रोतले उच्च अदालतले दिएको सोही आदेशकै आधारमा फौजदारी कसुरमा कारवाही गर्न नरोकिएकाले पक्राउ गरि कारवाही अघि बढाइएको जनाएको छ ।

    प्रेस काउन्सिल र महासंघद्वारा विरोध

    तामाङलाई पक्राउ गरेकोप्रति प्रेस काउन्सिल र पत्रकार महासंघले विरोध जनाएको छ। प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकी समाचार लेखेका संस्थाले माफी माग्दै समाचार समेत हटाइ सकेको भन्दै त्यस विषयमा पुनः धरपकड गर्न नमिल्ने बताउँछन् ।

    ‘उज्यालो नेटवर्कलगायतका नौ वटा संचार माध्यममाथि प्रेस काउन्सिलले कारवाही गरेर ती संस्थाहरूले क्षमा माग्दै समाचार सामग्री समेत ‘डिलिट’ गरेको अवस्था हो, बुढाथोकीले फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, ‘पत्रकारले लेखेकै आधारमा प्रहरी धडपकड, पक्राउ गर्न मिल्दैन र नगरियोस् भन्ने माग गर्दछु ।’

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल माफी मागिसकेको र अदालतले समेत पक्राउ गर्न जरुरी नभएको भनेर आदेश दिइसकेको भन्दै पुनः पक्राउ गर्नु प्रेस स्वतन्त्रताको उल्लंघन भएको बताउँछन् ।

    ‘यो अवस्थामा मिडिया हावसमा गएर पत्रकारलाई लछारपछार गरेर पक्राउ गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार हो,’ पोखरेल भन्छन्, ‘ पत्रकारलाई आतङ्कित पार्ने नियत हो । यो कुनै पनि हालतमा स्वीकार्य हुन्न । यसकाविरुद्ध हामी कानूनी लडाइँ पनि लड्छौं । र, राज्यलाई यस्ता गतिविधि नगर्न दवावमुलक अभियान पनि हामी अगाडि बढाउँछौं ।’

    पोखरेल यो विषयमा विद्युतीय कारोबार ऐन र देशद्रोह जस्तो कानूनलाई आकर्षसित गर्न नमिल्ने तर्क गर्छन् । ‘विद्युतीय कारोबार ऐनको दफा हालेर, देशद्रोह जस्तो कानूनलाई आकर्षित गरेर जबरजस्ती तर्साउने काम भएको छ,’ उनी भन्छन्, ‘समाचारमा उल्लेख भएका विषयका सन्दर्भमा ती आर्कषित हुनुपर्ने कानूनहरु होइनन् ।’

    ‘फौजदारी मुद्दामा पक्राउ गरिएको हो’
    एसएसपी अशोक सिंह, प्रुमख
    महानगरीय प्रहरी परिसर, टेकु

    प्रधानमन्त्रीका बारेमा गलत समाचार प्रकाशन गरेर उनीहरुले ‘साइबर क्राइम’ पनि गरेको छ । किर्ते पनि गरेको छ । राज्यविरुद्ध नभएको गुप्तचरी सूचना संप्रेषण गर्नुहुँदैन । त्यही कसुरमा समातेको हो ।

    यो फौजदारी मुद्दा हो । यसमा अदालतको ‘स्टेअर्डर’ लागू हुँदैन । मुद्दा समाचार लेखेको आधारमा पनि हुन्छ । त्यो कागजात उहाँहरुले कसरी निकाल्नुभयो, त्यसमा अब अनुसन्धान हुन्छ ।

    देशकै प्रधानमन्त्रीविरुद्ध यसरी ‘फेक न्यूज’ निकाल्नु भएन । त्यसमा ‘साइबर क्राइम’ पनि भएको छ । यो फौजदारी अभियोग हो । फौजदारी अभियोग लगाएर अदातलमा म्याद थप गर्न पठाइएको छ ।

    जिल्ला अदालतले म्याद थप गर्ने विषयमा उच्च अदालतले ‘स्टेअर्डर’ गरेको कुरा पनि हेर्ला । तर, उच्च अदालतको पत्र हामीलाई प्राप्त भएको छैन् । त्यो पत्र परिसरमा आउनुपर्‍यो ।

    उहाँलाई जिल्ला अदालतमा पुर्‍याएर हामीले म्याद थप गर्न पठाएका छौं । त्यही बहस हुन्छ । म्याद थप गर्ने, नगर्ने विषयमा न्यायाधीहरुले भन्नुहोला ।

    प्रेस काउन्सिलमा उहाँहरुबीच एउटा सहमति भएको रहेछ । फौजदारी मुद्दामा कहीँ माफी मागेको वा सहमति गरेको कुराले धेरै अर्थ राख्दैन । त्यो पनि हाम्रो मिसिलमा राख्छौं तर त्यसले हाम्रो अनुसन्धानमा केही फरक पार्दैन ।

    फौजदारी अभियोग लगाएर प्रक्राउ गरेँ भन्नु बनावटी कुरा

    विपुल पोखरेल
    अध्यक्ष, पत्रकार महासंघ

    समाचार लेखेको विषयमा यति धेरै ढंगले तर्साउन पाइँदैन । यो प्रेस काउन्सिलको क्षेत्राअधिकार हो । समाचारमा केही चित्त बुझेन प्रेस काउन्सिलले हेर्ने हो । यो विषयमा प्रेस काउन्सिलले हेरर आफ्नो निरुपण दिइसकेको छ । र, त्यसपछि उनीहरूले असावधानीवस यो गरियो भनेर भनिसकेका छन् ।

    उच्च अदालत पाटनले निजहरुलाई पक्राउ गर्न जरुरी छैन, पक्राउ नगर्दा कुनै क्षति हुने देखिन्न, त्यसकारण पक्राउ नगर्नू भन्ने आदेश जारी गरिकसकेको छ । यो अवस्थामा मिडिया हाउसमा गएर पत्रकारलाई लछारपछार गरेर पक्राउ गर्नु भनेको प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।

    पत्रकारलाई आतंकित पार्ने नियत हो । यो कुनै पनि हालतमा स्वीकार्य हुन्न । यसकाविरुद्ध हामी कानूनी लडाइँ पनि लड्छौं । र, राज्यलाई यस्ता गतिविधि नगर्न दवावमूलक अभियान पनि हामी अगाडि बढाउँछौं ।

    हामीले चेतावनीको भाषामा तत्काल विनाशर्त साथीहरुलाई रिहाइ गर, हैन भने आन्दोलनमा जान्छौं भनेर भनिसकेका छौं । यसको सुनुवाई समयमै भएन भने हामी कडा कदम चाल्न बाध्य हुन्छौं ।

    प्रहरीले फौजदारी अभियोग लगाएर प्रक्राउ गरेँ भन्नु ती सबै बनावटी कुरा हुन । समाचारको विषयलाई लिएर निरुपण खोज्ने बैधानिक प्रावधानहरु छन् । ती बाटोमा नगएर नक्कली मुद्दा खडा गरेर पत्रकारलाई आतङकित पार्ने काममा राज्य लाग्यो । यो गलत हो । यसले त आफ्नो आलोचना गर्ने हरेक मिडियालाई झुठा मुद्दा लगाएर सताउने बाटोमा राज्य हिँड्छ कि भनेर गम्भीर आशंका गर्नुपर्ने अवस्था छ ।

    समाचार लेखेको आधारमा थुन्न पाइँदैन भन्ने नेपालको संविधानको ‘स्पिरिट’ हो । समाचारप्रति कसैको गुनासो भए यसरी न्यायिक निरुपण खोज्ने भन्ने प्रष्ट बैधानिक व्यवस्था छ ।

    मानहानी मुद्दा लाग्न सक्ला, गाली बेइजती मुद्दा लाग्न सक्ला । यसको निरुपण खोज्ने बाटो विद्यमान कानुनले देखाइदिएको छ । त्यो भन्दा बाहेक विद्युतीय ऐनको दफा हालेर, देशद्रोह जस्तो कानूनलाई आकर्षित गरेर जबरजस्ती तर्साउने काम भएको छ। समाचारमा उल्लेख भएका विषयका सन्दर्भमा ती आर्कषित हुनुपर्ने कानून होइनन् ।

    पत्रकारिता कर्ममा रहेर काम गरेको विषयलाई हामीले प्रतिरक्षा गर्छौं र त्यो हाम्रो ‘कन्सर्न’को विषय हो । पत्रकारिता कर्म भन्दा बाहिर रहेर कसले के गर्छ भन्ने कुरा चाहिँ नेपालको कानूनले जान्ने कुरा हो ।

  • प्रेस काउन्सिलको सदस्यमा चार पत्रकार नियुक्त

    प्रेस काउन्सिलको सदस्यमा चार पत्रकार नियुक्त

    काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल प्रेस काउन्सिलको सदस्यमा चारजना पत्रकारलाई नियुक्त गरेको छ ।

    मन्त्री पार्वत गुरुङको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका चारैजना सदस्यलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले बिहीवार औपचारिक रुपमा स्वागत गरेका छन् ।

    सदस्य नियुक्त हुनेमा झापाका गणेश पोखरेल, कन्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरन्जीवी मास्के र दाङका शरद अधिकारी छन् । उनीहरु चारैजना क्रियाशील पत्रकार हुन् ।